म घरकी सबैभन्दा जेठी छोरी। सानैदेखि मुवा (जिजुमुवा) सँगै सुत्थेँ। म जन्मेकै साल जिजुबुवाको देहान्त भएको थियो रे। त्यसैले मुवाको मन भुलाउने सहारा म थिएँ। पछि भाइ-बहिनी जन्मेपछि हामी तीन जनामा झगडा हुन्थ्यो, को मुवासँग सुत्ने भनेर।
मुवा पनि आफ्नो एकतिर भाइलाई र अर्को तिर बहिनीलाई सुताउनु हुन्थ्यो र मलाई बहिनीको साइडमा। हामी चार जना एउटै खाटमा सुत्थ्यौँ। मलाई आफूसँग नसुताएको भन्दै म रिसले आगोको गोला हुन्थेँ र कसैसँग नबोली गुटुमुटु भएर सुत्थेँ। तर बिहान उठ्दा आफूलाई मुवा छेउ पाउँथेँ। राति सबै सुतिसकेपछि मुवा म छेउ आउनु हुँदो रहेछ।
मुवाले हामीलाई छोडेर गएको पनि एक वर्ष भएछ। मुवाको बर्खान्तको लागि घर गएको थिएँ। बरखी पूजामा सबै नाता सम्बन्धी, इस्टमित्र र छर छिमेकीहरू आएका थिए। र 'बुदी' पनि। बुदीको नाम 'प्रतिनिया' हो। हामी मायाले उनीलाई बुदी भन्छौँ।
उमेरले ६० पुगेकी होलिन् बुदी। मेरो मुवाको मिल्ने साथी हुन् रे उनी। बुदीको श्रीमान् मंगलेलाई 'बुदु' भन्छौं। बुदु ऊ जमानामा हाम्रो घरको डल्लव ड्राइभर थिए अरे। मेरो जिजुबुवाको राम्रो साथी पनि थिए। थारु समुदायका यी दम्पत्तिको जीवन हाम्रै घर-परिवारको सेवामै बित्यो।
मेरो गाउँमा थारु समुदायको बसोबास छ। अझै भन्नु पर्दा गाउँलाई थारु गाउँभन्दा पनि फरक पर्दैन। उहाँहरू त पहिलेदेखि नै यही ठाउँमा बस्नुहुन्थ्यो। हाम्रा बाउबाजे पो पहाडबाट झरेर मधेस आएका थिए। आफ्नै ठाउँमा अरु समुदायको मान्छेहरू आएर आफैमाथि शासन गर्दा पनि यस समुदायले आफूमाथि के भइरहेको छ भन्ने पनि मेसो पाएका थिएनन्।
हामी जातले ठकुरी। माथिल्लो जात भनेर चिनिएका ठकुरीहरूको घरमा पहिले कमैयाहरू सयौंको संख्यामा हुन्थे अरे। मलाई पनि याद छ म सानो हुँदा हाम्रो घरमा कमैयाहरू देखेको थिएँ जुन मलाई फिटिक्कै मन पर्दैनथ्यो। तर अहिले समय र परिस्थिति बदलिएको छ। अहिले गाउँको वडादेखि पालिकाको उच्च अहोदामा थारु समुदायको प्रतिनिधित्व छ। यो सबै पक्कै पनि क्रान्तिकारी थारुहट आन्दोलनको देन हो।
मैले बुदीलाई धेरैपछि मुवाको बरखीमा देखेको थिएँ। बुदी आएर नल्कामा राखेका भाडा धुन लागिन्। मेरो कान्छीमुवा आएर बुदीलाई- 'बुदी रहेदेऊ, तु नाइसेक्ठो अभिन' अर्थात् 'बुदी छोडदिनुस, तपाई सक्नुहुन्न अब' भन्दै हुनुहुन्थ्यो।
बुदीले पनि 'सेक्ठु होइ, काहे नाइसकेम' भन्दै थारु भाषामा जवाफ दिइन् र भाडा धुन थालिन्।
भाडा धोइसकेर बुदी खाना खाँदै थिइन्, म बुदी छेउ गएँ। मैले भनेँ, 'बुदी, मलाई चिन्नुभयो?'
बुदीले मतिर हेरिन् र भनिन्, 'अइ दाई, रक्षा। कत्रा बडवार होगैली। चिन्ठु, काहे नाइचिनम्।'
म बुदीलाई देखेर अत्यन्तै खुसी भएकी थिएँ। मैले सानोमा बुदीसँग धेरै रमाइला पलहरू बिताएकी थिएँ। झट्टै बुदीलाई सोधेँ, 'बुदी, अहिले पनि तपाईंको घरमा बयरको रूख छ? छ भने म बयर खान आउँछु है त।'
त्यो बयरको रुखसँग मेरो धेरै यादहरू जोडिएका छन्। सानोमा बुदीको घर जान्थ्यौँ। बुदी हामीलाई लुकेर बयर दिनुहुन्थ्यो। बयर अरूलाई यत्तिकै त्यसरी दिएपछि बुदु रिसाउथे। उनी बयर बेच्थे। एक रुपैयाँको एक गिलास।
मेरो प्रश्नको बुदीले जवाफ दिँदै भनिन्, 'रुख तो नाइ हो, काट्के दाउर बनासेक्नु।'
त्यत्तिकै मेरो कान्छीमुवा आएर बुदीलाई दुई सय रूपैया दिँदै भन्नुभयो, 'बुदी, आज तु आइलो तो मै भगवान आइली मानठुँ। तुँ भाडा धोइदेलो अभिन सक्कु काम खतम होगइल।'
आँखामा आँसु टिलपिल पार्दै बुदीले भनिन्, 'तोहार सासु चलगैली तो यी घरमै आइनस् नाई लाख्ठा। आज माइली दुलही बोलाइनी तो आइनु।' यति भन्दै बुदी आफ्नो घर तिर लागिन्।
एकदिनको कुरा हो, भर्खर पानी परेर आकाश खुलेको थियो। इन्द्रेणी पनि आफ्ना सातै रंग छरेर आकाशमा मुस्कुराउँदै थिइन्। म भने साथीहरूसँग 'इन्द्रेणी मेरो कपाल बढाइदेऊ, इन्द्रेणी मेरो कपाल बढाइदेऊ' भन्दै उफ्रिँदै थिएँ। त्यसबेला इन्द्रेणी देख्नासाथ हामी यसरी उफ्रिन्थेउँ जसरी भ्यागुताहरू पानीमा उफ्रिन्छन्।
मेरो घरमा भोलिपल्ट जिजुबुवाको श्राद्ध थियो। ममीले मलाई जोरले आवाज दिँदै बोलाउनु भयो। म दौडेर ममी नजिक गएँ।
'जा त तीनघरुवा बुदीलाई भोलि घरमा श्राद्ध छ, आउनुहोला भनेर आइजा।'
म पनि हस् भन्दै तीनघरूवा बुदीको घर गएँ। बुदी ढिकीमा धान कुट्दै थिइन्। मैले बुदीलाई भनेँ, 'बुदी, भोलि घरमा श्राद्ध छ आउनुहोला।'
बुदिले हुन्छ भनिन् र 'तोहार जिमुवा के लग लौका बावै, लैजाइ हो' भनिन्। मैले हुन्छ भनेँ र बुदी लौका लिन भित्र गइन्।
म बुदीले कुट्दै गरेको ढिकी निर गएँ र ढिकी कुट्न थालेँ। सकि-नसकी ढिकी कुट्दा ढिकीबाट लडेर मेरो खुट्टाको थोरै छाला निस्क्यो र थोरै रगत आउन थाल्यो। बुदी भित्रबाट 'का हुइल' भन्दै बाहिर निस्किन्।
मैले रुन्चे स्वरमा ढिकीबाट लडेँ भनेँ। बुदीले हत्तपत्त लालुपाते मुछेर मेरो घाउमा लाइदिइन् र भनिन्, 'अब्बे निक होइजाइ।' बुदीले लौका दिइन् र बयर पनि। म बयर पाएर खुसी हुँदै लौका लिएर घर गएँ।
आफू ढिकी कुट्दा लडेको कुरा सम्झिँदै म मुसुक्क हाँसेँ। बुदीलाई मेरा आँखा अलि परसम्म छोड्न गएका थिए। बुदीको आकार अलि सानो-सानो धमिलो हुन थालेपछि मेरा आँखाले बुदीलाई त्यही छोडी फिर्ता आए।
म सानोमा गाउँकै बोर्डिङ स्कुलमा पढ्थेँ। मेरो स्कुलमा प्रायः थारु समुदायबाट धेरै विद्यार्थीहरू थिए, मेरा साथीहरू। उनीहरू साह्रै मायालु थिए, मलाई पनि धेरै माया गर्थे। मलाई याद छ एकदिन मेरो एकजना साथी मेरै अगाडि थारु साथीलाई 'थारू मुसाकाल' भन्दै गाली गरेको थियो। थारुहरू मुसा खान्छन् भनेर गाउँभरि परिचित थिए। मैले त्यो साथीसँग बोल्नै छोडेको थिए। मलाई कसैले थारू समुदायका मान्छेहरू हेपेको मन पर्दैनथ्यो।
मेरा थारु समुदायका साथीहरू मलाई माघी वा अन्य चाडबाडहरूमा आफ्नो घर बोलाउथे। म पनि उनीहरूको घर जान्थेँ र ढिक्री खान्थेँ। उनीहरू बासी भातसँग पिरो नुन मिरचाको चटनी पिसेर खान्थे। त्यो चटनी औधी पिरो हुन्थ्यो। एक/दुई चोटि त मैले पनि खाएको छु। चटनी र भात।
उनीहरूसँगै माघीमा उनीहरूकै लेहेंगा लगाएर 'लेहेंगा मोर हो तुहार' र ' सखिय हो, माघ के पिली गुरी गुरी जाड' भन्ने गीतमा नाचेको पनि छु। उनीहरूको प्रमुख चाड माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनको रुपमा पनि मान्छन्। उनीहरूको भाषा, रीतिरिवाज, संस्कृती, लवजबाट म सानैदेखि प्रभावित थिएँ।
एउटै सिरानी गरेर सुत्दा कहिलेकाहीँ गोडा लाग्छ भन्छन्। सायद त्यसैले होला २०७२ सालमा थारुहटको टीकापुरमा ठूलै आन्दोलन भएको थियो। थारुहरूले आफ्नो हक अधिकारका निम्ति क्रान्तिको बिगुल घन्काएका थिए। थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते डेढ वर्षे बालक र आठ सुरक्षाकर्मी मारिए। त्यसको केही घण्टामै आगो लगाएर ७० थारू परिवारको सर्वश्व ध्वस्त पारिएको थियो। त्यो पनि कर्फ्यू लगाएको समयमा।
अवस्था निकै नै तनावग्रस्त थियो। पछि विस्तारै माहोल शान्त हुँदै गयो। अहिलेको परिवेशमा हेर्ने हो भने थारूहरूको गति बढ्दो छ। थारू समुदायका मानिसहरू हरेक क्षेत्रमा अघि बढ्दैछन्। मेरो गाउँमा पनि गाउँपालिका तथा वडा अध्यक्ष थारु समुदायबाट हुनुहुन्छ।
म थारु गाउँकी पहाडी हुँ। थारू भाषा र संस्कृति मेरो मनसँग जोडिएको छ। बालापनदेखि नै थारू समुदायकै वरिपरि हुर्किएको भएर होला यो समुदाय मलाई आफ्नै लाग्छ। यस समुदाय सँगको मेरो गहिरो सम्बन्धले मलाई यो समुदाय बुझ्न अझै सहज बनाएको छ।
मलाई के लाग्छ भने, अब थारु समाजलाई चिहाउने आँखीझ्यालहरू बन्नुपर्छ। थारु समाजका मिहिन परम्परा, सामाजिक अवस्था, रीतिरिवाजहरू बुझ्न र बुझाउन राष्ट्रले आफ्नो कदम अगाडि बढाउनुपर्छ।