बिहानै उठ्दा टोलमा घाइँघुइँ भइराखेको आवाज सुनियो। एकछिन यसो टोलाएँ र अफिस जान ढिलो नहोस् भनेर उक्त आवाजमाथि ध्यान नलगाई हरेक दिन झैँ आफ्नै काममा व्यस्त भए। सधैँको जस्तै दिनचर्या उस्तै रह्यो।
उही घर, उही अफिस, उही बाटो, उही काम र उही यात्रा। अफिसमा दिनभरिको काम सकाएर बेलुकी एक थुंगा थकान लिएर घर फर्केँ। यसो एकछिन ओछ्यानमा पल्टेकै थिएँ कि फेरि उही बिहान कै घाइँघुइँको आवाज सुनियो।
मनमा थोरै कौतुहलता र धेरै चिन्ता जागेर आयो। पक्कै केही ठूलै भएको हुनुपर्छ नत्र त कहाँ बिहानदेखि बेलुकासम्म यस्तो हल्ला हुन्थ्यो र?
बाहिर निस्केर के भयो भन्ने सोधेँ। एकजना आन्टीले फलानोको छोरीले भागेर बिहे गरी भन्ने खबर पूरा रिसको आवेगमा सुनाउनु भयो। साथै भन्नुभयो 'कठै! बाउआमाको इज्जतको ख्यालै नगरी नाक काटेर गई। कुन मुख देखाउने होला तिनीहरू (बाबुआमा) ले समाजलाई?
यही कारणले हो भन्छन् छोरीहरूलाई धेरै छुट दिनुहुन्न क्यारे! कुन दिन इज्जत चैट गर्ने हो भन्ने डरमा बाँच्न बाध्य पार्छन् यी असत्ती मोरीहरूले। बाउ त्यत्तिकै जड्याहा, जाँड खाएर प्रायः बाटोमा यताउती लड्दै परिराखेको हुन्छ। आमा त्यस्तै एक घरको कुरा अर्को घर गर्दै दिनहुँ झगडा गरेकी हुन्छे। झन् कतिचोटि त चोकमा दुवै प्राणीले कुटाकुट गरेको पनि देखेकै हो। घरमा यही एउटी समझदार मान्छे भनेको त यो नि त्यस्तै निस्की।'
आन्टीले यति भन्न नपाउँदै एकजना दिदीले थप्नुभयो- 'ल्या भाउजू! हजुरलाई थाहा छैन? अस्ती भर्खरै त घरमा कस्तो तनावमा थिए आमाबाउ, छोरीले यही केटासँग बिहे गर्छु भनेपछि।'
'कस्तो कडा निगरानीमा राखेको छोरी पोइला जान्छे भन्ने सोच्नै नसकेका होलान् विचरा बाउआमाले।'
फेरि पहिलेकै आन्टी, 'हो नि नानी! सुन्न त सुनेकै हो हामीले पनि तर बोल्न मात्रै के बोल्नु? अर्काको इज्जत त के उखेल्नु भनेर मात्रै चुप लागेका हौँ। खैर! सबथोक त ठिकै छ केटाको क्यारे तर मुख्य कुरा जातै नमिलेको हो। जातै नमिलेपछि भात त के खानु भन्छन्। नर्क जान्छे त्यो केटी त भगवान्! पुर्खा, कुल, खानदान सबको इज्जत माटोमा मिलाएर गई।'
मैले यो सब कुरा सुन्न सकिनँ। उठेर आउनै लागेको थिएँ कि दिदीले मलाई पनि व्यंग्यात्मक स्वरमा भन्नुभयो, 'हेर कान्छी, घर अफिस गर्दागर्दै अन्तै नचल्दिनू। आमा बाउको इज्जतको ख्याल गर्नू, आफ्नो खुसीको लागि घरको इज्जत दाग लगाउन हुन्न।'
म केही नबोली मौन भई त्यहाँबाट फर्किएँ। त्यो रात म निदाउन सकिनँ। खै! किन हो मनमनै नचाहँदा नचाहँदै पनि अनेकौं कुरा खेल्दै थिए। हुन त मलाई आन्टीले भनेको आंशिक कुरा सही र आंशिक गलत लागेको थियो। तर सबको आ-आफ्नो विचार हुन्छ भनेर मैले खासै ध्यान दिन चाहेको थिइनँ। फेरि पनि आन्टीले भनेको त्यो अन्तिम दुई शब्द 'चरित्रहीन केटी'ले मलाई भित्रैबाट बिथोलेको थियो। म झसंग भएकी थिएँ।
आखिर कसले अधिकार दियो त उनलाई त्यो केटीको चरित्र निर्धारण गर्न? आखिर के नै गरेकी थिई उसले त्यस्तो कि ऊ समझदारबाट एक्कासी चरित्रहीन बन्न पुगेको थिई? उसले बिहे गरी भन्दैमा खान्दान, पुर्खाहरूको इज्जत माटोमा कसरी मिल्यो त? उसले आफ्नो जिन्दगीको लागि गरेको फैसलाले बाउ-आमाको नाक कसरी काटियो त? बिहे त जसरी नि गर्दा बिहे नै हैन त? के मायाले मात्रै चरित्रहीन बनायो त उसलाई?
हुनसक्छ कि म गलत होऊँ। हुनसक्छ कि आन्टीले भनेका कुराहरू सही होस्। संसारमा सबथोकको मापदण्ड बनाइएको छ। कहीँ विज्ञानद्वारा, कही संस्कृतिद्वारा, कही पुर्खाहरूद्वारा त कही समाजद्वारा।
समयानुसार कालान्तरमा विज्ञान, संस्कृति र पुर्खाहरूद्वारा बनाइएका मापदण्ड परिमार्जन भएता पनि समाजले बनाइएका मापदण्ड परिमार्जन गर्नु भनेको कठिन कार्य रहेको बुझिन्छ। यहाँ संस्कारदेखि लिएर चरित्रसम्मको लागि आधार र तुलनायोग्य मापदण्डको खास व्यवस्था छ।
एकजनाको लागि स्विकार्य रहेको व्यवहार अर्कोको लागि अस्वीकार्य हुन्छ। मानिस परिवर्तन रूचाउने प्राणी रहेता पनि परिवर्तनलाई सहजै स्वीकार गर्न रूचाउने प्रवृत्ति नभएको प्राणी हो।
यति सब कुरा मनमा खेलाएर पनि बुझ्न नसकेको कुरा के थियो भने एउटा फैसलाले कोही कसरी चरित्रहिन हुनसक्छ? मन अझै त्यही अल्झिएको थियो। आखिर घरमा त्यही केटासँग बिहे गर्छु भनेर भनेकै त थिइन्। घरका मान्छेले बिहे गराइदेको भए आज नाक काटिन्थ्यो होला त? अनि जिम्मेवार को? सबथोक त राम्रै थियो केटाको, मन मिलेकै थियो, मन मिलेको ठाउँमा जात कसले हेर्छ र?
बिहे त केटा र केटी दुवैले गरेका हुन् अनि केटीको आमाबाउको इज्जत मात्रै किन गयो त? माया गरेको केटासँग बिहे मात्रै त गरेकी थिइन्। आज यो केटा, भोलि त्यो केटालाई घुमाउँदै हिँडेकी थिइनन् क्यारे।
अनि के घरको इज्जत छोरीहरूको टाउकोमा मात्रै हुन्छ त? कुलको दीपक बन्ने अधिकार छोरालाई दिइएको छ भने कुलंगारको उपमा छोरीलाई कसरी? कसले बिसाए हाम्रा टाउकोमा यी इज्जतको भारी?
आफ्नो इच्छाले बिहे त रूक्मिणीले पनि गरेकी थिइन्। जात त उनको पनि मिलेको थिएन। के मान्छे आफ्नो इज्जतको एकलौटि मालिक हुने हैन र? यदि होइन र एकअर्काको गतिविधिले यदि एकअर्काको इज्जत प्रभावित हुन्छ भने किन ख्याल गरेनन् त्यो केटीको बाउले जाँड खाएर बाटोमा यताउती लड्दै खस्दा कि मेरो छोराछोरीको इज्जत जाला भनेर?
किन सोच्दिनन् त्यो केटीको आमाले दिनहुँ टोलमा जुनसुकै निहुँमा झगडा गर्दा कि मेरो छोराछोरीको इज्जत जाला भनेर? दुवैजना चोकमा कुटाकुट गर्दा छोराछोरीको इज्जत र नाकको ख्याल गरेका थिए त?
के आमाबाउको कारणले छोराछोरीको इज्जत जाँदैन? नाक काटिँदैन? पुर्खा र खान्दानको इज्जत माटोमा मिसिँदैन? यदि हुँदैन भने छोराछोरीको फैसलाले पनि नजानु पर्ने हो इज्जत। नकाटिनु पर्ने हो नाक।
के यी यस्ता विकृतीहरूमा पनि ध्यान जानुपर्ने हैन र समाजको ठेकेदारहरूको? सबथोकको मापदण्ड बनाउनेले मायाको सट्टा झगडाको मापदण्ड बनाएको भए सायद समाज अझै खुसी हुने थियो। अरूको गल्तीमाथि औँला उठाउनेहरूले यदि आफ्नो गल्ती मात्र सुधार्न सक्ने भए कति सप्रिन्थे कुराहरू!
प्रश्न अनेकौँ थिए, जवाफ एउटाको पनि थिएन। जवाफ अझै पनि छैन। मनका प्रश्न मनमै निस्सासिएर बसेका छन्। कसैसँग सोधुँ कि भन्ने लाग्छ तर डराउँछु, फेरि कि कही कसैले मलाई नै गलत सम्झे भने? कहीँ मेरा प्रश्न समाजको मापदण्डमा फिट भएनन् भने? कहीँ मेरा प्रश्नहरू मेरै चरित्रको गलत अर्थ लगाउन प्रयोग गरिए भने? डराउँछु, मेरा प्रश्नहरूले कहीँ जाला कि खान्दानको इज्जत? काटिएला कि आमाबाउको नाक?