जाडो कम हुँदै गएको थियो। घर छेउका बाँसघारीमा चराहरू सुत्ने तरखरमा थिए। बाँसघारीको छेउको डाँडामा सिरसिर हावा चलिरहेको थियो। डाँडाबाट पछाडि फर्केर हेर्दा बुढा भएका बा गोठमा गाइवस्तुलाई घाँसपानी गरेर फर्कँदै थिए अनि आमा भित्र भान्सामा खाना बनाउने तयारीमा। त्यस्तै केही मानिस पिठ्यूमा डोको, घाँस, दाउराको भारी बोकी घरतर्फ आउँदै थिए। घरमा भएका रेडियो सुनेर बसिरहेका थिए।
पर्वतको बाजुङमा मेरो घर। त्यहाँ बाले पढाउने बेलासम्म जहिले प्रथम, द्वितिय हुन्थेँ। मेरा बा १२/१३ क्लास पढेका अरे। आफूले पढ्दै पढाउँदै गरेका कारण मेरा बालाई जसले पनि मास्टर भन्ने रैछन्। त्यसैले आजसम्म बाको नाम पनि मास्टर छ। त्यो समयमा टाढा गएर जागिर खानु भनेको मास्टर हुनु रैछ भन्ने गाउँलेको धारणा।
औँसीको रात, पुस महिनाको समय। घाम डुबिसकेका थिए। जून देखिएका पनि थिएनन्। मानिस र जूनमा पनि एउटा भिन्नता रैछ, जून अस्ताएपछि फेरि उदाउन सक्छ तर मानिस अस्ताएपछि उदाउनु त्यस्तै हो। जुन अस्ताएर मिर्मिरका तारा झरेर गएपछि नै बिहानको सुरुआत हुने त हो। भूपि सेरचनले भनेको जस्तो-
'हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई/चार सपूत मरेर नगए'
गाउँमा दुई तिरबाट खोला बग्छ, दुवै खोला बगेर तलतिर एकै ठाउँमा मिसिएको छ। अनि त्यहाँ गहिरो ताल बनेको छ जहाँ हामी साना हुँदा पौडी खेल्न जान्थ्यौँ। म सानो हुँदा मैले मेरी आमालाई सोध्थेँ, 'आमा, बाबा खोइ?'
आमाले घर छेउको डाँडामा गई दुई खोली सलल बगेको देखाउँदै भन्थिन्, 'तेरो बा उ त्यो खोलाको तिरैतिर हुँदै परदेश गएका छन्। अस्ती फोनमा अब छिट्टै घर आउँछु भनेको पनि सुनेको थिएँ।'
त्यस्ता अस्ती कति गए, कति तर बा आजसम्म परदेशबाट फर्केनन्। केही वर्षपछि परदेशबाट बा फर्किए। परदेशबाट फर्किएका बाले मलाई आशिष् दिँदै भने, 'मैले जसरी परदेशिएर जागिर खानु नपरोस्, तैँले पढेको यही नै काम लागोस् भगवान।'
यत्तिकैमा बालाई प्रश्न गरेँ, 'बा, किन परदेशी हुनु भएको? अनि परदेशी भनेको के नि?'
'परदेशी हुने रहर त कसलाई हुन्छ र बाबु? गरिबी र बेरोजगारीको हतकडी फुकाउने उदेश्यले मजस्ता कयौँ मानिस जाने ठाउँ नै परदेश हो जहाँ उनीहरूको दुःख, पीडा, पीर, व्यथाहरू मेरोभन्दा कम नहोला तर फरक भने अवश्य छ। जहाँ पलपल जन्मभूमि, घर-परिवार र छोराछोरीको यादमा बग्ने यो आँसुको महत्त्व बुझ्ने मानिस कोही हुँदैन, यही नै परदेश हो। सम्झनाले जति सताए पनि, बिछोडको पीडाले जति तड्पाए पनि भावनारुपी दियोमा कल्पनारुपी आशाका दीप जलाउँदै घरको सम्झना, भरोसा र आशामा बाच्ने ठाउँ परदेश हो।'
म सानै हुँदा बा परदेशिएको कुरा मैले आमाबाट थाहा पाएँ। मैले मेरा बालाई म जान्नेबुझ्ने भएदेखि देख्न पाएको थिइनँ। जब म जान्नेबुझ्ने भएको थिएँ तब मेरा बालाई देख्न पाउँदा खुसी थिएँ र उत्सुक पनि। किनकि मेरा बा कस्ता थिए अनि कस्ता छन्, मैले देखेको थिइनँ। मलाई यति थाहा थियो कि मेरा पनि बा रैछन्, म पनि बाको सन्तान रहेछु।
अस्ती आमासँग अब छिट्टै घर आउँछु भनेको कुरा एक कान, दुई कान गर्दै मैदानसम्म फैलिएछ। गाउँभरि हल्ला भयो, बा घर आउने पक्का भयो। बा घर आउने भएपछि घरको ढाँचा पनि त्यहीअनुसार फेरियो। घरको सल्लाहअनुसार आमाले ढोकाको दैलोमा अम्खोरामा जल राखिन्। आँगनको डिलमा भएको सयपत्री फूलको बोटबाट फूल टिपेर ल्याइन् र त्यही अम्खोरामा हालिन्। फूल छेउमा दुबो पनि राखिन्।
आमाले घरलाई चारैतिरबाट रंगिन बनाइन्। मैले पनि घरलाई धेरैपछि रंगिन देखेँ। आमा मुस्कुराएको मैले कहिल्यै पनि देखेको थिइनँ। त्यो पल आमाको मुहारमा एक किसिमको चमक देखेँ। आमाको ओठ खुसीले नाचिरहेको थियो।
आमाले यता घरको काम गर्दै थिइन्, म बाको प्रतीक्षामा थिएँ। बा आउने बाटातिर हेरेर बसिरहेको थिएँ। ती खोला नालाले बालाई कति बेला स्वागत गर्ला भनि डाँडाको छेउमा आउँदै हेर्दै गरिरहेको थिएँ। तर अहँ! झमक्कै साँझ पर्यो, चराचुरुङ्गी बास बस्न डाँडा छेउको बाँसघारीमा आइपुगे, झ्याउकिरी कराउन थाले तर बा आएनन्।
म निरासिँदै घर आएँ। घर आउँदा सबैको मुहारमा खुसी थियो। केही समयपछि घरबाट देखिने तलको बाटोमा चार वटा लाइटहरू एकैसाथ एकैबाटो बाल्दै आएको देखेँ। मैले एकोहोरो लाइट बालेको मात्रै हेरेँ। दोबाटोमा आएपछि ती लाइट दुई तिर बाडिए। दुई वटा मेरो गाउँतिर, बाँकी दुई वटा पल्लो गाउँतिर। अलि नजिक आएपछि दुवै जनामा मेरा बाको होलान् भन्ने अनुमान गरेँ।
दुवै घरको आँगनमा आइपुगे। मैले अनुमान गरेँ पक्कै पनि मेरा बा अगाडि अएका हुनुपर्छ। आफू जान्नेबुझ्ने भएपछि पहिलो पटक बालाई देख्दै थिएँ। बाले आएर हजुरबुबालाई ढोगे। अनि बालाई आमाले ढोगिन्। मैले बालाई ढोगेँ। वर्षौंपछि परदेशबाट आएका बाले आशिष दिँदै मलाई भनेँ, 'म जसरी मेरो छोरो परदेश जान नपरोस्। मैले पढाइदिएको, लेखाइदिएको छु उसले सोचेको सबै पुराइदेऊ भगवान!'
बा आएपछि सबै खुसी भए तर पनि आमाको दुःख घटेन। आफू जलेर सन्तानलाई खुसी दिइरहेकी छिन् आमा। मैले देखेँ बाको निधारमाथि गहिरो दाग। त्यो दाग बाले बोकेको गह्रौँ जिम्मेवारीको थियो। मैले मेरा बा त जिम्मेवारीको भरिया पो रहेछन् भन्ने सोचेँ। बाले परदेशमा जिम्मेवारीको भारी बोक्ने रैछन्।
आज म घरबाट टाढा छु। पढ्न आएको छु। मेरो यहाँसम्मको यात्रामा बा-आमाको सपना अनि मेरो बिपना जोडिएको छ।
बा, तपाईंलाई सम्बोधन गर्ने त मसँग कुनै शब्द नै छैन। तपाईंलाई सधै बुबा भनेर बोलाउन पाइराखूँ। शारीरिक रुपले टाढा भए पनि आत्मियता गाढा छ। हजुरको कारण म यो स्थानमा छु। हजुरको मुहारमा सधैँभरि खुसी छाओस्। बाँकी दुःख, कष्ट, रोग, पीर, व्यथा म आफै बुझौँला अनि सहौँला पनि। तर बाबा, तपाईंको निधारको जिम्मेवारीको दाग एकदिन अवश्य मेट्नेछु।