केही समय अघिको कुरा हो। आमा र श्रीमतीको झगडा भएपछि श्रीमती माइत गइन्। मैले सम्झाइ-बुझाई गर्दा उनले आमासँग बस्न नसक्ने कि त काठमाडौं जाने भनिन्। मैले श्रीमती लिएर अलगै बस्ने वा काठमाडौं जाने भनि सहमति गरेँ।
छोरी हजुरआमासँग मात्रै बस्छु भन्दै रुन्थी। 'हजुरआमा स्वार्थी छिन्, तिम्रो ममी र मलाई मन पराउँदिनन्, उनको आफ्नी छोरीलाई मात्रै माया गर्छिन्' भन्दै सम्झाएँ।
पछि छोरीले भनिन्, 'ती बुढीलाई कहिल्यै भेट्दिनँ।' बल्ल मलाई अलि ढुक्क भयो।
मैले एकदिन आमासँग भनेँ, 'आमा, तपाईं कस्तो मान्छे हँ? छोरीलाई आफ्नो देख्ने, बुहारीलाई चाहिँ पराई देख्नुहुन्छ। किन? कति स्वार्थी भएको? यो बुढेसकालमा के छ कारण हँ? सबै कुरा फेरि छोरीलाई सुनाउनु, छोराले यसो भन्यो भन्दै' कराएँ।
आमाले पनि गल्ती सुधार्नु पर्छ भन्ने मेरो धारणा थियो। तर आमा खासै बोल्नु भएन। आमा पहिलेभन्दा बद्लिनु भएको जस्तो लाग्यो। मैले पनि गाउँ छाडेर काठमाडौं तिर छिर्ने विचार गरेँ। बुढी र छोरी लिएर गाउँ छाड्यौँ। सहरको रमझममा सबै रमायौँ। कसैको कचकच सुन्नु नपर्ने, मेलापात गर्नु नपर्ने भएपछि त सहर हामीलाई छुट्टै संसार झैँ लाग्यो।
श्रीमती पनि खुसी, म पनि परिवारमा खुसी। छोरीले बेलाबेला गाउँघर सम्झाउथिन्। हामी केटाकेटीको कुरामा खासै वास्ता गर्दैन थियौँ। छोरीको मामाहरू काठमाडौंमै भएकाले बेलाबेला मामाघर जान्थिन्। खर्च धान्न गाह्रो भएपछि श्रीमतीले नि काम खोजिन्। हामीले छोरीलाई मामाघर पठाउने सल्लाह गर्यौं र छोरी माइता गएपछि घर अफिस गर्न थाल्यौँ।
सँगै भएपछि बुढाबुढीमा डिस्कस पर्नु सामान्य नै हो। तर एकदिन अलि ठुलै झगडा भयो। श्रीमतीले भनेको एउटा शब्दले अलि बढी नै मन दुख्यो। उनले भनेकी थिइन्, 'बाउआमा त ठिकै छन्, तपाईं कस्तो व्यहोरा नभएको स्वार्थी मान्छे?'
यो शब्दले मलाई मनमा चोट लागिरहेको थियो। मैले एकदिन बुढीलाई फकाएर सोधेँ, 'किन मलाई स्वार्थी भनेकी? म तिमीहरूको लागि यति धेरै गरिरहेको छु। तिमीलाई किन त्यस्तो लाग्यो?'
जति फकाए पनि उनले कुरा टारिरहिन्। मैले अति गरेपछि उनले भनिन्, 'म मेरी जन्म दिने आमालाई दिनमा कति कल गर्छु, मेरी छोरीलाई पनि उति नै गर्छु। मलाई जसले जीवन दियो र मैले जसलाई जीवन दिएँ, म उनीहरूलाई कहिल्यै भुल्न सक्दिनँ। किनकि म आमाको लागि खम्बा हुँ, छोरीको लागि छानो हो। छानो र खम्बाको साइनो टुटाउनु हुन्न भन्ने लाग्छ मलाई।
जति राम्रा, असल र धनी मान्छे भेटेँ भने पनि मैले उनीहरूलाई कदापि भुल्न सक्दिनँ तर किन-किन तपाईंसँग डर लाग्छ न भोलि मलाई र छोरीलाई भुल्नु भयो भने के गर्ने? त्यही भएर तपाईंलाई विदेश पठाउन मन लाग्दैन। तपाईंले आफ्नी आमालाई चिन्नु भएको छैन भने तपाईंले मलाई कसरी चिन्नु भयो होला र जस्तो लाग्छ।
तपाईंले छोरी पढाउन काठमाडौं जान नमानेपछि आमा र मैले सर-सल्लाह गरेर झगडा गरे झैँ गरेका हौँ। तपाईंको आमाले नै 'नातिनीको भविष्य अन्धाकार नहोस्, हाम्रोजस्तो दु:ख नपाओस्' भन्दै मलाई 'आमासँग बस्दिनँ भन र छोरीलाई काठमाडौं लगेर पढाऊ। यहाँ खोला तरेर स्कुल जानुपर्छ, कहिले भेलबाढी आउँछ पत्तै हुन्न। वर्षैंपिच्छे गाउँका केटाकेटी बगाउँछ। खोलाले मान्छे छुट्याउँदैन। बेलैमा भन्देको छु नानी तँ हुँदा मलाई छोरीको याद भुलाउथिस्, सबै काम गर्थिस् तर म त्यसरी स्वार्थी बन्न सक्दिनँ। छोरालाई मैले भन्दा मान्दैन, तैँ भन्' भन्दै आँखाभरि आँसु पार्नुभयो।
अनि पो मेरो होस खुल्यो र हामीले आइडिया लगाएर झगडा भयो भनेको हो। तपाईं अफिस गएपछि हामी सासूबुहारी फोनमा कुराकानी गर्छौं। अस्ती तपाईं बिरामी पर्दा सासूआमाले नै हो २/३ चोटि पैसा पठाएको पनि। तपाईं जति छोरीलाई माया गर्नु हुन्छ त्यति नै माया आमाले तपाईंलाई गर्नुहुन्छ।
र अस्ति तपाईंको हातखुट्टा बाउडिँदा मह र त्यो धुलो मैले खुवाएपछि तपाईंले आमाले जस्तै बनायौ भन्दै खानु भयो, त्यो आमाले नै पठाउनु भएको हो। र आज मलाई पनि तपाईंको आँखा खोल्न चाहन्छु किनकि भोलि मेरा सन्तानले मलाई पनि त्यस्तो व्यवहार नगरून्। आखिर आमा सबैकी आमा नै हुन्छिन्।'
श्रीमतीले यति भनि नसक्दै मेरा आँखा टलपल भैसकेछन्। मैले भोलिपल्ट बिहानै आमालाई लिन जाने निर्णय गरेँ। श्रीमती र छोरी मख्ख परे। म बिहानै मध्यपहाडी यातायात चढेर पुरानोगाउँ लागेँ। दिनभरि बसको यात्रा गरेँ। मनभरि मेरी आमालाई सम्झिँदै बेलुका घर पुगेँ।
आमा ज्वरो आएर सुत्नु भएको रहेछ। मलाई देख्नेबित्तिकै आमा त खुसीले गद्गद् हुँदै उठ्नुभयो। सकि-नसकी खाना बनाउनु भयो। म थाकेर भुसुक्क निदाएछु। ब्युँझेर यसो हेर्दा आमा त खुट्टामा तेल लगाइरहनु भएको रहेछ। म रातभर निदाउन सकिनँ। कस्तो नाता होला यो कहिल्यै रिस, राग र बदलाभाव सधैं माया मात्रै लाग्ने? त्यो पनि बिना स्वार्थ भन्दै सोचिरहेँ।
आमालाई पानी तताएर औषधि दिन खोज्या, आमाले त धेरै चक्की खाएर ओभर डोज भएको रहेछ। डाक्टर बोलाएँ र उपचार गराएपछि केही दिनमा आमा निको हुनुभयो। गाउँको घर-जग्गा काकाहरूलाई हेरिदिनुस्, खेत गरेर खानुस् भन्दै म आमालाई पिठ्युँमा बोकेर सहर लागेँ। सायद मैले पापको प्रायश्चित गर्ने मौका पाएँ। सबैले त त्यो पनि पाउँदैनन्। नत्र मैले सायद आफूलाई कदापि माफी गर्दिनँ थिए।