एक कप चिया, आखिर के नै हो र ? सामान्यतया चिनी, पानी र दूधको मिश्रण न हो। तर पनि चिया नेपाली जिब्रोका लागि पुस्तौं पहिलेदेखि पहिलो रोजाइ बन्दै आएको छ।
यसो हल्का जाडो भयो- चिया, घरमा कोही पाहुना आए–चिया। साथीभाइ भेटघाट भयो-चिया।
हुँदाहुँदा नेपालीहरू यतिसम्म कि, यसो अल्छी लाग्यो भने समेत ए, बूढी चिया पिई दिम्म् न ! न जागर पो आउँछ कि भन्दै चिया प्रेमी हुन पुग्दिछन्।
साँच्चै! भन्ने हो भने एक कप चिया नै एक नेपालीको लागि सुख दुःख साट्ने साथी हो।
सडक छेउमा जीवन बचाउन्नै हम्मेहम्मे परिरहेको कुनै भुइँ मान्छे एक कप चिया दिनुस् न हजुर भन्दै आलापविलाप गरिरहेको हुन्छ।
उसको लागि खाना अलिपरको कुरा जाडोले कठ्यांग्रिएर मुटु नै चल्न छोड्न लागेको बेला मात्रै ऊ यही चाहन्छ कि केही तातो पानी पेटसम्म पुर्याएर मुटुलाई अझ केही समय चलाई रहनसकूँ। ताकि पछि भेटे खाना खाउँला र बाँचौंला।
कोही कसैलाई कुनै त्यस्तो सफलता प्राप्त भइहाल्यो भने पनि पहिलो शब्द नै यही निस्किन्छ कि ,'ल,बधाई छ। अब चिया पार्टी त दिन्नैपर्छ, है !'
कुनै क्याफेमा साथीभाइ भेटेर बस्नासाथ सर्वप्रथम चियाको अर्डर नदिई त साथीहरूबीच कुनै कुराकानी नै सुरू हुँदैन। त्यसर्थ,यस्तो लाग्छ चुरोट खानेका लागि लाइटरजस्तै कुरा गर्नेका लागि चिया पहिलो शर्त हो।
राजेशको घर नजिकै रहेको चार लेनको सडकलाई कहिले ढल विभागले त कहिले खानेपानी त कहिले सडक विभागले खन्दै पुर्दै गरेर जीर्ण शरीर भएका हाम्रो माख्लाघरे माइला बाजेजस्तै कमजोर बनाएको छ।
त्यसैको एक कुनामा उभिएको छ एक चिया दोकान, जसको छानोमा भर्खरै सकिएको कुनै पार्टीको महाधिवेशन बेलाको कुनै ठूलो नेताको फोटो अङ्कित पोष्टर ओढेर उभिएको छ।
जसमा दुई वटा बेन्च, एउटा ग्याँस चुल्हो। केही थान धमिलो आकृतिमात्रै देखिने तिनै सिसाका पुराना गिलासहरू लिएर एउटा चिया दोकानको परिचय लिएर उभिएको छ, त्यो पसल।
जहाँ हरेक दिन सयौं कप चियाका गिलास रितिन्छन्। अनि उहीँ देशलाई रित्याउने राजनीति र राजनीतिज्ञहरूदेखि विश्वलाई चलाउने र धम्काउने अमेरिकी साम्राज्यवादको समेत घण्टौं कुरा काटिन्छन्।
त्यसैले कहिलेकाहीँ मलाई यस्तो लाग्छ, यो सारा संसारभरिको दु:ख र सुखको कथा सुन्ने एक मात्रै पात्र भनेको तिनै चियाका पुराना कपहरू हुन्। जसले कयौं दु:ख सुखका बेदानाहरू सुन्दासुन्दा सानो वास्तविक आकृति नै भुलिसकेर धमिला सिसाका गिलासमा बदलिन पुगेका छन्।
जसले दैनिक हजारौंका लाखौं र करोडौं दु:ख सुखका कहानी सुन्दा सुन्दा ती वेदनाहरूले आफ्नो शरीरलाई धुजाधुजा पारेर चर्काउँदासम्म पनि सक्दो मल्हमपट्टी आफैंलाई आफैंले लगाएर चियाका केही प्रतिशत बुदहरूलाई तिनै असन्तुष्ट ओठहरूसम्म पुर्याइरहेका छन्।
अबका केही समयपछि ती कपहरूले अहिलेजस्तै गरी चियाका ती बुदहरूलाई ती ओठसम्म सकुशल पुर्याउन असफल हुनेछन्। अनि ती साहु जीले नयाँ कप फेरि किनेर ल्याउने छन्। नयाँ मान्छेका नयाँ-नयाँ बेदनाहरू सुन्दिन।
ती असन्तुष्ट मान्छेका असन्तुष्टि सुन्दिन त नयाँ कपहरू लिएर आउलान् तिनै पसले दाइले तर यी राजनीतिज्ञ र यिनीहरूको रामलिला देख्दा-देख्दा,सुन्दा-सुन्दा हैरान भएका हामी जनताले चाहिँ कसलाई ल्याउनु फेरि सिंहदरबारमा?
सेता हात्तीका रूपमा जर्मराएका तिनै पूर्व राजालाई कि ? अर्को कुनै लोकबाट यो देशलाई बनाई दिन विशेष रूपमा हायर गरेर अर्को कुनै नेतालाई ?
आज म गणतन्त्र आएकोमा खुसी व्यक्त गरूँ कि?
राजतन्त्र ढलाएकोमा दु:ख?
यो प्रश्न आज आएर हरेक नेपालीको मन मन मष्तिकमा रोटे पिङ सरी घुमिरहेको छ।
बस, समाधान खोज्दा खोज्दा र यी नेता भनाउँदालाई परीक्षण गर्दागर्दा थाकिसके हाम्रो भोट हाल्ने तिनै हात र औंलाहरू .....।
यति मात्रै कहाँ हो, जीवनको स्वर्णिम उमेर युवा अवस्थामा आफ्नो प्रेमको सुमधुर कहानी लेख्दै गरेका ती युगल जोडीहरू एक अर्कोलाई नअघाउन्जेल हेरिरहन पनि दुई कप चियाको सहारामा कुनै चिया पसलको बेन्चमा घण्टौं भुलिरहेका देखिन्छन्।
बच्चादेखि उमेरले भर्भराएका युवायुवती अनि वृद्ध अवस्थाका आमा बुबा सबैको प्रिय चिया आफैंमा भने विभिन्न रूपमा उपलब्ध छ।
कुनै चिया सडकको सानो दोकानमा उम्लिन्छ भने त्यो साधारण चिया हो तर त्यही चिया कुनै क्याफे वा सोल्टी, हायातजस्ता होटलमा उम्लिन्छ भने त्यो अमेरिकन क्यापेचिनो भैदिन कुनै समय लाग्दैन।
यस्तोमा म पनि नलोभी रहन त कहाँ सक्छु र चियासँग ?....ठट्टा गर्नेहरूले भने झैं,'हिसाबै गर्ने हो भने त सम्धि २ लाखको त चिया नै खाइयो नि।'
यहाँ, हरेक नेपालीले आफ्नो जीवनभरमा पानीभन्दा बढी चिया नै खाँदा हुन् बिहानीको सुरूआतदेखि बेलुकी सुत्ने बेलासम्म फुर्सद मिल्यो कि एउटा न एउटा बहाना खोज्दै चिया कप समात्न हतारिएकै हुन्छन् हरेक नेपाली हातहरू ....।
जे होस् उकाली चढ्दै गर्दा होस् वा ओराली झर्दै गर्दा। खेतमा पुसे बाँझो फुटाउँदै गर्दा होस् वा असारे मेलो साउँदै गर्दा कुनै नेपालीलाई चिया खाने दाइ वा दिदी भनेर सोधेमा प्राय: "नखाऊँ होला हो" भन्ने उत्तर आउन्न। नपत्याए हजुर नै सोधी हेर्नुहोस् त कुनै एउटा नेपालीलाई...।