काठमाडौं झरेको आज तेस्रो दिन। दुई दिन फोकटमै बित्यो! आजको दिन पर्खाइमा बित्ने छ। अनि भोलिदेखि बल्ल बिन्दास जीवन सुरू।
म काठमाडौं आइपुगेको कुरा कसैलाई थाहा नहोस् भनेर खुब सजग छु। होटलको काउण्टरमा पनि मलाई दिपक भनेर चिन्दैनन्। त्यहाँ मैले अर्कै नाम लेखाएको छु।
विदेशमा मोबाइलको अलार्मले उठ्ने बानी परेको थियो, तर यहाँ समयभन्दा पहिले नै उठने गरेको छु। उसो त उता विदेशमा पनि छुट्टीको दिन कहिले निद्रा लागेन।
आज त छुट्टी, मस्तले सुत्ने भनेर योजना बनायो। पहिले निद्रा लाग्दैन, लागे पनि अलार्मभन्दा निक्कै अगाडि उठिहालिन्छ। छुट्टीको खुसीमा उकुसमुकुस भएर होला।
आज ठ्याक्कै त्यस्तै भएको छ मलाई। हिजो अबेरसम्म बसेको कारण आज बिहानभर सुतेर समय कटाउँछु भनेको, चार बजे नै ब्युँझिएँ।
अब न त निद्रा लाग्छ, न कतै जाने काम छ मेरो।
हिजो सुत्नेबेला डाटा अफ गरेर चार्जमा घुसाइएको मोबाइल लिएर ट्वाइलेट गएँ। मोबाइलबिना ट्वाइलेट नै नहुने खतरनाक बानी परेको छ मलाई।
उ जमानामा हाम्रा बाजे निमको डाठले दाँत नघोच्दासम्म मलमुत्र विसर्जन गर्न सक्दैनथे रे। हाम्रा बा चुरोट नफुक्दासम्म मलमुत्र झर्दैन् भनेर चुरोट फुक्दै ट्वाइलेट बस्नु हुन्छ। अनि म चाहिँ मोबाइलमा डाटा अन नहुँदासम्म फ्रेस हुनै सक्दिनँ।
टुस्स ट्वाइलेटको सिटमा बसेर फेसबुक अन गरें, भरल्तै मेसेज आए।
घरबाट आएका मेसेजलाई काममा छु भनेर टार्दिएँ। साथीभाइका मेसेजलाई बेवास्ता गर्न थालेको आज चौथो दिन हो। बाँकी महत्व उनकै मेसेजको थियो।
उनले एउटा फोटो पठाएकी थिइन् र मेसेजमा लेखेकी थिइन्, 'दुई बजे एयरपोर्ट आउनु , मेरो आजको फ्लाइट हो।'
फोटो बुद्ध एयरको टिकटको थियो। पोखराबाट उनी आउँदै थिइन्। म उनलाई कुरेर बसेको आज तीन दिन पूरा हुँदै थियो।
उता मैले काम गर्ने ठाउँमा झूट बोल्दै, रूमका साथीलाई क्यालिफोर्निया जाँदैछु भनेर सुटुक्क काठमाडौंको टिकट काटेर बेपत्ता भएको म काठमाडौं किन र केका लागि आएँ भन्ने कुरा उनलाई र मलाई मात्र थाहा छ, बाँकी दुनियालाई त म कहाँ छु भन्नेसम्म थाहा छैन।
बिहानको पाँच बजेकै थिएन, दिउँसोको दुई बजे उनी आइपुग्ने। मलाई छटपटी फेरि सुरू भयो। सुत्दा निद्रा लाग्दैन, बाहिर घुम्न मन छैन।
वेटरले ढोका बजाउँदै भन्यो 'कफि !'
मैले कफी ढोकाबाटै फिर्ता गर्दिएँ। मलाई फ्रेस हुनको लागि कफीको आवश्यकता थिएन। समय कटाउनु थियो, फ्रेस म उनको पर्खाइ मै थिएँ।
वेटरलाई फेरि बोलाउँदै भनें, 'एक क्वाटर रम ल्याऊ, अनि अलिकति मह र तातोपानी पनि ल!'
काठमाडौंको जाडोमा रमको महत्व बढेर आयो, त्यसमाथि मह र तातोपानी।
ऊ छक्क परेका आँखाले मलाई हेर्दै भन्यो- बिहानै?
म हाँसें।
उसले फेरि प्रश्न गर्यो - सितन के ल्याइदिम?
मैले केही पर्दैन भनेपछि ऊ मुन्टो हल्लाउँदै गयो। सायद किटारी भने होला। उसकै भाषामा भन्दा जड्या त पक्कै भन्यो।
तर उसलाई के थाहा, आज बिहानको मेरो खिचाइ रहर नभएर बाध्यता हो। मलाई केही घन्टा निदाउनु छ, र त्यो निद्रा एक क्वाटर रमले लगाउँछ।
एक क्वाटर रमलाई दुई पेग बनाएँ, मह र तातो पानी हालेर घोलें। अनि मोबाइलमा फेसबुक स्कोरल गर्दै तान्न थालें।
मलाई निक्कै छिटो नशा दिन्छ यो रक्सीले। बरू बियर सजिलै पचाउँछु। एक पेग नसकिँदै म झ्यापजस्तै भएँ।
मेसेन्जरमा उनको फोन आयो, उठाएँ। उनले एकदम सानो स्वर गराउँदै भनिन्- कहाँ छौ?
मैले रक्सीको गिलास र रमको बोतल लुकाउँदै भनें- कोठामै, किन र?
उनले डराउँदै सोधिन्-तिमी नेपाल आएको घरमा भनेका छैनौ? भाइहरूलाई पनि थाहा छैन?
'छैन नि, कसैलाई भनेको छैन। किन?' मैले पनि उत्तर सँगै प्रश्न गर्दिएँ।
'मलाई तिमीसँग दुई चार दिन बिताउन एकदम डर लागिरहेछ, कोही चिन्नेहरूले तिमी र मलाई देख्ला भन्ने डर। आफन्तको डर।' उनले रून्चे स्वरमा भन्दै गइन्।
'भाक पागल, म होटल बाहिर त निस्केको छैन!' मैले हिम्मत दिँदै भनें।
मोबाइलमा भिडिओ कलको घण्टी बजाउँदै उनले भनिन्, 'भिडिओ खोल, हेर्छु!'
धन्न बचियो, रक्सीको गिलास र बोतल अघि नै लुकाएको थिएँ। हतार गर्दै बिस्तरामा पल्टिएँ, सिरकले पूरै शरीर ढाकेर भिडिओ खोल्दै भने- अँ भन मायालु!
अलिकति लजाएका आँखाहरूले मलाई हेर्दै मुसुक्क हाँसिन् अनि आफ्नै मोबाइलको क्यामरातिर ओठ पसार्दै दुई पटक चुप्पा गरिन् अनि भनिन्- चुप्पा गर्न भिडिओ कल गरेकी हु, ल सुत! एयरपोर्ट समयमा पुग्नू।
मैले फोन काटेर फेरि दुई पेग लगाएँ। अहिले चाहिँ साँच्चिकै अनकन्ट्रोल भएर बिस्तरामा पल्टिएँ।
रमको नशाले मलाई मज्जाको निद्रा गरायो। एकै पटक १२ बजे उठें म।
उठेर मोबाइल हेरें, उनका मायाले भरिएका दर्जनौं मेसेज थिए। मलाई समयमा एयरपोर्ट पुग्नु थियो। ढिला नगरी फ्रेस भएर तल ओर्लिएँ।
रमको कारणले होला पेट ढुस्स थियो। खाना खान मन थिएन। एक कप कालो चिया र एउटा सूर्य चुरोट मगाएँ, काउण्टर अघि टेबलमा बसेर सिध्याएँ।
मैले चुरोटको धुँवा उडाएको मेरो कोठामा खाना पुर्याउने वेटरले हाँस्दै हेरिरह्यो, किनकि मलाई चुरोट पिउन त्यति आउँदैन। खोक्दै चुरोट सकेको थिएँ।
चुरोट पिउन बानी नपरेका सिकारूहरू सबै मजस्तै देखेको छु मैले। आँखाबाट आँसु आउन्जेल खोक्ने।
होटलकै गाडी र ड्राइभर लिएर हामी एयरपोर्ट हुइँकियौं। उनी पोखराबाट उडिन्, म महाराजगन्जको जाममा मज्जाले फसें।
बाटोमा ड्राइभरले सोधे- आउँदै गरेको तपाईंको को हो?
'श्रीमती', मैले सटिक उत्तर दिएँ।
ड्राइभरले त्यसपछि केही सोधेनन्। बरू मैले कल्पना गरिरहें, 'को हुन् त उनी?' भन्दै !
बनिसकेको नाता केही छैन, एउटा असल साथीमात्र हुन् उनी। तर उनलाई र मलाई लाग्छ हामी साथीभन्दा धेरै माथि छौं।
सात वर्षअघि अमेरिका पुगेकी उनी र चार वर्षअघि अमेरिका पुगेको म प्रेममा छौं, दुई वर्षदेखि। समयले यसरी लखेट्दै थियो कि अमेरिकामा रहुन्जेल हाम्रो डेटिङ कहिल्यै भएन।
उनी काममा हुँदा म फ्री, म काममा हुँदा उनी फ्री। तर भेट भैरहन्थ्यो। जम्काभेटजस्तै सामान्य भेट। कहिलेकाहीँ कफी भेट। तर डेटिङ जाने भेट जुरेन उता।
एक्कासि उनी एक महिने छुट्टीमा नेपाल जाने योजना एउटा भेटमा सुनाएपछि मैले पनि तय गरें, उनीसँगै नेपाल जान्छु।
उनले सँगै नजाने, तिमी चाहिँ अलि पछि जाऊ भनेर प्लान सिकाएपछि उनी नेपाल आएको दुई हप्तापछि म नेपाल आएको हुँ। आज नेपाली भूमिमा हाम्रो पहिलो भेट हो।
यो भेट कति दिन चल्छ, मलाई थाहा छैन तर भेट सकिएको भोलिपल्टै म अमेरिका फर्कन्छु।
उनी एयरपोर्ट झरिसकिन्, उनको छोटो मेसेज आइपुग्यो - कता छौ?
ड्राइभरले गाडीको स्पिड बढाए, मैले मुटुको धड्कन। अबको केही मिनेटमै हामी जीवनको पहिलो डेटिङ सुरू गर्नेछौं।
उनी एयरपोर्ट अगाडि ट्याक्सी पार्किङमा मेरो पर्खाइमा थिइन्, मैले ड्राइभरलाई इसारा गर्दै भने-उ त्यता लैजाऊ।
गाडीबाट ममात्र ओर्लिएँ। ड्राइभरले गाडी ब्याक गर्न थाले।
मैले हाँस्दै उनलाई हेरें, उनी लजाइन्। मैले ग्वाम्म अंगालो मार्दै भने- आई लभ यू बेबी!
उनी हाँसिरहिन्। मैले उनको ब्याग उचाल्दै भनें- हामी त्यही गाडीमा फर्कने हो, आऊ।
उनीसँगको पहिलो डेटिङ नलेखेको भए पनि हुन्थ्यो। तर यी सुनौला दिन, यो छटपटाहट अनि यो डेटिङको आनन्द नलेखी कहाँ बस्न सकिन्छ र?
बाँकी डेटिङका गफ अनि रमाइला पलहरू विदेश फर्केपछि लेख्ने छु।
जीवनमा दुई बाट एक भइएला या नभइएला तर यी यादहरू जीवन्त राख्न रहर छ किनकि यस्ता दिन, यस्ता उमेर अनि यस्ता प्यारा मान्छे जीवनमा फेरि फर्केर आउँदैनन्।
भोलि कसले देखेको छ र? त्यसैले आज भएका मीठा पललाई शब्दमा कैद गर्नुस्, भोलि पढेर रमाउन पाइयोस्, या जीवनमा केही सिक्न पाइयोस्।