'अनि भन्, अब बिहे कहिले गर्छेस् त?'
'बिहे रे? धत् एक्कासि तर्साउँछे यसले पनि।'
चियागफमा अकस्मात् बिहेको प्रसंग निकालेकी साथी मेरो जवाफ सुनेपछि केहीबेर मौन रहेर मलाई एकोहोरो हेरिरही।
उसलाई थप प्रस्ट्याउँदै भनें, 'साँच्चै यार, बिहे शब्द झट्ट सुन्दा, जीवन साथीको अनुहार कल्पना गर्ने उमेर नै ठिक थियो, यो बिहेको बिल कल्पना गर्ने उमेर ठिक होइन रैछ।'
त्यसपछि भने केही बुझेजस्तो गर्दै उसले पनि उस्तै ठट्यौली पारामा जवाफ दिई, 'कानुनले बीस वर्ष उमेर बढी राखिदिएछ कि क्या हो त उसोभए? बिल सम्झिएर तर्सिएपछि, आफ्नै बिहेको रमाइलो मिस हुने भो, दोहोर्याएर लिन पनि नमिल्ने।'
वास्तवमै, अकस्मात् विवाहको बारेमा कुरा निस्कँदा लगभग तर्सिने अवस्था बनिसकेको छ। तर्सनु यो अर्थमा होइन कि, विवाहपछि जीवनमा आउने परिवर्तनहरूमा आफू समाहित हुन नसकिएला। बरू यो अर्थमा कि सामाजिक सञ्जालहरूको देखावटीपनले महंगो बनाइदिएको विवाहको खर्च हामीजस्ता न्यून-मध्यम वर्गका मान्छेमाथि कति भारी पर्ला भनेर!
विवाहको मौसम अर्थात्, मंसिर महिनाको सुरूआतदेखि हालसम्म नै महिलाहरूका फेसबुक ग्रुपहरूमा विवाहसँग सम्बन्धित अनेक जिज्ञासासहितका स्टाटसहरू पोस्ट भइरहेको देखिन्छ। त्यस्ता पोस्टहरूमा अधिकांश दिदिबहिनीहरूको जिज्ञासा गहना, कपडा, सजावटका सामग्रीसँग सम्बन्धित हुन्छन्।
उदाहरणका लागि : फलानो टिकटक स्टारले आफ्नो इन्गेजमेन्टमा लगाएकोजस्तै फूलको माला कुन ठाउँमा पाइन्छ? अथवा, उनको जस्तै हेयरस्टाइल बनाउन कहाँ जाने? बेहुला बेहुलीको म्याचिङ ड्रेस कहाँ राम्रो बन्छ?
यस्ता यावत् जिज्ञासाहरूले धेरै दिदिबहिनीहरूको मानसपटलमा डेरा जमाएको देख्दा प्रष्ट हुन्छ कि टिकटकले देखाएको जस्तै तामझामले विवाह गर्न उनीहरु कति लालायित छन्।
एक हिसाबले सोच्दा, जीवनमा एकपटक गरिने विवाह रहर पुर्याएर गरौं भन्नु कुनै ठूलो कुरा हो जस्तो लाग्दैन। तर, हिजोआज विवाहको मुख्य कार्यक्रमबाहेक विवाह अगाडि र पछाडि यति धेरै अरू कार्यक्रमहरू राखिएका हुन्छन् कि प्रत्येक कार्यक्रमको लागि छुट्टाछुट्टै मेकअप, ड्रेस, हेयरस्टाइल, गहना आदिको व्यवस्थापन सानो बजेटमा अटाउँदैन।
केही वर्ष अघिसम्म, राष्ट्रियस्तरका कलाकारहरू जसको आम्दानीको स्रोत पनि निकै राम्रो हुने गर्छ, उनीहरूले आफ्नो विवाहमा त्यसरी नै अनेक कार्यक्रम राखेर धोको पुर्याएर खर्च गरेको देख्न पाइन्थ्यो। तर, हिजोआज, सामान्य परिवारबाट आएर टिकटकमा हिट भएका केही दिदिबहिनीहरूले पनि सोही चलनलाई अझ बढाउँदै लगेको देख्न पाइन्छ।
बच्चा छँदादेखि सुन्दै आएको अर्थात् परम्परादेखि चल्दै आएको फूलमाला र मुख्य विवाह समारोहभन्दा बाहेक ब्राइड टु बि सेलिब्रेसन, ब्याचलर्स पार्टी, झन्डै झन्डै विवाहकै जत्तिको तामझामयुक्त इन्गेजमेन्ट, प्रि एन्ड पोस्ट म्यारिज फोटोसुट, हल्दी, मेहेन्दी आदिको अवसरमा टिकटकमा भाइरल भएका भिडिओ हेर्दा यस्तो लाग्छ कि मध्यमवर्गीय नेपाली बुवाआमाका लागि छोरीको विवाह गर्न अंशमा पाएको खेत बन्धकी नराखी सम्भव नै छैन।
टिकटक स्टार बनिसकेका दिदिबहिनीहरूले त मेहेन्दीको पहेंलो 'थिम'देखि विवाहको रातो 'थिम'सम्मको खर्च लाइभ बसेर 'ट्याप-ट्याप' गर्न लगाएकै भरमा उठाउलान्, तर तिनै टिकटक स्टारहरूलाई हेरेर तिनको जस्तै नक्कल गर्न खोज्ने नन-स्टार छोरीहरूको इच्छा पूरा गरिदिन उनीहरूका बुवाआमाले कुन सास्ती बेहोर्नु पर्दो हो?
समाजमा चेतनाको स्तर न्यून हुँदा बुवाआमालाई छोरीको विवाहको लागि व्यवस्थापन गर्नुपर्ने दाइजोले दिएकोजस्तै मानसिक तनाव, समाज शिक्षित बन्दै जाँदा, छोरी स्वंयका अनावश्यक रहरहरूले दिइराखेका पो छन् कि?
अर्कोतिर, ऋण गरेरै भए पनि रहर पूरा गर्न सक्नेले त गर्छन्, पूरा गर्न नसक्नेहरूले महसुस गरेको हिनताबोध पनि कम पीडादायी हुँदैन। त्यसैको उदाहरण बेलाबेला सामाजिक संजालमा पोखिइरहेको देख्न सकिन्छ।
केही दिनअघि, महिलाहरूको फेसबुक ग्रुपमा अर्को एउटा स्टाटस पोस्ट भयो, जसमा जिज्ञासा थियो- हिजोआज विवाहमा अत्यधिक प्रयोगमा आएको लेहेंगा केही दिनका लागि भाडामा लिन कहाँ पाइन्छ?
उक्त पोस्टमा निकै लामो भूमिका बाँधेर परिवारको आर्थिक अवस्था कमजोर भएको र आफूलाई उक्त किसिमको लेहेंगा लगाउन निकै रहर लागेको हुनाले भाडामा लिएर भए पनि लगाउन चाहेको कुरा उल्लेख गरिएको थियो।
उक्त स्टाटसलाई नियाल्दा स्टाटस पोस्ट गर्ने व्यक्ति कस्तो मानसिक अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा सजिलै अन्दाज लगाउन सकिन्छ।
आखिर, सामाजिक संजालमा देखाउनका लागि जोरजाम गर्न नसकिएको लत्ताकपडा, गरगहना र सजावटकै कारण हामीले किन अनावश्यक मानसिक तनावबाट गुज्रनुपर्ने?
टिकटककै प्रसंगमा, बेहुला-बेहुलीका लागि गरिने खर्च त आफ्नो ठाउँमा छँदैछ। आफन्तको विवाहमा सरिक हुन जानेको पनि उस्तै तामझाम देखिन्छ।
एक जनाको विवाहमा सरिक हुन जाने दर्जनौंले हजारौं रकम अनावश्यक महंगा लत्ताकपडा र शृंगारमा खर्च गरिरहेका हुन्छन्। मेडिकेयर, पेडिकेयर, नेल एक्स्टेन्सनदेखि हेयर ड्रेसिङसम्मको खर्च जोड्दा, जिन्दगीभर आफूले सरिक हुनुपर्ने सम्पूर्ण विवाहमा त्यही हिसाबको खर्च गर्न कसरी सक्षम हुन्छन् होला भन्ने प्रश्न उब्जनु स्वाभाविक लाग्छ।
व्यक्तिगत रूपमा सक्षम भएर खर्च गर्न पाउनु उनीहरूको स्वतन्त्रता हो, तर त्यसलाई सामाजिक संजालमा यसरी प्रदर्शन गरिन्छ कि त्यसैगरी खर्च गर्न नसक्ने अरू व्यक्तिहरू हिनताबोधले ग्रस्त हुने अवस्था उत्पन्न हुन्छ।
केवल एकदिनको रमाइलोको लागि गरिएका अनावश्यक खर्चले एउटा परिवारलाई मात्र प्रभाव पार्ने नभई, त्यस समयमा प्रयोगमा आउने श्रृंगार र प्रशोधनका यस्ता सामग्री आयातमा वृद्धि हुनाले देशको ठूलो रकम समेत बाहिरिन पुग्छ।
कोरोना महामारीसँगै पटक/पटकको लकडाउनले थला परेको अर्थतन्त्रलाई अझै भासिन सहयोग गर्ने कारणमध्ये एक हाम्रो यस्तै अनावश्यक खर्च गर्ने बानी पनि हो।
यसर्थ, अपवादबाहेक जीवनमा एकपटक मात्रै आउने आफ्नो महत्वपूर्ण दिनलाई सम्झनलायक बनाउन आफ्नो क्षमताअनुसारको व्यवस्थापन गर्नु अन्यथा पक्कै होइन तर कुनै पनि नारीले आफू कर्मघर जाँदै गर्दा माइतीलाई ऋणको भारी बोकाएर जानु नपरोस्। भोलिपल्ट ओइलिएर जाने महंगो मालाको रहरमा बढ्दै गरेका भाइबहिनीको पढाइ नरोकियोस्। डिजाइनर लेहेंगाको रहरमा बुढेसकाल लाग्दै गरेका बाआमाको औषधिउपचार खर्च नसकियोस्।
अन्त्यमा, आफ्नो सीप र संस्कारले कर्मघरसँगै आफ्नो जिन्दगी सजाउनुहोस्। तामझामले विवाह गरेको टिकटक भिडिओमा लाइक आउन नछोड्दै, डिभोर्सको हल्ला भाइरल हुन नपुगोस्, यसपालि बेहुली बनेका र बन्दै गरेका सम्पूर्ण दिदीबहिनीहरूलाई दाम्पत्य जीवनको एकमुष्ट शुभकामना।