दिन खुलेको छैन। घाम देखिन छाडेको धेरै दिन भयो। चिसो बढेको बढ्यै छ। यही बेला सहिद सप्ताह छ। साँच्चै, छोडेर जानेहरूको सम्झना गरेको त होइन प्रकृतिले? आज मन एक तमास ती छोडेर जाने सपूतहरूलाई सम्झिरहेको छ।
ओहो! कस्तो त्याग र बलिदान थियो उनीहरूको। देशको खातिर आफ्नो प्राणको बलिदान दिन पनि पछि परेनन् ती वीरहरू। छिमेकी देशहरू परचक्रीबाट शासित भए। हामीहरू आफन्त र आफ्नाहरूबाट मकैमा घुन पिसिँदाजस्तै पिसियौँ, पिल्सियौँ। देश सय वर्षभन्दा धेरै अन्याय र दमनको दुष्चक्रमा पर्यो। त्यही अन्यायका बारेमा बोल्दा कतिले आफ्नो ज्यान गुमाए त कतिले आफ्नो सर्वश्व गुमाए। कति निर्वासित भए तर ती सबैको बलिदानीको मान हामीले अझै राख्न सकेका छैनौँ।
देशमा प्रजातन्त्र आयो, बहुदल आयो, गणतन्त्र पनि आयो तर सहिदले देखेको सम्मृद्धिको सपना, समानता र भेदभाव रहित विकसित समतामूलक देश नेपालको सपना मृगमरिचाजस्तै भयो। अब त केही हुन्छ भन्यो आपसी दहलफसलको राजनीति मौलाएर देशको विकासको मुद्दा किनारा लागेको लाग्यै भयो।
हिजो चप्पल लगाउने हैसियत नभएकाहरू सिंहदरबार छिरेर दिन दुई गुना रात चौगुना स्वउन्नतिमा धेरै अगाडि पुगिसके। उनीहरू सुकिला मुकिला भए तर देशको अवस्था धमिराले गुँड लगाएको काठजस्तो भयो। देशको नाममा रगत बगाउनेका सन्ततिले खाडीमा पसिना बगाउनु पर्ने अवस्थाको श्रृजना भयो।
देशको नाममा बगेको रगतको मूल्य शून्य सरी भयो। राजनीतिक क्रान्तिका लागि विगतमा भएको जनयुद्ध होस् वा अन्य साना-ठूला सबै प्रकारका आन्दोलन होउन्, देशका कैयौँ होनाहार नौजवानहरू मारिए। कति अपांग भए। कति धनजनको नोक्सानी भयो। देशले थोरै भए पनि प्रगति गरेर त्यो सबै नोक्सानीको भरपाई गर्न सकेको भए पनि सन्तोष गर्न सकिन्थ्यो। तर सन्तोष लिने अवस्था छैन।
सहिदको बलिदान र त्यागको बदलामा देशमा मौलाएको स्वार्थ र निजी हितको लागि मरिमेट्ने राजनीतिक संस्कारले प्रश्रय पाइरहेको अवस्थामा कस्तो विकासको अपेक्षा गर्ने हो हामीहरूले? व्यक्ति त बने तर देश बनेन। ओठमाथि जुँगाको रेखी नबस्दै परदेश भासिन अभिसप्त युवा-युवतीको लर्को विमानस्थलमा लामै छ। चाहेर वा नचाहेर उनीहरू श्रमको विनिमय गरेर विप्रेषण भित्राउन बाध्य छ्न्।
गाउँघरमा कृषि श्रमिक नपाएर खेत खलियान बाँझाका बाँझै छ्न्। युवाहरू वैदेशिक रोजगारीबाट सग्लै फर्कन्छन् कि रातो बाकसमा सरकारले उनीहरूको सामान्य सुरक्षाको समेत चाँजो मिलाउन सक्दैन। सरकार निरीह हुनु, देश गरिबीको दुष्चक्रमा फस्नु अस्थिर र अदूरदर्शी राजनीतिक संस्कारको उपज हो।
'रोम जलिरहेछ निरो बाँसुरी बजाइरहन्छ' जस्तै हामीले त्याग र बलिदानी दिएर आएको लोकतन्त्र पनि मुठीभर राजनीतिकर्मी र उनीहरूका आसेपासेको निजी निहीत स्वार्थको जालोमा जेलिएको छ। देशको यस्तो अवस्था देख्दा साँच्चै के सोच्दो हो सहिद गेटमा ठिंग उभिएको सहिदको सालिक? आज ती छोडेर जाने सबैलाई सम्झना स्वरुप कोटी-कोटी नमन कोटी-कोटी बन्दना।