ज्ञात-अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा-सुमन। भद्रकाली मन्दिरमा श्रद्धाले ढोग गरिरहँदा नजिकैको सहिद गेटमा हामी श्रद्धाले शीर झुकाउन सक्छौँ कि सक्दैनौँ?
प्रत्येक वर्षको सहिद सप्ताहसँगै सहिदगेटमा रंगिन फूलका गुच्छाहरू यत्रतत्र छरिएका हुन्छन्, मलाई त लाग्छ कतै यी फूलका पत्रहरू छुट्टिए झैं हाम्रा महान् सहिदका सपनाहरू टुक्रिएका त छैनन्?
मैले लेखेका प्रत्येक अक्षरहरूमा केवल मसी मात्रै बगिरहेको छैन, अक्षरहरू लेख्ने स्वतन्त्रताका लागि महान् सहिदहरूले बगाएको रातो रगत पनि बगिरहेको छ। सहिदहरूले स्वतन्त्रताका लागि आफ्नो देह त्याग गरिरहँदा नेपालीहरू प्रजा थिए, ती प्रजा नेपालीहरूलाई जनता बनाएका ती सहिदका रगतप्रति त्यसपछिका नेतृत्वले हृदयङ्गम गर्दै अगाडि बढेको भए आज नेपालीहरू नागरिक बनिसकेका हुने थिए। तर विडम्बना! त्यस्तो हुन सकेन। आज ती प्रजा, नागरिक भएको भए सहिदहरू प्रतिको सँच्चा श्रद्धाञ्जली त्यही नै हुने थियो।
सहिदहरू हाम्रो सपनाका जननी हुन्, स्वतन्त्रताका प्रणेता हुन् र समृद्धिको यात्राको मार्गदर्शक हुन्। केवल फूलका कृत्रिम गुच्छाहरूले उनीहरूको रगतप्रति सम्मान व्यक्त गर्न सकिदैंन।
मेरो नेतृत्वमाथि प्रश्न छ, के केवल संविधानमा 'समाजवाद उन्मुख राज्य व्यवस्था' लेखेर मात्रै सहिदका सपनाहरूलाई गिज्याउने सुविधा तपाईंहरूसँग छ? आज आम नेपालीमा संशय पैदा भइरहेको छ, कतै हाम्रा नेतृत्वमा 'नेपालीत्व 'नामक जिन नै छैन कि वा त्यो उत्परिवर्तन भइसक्यो। सहिदहरूको त्यागले प्राप्त स्वतन्त्रताको उपयोग गर्दै समृद्धिको गन्तव्यमा पुग्न हामी असमर्थ भएका छौँ।
सहिदहरूले आफ्नो सालिक रंगिन फूलका गुच्छाहरूले सजियोस् भन्ने चाहना सायदै कहिल्यै राखेनन्, सपना थियो त केवल आम नेपालीले स्वतन्त्रताको श्वास फेरून् र समृद्धिको स्वाद चाखुन्।
आफ्नो मृत्यु पत्रमा रगतले हस्ताक्षर गरेका ती सहिदहरूको स्वतन्त्रता र समृद्धिको सपनाको भ्रूणलाई किन निमोठ्न खोजिँदैछ? हामीले फेरिरहेको श्वास र बोलिरहेको आवाजमा सहिदको प्राणवायु पनि मिसिएको छ भन्ने हेक्का हामी किन राख्दैनौं? यी र यस्ता गम्भीर प्रश्नहरू प्रति मेरो पुस्ता संवेदनशील हुनु जरुरी छ।
यो लेखिरहेको लेखक उमेरले २२ वर्ष पुगेको छ, सहिदहरूप्रति म विश्वास दिलाउन चाहन्छु कि तपाईंहरूको सपनाको समृद्धिलाई मेरो पुस्ताले कर्मको पसिनाद्वारा सिँचाइ गर्नेछ, सहिदहरूको रगतले पोतिएको यो भूमिमा उत्पादनका बिरुवाहरू उमार्ने छ, उपहारमा छोड्नु भएको स्वतन्त्रतालाई आत्म-स्वाभिमानसँग जोड्ने छ।
म अन्तिम पटक सबै सहिदहरूसँग हार्दिकतापूर्वक अपील गर्न चाहन्छु, कृपया आम नेपालीहरूको सपनामा भ्रातृत्व र समृद्धि ऐठन गर्न आउनुहोस् न।