केही दिन अगाडिको कुरा। बिहान सवा नौ बज्नै लागेको थियो, म अफिस जाने तरखर गर्दै थिएँ। यत्तिकैमा मेरो मोबाइल इनबक्समा म्यासेज आयो, 'हाई, के गर्दै छौ? कहाँ छौ? बिजी छौ?'
एकछिन म अलमलमा परेँ। नम्बर बिल्कुलै नयाँ थियो। मैले रिप्लाई गरेँ, 'को हुनुहुन्छ कुन्नी?'
'म तिम्रै क्लासमेट साथी क्या, माया थापामगर (नाम परिवर्तन)। आज साथीहरूको याद आएर म्यासेज गरेको। भेटौँ न एकदिन समय मिलाएर।'
म अलिक हतारमा थिएँ, 'हुन्छ' भन्दै अर्को दिन भेट्ने वाचा गरेर बिदा भयौँ।
गत पुस महिनाको ४ गते आइतबार ल्होसारको दिन कीर्तिपुरस्थित टियुमा हाम्रो भेट भयो। हाई, हेल्लो गर्यौं। लामो कपाल, लाम्चो अनुहार, धेरै नबोल्नी, हेर्दा सोझी देखिने, हसिलो अनुहार भएकी तिनै माया थिइन् उनी। एउटै क्लासमेट साथी भए पनि हाम्रो सामान्य हाई, हेल्लो बाहेक केही हुन्थेन। त्यसमा पनि उनी होस्टेल बस्ने राम्रो चिनजान समेत थिएन।
हामी एकछिन मास्टर्स पढ्दाका दिनका कुरामा रमायौँ। उनीसँग सानो ३ वर्षको बच्चा पनि थियो, मलाई को हुन् भनेर प्रश्न गर्न मन लाग्यो र उनलाई सोधेँ, 'अनि यी बाबु?'
'यो मेरो छोरो हो। अरुको छोरोभन्दा के कम छ?'
कुनै उत्तर भेटिनँ। म एकछिन नबोली हेरिरहेँ।
एकछिनपछि उनले मतिर हेदै भनिन्, 'तिमीले कथा लेख्दो रहेछौ, मेरो पनि एउटा कथा छ प्लिज लेख्देऊ न है? मभित्र पनि अनगिन्ती पीडाहरू निसास्सिएर बसेका थिए। कसलाई सुनाउँ, कसलाई पोखौँ? मेरो भावनालाई शब्दका माध्यमबाट बाहिर ल्याउन सके पीडामा मलम लगाउन सक्छु कि भन्ने महसुस गरेँ। मनको अँध्यारो कुनामा कुन्ठित आफ्नो व्यथा बाहिर ल्याउने मन भयो र तिमीलाई भेट्ने निधो गरेँ।'
उनले आफ्नो मनभित्रको कुण्ठालाई मसँग पोख्न थालिन्।
'हाम्रो बिहान-बेलुका छाक टार्न धौ-धौ पर्ने परिवार। परिवारमा बुवा, भाइ र म। मेरी आमा निष्ठुरी, यो संसार देखाइन् अनि आफू कहिल्यै नदेख्ने गरी हामीलाई छाडेर गइन्। आमा बितेपछि भाइलाई हजुरआमाले मामाघरमा लैजानु भयो। अहिले त ऊ ठूलो भैसक्यो। मामा घर नजिकैको मेगा बैँकमा जागिरे छ।
मलाई अझै पनि याद छ, आमा बितेपछि बुवाले छोराछोरी साना छन् अर्को बिहे गर्दिनँ भन्नुभएको। तर म हुर्केको समाजले दिएन, बिहे गर्नैपर्छ भनेर मेरो भाग्य अनि खुसी मेटाइदियो। बुवाले आमा बितेको एक बर्ष नहुँदै अर्को बिहे गर्नुभयो। जब ममीको छोरा भयो, त्यसपछि मैले पाउने माया नै परिवर्तन हुँदै गयो। उहाँ मेरो लागि आमाजस्तै हुनुहुन्थ्यो तर आमाको लागि म कहिल्यै छोरी हुन सकिनँ।
मलाई आमा भनेर बोलाउने अधिकार त यो समाजले दियो तर छोरी भनेर छोरीको जस्तो व्यवहार यो समाजले दिएन। बाटोमा हिँड्ने मानिसहरू नै मेरा भगवान थिए। भगवानका बीचमा राक्षसहरू पनि थिए। घरको काम, खेती र पढाइले गर्दा शरीर ढल्न लागेको रुखजस्तै भएको थियो। मेलापात गर्दा चैत-वैशाखको घामले कति पटक ढलेँ पत्तै भएन।' उनी आफू भित्रका पीडाहरू सम्झेर रोइन्।
दुःख-सुख म्याग्दीमै स्नातक तहको पढाइ सकाएँ। गाउँमा विश्वविद्यालय नभएका कारण स्नातक तहको पढाइ मेरो लागि त्यति सहज थिएन। गाउँको एउटा दाइले मेरो पढाइ र बसाइको व्यवस्था गरिदिने भएपछि म काठमाडौँ आउने भएँ। दाइले मलाई पढ्नको लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा छात्रवृत्ति र बस्नको लागि टियुकै होस्टेलमा व्यवस्था मिलाइदिनु भयो।
काठमाडौँ आएपछि दिउँसोको समयमा कलेज गए पनि बिहानको समयमा होम ट्युसनका लागि ट्याङ्गलाफाँटसम्म धाउने गर्दथेँ। सधैँजसो ट्युसन पढाएर फर्कने क्रममा एउटा दाइसँग भेट भयो। उनी पनि ट्याङ्गलाफाँटमै बस्दा रहेछन्। उनको ड्राइभिङ सेन्टर थियो। भेटमा हाम्रो नम्बर साटासाट भयो। एउटै जिल्लाको भए पनि मैले उनलाई पटक्कै चिनेको थिइनँ।
एक हप्तापछि उनीसँग पुनः मेरो भेट भयो। लामा-लामा कुरा गर्यौं, सँगै लन्च खायौँ। दिनभरि घुमेर आ-आफ्नो बाटो लाग्यौँ। त्यो समयमा आकाश मेरो लागि साथी होइन साहरा बनेर आएको थियो।' उसका आँखा राता र रसिला थिए।
'हरेक हप्ता भेट्न थाल्यौँ हामी। भेट्दा भेट्दै भावनाहरू साटासाट भइसकेको पत्तै भएन। बोल्दाबोल्दै, जिस्कँदा जिस्कँदै मनका सारा कुरा साटासाट गर्ने बानी परेको थियो हामी दुवैलाई। अविवाहित जवान थिएँ म। ऊ पनि जवान थियो, अविवाहित बताउथ्यो। हरेक हप्ता नयाँ-नयाँ ठाउँहरू घुम्न जान्थ्यौँ। मौकामा फोनवार्ता हुन्थ्यो। आहा! ती दिनहरू।'
उनी बोल्दा-बोल्दै बीच-बीचमा आँखा चिम्लिएर हराउँथिन् कहाँ-कहाँ। चुपचाप सुनिदिन्छु मबिना प्रतिवाद।
'हामी धेरै भेट्ने सबैभन्दा नजिकको ठाउँ थियो कीर्तिपुरको विश्वविद्यालय। भेटमा हामीले एकअर्कालाई सवाल-जवाफ गरिरहन्थ्यौँ।
'एउटा कसम खानुहोस् आज?'
'किन विश्वास छैन तिमीलाई मप्रति?'
'छ तर कुनै दिन तपाईंको मनमा चोर पस्यो भने?'
'चोर पस्ने दैलो बन्द गरेसी कसरी पस्छ?'
'कहिलेकाहीँ चोरहरू दैलोबाट नभएर झ्यालबाट र छतबाट पनि पस्छन्, त्यो बेला?'
'मेरो सानो यो मनमा न झ्याल छ, न त छतबाट नै पस्ने ठाउँ छ। छ त केबल सिङ्गल सटर, तिमी नडराऊ।'
हामी दुवैजना एकले अर्कोलाई हेर्दै मजाले हाँस्यौँ। 'तिमी पनि त चोरै हो मेरो मन चोर्ने? ल मेरो कसम खाएर भन- म तपाईं शिवाय अरुलाई प्रेम गर्दिनँ भनेर। तिम्रो यो मनमा मभन्दा राम्रा कति आउँछन् कति!'
'तपाईंको जस्तै होइन र मेरो पनि मन! के प्रेम रुपसँग मात्रै हुन्छ, मान्छेसँग हुँदैन?'
उसले मेरो गालामा चुक्क गर्यो। किन यति छिटो फकिन्छन् होला केटी मान्छेहरू?' उनी आफूले आफैलाई सोधिन् र सुक्सुकाउन थालिन्।
'मलाई फुर्काउनेहरूको कमी थिएन यहाँ। साथी मात्र थिएनन्, घरबार बसिसकेका बधुवा गोरुहरू पनि थिए। लगातारको भेटले धेरै नजिक भइसकेका थियौँ हामी। एकदिन नगरकोट घुम्न जाने मौका पारेर विवाहको प्रस्ताव राख्यो उसले। प्रेममा परिसकेकी थिएँ म, नाइँ भन्ने प्रश्नै थिएन। खुसी-खुसी हुन्छ भनेँ।
'जीवनको समुन्द्रमा जस्तोसुकै समस्या आए पनि हामी माछा जसरी नै पौडिने छौँ। म कहिल्यै साथ छोड्ने छैन तिम्रो' उसले मलाई त्यो दिन रातो पत्थर भएको औँठी लगाइदिएर सरप्राइज दियो। त्यो रात म खुसीले निदाउन सकिनँ।
औँठी लगाइदिएको केही महिनापछि एकदिन आकाशले छिट्टै आफ्नो गाउँ म्याग्दी गएर आफ्नो परम्परा र संस्कारअनुसार बिहे गरी आफ्नो नामको सिन्दुर र पोते लगाइदिएर समाजमा आफ्नी श्रीमतीको दर्जा दिन्छु भनेको थियो। त्यो कुराले कति खुसी र उत्तेजित भएकी थिएँ म। खुसीको सीमा थिएन।
म पनि उसको नामको सिन्दुर, पोते र चुरा पहिरिएर उसको आयु बढाउन चाहन्थेँ। उसको नामको चुरा, पोते, सिन्दुर, औँठी, मेहेन्दी र चुनरीमा सजिएर दुलही बन्ने सपनामा रमाइरहन्थेँ। आकाशप्रति मेरो आस्था र विश्वास समुन्द्रभन्दा चौडा र गहिरो थियो। त्यो दिन कहिले होला? कस्तो होला? कहिले जाने होला? आदि कुराहरू सोचेर पागल हुन्थेँ म। सँगै बस्ने चाहना बढ्दै थियो मभित्र।
होस्टेलको बसाइ सकिएपछि लगभग तीन महिना सँगै बस्यौँ हामी। उसले मलाई आफ्ना साथीहरू माझ श्रीमती भनेर चिनाउथ्यो। सौभाग्यमा श्रृंगारिन औधी मन पर्दथ्यो मलाई। ऊ नभएको समयमा रातो लिपिस्टिकको सिन्दुर बनाएर सिउँदोमा लगाउथेँ अनि ऐना हेर्दै आफू राम्री देखिएको भन्दै मक्ख पर्दै हाँस्थेँ।
बीचमा मलाई एक्कासी ज्वरो आयो। म हस्पिटल जान नमान्दा नमान्दै उसले मलाई तानेर ट्याक्सीमा राख्यो। त्यो बेला निकै बलियो थियो ऊ। म यस्तो ज्याङ्गो मान्छेलाई उचालेर ट्याक्सीमा राख्दा ड्राइभर पनि छक्क पर्यो। वाह-वाह भन्दै करायो। ट्याक्सीमा बसेर हामी हस्पिटलतिर हुइँकियौँ। उसले बाटोमा मेरो हातको नाडी छामिरहन्थ्यो। मैले ट्याक्सीभित्र भमिट गरेँ। ड्राइभरले तथानाम गाली गरिरह्यो नपुगेन्जेलसम्म। ड्राइभरलाई के थाहा हामी बीचको सम्बन्ध! सिटमा लागेको फोहोर स्कार्फले पुछिदिएँ।
हस्पिटल पुग्यौँ, सबै चेकअपपछि डाक्टरले हसिलो अनुहार बनाउँदै भने, 'ल, धेरै-धेरै बधाई छ तपाईंलाई। तपाईं आमा बन्दै हुनुहुन्छ। रिपोट पोजिटिभ छ।' म झसंग भएँ, ममाथि आकाश खस्यो। डर नै डरले गर्दा तर्सिएँ, झस्किएँ, आँखाबाट आँसु आइरह्यो।
आकाशले बिहेको बारेमा आफ्नो घरमा कुरा राखेको बताउथ्यो। आमासँग उसले कुरा गरिरहन्थ्यो। म पनि कहिलेकाहीँ कुरा गर्दथेँ। उसले मलाई भन्ने गर्दथ्यो अब हाम्रो बच्चा पनि जन्मिन्छ, एउटा राम्रो घर बनाउँला, तिम्रो लागि पछि सुख नै सुख हुनेछ।'
उनी थर्थराउँदै बोलिन् र फेरि सम्झिइन्, 'आकाशकै इच्छाअनुसार मैले नाक छेडेर फुली लगाउन थालेकी हुँ। सुरुमा कस्तो असजिलो लाग्थ्यो, विस्तारै बानी बस्यो। गहिरो चिनारी भएर बसेको छ नाकको फुली जिन्दगीमा।
केही समयपछि एकदिन राति आकाशको घरतिरबाट फोन आयो, आमा सिकिस्त बिरामी हुनुहुन्छ भन्ने। आकाश अचानक घर बिदामा जान्छु, छिट्टै फर्कन्छु भन्यो। अनि फर्केपछि छिट्टै म्याग्दी लैजाने प्रमिस गर्यो। अचानक यस्तो खबरले मनमा शंका उब्जियो। 'आकाश मलाई छाडेर नजानुस् है,' मैले उसलाई बिन्ती गरेँ।
'हैन माया, जानुपर्छ। तिमी आफ्नो ख्याल गर, राम्रोसँग बस।'
उसको जिद्धीको अगाडि मेरो केही लागेन। उसलाई मैले जिस्काउँदै भनेँ, 'आफ्नो ख्याल गर्नू, आउँदा मोटाएर आउनू, बिहे गर्ने बेलामा बाघ र बिरालोको जोडीजस्तो देखिएला फेरि!'
ऊ फटाफट मतिर नहेरी हिँड्दै थियो, त्यो रात मैले नसुती कटाएँ। बिहान उठ्दा टाउको दुखेको थियो, अनिन्द्राले होला चक्कर चल्यो। यति गहिराइमा पुग्ने सोचेकी थिइनँ।
नयाँ पाहुनाको बारेमा सोच्ने बेला आइसकेको थियो जो मेरो कोखमा दिन प्रतिदिन बढ्दै थियो, उसको नाम र भविष्य सोचिरहन्थेँ। एउटा नारीले कतिबेला धेरै खुसी पाउँछे भन्ने त्यही बेला थाहा भो। नाकको डाँडी र गालाको केही भागमा पोतोको रङ देखिन थालिसकेको थियो। आठ महिना सुरु भइसकेको थियो, चेकअपका लागि गएँ।
'अब अर्को पटक आउँदा श्रीमानलाई लिएर आउनुस् है,' कानमा डाक्टरले बोलेको कुरा गुञ्जिरहेको थियो। डरले खुट्टा कमाउँदै आकाशलाई फोन गरेँ, फोन स्विचअफ थियो, कही कतैबाट खबर आएन।
अचानक एकदिन बिहानै आकाशले आत्महत्या गरेको खबर पाएँ। म विक्षिप्त भए, उसको मरेको अनुहार हेर्नका लागि भए पनि म्याग्दी फर्केने अठोट गरेँ। मनमा अनेक प्रश्न उब्जिए, के उसको परिवारले मलाई स्वीकार्छ होला? उसले मलाई झुट त बोल्या छैन नि?
मैले आकाशको शवलाई हेर्न सकिनँ। उसलाई घाटमा लगियो। घाटमा उसको चिता सजाइएको थियो। बडो होसियार साथ उसलाई चितामा राखियो। ऊ चुपचाप मुढाका बिछ्यौनामा सुतिरह्यो। बुवा नभएका कारण दाजुको हातबाट उसको अनुहारमा दागबत्ती दिइयो।
ऊ आगोसँग जति-जति बल्दै गयो म पनि मानसिक रुपमा त्यति-त्यति खरानी भएँ। कस्तो काँतर रहेछ, हिम्मत नभएको!
'मर्ने त मरेर गयो, विचरा उसकी बुढीको के होला अब?' मान्छेहरू कानेखुसी गर्दै भन्दै थिए।'
उनी भन्दाभन्दै फेरि रोइन्।
'म एक्कासी सोच्न पुगेँ, कसको बुढी? दुई दिनपछि थाहा भयो उसको श्रीमती रहिछ। आमाछोरा दुवैले मलाई झुट बोलेका रहेछन्। पहिलो श्रीमतीबाट सन्तान नभएका कारण आमाको सल्लाहमा मसँग बिहे गर्न खोजेको रहेछ। उसको परिवारले मलाई स्वीकार गर्यो। विवाहबिना नै म कसैको श्रीमती त कसैको बुहारी भएँ। तर न सिउँदोमा सिन्दुर थियो, न गलामा पोते। म श्रीमती त थिएँ तर सिन्दुर बिनाको। अझ म उसको नामको सिन्दुर-पोते नलगाई विधवा भएँ।
म अनविज्ञ थिएँ, मलाई आकाशको पहिलो श्रीमती छ भन्ने थाहा थिएन। थाहा हुन्थ्यो भने म किन यसरी अर्कोको श्रीमानसँग आकर्षित हुन्थेँ र? हजारौँ कष्ट सहेँ, मेरो नौ महिना सुरु भयो, उठ्नबस्नै गाह्रो हुन लाग्यो। तीन हप्तापछि एक्कासी मलाई पेट दुखेर आयो, छटपटी भयो, तल्लो पेटको दुखाइ सहन सकिनँ।
सासूआमाले घरनजिकै म्याग्दीमा रहेको दग्नाम हेल्थपोस्ट पुर्याउनु भयो। म चिच्चाएँ, कराएँ। तीन घण्टापछि छोरो जन्मियो, लामो सास फेरेँ। सासूआमाले छोरालाई हातमा लिनुभयो, मुस्कुराउँदै भन्नुभयो, 'हेर हेर, बाउजस्तै रहेछ।'
सासूआमाले आफ्नै आमाले जस्तै व्यवहार गरी तेल लगाइदिने, खान, लाउन दिने गर्नुभयो। 'श्रीमान नहुँदाको पीडा मैले बुझेको छु बुहारी' भन्दै माया र साथ दिनु भयो। आमाको मायाले चोटमा मलम लगाउने काम त भएको थियो तर उसको नामको न त पोते लगाउन पाएँ, न त अग्नी साक्षी राखेर सिन्दुर नै। बिताएकी थिएँ त केबल ऊसँग केही दिन।
उसले लगाइदिएको औँठी अझै जस्ताको तस्तै छ। आइतबारको दिन लगाइदिएको थियो, आज पनि आइतबार हो। किन-किन यहाँदेखि आइतबार विशेष लाग्छ। यो औँठी केबल आइतबार मात्र लगाउने गरेकी छु। आकाशसँग बिहे हुने कुराले यति धेरै खुसी थिएँ, कसरी भनौँ शब्द नै छैन।'
उसको औँलाहरूको माझमा केवल औँठी मात्र चम्किरहेको थियो, अनुहारमा चमकता थिएन।
'समाजले मलाई विधवाको उपनाम दियो। जिन्दगी एउटा कहानी बन्यो, हिम्मत गरेर सामना गर्दा घर, परिवारको न्यानो साथ पाएँ। सिउँदो भए पनि सिन्दुर बिनाकी श्रीमती भएँ। राम्ररी नचिनिएका मानिससँग भावावेशमा गरिएका निर्णयहरू गलत हुन्छन्। आइमाई मान्छे धर्ती हुन्, जे-जे पोखियोस् सहने हिम्मत हुन्छ। जे-जे रोपियोस् उम्रन दिने शक्ति हुन्छ। 'सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन' तारादेवीले गाएका यी गीतका हरफहरू कसैले मेरै लागि लेखिदिएको रहेछ झैँ लाग्छ आजकल। चोखो मायाको नाटक सुन्न पनि सक्दिनँ म।'
उसको आँखा भिजिरहेकै थियो। समय धेरै घर्किसकेको छ। 'फेरि भेटौँला' भन्दै बिदा मागेर हतारिँदै आफ्नो बाटो लागिन् उनी।