केही वर्षयता नेपालमा किताब प्रकाशनको दृश्य फरक छ। पहिला लेखकहरु प्रकाशक खोज्दै हिँड्थे। अचेल प्रकाशकहरु लेखक खोज्न थालेका छन्। तर, सबै लेखककहाँ न प्रकाशक पुग्न सम्भव छ, न गतिला लेखकले गतिला प्रकाशक भेटेका छन्। अझै पनि कतिपय लेखक आफै किताब छाप्छन्, आफैँ बाँड्छन्।
व्यावसायिक प्रकाशन गृहहरुको उदय नेपालमा सुखद सुरुआत हो। तर आलोचक कहाँ हुँदैनन् र ? किताब वा साहित्यमा बजार हावी हुन थाल्यो भन्ने रोइलो पनि छँदैछ। यस सन्दर्भमा अन्तर्राष्ट्रिय प्रकाशन बजार, त्यसको शैली र तौरतरिकाबारे चर्चा प्रासंगिक छ। नेपालमा जस्तै लेखक स्वयंले खर्च गरेर किताब निकाल्ने चलन अमेरिका लगायत विश्वका अरु देशमा पनि छ, तर त्यसमा पनि नेपालभन्दा केही फरकचाहिँ अवश्यक छ। अहिले अमेरिकी र अन्तर्राष्ट्रिय बजारमा किताब प्रकाशनका विभिन्न मोडेल तथा विधि चल्तीमा छन्। ती मोडल ‘परम्परागत प्रकाशन’ र ‘सेल्फ पब्लिसिङ’ हुँदै ‘क्राउडफन्डिङ’ र ‘सिरियलाइज्ड’ (धारावाहिक) प्रकाशनसम्मका छन्।
परम्परागत प्रकाशन
धेरै लेखकको प्रिय मोडेल मानिन्छ परम्परागत प्रकाशनलाई। बिग फाइभ भनेर चिनिने पाँच ठूला प्रकाशक र धेरैजसो स्वतन्त्र प्रकासन संस्थाहरूले अपनाएको मोडेल हो यो। यो मोडेलमा लेखकले सुरुमा प्रकाशक खोज्दैन। लिटरेरी एजेन्सी खोज्छ। प्रकाशक त्यही एजेन्सीले खोजिदिन्छ। त्यसैले यो मोडेलमा प्रकाशन यात्रा लिटरेरी एजेन्सीबाट सुरू गर्नुपर्छ। आख्यान विधा हो भने क्वेरी लेटर, लेखक परिचय, गैरआख्यान हो भने नमुना च्याप्टरसमेत लिटेरेरी एजेन्सीलाई पठाउनुपर्छ। लिटेररी एजेन्सीले लेखकको प्ल्याटफम अर्थात पप्पुलारिटीलाई प्राथमिकता दिन्छन्।
लिटेरेरी एजेन्सीले लेखकलाई प्रतिनिधित्व गर्ने भयो भने लेखकका लागि प्रकाशनको पहिलो पाइला सुरू हुन्छ। त्यसपछि भने लेखकका लागि उपयुक्त प्रकाशक खोज्ने लगायत सम्पूर्ण काम एजेन्सीले नै गर्छ। कुनै प्रकाशकले उक्त लेखकको कृति छाप्न तयार भयो भने लेखकले पुस्तकको रोयल्टीबाट काटिने गरी बैना रकम बुझ्न पाउँछ। बैना रकम किताबको लेखकस्व (रोयल्टी) बाट काटिने हुनाले ‘एडभान्स अगेन्स्ट रोयल्टी’ पनि भनिन्छ।
यो मोडेलबाट किताब प्रकाशन गर्दा लेखकले पुस्तक प्रकाशन गरेको पैसा तिर्नुपर्दैन। बिग फाइभबाहेक अन्य केही स्वतन्त्र प्रकाशकले भने लेखकसँग सिधै काम गर्न पनि सक्छन्। यस्ता प्रकाशक भेटिएको अवस्थामा भने लेखकलाई लिटरेरी एजेन्सीमार्फत् जानुपर्दैन। पुस्तक प्रकाशनका लागि लिटेरेरी एजेन्सी वा सिधै प्रकासकसम्म पुग्न तथा अन्य जानकारीका लागि पब्लिसर्स मार्केटप्लेस र जेन फ्रिडमेनको वेबसाइट उपयुक्त स्रोत हुनसक्छन्।
सेल्फ पब्लिसिङ
परम्परागत प्रकाशनको झन्झटिलो प्रक्रिया तथा प्रकाशकका लागि लामो समय पर्खन नसक्ने लेखकले गर्ने विधि भनेको सेल्फ पब्लिसिङ हो। लेखकको खल्ती भने दह्रो हुनुपर्छ। यो विधि नेपालको जस्तो आफै लेख्ने, आफैं छाप्ने र आफैं बाँड्दै हिँड्ने खालेचाहिँ मात्रै होइन। यो मोडेल अन्तर्गत पुस्तक प्रकाशन गर्दा लेखक दुई तरिकाबाट जान सक्छ। पहिलो त आफ्नो प्रकाशक आफै बन्ने र सम्पूर्ण प्रकाशनका प्रक्रियामा लेखक आफू सक्रिय सहभागी हुने। दोस्रो सेल्फ पब्लिसिङ सर्भिस कम्पनीमा जाने र प्रकाशनका सम्पूर्ण महत्वपूर्ण प्रक्रिया उक्त कम्पनीलाई जिम्मा दिने।
सेल्फपब्लिसिङ सर्भिस कम्पनीका विभिन्न नाउँ हुन्छन् जस्तै हाइब्रिड प्रकाशन र रिलेसनसिप प्रकाशन। यस अनुसार कुनै कम्पनीमार्फत् पुस्तक प्रकाशन गर्दा लाग्ने खर्च आफ्नो प्रकाशक आफैं बन्ने भन्दा बढी लाग्छ। त्यसमाथि प्रकाशकले पनि किताब बिक्रीको पनि कुनै ग्यारेन्टी लेखकलाई दिँदैनन्। यसको अर्थ सेल्फपब्लिसिङ सर्भिस कम्पनी उपयुक्त हुँदै होइनन् भन्न खोजेको भने होइन। यस अन्तर्गत पुस्तक प्रकाशन गर्दा लेखक कहिलेकाहिँ परम्परागत प्रकाशकको आँखामा पर्नसमेत सक्छ।
परम्परागत प्रकाशनका अगाडि सेल्फपब्लिसिङलाई त्यति गतिलो मोडेल नमानिए पनि यस अन्तर्गत् छापिएका केही लेखकले भने मज्जाले बजार पिटेका छन्। जोन लक् र अम्यान्डा हकिङ सर्वाधिक चर्चित सेल्फ पब्लिसिङ लेखकमा पर्छन्। पुस्तक सेल्फ पब्लिसिङ गर्दा परम्परागत प्रकाशन जस्तो एडभान्स पाउनुको सट्टा प्रकाशनमा लाग्ने सम्पूर्ण खर्च लेखकले नै व्यहोर्नुपर्छ। यो खर्च ३ लाख देखि १ करोडसम्म हुन सक्छ। आफ्नो पुस्तक आफैं प्रकाशन गर्न अर्थात सेल्फपब्लिशका लागि नाउँ चलेका प्ल्याट्फर्ममा अमेजनको किन्डल डाइरेक्ट पब्लिसिङ र इन्ग्रमको इन्ग्रम स्पार्क पर्छन्।
सिरियलाइज्ड वा धारावाहिक प्रकाशन
मूलधारे पुस्तक बजारमा विशेषत नयाँ र भर्खरै स्थापित् भएका प्रकाशकले प्रकाशनमा प्रयोग गर्न रूचाउँछन्। त्यसमध्ये हाल अभ्यासमा रहेको प्रकाशन मोडेल भनेको धारावाहिक प्रकाशन हो। यस अन्तर्गत लेखकले पुस्तक लेख्दै गर्दा पुस्तक–अंश अर्थात् च्याप्टर छाप्न सुरू गर्छन्। यो मोडेल चर्चित अमेरिकी लेखक स्टेफन किङले आफ्नो धारावाहिक उपन्यास ‘द प्लान्ट’मा १९८० को दशकको प्रारम्भमै सुरू गरेका भए पनि हाल आएर यो मोडेल ‘रिभाइभ’ जस्तै भएको छ अमेरिकामा।
धारावाहिक प्रकाशन विधि अनुसार पाठकले आफूले जति पढ्छन् त्यति मात्रै पैसा तिरे पुग्छ। यसलाई ‘माइक्रो पेमेन्ट’ पनि भनिन्छ। सिरियलाइज्ड प्रकाशनको विधिले लेखकलाई आफ्नो लेखनको तहदेखि नै आफ्ना पाठकसम्म पुग्न मद्दत गर्छ जसले पुस्तकको बजारीकरण प्रक्रिया पुस्तक लेखनसँगै अगाडि बढ्छ। यो विधि मार्फत् छापिएका पुस्तक–अंश पछि गएर एकमुष्ठ सेल्फ–पब्लिस गर्न सकिन्छ।
सिरियालाइज प्रकाशन विधिबाट लेखकको आनलाइन उपस्थिति बढ्ने हुँदा लेखकलाई ठूला तथा परम्परागत प्रकाशकको आँखामा पर्न सजिलो हुन्छ। धारावाहिक प्रकाशनमा पछिल्लो समयमा चल्तीमा रहेका प्ल्याटफर्ममा अमेजनको किन्डल भेला, वाट्प्याड र सब्सट्याकको न्युजलेटर प्रकाशन सर्भिस छन्। भारतीय मुलका प्रख्यात लेखक सलमान रुश्दिले पनि हालै आफ्नो एक पुस्तकको धारायिक प्रकाशनको लागि सब्सट्याक प्ल्याट्फर्म प्रयोग गरेका छन्।
क्राउडफनडिङ मोडेल
सामान्य भाषामा भन्नुपर्दा क्राउडफनडिङ बिधि एक किसिमको किताब प्रि–अर्डर क्याम्पेन हो। यो विधि अनुसार प्रकासक तथा लेखकले आफुले लेख्दै वा प्रकासनको प्रक्रियामा रहेको पुस्तकको सार, प्रकासनको योजना, अनुमानित लाग्ने खर्च आदि नाम चलेका क्राउड–फनडिङ प्ल्याट्फर्म मार्फत् जानकारी गराउँछन् आफ्ना सम्भावित पाठकमाझ। प्रकाशनको प्रक्रिया अघि बढ्दै जाँदा पाठकहरू पनि लेखकसँगै हुन्छन् अर्थात् पाठकहरूलाई प्रकाशन प्रक्रियाको बारेमा नियमित अवगत गराइन्छ। पाठकले मन पराइदिए भने नयाँ सम्भावित् पाठकको संख्या पनि बढ्दै जान्छ र निश्चित अवधि पुगेपछि लेखकले प्रि–अर्डर क्याम्पेन सुरू गर्छ।
अन्तर्राष्ट्रिय बजारमा सिर्जनात्मक प्रोजेक्टका लागि नाउँ चलेका क्राउडफन्डिङ प्ल्याटफर्ममा किकस्टार्टर र इन्डिगोगो हुन्। यी प्ल्याटफर्ममार्फत लाखौँ लेखकहरूले आफ्ना सफल क्याम्पेन पूरा गरिसकेका छन्। गुड नाइट स्टोरिज फर रेबल गल किकस्टार्तर मार्फत् रेकर्ड तोड्न सफल क्याम्पेनमध्येमा पर्छ। यो बालचित्र पुस्तकलाई किकस्टार्टरमा विश्वभरका पाठकले मन पराएका थिए र लाखौँ प्रति प्रि अर्डर गरेका थिए।
अन्त्यमा
धेरै लेखकको प्रिय प्रकाशन मोडेल भनेको परम्परागत मोडेल नै हो। यसको अर्थ यो होइन कि अन्य प्रकाशन मोडेलको कामै छैन। कुनै लेखकको प्ल्याट्फर्म राम्रो छ, खल्ती दह्रो छ तर ऊ परम्परागत प्रकाशनको झन्झटिलो प्रक्रियामार्फत् जान चाहँदैन भने सेल्फपब्लिसिङ उपयुक्त मोडल हुनसक्छ। लेखकले आफ्नो पुस्तक–अंश सुरूदेखि नै निशुल्क वा सशुल्क पाठकलाई दिएर लेखनको प्रक्रियादेखि नै आफ्ना पाठक बढाउन चाहन्छ भने सिरियलाइज्ड वा धारावाहिक प्रकाशन उपयुक्त विधि हुन सक्छ। प्रकाशनपूर्व नै आफ्नो कथाको सार, प्रकाशकका लागि आवश्यक पर्ने अनुमानित बजेट र प्रकाशनका स्पष्ट खाकाको जानकारी गराएर प्रि–अर्डर क्याम्पेन गर्न चाहने लेखकका लागि भने क्राउडफन्डिङ उपयुक्त मोडेल होला।
(फ्रान्ज काफ्काकृत् ‘द मेटामोर्फसिस’को नेपाली अनुवादक रामचन्द्र खत्रीको जस्टिस ग्राफिक नोभेल क्राउडफनडिङ विधि मार्फत किकस्टार्टारमा आएको छ। यसअघि उनी एकेडेमिक र कमर्सियल प्रकाशनमा ‘एडुकेसनल कन्टेन्ट म्यानेजर’ र ‘प्रोजेक्ट म्यानेजर’का रूपमा काम गरिसकेका छन्)