विद्यालयहरू आफ्नै लयमा फर्कंदै थिए। अभिभावकहरू बालबालिका नियमित विद्यालयमा जाँदा खुसी नै थिए। फेरि ओमिक्रोनको कारणले देशभरका विद्यालय बन्द भएका छन्। अभिभावको चिन्ता थपिएको छ। विद्यालय जान नपाउँदा कतै मेरा बालबालिकाको भविष्य बिग्रने त होइन? बालबालिका बर्बाद हुने हुन् कि? यस्तै प्रश्न र चिन्ता अभिभावकमा थपिएको छ।
भर्खर शिक्षण पेसामा प्रवेश गरेको मेरो छोराले भन्दै छ, 'अनलाइन पढाइ त पढाइ नै हैन।'
मेरो प्रश्न 'किन?'
उसले भन्छ, 'पटक-पटक भिडिओ खोल, अन्तरक्रिया गर, प्रश्न सोध्न भन्दा कसैले भिडिओ खोल्दैन। नामै लिएर आठ/दस पटक भन्दा समेत प्रतिक्रिया जनाउँदैनन्। प्रतिक्रिया जनाइहाले भने भन्ने गर्दछन्- मेरो त मोबाइलबाट हो। भिडिओ खोल्न मिल्दैन। बोल्न पनि मिल्दैन। केवल सुन्नमात्र मिल्छ। अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको, निकै महंगो शुल्क तिरेर स्नातक पढने विद्यार्थीलाई ल्यापटपको समस्या होला र? मेरो विचारमा मोबाइलको समस्या होइन, यो त अनलाइन पढाइको कमसल पक्ष हो।'
छोराले भन्छ, 'मलाई त सजिलो भएको छ, पण्डितले जस्तो प्रवचन गरे पुग्छ तर सिकाइ हुँदैन।'
'पढ्न नचाहने स्नातकका विद्यार्थीलाई प्रत्यक्ष पढाउँदा पनि के पो गर्न सकिन्छ र?' भन्ने मेरो जिज्ञासामा उसले भन्छ, 'आँखा जुध्थे, लेख्न लगाउथेँ, नजिक जान्थेँ, लेखेको कपी हेर्थेँ, लेख्न करै लाग्थ्यो। कसैलाई तोकेरै केही सोध्थेँ? केही भन्न करै लाग्थ्यो। केही सिक्न बाध्यता पनि हुन्थ्यो, अहिले त सायद ती विद्यार्थी अनलाइन कक्षामा जोडिएर अन्य कतै अर्कै काममा लाग्छन् होला। अनलाइन कक्षा सबैतिर यस्तै हो। सिकाइको लागि प्रभावकारी हुन सकेको छैन।'
एकातर्फ सहर बजारका अभिभावकको चिन्ता मोबाइल मात्र हेर्छ, सामाजिक सञ्जाल भए खान पनि बिर्सिन्छ, सामाजिक सञ्जालले बर्बाद पार्ने त होइन? अर्कोतर्फ सबै गाउँमा नेटको सुविधा छैन। सामाजिक सञ्जाल र अनलाइन कक्षाहरूको पहुँच पनि छैन। हुन त सामाजिक सञ्जालले बालबालिकको सिकाइलाई कति सहयोग गर्छ? सोचाइलाई फराकिलो र विश्वब्यापी बनाइदिन्छ कि? सिर्जनात्मक क्षमता, पढ्न संस्कृति, मेहनत गर्ने बानी खर्लप्पै खाइदिन्छ? प्रभाव हेर्न तथा अध्ययन हुन बाँकी नै छ।
धेरै विज्ञहरूले सामाजिक सञ्जाल, इन्टरनेटले व्यक्तिलाई बजारमुखी बनायो, मेहनत गर्ने बानीलाई सखाप पारिदियो भन्ने गरेको सुनिन्छ। हुन पनि सामाजिक सञ्जालमा पोस्ट भएका तस्वीर, भिडिओ सामाग्री हेर्दा धेरैजसो कपडा, गरगहनाहरू लागाएको, खानाका परिकार राखेको, सामानको विज्ञापन गरेको, यौनजन्य उत्ताउला तस्वीर र भिडिओ पोस्ट गरेको देखिन्छ। यस्ता कुराले आर्थिक समस्यामा परेका, दुःखजिलो मेहनत गरी खानेहरूलाई उत्प्रेरणा जगाउने भन्दा हीनता बोध गराउने कार्य गरेको प्रस्टै देखिन्छ।
मास्टरसेफ यूकेको प्रतिस्पर्धामा फाइनलमा पुग्न सफल मास्टरसेफ सन्तोष साह भन्छन्, 'केटाकेटीमा गुलेली चलाउन मट्याङ्ग्रा बनाउँदा दुई हातका हत्केला बीचमा माटो राखेर हात रिगाएको र गोल बनाएको सीप मलाई मास्टर सेफ बन्न सहयोगी भयो।'
उनी नै भन्छन्, 'आत्मविश्वास विकास गर्नसके जुनसुकै क्षेत्रमा पनि सफलता पाउन सकिन्छ। प्लास्टिकका झोला बेच्न चर्को-चर्को आवाज गरेर बोल्ने बानीले मलाई अहिले ठूलो स्वरमा बोल्न समस्या छैन।
यो भनाइबाट हामी अभिभावकले पनि धेरै कुरा सिक्न सकिन्छ। घरमा बालबालिका रहँदा अभिभावक चिन्तित हुने र अर्काको जिम्मा छाड्न पाउँदा ढुक्क हुने प्रवृत्ति पनि सकारात्मक होइन। राम्रा भनिएका विद्यालयले पनि जीवन उपयोगी सीप सिकाएका छैनन् भन्ने कुरा यत्रतत्र सुन्न सकिन्छ।
सबै अभिभावकको भनाइ हुन्छ घरमा हामीले भनेको मान्दैनन्, विद्यालयमा पठाएपछि ढुक्क। कोभिडको कारणले होस् वा बिदामा घरमा रहँदा जीवनोपयोगी सीपहरू सिक्न बालबालिकालाई मद्दत गर्न सकियो भने समयको अत्यन्त राम्रो उपयोग हुन्छ। खाना पकाउने, भाडा माज्ने, कपडा धुने, कपडाको सरक्षण गर्ने, सरसफाइ गर्ने जस्ता सीपहरू पनि हरेक व्यक्तिलाई अत्यावश्यक सीपहरू हुन्।
कति परिवारले यस्ता सीपहरू त छोरीलाई मात्र चाहिने सीप हुन् भन्ने ठान्छन। यस्तो सोचले एकातर्फ परिवारबाटै छोरीप्रति गरेको अन्याय, लैङ्गिक विवेधको सुरुआत हुन्छ भने अर्कोतर्फ छोराहरूमा आफ्नो काम अरु कसैले गरिदिन्छ, आफूले गर्नुपर्दैन भन्ने दम्भ विकास हुन्छ। बालबालिकामा नै विकास भएको हीनता बोध र दम्भ दुवैको परिणाम घातक हुन्छ। बालश्रम निषेधित भए पनि परिवारले अपनाउँदै आएका पेसा, व्यवसाय, रोजगारी सम्बन्धमा बालबालिकालाई जानकारी गराउनु, त्यससँग सम्बन्धित सीप सिकाउनु अभिभावकको कर्तव्य पनि हो।
बालबालिकाको उपस्थितिमा उनीहरूकै सहभागितामा घरमा बस्दा के गर्ने? के-के सिक्ने? के-कस्ता खेल खेल्ने? कसरी समय सदुपयोग गर्ने? उनीहरूको विचारलाई ख्याल राख्दै, उनीहरूकै सहभागितामा योजना बनाउने हो भने बालबालिकाले त्यस्तो योजना कार्यान्वयन गर्न रुची देखाउन सक्दछन्। उनीहरूसँगै बसेर उनीहरूले गर्ने वा गर्न चाहने हरेक कामका सकारात्मक र नकरात्मक पक्षको विषयमा छलफल गर्ने, त्यस्ता कामले भविष्यमा पार्ने प्रभावको बारेमा छलफल चलाउने, बालबालिकाका विचार सुन्ने हो भने बालबालिका सधैँ हामीले भनेको मान्दैनन् भनिरहनु पर्दैन।
हाम्रो तथा अभिभावकको चाहना बालबालिकामा थोपर्ने प्रयास गरियो भने त्यो बालबालिकाले एकछिन् मानेजस्तो गरे पनि भित्रबाटै स्वीकार गर्दैनन्। जुनसुकै समय विद्यालयका पुस्तक पढ, पढ मात्र भनियो भने पक्कै पनि अभिभावकको आँखा छलेर रुचीको कार्यमा लग्दछन्। सहर बजारका तथा इन्टरनेटको सुविधा भएका परिवारमा बालबालिकालाई सामाजिक सञ्जाल तथा इन्टरनेटमा पाइने खेलका साइटहरूले आकर्षित गर्न सक्दछ।
घरमा रहँदा बालबालिकाले नियमितभन्दा फरक हुने, स्वतन्त्रता महसुस गर्ने हुनाले पनि अभिभावकले नगरे हुन्थ्यो भन्ने कार्यमा बढी मन लगाउन सक्दछन्। बालबालिकाका रुचिका सिर्जनात्मक कार्यलाई सम्मान गर्ने, गरेका सिर्जनात्मक कार्यलाई उत्प्ररित गर्ने गर्नाले सिर्जनात्मक कार्यमा लाग्न सहयोग गर्दछ। सिर्जना भनेकै प्रचलितभन्दा फरक किसिमले सोच्ने र प्रस्तुत गर्ने सीप हो
सुरुमा सिर्जनात्मक सोच तथा कार्य अन्यको दृष्टिमा नमिल्दो, उट्पट्याङ्ग जस्तो पनि लाग्न सक्दछ। कल्पना गर्ने सीपले पनि भोलि कथाकार तथा साहित्यकार बन्न सहयोग गर्न सक्दछ। हाम्रो समाजमा बालबालिकका जिज्ञासा, प्रश्नलाई दबाउने र मार्ने कार्य गरिन्छ। आलोचनात्मक चेत भनेको भैरहेको तथा स्थापित मान्यताको विरुद्धमा विचार राख्नु हो।
किन भयो? कसरी भयो? यो नगरे के हुन्छ? यसको सट्टामा अर्को गरे के हुन्छ? भन्ने प्रश्न गर्ने तथा फरक किसिमले सोच्ने तरिका हो। कारण र असर जान्न खोज्ने बानी निर्माण भयो, आलोचनात्मक चेतलाई बढाउन सकियो भने यसै सीपले ठूलो वैज्ञानिक बन्न पनि सहयोग पुग्न सक्दछ। नभए पनि यस्तो चिन्तन र सोचले जीवनभर काम लाग्दछ।
करेसाबारीमा फूल-बिरुवामा रमाउँछ, जनावर र चराचुंगी हेर्छ, खेल्छ र रमाउँछ चित्र बनाउन लागिरहन्छ, बाजा बजाउन प्रयास गर्दछ, गीत गाउँन गुनगुनाउँछ भने त्यस्ता कार्यलाई पनि सम्मान गरौँ। के बेर करेसाबारीमा सिकेको सीप भोलि वनस्पती विज्ञ बन्न सहोगी हुन्छ कि! चरासँग रमाउने भोलि संजीव उप्रेतीले जस्तै चराका कथा लेख्न पोख्त हुन्छ कि! खाना पकाउन रुची राख्छ भने भोलि सन्तोष साहजस्तै नेपालको खाना विश्वमा चिनाउने सफल मास्टरसेफ हुन्छ कि! ज्ञान पुस्तकमा मात्र कहाँ छ र? प्रत्यक्ष, प्रथम स्तरको ज्ञान त प्रकृतिमा छ।
पुस्तक पढ्ने बानी निर्माण गर्ने पनि सजिलो कुरा होइन। यदि बाबुआमाले पुस्तक पढ्दैन, उमेर सुहाउँदा पढ्न रमाउने पुस्तक पहुँचमा छैनन् भने पढ्ने बानीको निर्माण गर्न कठिन हुन्छ। यदि आफ्ना बाबुनानीलाई पुस्तक पढ्ने बानी निर्माण गर्ने हो भने घरमा वयस्कहरूले पनि पुस्तक पढ्ने, पुस्तकको बारेमा चर्चापरिचर्चा, समीक्षा गर्ने गरिएको हुनु पर्दछ।
बालबालिकाले रुचाउने, रमाउने चित्रात्मक, कथा कविता उमेर अनुसारका पुस्तक नजिकमा छन् भने बालबालिकालाई पढ्ने बानीको विकास गराउन पढ-पढ भनिरहनु पर्दैन। आफै पुस्तक पढ्न प्रति उत्प्रेरित हुन्छ, मनपर्ने पुस्तक पढ्न थाल्दछ। मन परेका पुस्तक पढ्दा पढ्दै जटिल र ज्ञानबर्द्धक पुस्तक पनि पढ्न सक्दछ।
डा. अरुणा उप्रेतीका अनुसार खराब बोसो खानाले ४० वर्षको उमेर नहुँदै मुटुमा समस्या आउँछ। चाउचाउ, बिस्कुट, कूकिज लगायतका फ्याक्ट्री उत्पादित खानामा हुने खराब बोसोयुक्त खाना विद्यालयमा निषेध गरौं भन्ने निर्णय गर्न बसेको बैठक लगत्तै शिक्षा मन्त्रालयका उच्चस्तरका पदाधिकारीहरू आफै जाडोमा त चाउचाउको तातो सुप खानु पर्यो नि भन्दै खाँदै थिए।
जानेर नजानेर तपाईंले कमाएको रकम कतै बाबुनानीको मुटुलाई घातक हुने खाद्यपदार्थ तथा फ्याक्ट्री उत्पादिन पत्रुखानमा त खर्च भइरहेको छैन? कतै सभ्य हुने बहानामा घरमा आफै बनाएर खाइने, भान्सामा पाक्ने खानालाई कमसल त ठानिएको छैन? कतै हाम्रा बालबालिकाहरू फ्यक्ट्रीले निर्माण गरिदिएको स्वादमा रमाएका त छैनन्? भन्ने कुरा ख्याल राख्नु पर्दछ।
यस अवधिमा बालबालिका घरमै हुने भएकोले पनि बाबालिका खाजाहरू स्वास्थ्यलाई फाइदा पुर्याउने छानौँ। बालबालिकालाई पनि खाना, खाजा बनाउन लागऔँ। एकातर्फ खाना, खाजा बनाउने सीप विकास हुन्छ भने अर्कोतर्फ आफूले बनाएको खाना र खाजा मनपराउने हुन्छ।