कुरा २०४६ पछिको हो। मैले भर्खर पत्रकारिता सुरू गरेको थिएँ। म भिडियोग्राफीको काम पनि गर्थेँ। बुवाको एक ठकुरी मित्रका छोराको बिहे थियो। त्यतिखेर धनगढीमा भिडिओग्राफर नगन्य थिए। मलाई बिहेको भिडिओ खिच्न बोलाईयो।
खिच्ने क्रममा विवाह घरमा कहाँ जाने, कहाँ नजाने भन्ने केही अघोषित बन्देज थिए। विवाह धुमधामले सम्पन्न भयो। विवाहको केही दिनपछि मैले क्यासेट बुझाएँ।
त्यसको अर्को दिन दुलाहा आफैं मेरो घर आएर भने, ‘तैले खिचेको भएन। अझै एडिट गरेर दे।’
त्यसपछि मैले नम्र भएर जवाफ दिएँ, ‘ठिक छ दाजु जे मिल्छ गरौंला नि।’
मलाई यसमा खासै आपत्ती थिएन। तर उनले हद पार्दै भने, ‘तैले दाजु होइन, मलाई राजा भन्नुपर्छ। म सिंहको छोरो राजा हुँ, ठकुरी हुँ बुझिस्।’
मेरो धैर्यताको बाँध टुटिसकेको थियो। मैले मेरो घरको भित्तामा टाँसेको राजा वीरेन्द्र र रानी ऐश्वर्यको फोटो देखाउँदै भने, ‘म यिनीलाई त राजा मान्दिनँ, तलाई राजा मान्ने सवालै उठ्दैन नि।’ मेरो जवाफ उसका लागि अप्रत्यासित थियो। केही नबोली निस्कियो।
मलाई त्यतिखेर महसुस भयो- २०४६ सालको परिवर्तन केवल दलमाथि लगाइएको प्रतिबन्ध फुकुवा मात्र थियो। राजतन्त्र एउटा शासकीय प्रणाली मात्र होईन एउटा कुसंस्कार पनि हो। यसले समाजको कुरूप वर्गिकरण गर्छ। समाजमा थुप्रै भारेभुरे राजा रजौटा तयार पार्दोरहेछ।
राजा वीरेन्द्रको ब्यक्तित्वप्रति अगाध सम्मान हुँदाहुँदै पनि मलाई राजतन्त्रप्रति वितिष्णा भयो। समय बित्दै जाँदा घृणा नै हुन थाल्यो। तर नेपाल टेलिभिजनको जागिर बचाउन मैले थुप्रैलाई ‘राजा’ भनेर सम्बोधन गर्न बाध्य भएँ।
नेपालबाट राजतन्त्र हट्यो। केही वर्षपछि म अमेरिका आएँ। सोचेको थिएँ- यहाँ सायद कुनै राजा रजौटा हुँदैनन्। तर यहाँ पनि नेपालबाट आएका ‘बाउसाप’ र महाराजाको कमी भएन।
मैले पनि ‘ल्यान्ड अफ द फ्री’ भनेर चिनेने अमेरिकामा यिनीहरूलाई महत्व दिनु जरूरी ठानिनँ। राजसंस्था मेरा लागि हराइसकेको थियो।
हालै हिमानी ट्रस्टले आयोजना गरेको एक कार्यक्रममा भाग लिन पूर्व युवराज्ञी हिमानी शाह अमेरिका आइन्। उनको ट्रस्टले पनि हजारौं एनजिओले गर्दै आएको समाजसेवा नै गर्छ।
कार्यक्रम जे सुकै भए पनि हिमानी शाहको दर्शन पाउन र उनीप्रति देखाएको भक्तिभावले मलाई स्तब्ध बनायो।
उनको दर्शनका लागि गरिएका तछाडमछाड्, उनलाई मौसुफ सरकार भनेर गरिएका सम्बोधन, १८० डिग्री कोणमा गरेको सास्टाङ्ग दन्ड्वतले ‘झुपडी छोडे पनि खोपडी बद्लिदो रहेनछ’ भन्ने चरितार्थ गर्यो।
खुला समाजको लागि मालिकभन्दा दासहरू खतरनाक हुन्छन् भन्ने चरितार्थलाई हिमानी शाह उपस्थित कार्यक्रमको दृश्यले देखाइरहेको थियो।
मानसिक दासत्वको यो भन्दा असोभनीय दृश्य मैले अमेरिकामा आजसम्म देखेको थिइनँ।
हिमानीसँग मेरो कुनै गुनासो छैन। तर उनले चाहेको भए तस्बिर अर्कै हुन सक्थ्यो। सर्वसाधारणसरह उनले सबैलाई नमस्कार गर्दै आफ्नो भक्ति गर्न आवश्यक नभएको सन्देश दिएको भए उनको लोकतान्त्रिक छबी थप उजागर हुन्थ्यो। तर उनी आफ्नो भक्तिगानमै रमाइन्। यो राजतन्त्रकै चरित्र हो।
राजतन्त्रले जनताको सम्पत्ति, देशको स्रोतसाधनमा टेकेर केवल आफ्नो इमेज निर्माण गर्छ। सबैको एकताको प्रतिक भएको ढोग गर्छ। राजपरिवार पर्फेक्ट देखिन्छ। कुन्ठा, अहंकार, महत्वकांक्षा झुटो शान, भाइभारदारको स्वार्थ पूर्ण गुलामीलाई भक्ति ठान्दै आफ्नो साशन टिकाउन राष्ट्रिभक्तिलाई हतियार बनाउँछ।
जन्मको आधारमा शासन गर्न पाउनु आफ्नो अधिकार ठान्ने ब्यक्ति या संस्था कति ‘आउट्डेटेड’ र सामन्ती होला धेरै बहस गरिरहनु पर्दैन। आफू जस्तै शरीर रूप रंग भएको, आफूजस्तै सबै जैविक पक्रिया गर्ने अर्को मानवलाई भगवानको अवतार मानेर हामीमाथि शासन गरिदेउ भन्ने मान्छे कस्तो होला?
एक सार्वभौम मानवले यसो कसरी भन्न सक्छ? मान्छेको सोचको प्रकृया यति विचित्रको हुन्छ मनोवैज्ञानिक र समाज शास्त्रीले पनि बुझ्न सक्दैनन्। त्यसमा हामी नेपालीले कुनै पनि सिस्टमलाई फेल गर्न महारथ हाँसिल गरेका छौ।
केही समय पहिले म नेपाल गएको थिएँ। थुप्रै ब्यक्तिलाई भेटेँ। स्थानीय सरकार प्रमुखदेखि प्रदेश सांसदलाई भेटेँ। सबैमा एउटा समानता थियो। सबैमा एउटा रवाफ, एउटा शान थियो।
एक पालिका प्रमुख सानदार गाडी चढेर आए। राजकीय शैलीमा आफूले गरेको कामको बखान गरे। मानौं उनी कुनै दया गर्दै थिए आफ्ना पालिकाका रैतीमाथि। म निसास्सिएँ। के गणतन्त्र, संघीयताको मर्म यस्तै थुप्रै राजा रजौटा तयार पार्नु थियो?
किन यसो भयो मलाई थाहा छैन। तर यति भन्नसक्छु- प्रचण्ड, ओली, माधव नेपाल, देउवा, बाबुराम, झलनाथलगायत केही शीर्ष नेताले सादगीपूर्ण जीवन बाँचेको भए उनीहरूको ब्यवहार लोकतान्त्रिक भएको भए, उनका कमरेड या भाइ बहिनीले उनीहरूलाई अनुशरण गर्थे।
दुर्भाग्य यी नेता राजाभन्दा कुनै कम छैनन्। यी नेताका क्रान्तिकारी कुरा र राजकीय जीवन शैलीले अहिले गाउँगाउँमा सबैलाई राजा बन्ने रहर छ, लहर नै चलेको छ।
स्थानीय निकाय होस् या प्रदेश, यी राजा उत्पादन गर्ने कारखाना बन्दैछन्।
के यी सबै राजा बनिसके त? के फरक छ यिनमा र बंशका आधारमा राजा बनेका बिचमा? यीनीहरू राजाझैं लागे पनि राजा होईनन्। यिनीहरु लोकतन्त्रका ‘वाइप्रोडक्ट’ हुन्। जो मुख्य प्रोड्क्टझैं भएका छन्।
यिनीहरूलाई गाली गर्न पाइन्छ, हटाउन सकिन्छ। तर जन्मको आधारमा राजा बन्ने विरूद्ध बोल्न पनि पाइँदैन थियो। संविधानभन्दा माथि हुन्थे बंशीय राजाहरू। उनीहरुको बोली कानून हुन्थ्यो। उनीहरू नै देश हुन्थे। सन् २००८ अघिको नेपाल त्यसको प्रमाण हो।
यो विकासक्रम हेर्दा लाग्छ, राजतन्त्र एक मानसिकता हो। एक कु-संस्कार हो। यो संक्रामक हुन्छ। यो दासत्वको उपज हो।
नेपाली समाज मालिक नोकर सम्बन्धमा आधारित समाज हो। हामीलाई मालिक चाहिन्छ, दास चाहिन्छ। जबसम्म हामी आफूलाई स्वतन्त्र र सार्वभौम मानव मान्दैनौं तबसम्म बंशजको नभए पनि विभिन्न प्रकारका राजाबाट हामी शासित हुनेछौं।
अब बंशजको आधारमा राजा बन्ने चाहने र गणतन्त्रमा राजाको जीवन बाँच्नेहरूविरूद्ध एउटा वैचारिक जागरण अपरिहार्य भएको छ। दास मानसिकताले राजतन्त्र र शासक मात्र फस्टाउँछ। यो नबुझ्ने जनता नालायक बन्छन्, त्यसपछि लोकतन्त्र नै खतरामा पर्छ।