पहिला त तपाईंहरू सबैलाई यसैबाट 'सरी' भनें, साथीहरू धेरैले विश गरेका थिए। मेरो जन्मदिन हप्ता दिनअगाडि थियो तर धन्यवाद भन्न पाइएको थिएन। जिन्दगी यस्तै छ, कति जनालाई भनौं जस्तो भो। एक-एक गरी भनौं कि जस्तो लागेको थियो, भनिएन।
हरेक वर्ष जन्मदिन आउँछ, फेसबुकका भित्ता भरिन्छन्। पहिले-पहिले सबलाई एक-एक गरी धन्यवाद पनि भनिन्थ्यो। तर यसपालि सोचें- एकैचोटि एउटै टाइमलाइनबाट धन्यवाद भन्छु। यसो हेरें- क-कसले मलाई सन्देश पठाएछन्, या एक लाइक भए नि गरौं भनेर। ओहो! लाइक गर्दा-गर्दा साध्य भएन।
फेरि सोचें यसो भनेर सबैलाई एकमुष्ट धन्यवाद दिन्छु- 'मलाई जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद।'
सोच्दा-सोच्दा एक हप्ता बित्यो। फेरि त्यसपछिको धन्यवादको औचित्य पनि रहेन।
उहिले-उहिले नोटिफिकेशन भरिँदा खुसी लाग्थ्यो। ह्यापी बर्थडेले फेसबुक भरिन्थ्यो। पछि नोटिफिकेशन अफ गरियो मनको शान्तिको लागि। मेसेज अलर्ट आएको आयै! फेरि मेसेज आएको मन नपरेको भन्या पटक्कै होइन। मनपर्छ तर मनदेखि भन्दा देखावटी बढी आउन थाले, पठाउनेलाई चिन्नै गाह्रो हुन थाल्यो।
पूरै शुभकामना लेख्न नसकेर छोटकरीमा एचबिडी लेखेर विश गरेको देख्दा दिक्क लाग्ने! होइन, लेख्ने समय छैन त नलेखे भो त! मैले जबरजस्ती थोडी गरेकी छु र? अनि मैले एउटा उपाय सोचेँ- ओन्ली मी अप्सन हुने रहेछ, त्यही अपनाएँ।
तर यसपालि आश्चर्य के भो भने पहिलाभन्दा फेसबुकमा शुभकामना धेरै कम आए। सायद मैले एक-एक गरी धन्यवाद नदिएर पो हो कि? कतिको सन्देश बेवास्ता गरेर पो हो कि? क-कसले मलाई शुभकामना दिएनन् त? सोध्ने कुरा त आएन, तथ्य जाँच गर्ने कुरा पनि आएन तर फेसबुकलाई पक्कै थाहा होला! थाहा पाउने अरु आइडिया लगाएँ, तर फेरि होस् न त भनेर छाडिदिएँ।
म जन्मदिन नमनाउने अनि जन्मदिन मनाएको मन नपर्ने मान्छे पनि होइन। पहिले-पहिले पार्टी गरिन्थ्यो, आजकल खासै गरिन्न। फरक त्यति हो पहिले धेरै शुभकामना आउँथ्यो तर यसपालि आएन, जुन् मेरो लागि ठिकै छ। ममात्र त होइन जसले फेसबुकमा फोटो पोष्ट गरेर भित्ताभरि देखाएर केक काटेर पोष्ट्याउने, तर बितेका वर्षहरूभन्दा मैले फेसबुकलाई अलि अर्थपूर्ण तरिकाले प्रयोग गर्ने गरेकी छु। एकदम कम व्यक्तिगत पोष्ट अनि राम्रो पोष्ट सामग्री भो भने लेख्ने, होइन भने नलेख्ने। अब कसले इमानदारीपूर्वक कमेन्ट गर्छन्, कसले गर्दैनन्, आजकल सरोकारको विषय भएन। मलाई थाहा छ यो अलि अशिष्ट भो तर मलाई कुनै मतलब भएन।
अनि मलाई लागेको अर्को कुरा के पनि हो भने धेरैजसो साथीहरू जो धेरै समय फेसबुकमा बिताउँथे आजकल अर्कै कुरामा व्यस्त छन्। सायद उनीहरूलाई कामबाट चलाउन दिएनन् कि या अरु कुनै कारण त्यो उनीहरूले नै जानून्। खास भन्ने हो भने फेसबुकलाई हाम्रो व्यक्तिगत जानकारी यति धेरै हुन्छ कि तपाईं हामीलाई चाहिने डाटा ठ्याक्कै मिल्ने गरी, तपाईंको जीवनमा मिल्ने गरी यसले पठाउन सक्छ।
विचार गर्नुस् त, तपाईं कोसँग कुरा गर्दै हुनुहुन्छ, तपाईंको मनपर्ने ब्रान्डदेखि तपाईंलाई के मनपर्छ फेसबुकलाई थाहा हुन्छ र त्यही अनुरुप तपाईंको भित्तामा एड आउने गर्छ। कसरी त? यो एक हिसाबले राम्रो पनि हो तर त्यति नै खेर नराम्रो पनि हो। किनभने फेसबुक एउटा साझा डबली हो र उनीहरूका उपभोक्ता भनेका हामी नै हौं।
हामीले जति धेरै फेसबुक चलाउँछौं उनीहरूलाई त्यति फाइदा हुने हो। त्यही कसले के चलाइरहेको छ भन्ने कुरा थाहा पाएर फेसबुकले आफ्नो ग्राहक तानेर एड बेच्ने हो। फेसबुकले जति धेरै हाम्रो ध्यान तान्छ त्यति उनीहरूको कम्पनीलाई फाइदा हुन्छ। कुरा स्पष्ट र छर्लंग छ, हाल लोकप्रिय रहेका संचार माध्यम कम्पनीहरू जति पनि छन् ती सबैजसो उनीहरूले किनेको कारण यो पनि हो।
धेरै डाटा भनेको धेरै ध्यान अनि धेरै एड रेभिन्यु! यो कता-कता डरलाग्दो पनि छ र यसबाट खराब सन्देश पनि नजाला भन्न चै सकिन्न। फेरि यहाँ मैले सबै नराम्रो हुन्, खराब हुन् भन्न खोजेको पटक्कै होइन। कतिपय एप धेरै काम लाग्ने छन्। जिन्दगी सजिलो बनाएका छन्। तर तपाईंले जति धेरै जानकारी एपमा राख्नु हुन्छ जस्तै- तपाईं कता हुनुहुन्छ, शपिङ कता गर्दै हुनुहुन्छ, कता बसेर खाँदै हुनुहुन्छ, कता घुम्दै हुनुहुन्छ त्यो जानकारीको आधारमा उनीहरूले अरुलाई बेच्न पनि सक्छन्।
समस्या कहाँनिर छ भने त्यो गल्तीले गरिएको होइन। फेसबुकमा साथी बनाउने र बन्ने चक्करमा हामी नै उनीहरूको बिजनेस मोडेल बनिरहेका छौँ। मार्क जुकरबर्गले हाम्रै भावनामा अडिएर, हाम्रै भावनालाई समाएर संसारकै ठूलो अनि शक्तिशाली व्यापारिक साम्राज्य बनाए। अनि जब अहिले नेपालको दुई राजनैतिक पार्टी नेपाली जनताको हक हितको बहस गर्दछ, फेसबुकले कसलाई आफ्नो डबली (प्लेटफर्म) मा राख्ने र कसलाई नराख्ने निर्णय गर्छ, कसको लोकप्रियताको क्षमता कति छ र कति मान्छेको संग्लनता कति छ? को वासलात निकाल्दछ। सोही अनुरुपको सामुदायिक मानक उल्लङ्घन गरेको छ/छैन तय गर्दछ। अनि फेरि यसले समय त्यतिकै खाने त छँदैछ।
मलाई भने फेसबुकबाट मेरो सम्बन्धहरूको मध्यस्थता गर्नु छैन। मेरो मित्रताको घनिष्ठताको आकलन मार्क जुकरबर्गबाट गराउनु छैन। तपाईंहरू सबलाई मेरो जन्मदिन मनाउने निमन्त्रणा छ, तर यो कर्पोरेसनलाई छैन। यदि तपाईंहरू मलाई साँच्चीकै माया गर्नुहुन्छ भने अर्को वर्ष आफ्नो पात्रोमा मेरो जन्मदिन चिनो लगाएर राख्नुहोला अनि मलाई एउटा इमेल गर्नु होला। वाचा गर्छु, म तपाईंहरू सबैलाई जवाफ फर्काउनेछु। तर त्यसको लागि फेसबुकको नोटिफिकेशन चाहिँ नकुर्नु होला। मैले मेरो फेसबुक खाताको सेटिङमा गएर आफ्नो जन्मदिन पनि मैलेमात्र देख्ने बनाइसकेँ। तपाईंले देखिहाल्नु भो भने पनि मे १४, १९८४ आउनेछ जुन वास्तवमा फेसबुकका सिइओ मार्क जुकरबर्गको जन्मदिन हो।
यति लेख्दै गर्दा भनिहालूँ मैले फेसबुक नै छाड्न लागेको पटक्कै होइन। मलाई अनि मेरो कामलाई यो संजाल एकदमै चाहिने माध्यम हो, जस्तै पूर्ण रूपमा अपरिचित मान्छेसँग कुरा गरेर उहाँहरूको कथा सुन्नु अनि लेख्नु मेरो दैनिकीजस्तै बनेको छ। तर कहिलेकाहीं अनावश्यक प्रचार र टिप्पणीहरूको बाढी आउनुमा फेसबुककै दोष छ।
अब फेरि जन्मदिनकै प्रसंगमा जाऔं। फेरि पनि एकफेर हृदयदेखि नै सरी मागेँ यति ढिलो कृतज्ञताको लागि। अनि ती ३५ सय जना साथीहरूलाई हृदयदेखि नै फेरि धन्यवाद जसले मलाई फेसबुकमा जन्मदिनको शुभकामना दिएनन्।
धेरै-धेरै माया अनि आभार।