शिक्षण पेसा आफैमा गौरवान्वित र जिम्मेवारीपूर्ण पेसा हो। धेरै कुराको जिम्मेवारी बहन गर्दा मानसिक असर पर्न सक्छ। झन् कोभिड- १९ ले गर्दा विगत दुई वर्षदेखि शिक्षकहरूलाई अनेक थरीका कुराहरूले तनाव दिन थालेको छ।
एक त पहिले कहिले प्रविधिसँग घुलमिल नभएको हुँदा त्यो सिक्न कतिलाई गाह्रो भइरहेको हुनसक्छ। फेरि अनलाइन क्लासले गर्दा पनि जति दिनुपर्ने हो या भनौँ आफ्नो योगदान दिनुपर्ने हो सिकाइ र उपलब्धिमा, त्यो पनि त्यति प्रभावकारी हुन नसकेको हुँदा आफ्नै पेसा र क्षमतामा पनि प्रायः शिक्षकलाई शंका पर्न थालेको छ।
अर्को भनेको करियरलाई बलियो बनाउन पनि कतिले उच्च शिक्षा, तालिम लिन खोज्दा अनेक पारिवारिक र व्यावहारिक जिम्मेवारीले गर्दा मानसिक तनावको शिकार हुनुपरेको छ। शिक्षण संस्थामा पनि विभिन्न जिम्मेवारी थपिदिने हुँदा त्यसको पनि भार महसुस गरिरहेका हुन्छन् शिक्षकहरू।
अभिभावकको गुनासो सुन्नुपर्ने, आफ्नो सिकाइलाई पनि ध्यान दिनुपर्ने, विद्यार्थीको मूल्यांकन, आफ्नो प्रोमोसन हुने कि नहुनेको चिन्ता, भविष्यका अवसरहरूको खोजी र फेरि त्यसबाट वञ्चित हुन सक्ने जोखिम लगायतका अनेक कुराले शिक्षकहरूलाई तनाव हुने गर्दछ। यसबाट केही हदसम्म बच्न यी तलका कुराहरूमा ध्यान दिनसके तनाव कम गर्न सकिनेछ:
क) आफ्नो लागि समय दिनुहोस्
कहिलेकाहीँ विद्यार्थी र स्कुलकै बारे सोच्दा र काम गर्दा जिन्दगीका अरु पाटोहरू छुटिरहेको हुनसक्छ। घरमा बा-आमा, आफ्ना दिदी-बहिनी या छोराछोरी, नातेदारलाई टाइम दिन नसक्दा सम्बन्ध बिग्रिरहेको हुनसक्छ। बरु छुट्टी लिएर केही दिनका लागि आफ्नो बिग्रिन लागेको सम्बन्धलाई सुधार्नतर्फ ध्यान दिनसके जिन्दगीका अरु पाटाहरू सजिलै पार गर्न सकिन्थ्यो र तनाव कम हुन्थ्यो। बरु अफ्नो इच्छा लागेको कुराहरूमा टाइम दिएर पनि तनाव कम गर्न सकिन्थ्यो।
कतै ट्रेक गर्न पो जाने कि, अथवा साथीभाइ आफन्तलाई बोलाएर या भेट्न गएर मनका कुरा भनेर वा सुनेर, नाचेर, मिठो मिष्ठान्न भोजन सेवन गरेर मनोरञ्जन पो गर्ने कि? मन लागेको किताब किन्न त किनियो तर पढ्न भ्याइरहेको नहुँदा त्यो पढ्ने पो हो कि? आफूलाई कति दिनदेखि लेख्न मन लगिरहेको हुनसक्छ, बरु डायरी या कथा, कविता, नियात्रा, संस्मरण पो लेखेर पनि तनाव कम गर्न सकिन्छ। बरु त्यतातर्फ अग्रसर पो हुने हो कि!
ख) योजना बनाउने
कतिपय कुराहरू बिग्रिनुमा योजना राम्रो नहुँदा वा नबनाउँदा गाह्रो पर्न जान्छ। म आज या भनौँ यो हप्ता, महिना, वर्षमा, के-के कोर्स सकाउँछु, के-के कुरा विद्यार्थीलाई सिकाउँछु, के-के अतिरिक्त कार्यक्रम स्कुलमा राख्छु। आफ्नो सिकाइको लागि के-के गर्नुछ, पढ्नु छ, कुन-कुन र क-कसको अभिभावकलाई भेटेर के कुरा गर्नुछ? क-कसको होम भिजिट जानुछ? यी यावत कुराको योजना बनाउने तरिकाले पनि तनाव कम गर्न सकिन्छ।
ग) सीमाहरूको तय गर्नुस्
स्कुलको कामलाई घर लैजाने कि नलैजाने? हुन त आजभोलि अनलाइन क्लासले गर्दा पनि घरबाट शिक्षकहरूले क्लास लिरहेको हुनसक्छ तर पनि ती क्लासको निर्धारित समय सीमा तोकेर त्यो बेलासम्म मात्र क्लासको गतिविधि गर्ने कि? कहिलकाहीँ नआएको कुराको बारेमा सोध्न विद्यार्थीहरूले फोन गर्ने गर्छन्, अब त्यस्तो कल कुन बेला उठाउने, त्यसको पनि सीमा तय गर्ने हो कि?
आफू घरमा हुँदा कहिलेकाहीं आफ्ना सुपरभाइजर या सहकर्मीबाट फोन आइरहेको हुनसक्छ। अब उहाँहरूले थप जिम्मेवारी दिँदा, त्यस्तो जिम्मेवारी लिने कि नलिने। अरु पनि अन्य कुराहरू हुन सक्छन्, बरु ती कुराहरूलाई केलाएर आफ्ना सीमाहरू तय गर्ने गरेमा पनि तनाव कम गर्न सकिन्छ।
घ) भ्याक्सिन लगाउनुहोस्
कोरोना संक्रमण दिन प्रतिदिन बढ्दैछ। यसले अधिकांश शिक्षकहरूलाई पिरोलेको छ। कति धेरै शिक्षक यी दुई वर्षमा संक्रमित पनि भए जसले गर्दा उहाँलाई र उनको परिवारलगायत अन्य विद्यार्थीहरूमा पनि असर पर्न गयो। बरु नजिकैको खोप केन्द्रमा कोरोना विरुद्धको भ्याक्सिन लाउनु भाको छैन भने शिक्षकहरूले भ्याक्सिन लाएर पनि कोरोना जोखिमबाट मात्र भए पनि जोगिन सके ठूलो तनावबाट बच्नु हुनेछ। सोच्नुस् त कोरोना नलाग्नु कति ठूलो बरदान हुनसक्छ, तपाईं र आफ्ना वरिपरिका मानिसहरूका निम्ति।
ङ) आफ्ना आकांक्षाहरूको आकलन गर्नुहोस्
कहिलकाहीँ हामी शिक्षकहरूले आफूबाट र आफ्ना विद्यार्थीहरूबाट ठूल्ठूला आकांक्षा राखिरहेका हुन्छौँ। यो गर्छु, त्यो गर्छु। यो-यो विद्यार्थीको सिकाइ उपलब्धि बढाउँछु लगायतका कुराहरू, जुन राम्रो हो। तर धेरै महत्वकांक्षा हुँदा र त्यो अनुसारको प्रतिफल नआउँदा साह्रै तनाव हुन थाल्छ। आफैबाट रिस उठ्न थाल्छ र पारिवारिक समस्या पनि आउन थाल्छ। सम्बन्ध बिग्रिन सक्छ। बरु ठूल्ठूला महत्वकांक्षालाई सानो सानो उदेश्यमा बदलेर त्यसलाई प्राप्त गर्न खोजेमा पनि तनाव काम गर्न सकिन्छ।
च) नयाँ सीप सिक्नुहोस्
शिक्षण यस्तो पेसा हो, जहाँ हरदिन केही न केही कुराहरू सिकिरहेको हुनुपर्छ। पहिला गुरुकुल हुन्थे, रुखको मुनि महर्षीले पढाउँथे, पछि कक्षाकोठामा शिक्षकले पढाउने वातावरण हुनथाल्यो। कालोपाटीमा सेता चकले लेखिन्थे भनेपछि ह्वाइटबोर्डमा मार्करले लेखिन थाले। पहिला एउटै कुरा धेरै लेख्न नपरोस् भनेर कार्बनपेपरको सहायताले काम चल्थ्यो भने हुँदाहुँदा कम्प्युटर आयो। प्रिन्टरबाट प्रिन्ट गर्न थालियो। र अहिले अनलाइन क्लास, अनलाइन असाइन्मेन्टसम्म पुगिसक्यो।
त्यही भएर ट्रेन्ड र मागअनुसार हरेक शिक्षकले नयाँ-नयाँ कुराहरू सिक्नु अनिवार्य आवश्यकता भइसकेको छ। यदि सिक्ने प्रयास नगरे धेरै अवसरहरूबाट वञ्चित हुनुपर्नेछ र वञ्चित हुनुपर्दा अनेकौँ प्रकारको तनावहरू उत्पन्न हुन थाल्छन्। त्यही भएर नयाँ-नयाँ सीप, ज्ञान हासिल गरेर पनि तनाव कम गर्न सकिन्छ।
छ) आफूप्रति सहानुभूति राख्नुहोस्
हामी आफूबाट यति धेरै अपेक्षा राख्छौँ कि के भन्ने? जसले गर्दा आफूसँगको सम्बन्ध बिग्रिरहेको हुन्छ। भन्नाले धेरै रिस उठ्ने, भोक नलाग्ने, दुब्लाउने, मोटाउने, भविष्यको चिन्ता, डिप्रेशन लगायतका यावत कुरा। कहिलकाहीँ आफूलाई माया गर्नुस् न। आफूसँग डेटमा जानुस् न। आफूलाई गिफ्ट, पुरस्कार दिनुस् न यदि राम्रो काम गर्नुभएको छ भने।
यार, यस्तो भिडभाड, कोलाहल र प्रतिस्पर्धात्मक जिन्दगीमा कसैले तपाईंलाई टाइम दिँदैन भने तपाईंले आफूलाई वास्ता गर्नु भएन भने निकै दुःख पाइन्छ। आफूप्रति इमान्दार, मायालु हुँदै, 'तिमी पनि त मान्छे हौ, अलिअलि थाक्छौ, आराम गर, कतै रिल्याक्स गर्न जाऊँ, साथीभाइ भेट, लगायतका कुराहरू आफैसँग गरेर आफूलाई सम्झाउँदै, सहानुभूति राख्नुभो भने तनाव कम हुन्छ र आफू भित्रको तपाईंको सम्बन्ध सुमधुर हुनेछ।
ज) जोडिने गरौँ
अहिलेको समयमा सबभन्दा सजिलो माध्यम भनेको सोसियल मिडियाबाट आफ्ना नजिकका मान्छेहरूसँग जोडिने हो। यति तनावग्रस्त जिन्दगी भइरहेको छ, कहिले केको चिन्ता त कहिले केको। यो बीचमा हामीले आफ्ना मनका कुरा भन्न नसकेर निस्सासिनु पर्ने अवस्था आएको छ।
कोभिडले गर्दा आफ्ना प्रिय विद्यार्थी, सहकर्मी, आफन्त या भनौँ आफ्ना छोराछोरी, श्रीमती, श्रीमान, बा-आमालगायतका महत्वपूर्ण व्यक्तिलाई भेट्न सकिरहेका छैनौं। बरु इन्टरनेटको प्रयोग गर्दै यसबाट लाभ किन नउठाउने। धेरै हदसम्म आफूलाई मनपर्ने व्यक्तिसँग, विश्वास गरिएका पात्रहरूसँग पनि मनका कुरा पोख्न र आशाका कुराहरू सुन्न पाउँदा पनि मन कति चङ्गा हुने गर्दछ। तनावलाई यसरी पनि कम गरौं न शिक्षक साथीहरू।
झ) हिँडडुल गरौं
अनलाइन क्लासले गर्दा आजभोलि एउटै ठाउँमा बसिरहेका हुन्छौँ जसले गर्दा शरीरमा अनेक समस्या आउने गर्दछ। ढाड दुक्ने, नसामा रक्त सञ्चार हुन नपाउँदा हात-खुट्टा झमझमाउने, घाँटीमा समस्या आउने, ग्यास्ट्रिक हुने लगायतका समस्या आउने गर्दछ। बरु कौसीमा या बार्दलीमा, घरको आँगन, बगैंचामा हिँडडुल पो गर्ने कि! या आफ्ना छिमेकीको घरतिर पो जाने कि!
या भनौँ न साथीभाइ, आफन्तका पनि हिँड्दै जान सकिन्छ, जसले गर्दा शरीरले आराम पाउनेछ र अर्को भनेको यसरी साथीभाइलाई भेट्दा सम्बन्ध पनि प्रगाढ हुन्छ। स्वस्थ हुन सकिन्छ हिँडडुल गर्दा र यदि स्वास्थ्य हुन सके तनाव पनि हुँदैन। तर यो भन्दैमा मास्क लगाउनुको साथै कोभिड प्रोटोकलहरू अपनाउन नबिर्सौं नत्र फेरि तनाव होला। बुझ्नु भो नि?
ञ) मानसिक परामर्शदाताको सहयोग लिन पछि नपरौं
मानसिक समस्या एउटा रोग हो भनेर डाक्टरहरूले भनेका छन्। कतिपय अवस्थामा हामी शिक्षकहरू आफूलाई मानसिक तनाव भइरहेको कुरा गर्न डराउँछौँ। यदि अस्पताल गएर जँचाएका छौँ भनेर कसैले थाहा पाए के भन्लान् भन्ने पिर लिन्छौँ। यस्ता पिरले झन् गाह्रो बनाउने हुँदा मानसिक परामर्शदाताहरूको समयमै सहयोग लिन सके र उपचार लिन सकेमा धेरै हदसम्ममा शिक्षकहरूले तनावबाट निस्किन पाउनुहुन्थ्यो।
यी माथि उल्लेखित केही कुराहरू अपनाउन सके शिक्षकहरू धेरै हदसम्ममा तनावबाट टाढा रहन सक्नुहुन्थ्यो। हो, जिन्दगीलाई अगाडि बढाउन स्वास्थ तनावको आवश्यकता पर्छ तर त्यो अधिक भएमा समस्या बन्न सक्ने हुँदा बेलैमा सोच विचार पुर्याऔं।
प्रिय शिक्षक, तपाईं तनावरहित हुन सकेमा मात्र हाम्रो स्कुल, बालबालिका, सहकर्मी, समाज, राष्ट्र र संसारले पनि खुसी हुने मौका पाउने थिए र सिकाइ पनि रमाइलो पारामा हुने थियो। बिन्दास पारामा।