म बैतर्नी नदीको भंगालो कटेर पारिपट्टि पुग्न लागिसकेको थिएँ। फेरि मेरो अचेतले भन्दै थियो- 'होइन, होइन। तेरो बैतर्नी नदी तर्ने बेला भइसकेको छैन। फिर, फिर। नदी किनारामा जन्मेहुर्केको मान्छेलाई पौडेर भंगालो पार गर्नु के ठूलो कुरो भयो र!'
मृत्यु वरण गरेर बैतर्नी नदी तर्दै गरेको मान्छे पौडेर फेरि कसरी फिर्नु? फिर्ने हो कि होइन थाहा थिएन। न म पूरै होसमा, न पुरै बेहोसमा। होस र बेहोसको तन्द्रामा छु म। हरेक रातको गहिरो निन्द्रामा पनि सायद चिर निन्द्राको केही अंश हुँदो हो। तर चिर निन्द्राको पूर्ण यात्रामा हिँडेको मान्छे गन्तव्य नपुगुन्जेल सायद तन्द्रामा हुँदो हो। गहिरो निन्द्राका कानभन्दा तन्द्राका कान चनाखा हुँदा रहेछन्।
आँखाले सिलिङको बत्ती देखेको हो जस्तो पनि लाग्छ, होइन जस्तो पनि लाग्छ। हो कि होइन जस्तो गरेर मेरो कानले सुनिरहेका छन्। डाक्टरहरू जे भनिरहेका छन्, केही अंश कानले सुनिरहेका छन्। म कहाँ छु, त्यो थाहा छैन। तर म मर्छु भन्ने टुङ्गोमा डाक्टरहरू लगभग पुगिसकेका छन्।
मलाई एक हप्तादेखि अलि छाती दुखिरहेको थियो। बेलाबेला एसिड रिफल्क्सले छाती दुख्ने गर्थ्यो। सोचेँ, एसिड रिफल्क्स मेरो प्रिय मित्र हो। यसले मलाई छाड्दैन। बेलाबेला मित्रको हैसियत देखाउँछ। त्यही भएर छाती दुखेको होला।
फल सिजनमा मलाई साइक्लिङ गर्न मजा लाग्छ। त्यही भएर त्यो अक्टोबर महिनामा अरुबेलाभन्दा बढी नै साइक्लिङ गरेँ। यो सिजनमा रातै र पहेलै मेपलका रुखहरूले ढकमक्क भ्यान्कुभर वरिपरिका पहाडहरू सिंगारेर अन्माउन तयार पारेकी बेहुलीजस्तै देखिन्छन्। झन वेष्ट भ्यान्कुभर माथिको डाँडोले रंगिन बर्को ओढेर लजाइ-लजाइ तल लस्करै मिलाएर बनाएका सेता सुन्दर घरलाई चिहाएको अद्भुत लाग्छ।
क्यानडा प्लेसअगाडि बेलाबेला पानीबाटै उडेर पानीमै अवतरण गर्ने फ्लोट प्लेनको उडान र अवतरण देख्दा आफ्नो साइकल पनि पानीबाट उड्न सक्ने भएको भए कस्तो हुन्थ्यो होला भनेर कल्पना नआउने पनि होइन। क्यानडा प्लेसबाट इंग्लिस वेसम्म स्टेनले पार्कको वरिपरि साइकिलिङ गर्दा मलाई अर्कै मजा लाग्छ।
त्यसमा पनि आउँदै जाँदै गरेर जिस्किरहने समुद्रको छालले गर्दा कति पटक साइक्लिङ गरेँ पत्तै नहुने रहेछ। धेरै साइक्लिङ गरेकोले पनि सायद छाती दुखेको होला जस्तो लाग्यो र वास्ता नगरी बसेँ।
दुनियाँ कारोनाले त्राहिमाम थियो। मेरो छातीको दुखाइको गति तीव्र हुनथाल्यो। छाती दुःखेसँगै श्वास फेर्न पनि मलाई मुस्किल भएको थियो। यी कोरोनाका लक्षण थिए। जुन ब्रिटिश कोलम्बिया सेन्टर फर डिजिज कन्ट्रोलको आधिकारिक साइटले कारोनाका गम्भीर लक्षणको सूचीमा राखेको थियो।
मेरो घरबाट नजिकैको भेन्कुभरको सेन्ट पाउल अस्पताल जाने निधोमा पुगेँ। हिँडेर जाउँ कि जस्तो लाग्यो। राती दुई बजेको समय भएकोले अलि चिसो पनि थियो। तर छाती एकदमै दुःखेको र श्वास-प्रश्वास कठिन भएकोले हिँडेर जाने आँट आएन।
श्रीमतीले ड्राइभ वेमा पार्किङ गरिरहेको गाडी आफैले चलाएर कोभिड परीक्षणको लागि अस्पताल पुगेँ। अस्पताल पुग्दासम्म मेरो दुखाइ झन् बढ्दै गयो। इमर्जेन्सीको पार्किङमा गाडी पार्क गरेँ।
इमर्जेन्सीको गेटमा एउटी गोरी केटीले मेरो मुखको मास्क खोलेर अस्पतालको मास्क लगाउन दिइन्। हातमा सेनिटाइजर लगाएर मास्क फेरेँ।
मान्छेको लामो लाइन थियो। क्यानडाको अस्पतालको इमर्जेन्सीमा लामो लाइन हुनु कुनै अनौठो होइन। इमर्जेन्सीमा पाँच/सात घण्टा कुर्नु यहाँका अस्पतालमा सामान्य हो। अरु अस्पतालको तुलनामा सेन्ट पाउल अस्पतालमा भिडभाड कमै हो।
इमर्जेन्सीमा तेह्र घण्टासम्म कुर्दा कुदै नोभास्कोसियाको एक अस्पतालमा किड्नीको समस्याले पुगेकी बिरामी महिलाको एक वर्षअगाडि मृत्य भएको थियो। त्यो समाचारले दुनियाँमा राम्रो भनेर चिनिएको क्यानडाको स्वास्थ्य सेवाको प्रभावकारितामा थुप्रै प्रश्न उठेका थिए। मान्छेले भनेको बेला उपचार पाउँदैन भने पूर्ण रुपमा निःशुल्क स्वास्थ्य सेवा दिनुको के अर्थ रहयो र! भनेर खुबै आलोचना पनि भएको थियो।
म त कोभिड लागेको मान्छे। पाँच/सात घण्टा कुर्दैमा नमरिहालौँ नि भन्ने लागेको थियो। तर नर्सले मेरो सामान्य चेकजाँच गरेर रगत लिइन् र मलाई फास्ट ट्याकको जाँचमा पठाइन्। डाक्टर तुरुन्तै आए र भाइटल जडान गरेर अक्सिजनको लेभल हेरे। डाक्टरको अनुहारको हाउभाउले राम्रो संकेत गरेन। सोचेँ, मलाई कोभिडले मृत्यको मुखमा पुर्याइसकेछ।
रगत जाँचले मलाई कोरोना नदेखाएर 'ट्रोपिन टी' उच्च तह (लेभल) नाघेको देखाएछ। त्यो बीचमा उनीहरूले एक्स-रे पनि गरिसकेका थिए। एक्स-रेपछि तुरुन्तै डाक्टरहरू इसिजीका गर्न मेरो छातीमा मेग्नेटिक स्टिकर टाँस्न थाले। 'सिचुएसन इज क्रिटिकल' भन्दै डाक्टरले नर्सलाई भनेको मेरो कानमा पर्यो। तर किन त्यसो भने भनेर मैले एकिन गर्न सक्ने कुरा भएन। फेरि मेडिकल साइन्सको कुरा म कहाँ त्यस्तो राम्रोसँग बुझ्थेँ र!
इसिजीको रिपोर्टले मलाई हृदयघात (हार्ट एटाक) भएको भनेछ। त्यसपछि डाक्टर अत्तालिएका रहेछन्। होस र बेहोसको दोसाँधमा भए पनि डाक्टरको हाउभाउ र हतारोले म क्रिटिकल अवस्थामा पुगेको छु भन्ने मलाई द्विविधा भएन। मेरो छातीको दुखाइले सीमा नाघ्यो र श्वास रोकिएजस्तो भयो।
तन्द्रमा भए पनि डाक्टर र नर्सको कुरा आधाआधी सुनिरहेको छु। 'यहाँ उपचार गर्न सम्भव छैन' कानमा आवाज आइरहेको छ। इहलोकमा छु कि परलोकमा छु, थाहा छैन।
कस्तो दुर्भाग्य! सेन्ट पाउल अस्पतालमा मुटुको जटिल समस्याको सर्जरी नहुने रहेछ। त्यस्तो क्रिटिकल अवस्थामा पुगेको मान्छेलाई उनीहरूले माया मार्नुभन्दा अर्को विकल्प पनि रहेन। सँगसँगै क्लिनिकल्ली मृत्यु नभइसकेको मान्छेलाई मृत घोषणा गर्न पनि भएन। मृत घोषणा गर्न नसकेपछि उपचार नहुने बिरामीलाई अस्पतालमा राखिराख्नु पनि डाक्टरको इथिक्सले दिने कुरा भएन।
मलाई मुटुको जटिल उपचार हुने भ्यान्कुभर जनरल अस्पतालमा पठाउने भए। आखिर नबाँचे पनि त्यहाँ पठाउनु उनीहरूको कर्तव्य थियो। कर्तव्य मात्र नभएर नैतिक जिम्मेवारीपन थियो, पठाए।
बाच्ला भनेर डाक्टरले पठाएको होइन। उनीहरूले त्यहाँ राख्न सक्ने विकल्प नभएर मात्र पठाउँदै थिए। पठाउँदै गर्दा वरिष्ठ डाक्टरले 'हि मे नट मेक इट' भन्दै गरेको झंकार कानमा ठोक्कियो। त्यो ठोक्किँदै गर्दा एकाएका म बैतर्नी नदीमा पुगेँ।
बैतर्नी नदीको पारिपट्टि पुग्दै गर्दा फेरि फिरौं-फिरौं पनि लाग्छ। अरुणको गढतिरमा हुर्केकोले पौडीमा पोख्त थिएँ। कयौंपटक पौडेर अरुण पार गरेको थिएँ। अस्पतालको बेडमा बेहोस भए पनि म परलोकको बैतर्नी नदीको पानीमा जागै थिएँ।
एकजना डाक्टर र नर्सको साथमा दुई जना प्यारामेडिक्सले मलाई भ्यान्कुभर जनरल अस्पतालमा पुर्याए। त्यहाँ डाक्टरले तुरुन्तै एन्जिओग्राम गरे। मुटुका मुख्य तीन वटा कोरोनरी भेसल करिब करिब बन्द भएको रहेछ- देब्रेपट्टीको शतप्रतिशत र दाहिने पट्टिको ७५ प्रतिशत। मुटुको रक्त संचालन गर्ने सबै भेसल लगभग बन्द भएर मृत्युको मुखमा पुगिसकेको मान्छे बाच्ला भनेर डाक्टरले कल्पना गर्ने कुरा पनि भएन।
म बैतर्नी नदीबाट फिर्ने कि नफिर्ने भन्ने द्विविधामा रहेको बेला भ्यान्कुभर जनरल अस्पतालमा डाक्टरहरू सर्जरी गर्दै रोकिएको मेरो मुटुको भेसल खोल्दै रहेछन्। मेरो खुट्टाको भेसल निकालेर मुटुमा ग्राफ्ट गर्न अठार घण्टा लाग्यो। तर म अचेत छु।
मेरो मुटुको रगत आपूर्ति गर्ने बन्द भेसल खुलेसँगै सायद मेरो पौडने क्षमता अरुणमा पौडँदाको भन्दा तीव्र भएछ। बैतर्नी नदी लगभग कटिसकेको मान्छे एकाएका पौडेर सजिलै वारि आएँ।
अरुण नदीको पानी हिउँदमा निलो हुन्थ्यो। बर्खामा पहेलो र अलि-अलि कालो देखेको थिएँ। तर बैतर्नी नदीको पानी त पूरै कालो रहेछ। त्यस्तो कालो पानी कुनै नदीमा देखेको थिइनँ। त्यो नदीबाट देखिने आकाश पनि कोलो हुँदो रहेछ। क्षितिज पनि पुरै कालो देखिएकोले आकाश र जमिन पनि छुट्याउन सकिनँ।
नदीवारि आइपुग्दा मेरो मुटुको सर्जरी सफल भइसकेको रहेछ। जर्मन मूलको वरिष्ठ मुटु विशेषज्ञले सर्जरी गरेका रहेछन्। म पनि जर्मनीमा बसेकोले होसमा आएपछि उनीसँग खुल्न सजिलो भयो। म बाचुँला भनेर उनले समेत कल्पना गरेका रहेनछन्।
डाक्टरले मेरो शरीर सुम्सुम्याउँदै जर्मनीमै कुरा गरे। मलाई उनको हात मान्छेको नभएर भगवानको जस्तो लाग्यो। त्यसमा पनि मजस्तो एउटा इमिग्रेन्टलाई कुन डाक्टरले त्यसरी बाउले जसरी सुम्सुम्याला र! उनले जर्मनीमा भने- 'म त निमित्त हुँ। तिमीलाई मैले बचाएको होइन, भगवानले बचाएको हो। कोभिडले मात्र छाती दुख्दैन। छाती दुख्नेवित्तिकै मुटुको समस्या हो कि भनेर सचेत हुनु पर्दछ।'
'तिमी भाग्यमानी रहेछौ, बाचेउ। तिम्रो उपचार गर्ने डाक्टर क्यानडामै राम्रो मुटु विशेषज्ञ मानिन्छन्,' नर्सले भनिन्। नर्सको कुरा सुनेपछि म मरेको भए भनेर कता-कता डर पनि लाग्यो। यदि म हिँडेर गएको भए अस्पताल समेत नपुग्ने रहेछु र बीच बाटोमै मर्ने रहेछु।
भर्खरै नयाँ जीवन सुरु गरेको थिएँ। म मरेको भए मेरी सखीले एकपाखे भएर बाच्नु पर्ने थियो। यो कत्रो सौभाग्य! मेरो मिति सकिएको रहेनछ। जन्म र मृत्य कस्को खटनमा हुन्छ? कसलाई थाहा! आखिर जीवन भनेकै जन्म र मृत्यु बीचको संक्रमण रहेछ। बाच्नु भनेको त्यही संक्रमणको व्यवस्थापन रहेछ।
डाक्टरले भनेको साँच्चै रहेछ- हो, मलाई भगवानले बचाएछन्।
मित्र चिरन्जीवी शर्माले मृत्यको मुखमा पुगेको कथा सुनाउँदा कति समय बित्यो, मैले केही थाहा पाइनँ। टीम हर्टनको ग्रीन टी लगभग चिसो भइसकेको रहेछ। अंग्रेजीमा सुनाएको भए, वरिपरि चिया कफी पिउँदै गरेका गोरे गोरीहरूलाई एउटा आश्चर्यको तिलस्मी कथा हुने थियो। उनीहरूले बैतर्नी नदीको बारे जान्ने थिए।
बैतर्नी नदी गएकोले चिरन्जीवीजी यति लामो समय हराएका रहेछन् भन्ने थाहा पाएँ। परलोकको नदीमा जान समय लाग्यो होला। फेरि फिरेर आउन झन् धेरै समय लाग्यो होला। लामो समय भेट नभएकोमा केही गुनासो गरिनँ। उनी फिरेकामा खुसी लाग्यो र उनको अनुभूति सुनेर मलाई पनि लाग्यो- बैतर्नी नदी साँच्चै छ कि क्या हो!
शुभकामना दिएँ, 'तिम्रो नाम पनि चिरन्जीवी, मान्छे पनि चिरन्जीवी नै रहेछौं। तिमीले एक जुनी होइन, दुई जुनी पाएका छौ। तिमी सय वर्षभन्दा बढी बाच्ने छौ।'