म आफ्नो फेसबुक स्क्रोल गर्दै थिएँ, त्यति नै खेर करिब साँझ ५:४५ बजे फेसबुकको न्युज फीडमा एउटा चरा दर्दनाक किसिमले झुन्डिएर बसेको थियो। त्यस्तो अमानवीय, दर्दनाक किसिमले झुन्डिएको चराको फोटो मैले पहिलो पटक देखेको थिएँ र त्यसको पीडा मैले पनि महसुस गर्न सक्थेँ।
त्यो पीडा मैले मात्रै नभई अरु मानिसहरूले पनि कमेन्ट लेखेर जनाएका थिए। यस तस्बिर खिच्ने व्यक्ति चरा प्रेमी तथा अनुसन्धानकर्ता अस्मित लिम्बू हुन्। फोटोमा हेर्दा बाँसलाई क्रस आकार बनाई त्यस चरालाई बाधेर झुन्डाइएको थियो र त्यो झुन्डिएको चरा भुँडीफोर गरुड थियो।
भुँडीफोर गरुड चरा सारसको सिकोनाइडी फेमेली अन्तर्गत पर्दछ। यो चरा करिब ३४-३७ इन्च लामो हुन्छ भने यसको तौल ४ देखि ५.७१ किलोसम्म हुने गर्दछ। यस चराको घाँटी र टाउकोको केही भागमा मात्रै हल्का रौहरू उम्रेका हुन्छन् तर यस चराको मुखको चुच्चो लामो र तिखो हुन्छ। यो चुच्चो मुखले पानीमा बसेको आफ्नो शिकारलाई सहजै तरिकाले टिप्न सहयोग पुर्याउँछ।
यस चरा सिमसार क्षेत्र, धानको खेत, पोखरी आदिमा बढी देखिन्छ। यस चराको मुख्य आहारा भनेको माछा, भ्यागुता, सरिसृपहरू, साना स्तनधारी प्राणीहरू, ठूला ढाड नभएका प्राणीहरू पर्दछन्। बर्डलाइफ इन्टरनेशनल २०२० को अनुसार यो चरा नेपाल, भारत, भेतनाम, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, इन्डोनेसिया लगायतका मुलुकहरूमा पाइन्छ र यसको संख्या नेपालमा करिब दुई सय देखि सात सयको हाराहारीमा छ। यस चराको बहुल्यता खासगरी नेपालको पूर्वीभेग तिर बढी छ भने कम्बोडियामा सबैभन्दा बढी संख्या छ।
यो घटना झापा जिल्लाको महाभारा भन्ने ठाउँमा भएको थियो जुन नेपाल र भारतको सिमानामा पर्दछ। यो चरालाई चरा प्रेमी तथा अनुसन्धानकर्ता अस्मित लिम्बूले चराहरूको सर्वेक्षण गर्ने क्रममा झुन्डाइएको अवस्थामा फेला पारेका हुन्। त्यति नै बेला यो तस्बिर उनले कैद गरेका थिए। उनलाई पनि यो घटनाले निकै स्तब्ध र निराश बनाएको थियो।
यो चराहरू आफ्नो आहाराको लागि पानीमा आश्रित हुने भएकाले उनीहरू पानीको वरिपरि डुलिरहन्छन्। तर जाडो मौसममा सिमसार क्षेत्रको पानी सुकी सिमसार क्षेत्र खुम्चिने भएकोले यी चराहरू मानवनिर्मित पोखरी जस्तै माछापोखरीमा आफ्नो आहारा खोज्दै पुग्दछन्। माछापोखरीमा छिरेर धेरै माछा खाइदिने सोचले यी चराहरूलाई मानिसले देख्नासाथ मार्ने गर्दा रहेछन्। त्यसैगरी अरु भुँडीफोर गरुड र अन्य चराहरूलाई तर्साउन पनि ती मानिसहरूले यसलाई 'जिउँदो पुत्ला' बनाई बाँसमा बाँधेर झुन्डाउने गर्दा रहेछन्।
सन् २०१३ मा वातावरणविद् सन्तोष कार्की र प्राणी विज्ञ तेजबहादुर थापाले यो चरा खतरामा रहेको उनीहरूको अनुसन्धानले निष्कर्ष निकालेको थियो। यो चराको बढी चोरीशिकारी, बासस्थान विनाश, रसायनिक विषादीको प्रयोग, जमिनको खण्डीकरण र जनचेतनाको अभावले गर्दा खतराको सूचीमा र संख्या पनि घटिहेको थियो। त्यसैगरी त्यहाँ बस्ने आदिवासी मानिसहरूले यस चरणलाई मारेर मासु खाने र त्यसको हड्डी प्रमुख त त्यसको चुच्चो प्रयोग गर्ने भएकाले यस चराको संख्या घट्दो क्रममा छ।
जमिन खण्डिकरण भएको कारण त्यहाँको रूख जस्तै खयर, सिसौ, करम, सिमल र अन्य रुखहरू जुन यी चराहरूको अण्डा पारेर आफ्नो बच्चा हुर्काउने ठाउँ हो, त्यो पनि विनाश भएको छ।
केही मानिसहरू फेरि अन्धविश्वासमा लागेर यस चराको निधारको भाग सर्पदंशको औषधि रुपमा प्रयोग गर्दा रहेछन्। ती मानिसहरूका अनुसार भाले भुँडीफोर गरुडको निधारमा एक विशेष अङ्ग हुने जसलाई उनीहरूको भाषामा 'झारमाउरो' भनिँदो रहेछ। हो, त्यही अङ्ग उनीहरूले सर्पदंशको उपचार गर्न विरोधी विषको रुपमा प्रयोग गर्दारहेछन्। यी सबै कारणले गर्दा यस चरालाई संरक्षणको निकै खतरा छ।
आयुसिएनले पनि यस चरालाई खतराको सूचीमा समावेश गरेको छ। यदि आगामी दिनहरूमा यस चरालाई हामीले देख्नु छ भने मानिसहरूमा धेरैभन्दा धेरै सचेतना फैलाउने, सिमसार क्षेत्रको संरक्षण र बासस्थानको विनाश छिटोभन्दा छिटो रोक्नुपर्छ। नत्र भने फेरि यस्तै कैयौं भुँडीफोर गरुड बाँसको टाँटीमा झुन्डिएको देख्नु पर्नेछ।