शिक्षा भनेको चेतना हो। सामान्य अर्थमा ज्ञान, सीप, आलोचनात्मक सोच र समस्याको समाधान गर्ने क्षमता हो। शिक्षा दुई प्रकार मध्ये सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षा बढी महत्वपूर्ण हो। मेरो परिभाषामा भित्र सैद्धान्तिक ज्ञान प्राप्त गरेको मानिस भएता पनि उक्त ज्ञानलाई व्यवहारमा यदि सही तरिकाले उतार्दैन भने सो व्यक्ति अशिक्षित हो।
मानिस जब जन्मिन्छ, जन्मपश्चात उसलाई विभिन्न माध्यमबाट शिक्षा हासिल हुन्छ। त्यो परिवार र समाजको प्रभाव हो। शिशु अवस्थामा घर परिवारमा के राम्रो, के नराम्रोदेखि नैतिकता र मर्यादाका क्षेत्रअधिकारका सम्पूर्ण कुरा सिकाइन्छ। त्यसपश्चात निश्चित उमेरमा विद्यालयमा अझ राम्रो शिक्षा पाइयोस् भन्ने उद्वेश्य लिएर जान्छौँ।
एसइई, हाइस्कुल र त्यसपश्चात विश्वविद्यालय स्तरसम्म यहीँ ज्ञानको खोजिमा लागिन्छ। सामान्यतः एसइईमा राम्रो नतिजा हासिल गर्ने व्यक्ति समाजमा इज्जत ठहरिन्छ। त्यसकै प्रभावमा मान्यजनको सल्लाहअनुसार कहिलेकाहीँ त जबरजस्ती विज्ञान र अरुलाई नतिजाअनुसार व्यवस्थापन, शिक्षा, साहित्य, कानुनजस्ता विषयमा भर्ना भई अध्ययन गर्छन्। अर्थात् सैद्धान्तिक वा प्राविधिक पक्ष नै हाम्रो लागि शिक्षा हो। यो हाम्रो सरल बुझाइ हो।
हाम्रो बुझाइअनुसार शिक्षा प्राप्त व्यक्ति भन्नाले मान्यता प्राप्त विश्वविद्यालयबाट राम्रो नतिजा हासिल गरी प्रमाण पत्र हासिल गर्नु हो। तर नैतिक वा व्यवहारिक शिक्षा बिनाको यो शिक्षाले समाजलाई गतिशील बनाउने रैनछ। बनाउँदो हो त महिलामाथि दुर्व्यवहार गर्नु हुँदैन अथवा महिला हिंसा गर्नु हुँदैन भनि ज्ञानका कुरा सिकाउने व्यक्तिबाट नै महिलालाई आफ्नो पकेटको सम्पत्ति वा वस्तु सरहको व्यवहार गरिने थिएन।
अझ भन्नुपर्दा कथित शिक्षितबाट नै विवाहपश्चात् घरको बन्द कोठामा कुटपिट गर्ने, अपमानित गर्नेजस्ता कुकर्म गरिन्छ। छोरीमान्छे रजस्वला हुँदा विभिन्न किसिमले भेदभाव गरेको त हामीले भोगेको वा देखेसुनेकै हो। यो नपढेर वा विश्वविद्यालयको डिग्रीको कमीले हैन। सुदूरपश्चिम क्षेत्रमा त रजस्वला हुँदा घरभन्दा टाढा छाउमा लगेर राख्ने छाउपडी प्रथा छ। तर महिनावारी बार्ने प्रचलन त जताततै छ।
नेपाली समाजमा रजस्वला भएकी महिलालाई घरभित्र छिर्न नहुने, मन्दिरमा पस्न नहुने, बुबा, काका, दाजु, भाइहरूलाई छुन नहुने किसिमका मान्यता अझै पनि छ। मेरो सम्पत्तिमा छस्, मैले भनेअनुसार चल्नुपर्छ भनि विभिन्न प्रकारले शारीरिक वा मानसिक तनाव दिने गरेको पाइन्छ राम्रै पढेलेखेको भन्नेहरूबाट।
बालविवाह गर्नु हुँदैन भन्ने व्यक्तिले नै राम्रो परिवार छ भनि विवाह गर्ने उमेर नपुगेकी किशोरीको लागि विवाह प्रस्ताव गर्ने, उहीँ विवाहमा जन्ती जाने र भोज खाने गरेको हामी पाउँछौं। निजामती सेवामा कार्यरत कर्मचारीले भष्टाचार गर्नु हुँदैन भनेर सिकाउने तर केही समयपछि उनीहरू नै घुस लेनदेन गर्दा रंगेहात अख्तियारले पक्राउ गरेको खबर सामाजिक सञ्जालमा भाइरल बनेको हुन्छ।
जातीय भेदभावको अन्त्य भयो भनिन्छ तर दलित समुदायको व्यक्तिलाई घर छुन नदिने वा गृह प्रवेश गर्न निषेध गर्ने गरको पाइन्छ। माथिल्लो जातको महिला वा पुरुषसँग प्रेम सम्बन्ध वा विवाह सम्बन्ध कायम गर्न चाहने महिला वा पुरुषको ज्यान लिएको समेत हामी सबैलाई अवगत नै छ। केही समय पहिले रुकुमका नवराज विकको यसै कारणले हत्या गरिएको थियो।
भेदभाव त यसरी जरा गाडेर बसेको छ कि, कथित तल्लो मानिने जातभित्र पनि विश्वकर्मालाई नेपाली थर चल्दैन, नेपाली थर भएकोलाई परियार चल्दैन। ब्राह्मणभित्र पनि उपाध्यायलाई जैसी चल्दैन, जैसीलाई क्षेत्री। त्यसभित्र पनि कुनै-कुनै गाँउघर तिर त 'पहिला बाते' र 'दोस्रा बाते' भनेर भागेर आएका श्रीमतीहरूको सन्तान र भागेर नआएका श्रीमतीको सन्तान बीचमा क्लस्टर छुट्याइन्छ।
बोक्सी प्रथा गाउँघरमा सामान्य जस्तो छ। आफ्नो घरको भैसीँले दूध दिएन भने राम्रो घाँस हाल्नु सट्टा अर्को डाँडामा बस्ने हजुरबुबाको घरमा खरानी फुकाउन जाने चलन व्याप्त छ। कुनै एक निर्दोष नारीलाई बोक्सीको उपनाम भिराएर एउटा अचम्म लाग्दो अदृश्य शक्ति छ भन्ने दोष देखाएर अझै पनि अमानवीय व्यवहार गरेको समाचार पाउँछौँ। यस्तो गर्नु हुँदैन भने कुरा थाहा हुँदाहुँदै शिक्षा प्राप्त गरेका शिक्षित भनाउँदाहरू पनि यसरी अशिक्षित भएका छन्। यस्तो तुच्छ र घिनलाग्दो मानसिकताबाट आज हामी गुज्रिरहेका छौँ।
त्यसैले हामी घोक्यौँ मात्रै। पढेनौँ, बुझेनौँ। विश्वविद्यालयको शिक्षाले मात्र मान्छेलाई सर्वश्रेष्ठ बनाउँछ त? बनाउँदो रहेनछ। शिक्षा मानिसको निकै आवश्यक तत्व हो तर शिक्षाले मात्र मानिसलाई योग्य बनाउन सक्दो रहेनछ। वास्तवमा चेतना नै शिक्षा हुनुपर्ने। नैतिक चालचलन नै शिक्षा हुनुपर्ने। मानवीयता शिक्षा हुनुपर्ने। के गलत के सही छुट्ट्याउन सक्ने कुरा शिक्षा हुनुपर्ने।
शिक्षाले हामीलाई सैद्धान्तिक नभई व्यवहारिक पक्षमा ध्यान दिनुपर्ने थियो तर हामीले दिएनौँ। ध्यान दिएका भए त जातीय भेदभाव, बालबालिका विरुद्धका अपराध, महिला विरुद्धका दाइजो प्रथा, महिला हिंसा लगायतका फौजदारी अपराधहरू समाजमा घट्ने थिएनन्।
समाचारमा आएजस्तो वडाध्यक्षले बलात्कारजस्ता मुद्दामा मेलमिलाप गराउने थिएनन्, आफ्नै शिक्षकबाट बालिकाहरू असुरक्षित हुने थिएनन्, भ्रष्टाचारमा नेपाल दक्षिण एसियामै अगाडि हुने थिएन। त्यसैले हामी यदि शिक्षाको सैद्धान्तिकभन्दा व्यवहारिक र नैतिक पक्षको सफल कार्यन्वयन गरेनौँ भने हामी अशिक्षित ठहरिन्छौँ।
त्यसैले सैद्धान्तिक र प्राविधिक डिग्रीको साथमा छुट्टै नैतिकता र मानवताको डिग्री पनि साथमा लिने गरौँ। यो औपचारिक शिक्षाबाट प्राप्त नहोला तर हामी हाम्रै स्वच्छ चेतनाबाट प्राप्त हुन्छ। त्यसो भएमा बल्ल मेरो परिभाषा भित्रको शिक्षित हुनेछौँ।