केही दिनअघि एउटा गाउँमा जाँदा त्यहाँ २-३ जना बालकहरू निसंकोच उफ्री-उफ्री खेलिरहेको देखेँ। उनीहरूलाई देख्दा आफ्नो बाल्यकालका क्षणहरूको भिडिओ दिमागमा प्ले हुन थाल्यो।
मेरा पाइलाहरू रेड लाइट देखेर रोकिएको गाडीजस्तै एकाएक रोकिन पुगे। ती बच्चाहरूको अनुहारमा देखिएको उन्माद हाँसोका साथ खेलेको देखेर सपेराले बिन बजाएपछि लठ्ठ परेको साँप झैँ एकोहोरो लठ्ठ परेर तिनीहरूलाई नै हेरिरहेँ।
एकातिर ती बच्चाहरू खेलेको लाइभ दृष्य हेरिरहेको थिएँ भने अर्कोतिर दिमागले आफ्नो बाल्यकालको भिडिओ प्ले गरेर दोहोरा मज्जा लिइरहेको थियो। मानौं कुनै सामान एउटा किन्दा अर्को सामान फ्री स्किमजस्तो। मनको कुनाको एउटा डिलबाट एउटा सवाल पनि जन्माइरहेको थियो- के आजको युगमा पनि बिना मोबाइल, ल्याप्टप, बिना इन्टरनेट मानिसहरू यति बिध्न रमाउन सक्छ?
मनबाट नै फेरि जवाफ पनि आयो- जसरी कर्कलाले पानीलाई धेरै समयसम्म आफूसँग राख्दैनन् त्यसरी नै बच्चाहरूले पनि आफ्नो दिमागमा रिस, राग, ईर्ष्या, अहमता जम्मा गरेर राख्दैनन् र यही कारणले गर्दा बच्चाहरू दिल खोलेर रमाउन सक्छन्।
यसको विपरीत ठूलो मानिसहरूले यी सबै चिजहरूलाई रिजर्भ ट्यांकीमा पानी संकलन गरेजस्तै, लकडाउनमा खाद्यान्नहरू थुपारेजस्तै टन्नै रिस, राग, ईर्ष्या, अहमता थुपारेर राख्ने भएकोले तिनीहरू खुलेर रमाउन सक्दैनन्। यति सोच्दा सोच्दा दिमागले आफ्नै बालापानका उत्कृष्ट भिडिओ बनाएर प्ले गरेपछि गालामा पहाड बन्नेगरी, मुखमा ओढार बन्नेगरी मस्त मुस्कान अनि हाँसोले डेरा जमाउन पुग्यो।
भँगेराको बच्चा फुर्र-फुर्र उडे झैँ साथीहरूसँग खेल्दै उफ्रिँदा-उफ्रिँदा नुहाए झैँ निथ्रुक्कै भिजेको शरीर पसिना सुकेपछिको शरीर माड्दा भिजेको सूर्ति माड्दा आउनेजस्तै डल्लोका डल्लो मैलो आउथ्यो। त्यतिबेला शरीर मैलो हुन्थ्यो तर, मन भने बिल्कुलै पुस माघको पारिलो घामजस्तो सफा हुन्थ्यो।
कसैसँग एउटा मिठाई भए पनि त्यसलाई टोकेर साथीसँग ओल्टाइ-पल्टाई टुक्रा चकलेट चुस्दाको आनन्द सरर्र जिब्रोमात्र होइन, पूरै शरीरले लिन्थ्यो। साथीहरू मध्ये कुनै एकजनाले फिल्म हेर्न गएको छ भने अन्य साथीहरू उक्त साथीको आएर फिल्मको कथा सुनाउँछ भनेर तलब आउने दिनको झैँ व्यग्र प्रतीक्षा गर्थे।
रमाउनको लागि कुनै बार चाहिँदैन थियो। कुनै समय चाहिन्न थियो, कुनै ठाउँ चाहिन्न थियो। जे भेट्टायो खेल्यो, जहिले मिल्यो खेल्यो, जहाँ मिल्यो खेल्यो अनि रमायो। लाग्थ्यो हाम्रो जिन्दगी नै खेल्नको लागि हो, रमाउनको लागि हो। यस्तो लाग्छ कि, कुनै मानिस कसरी रमाउन सकिन्छ भन्ने विषयमा विद्यावारिधी गर्नुछ भने त्यस बेलाको बाल्यकाललाई महसुस गर्नुपर्छ। सायद त्यस बाल्यकाल जति आजभोलि कुनै पनि वयस्क मानिसले रमाउन सक्ला जस्तो लाग्दैन।
एउट काठको मूढालाई काटेर मोटरगाडीजस्तो बनाएर आफैले भुम-भुम र टिंटिंट् गर्दा त आफ्नो गाडी संसारकै उत्कृष्ट गाडी र आफूलाई संसारकै उत्कृष्ट डाइभर ठान्थ्यौं। गाडी खेलमा उक्त गाडीमा चढ्ने पेसेन्जरहरूलाई ठाउँ अनुसारको भाडा पनि तय गरिएको हुन्थ्यो र भाडावापत चकलेटका खोलहरू दिनुपर्थ्यो। जति ठूलो खोल त्यति धेरै पैसा। जोसँग जति चकलेटका खोलहरू हुन्थे, त्यो साथी त्यति धेरै धनी पनि मानिन्थ्यो। धनी बन्नको लागि गाडी राम्रो बनाउनुपर्ने, गुच्चा, चुङ्गी, गट्टा, पौडीजस्ता खेलमा राम्रो हुनुपर्ने हुन्थ्यो।
बाल्यकालमा साथीभाइहरूसँग मज्जासँग ख्याल ठट्टा त झनै गज्जबको हुने गर्थ्यो। जसले धेरै ठट्टा गर्न सक्यो, उसले आफूलाई ठूलो सुपरस्टार ठान्ने परम्परा बसेको यस खेलमा कोही पनि नरिसाउने दरिलो आपसी सहमति पनि थियो। कमिला झैँ एकसुरमा कनै काममा व्यस्त साथीको हाफ पाइन्टमा कागज वा अन्य कुनै चिजको पुच्छर बनाएर झुण्डाइदिने होस् वा सुतिरहेको साथीको कलमले अनुहारमा केरेर जुँगा दाह्री बनाइदिने होस् या, म बाँदर हुँ भनेर कागजमा लेखेर ढाडमा टाँसिदिनेजस्ता ठट्टाहरूले दिनदिनै चार्ली च्याप्लिनको फिल्म हेरेको जस्तो माहोल सृजना गरिदिन्थ्यो।
पौडी खेल्दा साथीहरूलाई हिलो दलेर मसानजस्तो बनाइदिने, साथीको लुगाभरि कुरो र स-साना कपडामा टाँसिने काँडाहरू टाँसिदिने, चकलेटभित्र ढुङ्गा बेरेर चकलेट खा भनेर दिने, बिहान साथी सुतिरहेको खाटमा नै गएर चिसो पानी छर्केर उठाउनेजस्ता सुन्दर पलहरूलाई याद गर्दा प्रचण्ड गर्मीमा भरभूमिमा प्यासले ओठमुख धाँजो फाटेको जमिनजस्ता भइसकेको मानिसले चिसो पानी पिएपछि पाएको आनन्दको अनुभूति हुन्छ।
जब ठूलो बाढी आउथ्यो, तब दिनभरजसो हाम्रो ड्युटी खोलामा नै हुन्थ्यो। खोला तर्ने नसक्ने मानिसहरूलाई खोला तर्न सघाउने अनि त्यो भयंकर उर्लेर आएको बाढीसँग मुकाबिला गर्दै साथीहरूमा को छिटो र नजिक खोला तर्ने भन्ने प्रतिस्पर्धाको रिले दौड झैँ भइरहन्थ्यो। त्यतिबेला हामीलाई न धमिलो पानीको मतलब हुन्थ्यो, न त चिसो पानी कै। मनले बस् पौडी खेलौँ भन्थ्यो, खेल्थ्यौं।
त्यस्तो हिलो पानीमा दिनभर खेल्दा पनि बिरामी भइँदैन थियो र कुनै छालाको रोग पनि लाग्दैन थियो। सायद जलदेवी पनि खुसी भएर हामीलाई यस्तो मौसममा दिनभरि खेल्दा पनि बिरामी नबनाइदिनु भएको होला।
ढाडमा घमरा आएर चिलाउँदा माटोको भित्तामा डाढ टाँसेर भित्तामा ढाड रगड्ने, तुथपेस्टको सट्टा सजीवनको डाँठले दाँत माझ्ने, घाउ हुँदा घिउ लगाउने, हिलो माटोमा धेरै खेलेर हात खुट्टाका छालाहरू झर्ने, साथीहरूले घरबाट कसैले चामल, कसैले आलु ल्याएर खोला नजिकै माछा मारेर त्यहीँ खाना पकाएर पातमा पस्केर खाने अनि खाएपछि त्यही खोलाको धमिलो पानीमा उफ्रेर फेरि धुलो, हिलोमा खेल्नेजस्ता कार्यहरू जिन्दगीमा कम्प्युटरको सिस्टम फाइलजस्तै अमूल्य हिस्सा बन्न पुगेको छ।
भौतिक चिजहरूको अभाव थियो तर साथीहरूको सामीप्यताले यी अभावहरूले कहिल्यै तनाव आउन दिएन। जसरी सूर्यको उदयपछि शीतहरू हराउँछन्, त्यसरी नै साथीहरूको आगमनपछि हामीमा भएका दुःखहरू त्यसै हराउँथे। त्यस बेलाको तुलानामा अहिले कैंयौं गुणा भौतिक सुविधा भएता पनि त्यो क्षणजस्तो अवस्मरणिय क्षणहरू पाउन निकै मुस्किल छ।
किन-किन मलाई त्यही बच्चा हुँदाको धुलोमुलो जीवन अति सुन्दर लाग्छ। यदि भगवानले मलाई बरदान माग्नु भनेर भन्नुभयो भने मैले मलाई मेरो बालापनमा फर्काइदिनु होस् भनेर माग्नेछु।
वाह! बालापनको त्यो धुलोमुलो जीवन।
(लेखक बैंकर हुन्।)