विज्ञानले एउटा भन्छ। धर्मकर्मका ज्ञाताले एउटा भन्छन्। बस्तीका बुढापाकाका परिभाषा छुट्टै हुन्छन्। आखिर जसले जे नै भने पनि जस्तो कर्म गर्यो। जस्तो मार्ग चुन्यो उस्तै प्रकारका उसैसँग सम्बन्धित सपना देखिँदारहेछन् क्यार।
रातको बाह्र बजेसम्म ट्विटर र फेसबुक चलाउन मोबाइलमा व्यस्त हुने औंला हिजोआज सपनीमा त्यहीँ मोबाइलमा उस्तै व्यस्त बनिदिन्छन्। दिनभर जसका लागि दौडधुप, भनाभन गर्छु सपनीमा पनि उही अनुहार उस्तै घटनापरिघटना देखिन्छन्।
मध्यरातमा हात र आँखाबाट ओझेल परेको मोवाइल उषाकालमा पुनः सिरानीबाट हातमा आइपुग्छ। हतारमा आँखाहरूले भेटाउँछन्– हाम्रै नेताले फेसबुकमा पोस्ट्याएका स्टाटस। उता कमेन्टमा नेताजीलाई पूजा गरिसकेका हुन्छन्, चाकरी बजाइसकेको हुन्छन् कतिपयले बिभिन्न सम्बोधनका साथ।
नेताजीले गरेका पोष्टहरू दोहोर्याइ तेहर्याइ हेर्छु। कतै स्टाटसमा मेरा बारेमा पनि केही लेखिएको छ कि? फोटो हेर्छु, कतै म पनि प्रिय नेताजीकै साथमा छु कि? बिहानको समय व्यतित हुन्छ नेताजीका पोष्ट र स्टाटस हेर्नमै।
उहाँले भाषण गर्दाको बोली। अरूलाई गरेका गालीगलौज अनि जनतालाई बाँडेका कहिल्यै पुरा नहुने सपनाका धारावाहिक श्रृंखला मेरा लागि महानवाणी बनिदिन्छन्। जाँड र मासुभात मात्र भए पनि खान पाउने आशमा मजस्तै दुईचार जना कार्यकर्ताको उपस्थिति र तालीको गडगडाहटले नेताजीको सभामा जनसागर उत्रेको अनुभूति हुन्छ।
मलाई मेरो बारेमा कसैले नराम्रो भन्दा केही रिस उठ्दैन र कुनै मतलब हुँदैन। तर कसैले मेरा नेताको बारेमा नराम्रो बोल्यो भने म सहन सक्दिनँ। नेताजीले जघन्य अपराधै गरे पनि म त्यो नराम्रो हो भनी कहिल्यै सोच्न सक्दिनँ।
गफगाफको सिलसिलामा एकपटक मलाई इंगित गर्दै कसैले भनेको थियो, ‘उसको नेताले त फलानो काममा यति कमिसन खायो। फलानोको सरूवा बढुवामा यति कुम्ल्यायो। त्यो विकास बजेटमा यति पचायो।’
उसको कुरा मलाई सह्य भएन। मुखभरिको जवाफ दिने शैलीमा भनेँ, ‘उहाँको न कुनै व्यापार व्यवसाय छ। न पैतृक सम्पतिको जोहो छ। न त आम्दानीको कुनै स्रोत देखिन्छ। तै पनि मजस्ता सयौं कार्यकर्ताको रोजीरोटी चलाइराख्नु भएको छ। समयसमयमा तपाईँहरूलाई भेट्न पनि ३०/४० जना कार्यकर्ताको साथमा आउन पुगेकै छ। एक पटकको जितले सँधैभरि नेता भएर खाइबस्न मिल्छ। फेरि अर्कोपटक चुनाव आउँदैन? लड्न परेन? जित्न परेन?’
तपाईँहरूको सेवाको लागि मृत्युपर्यन्त राजनीति नछोड्ने कसम खानु भएको छ नेताजीले। तपाईँ कमिसन खायो भन्नुहुन्छ? पुल, कुलो, सडक, स्कूल सबै योजना नेताजीले दिएका हुन्। केही काम गरिदिए बापत, दुःख गरेबापत अलिकति आफूलाई पनि राख्दा के नै बर्बादी भयो? आफ्नो मान्छेलाई सरूवा, बढुवा र कमाइ हुने ठाउँमा नियुक्ति गर्न नपाउने भन्ने हुन्छ?
नबुझेको हो कि, बुझ पचाएको हो? सबै खाएको जस्तो पो कुरा गर्नहुन्छ? त्यै बजेटको २०/३० प्रतिशत त हो खाएको हो। अर्बौका योजनामा आउने करोड कति नै हुन्छ र? करोड खानु भनेको हाम्रो जस्तो नेताका लागि के नै हो र? तपाईँहरू आफूलाई धन्य ठान्नुहोस्, भाग्यमानी मान्नुहोस्, जे-जसरी भए पनि हामीलाई योजना ल्याइदिनु हुन्छ।
मेरो वाक्य टुंगिन नपाउँदै भन्न थालिहाले, ‘त्यो नहर बन्ने भनेको ५० वर्ष बढी भइसक्यो। त्यो सडक खन्न थालेको ३० वर्ष पुगिसक्यो। खानेपानीको पाइप बिच्छ्याएको २० वर्ष भयो होला। स्कुल र अस्पताल बन्ने भनेको पनि त्यति नै भयो होला। अरू आश्वासन त कति छन् कति।’
म मेरै नेताको पक्षमा उभिएर अलि चर्को आवाज निकाल्दै भन्न थाल्छु, ‘२०/३० वर्ष र ५० वर्ष भनेको कति नै हो र? नेताज्यूले राजनीति गरेको पनि त्यति नै त भयो। आजभोलि नै राजनीति छोड्न लागे जस्तो किन गर्नु हुन्छ? उहाँ त सास रहुन्जेल नेता भैरहने मान्छे। बाँचुन्जेल राजनीति गर्ने मान्छे। हाम्रो सोच नै खत्तम के! आफ्नो मान्छे भईखाएको, गरिखाएको देखिनसहने। त्यसैले त हामी विकास भएन भनेर पछाडि परेका छौं। यत्ति पनि नबुझ्ने खाली रिसमात्रै गर्ने तपाईहरू जस्ता बिरोध मात्रै गर्ने भएपछि के को विकास हुनु ? कसरी विकास हुनु?’
चिसो रातमा सिरकमुनि देखेर आनन्दका सपना गर्व महसुस गरिरहेको हुन्छु। उहाँ मेरो नेता र म उहाँको कार्यकर्ता भएकोमा। गर्व पनि किन नलाग्नु। मलाई मेरा नेताजीको मात्र नभई उहाँका आफन्त र नजिकका नातेदारको न्वारनदेखि जन्मदिन, विवाहदेखि जन्मजयन्तीसम्मको जानकारी हुन्छ।
नेताजीको जन्मदिन त मेरा लागि विशेष नै हुन्छ। गुगल सर्चगरी खोजिएका र रोजिएका वर्थ डे केकको साथ उहाँसँग खिचेका फोटोहरूको खोजी सुरूहुन्छ। पहिलो रोजाइमा नेताजीसँग खिचेको मेरो एक्लो फोटो हुन्छ। भरसक मेरो छेउमा नेताजीबाहेक अरू नभएको फोटो प्राथमिकतामा पर्छ। यसको औचित्य म नेताजीसँग नजिक छु भनी देखाउनु बाहेक अरू केही हुँदैन्। म आफ्नै फेसबुक अकाउन्टमा पोस्ट गर्छु ‐ जनताका ढुकढुकी, विकासप्रेमी, निस्वार्थ, समाजसेवी, युवा नेतामा जन्मदिनको एक भूगोल शुभकामना।
नेताज्यूलाई मैले मेरो चेत खुलेदेखि युवा नेता भनेर नै सम्बोधन गरेको छु। म उहाँको कार्यकर्ता भएको पाँच दशक नाघिसक्यो र पनि उहाँ मेरा लागि र स्वयं आफ्नै लागि पनि युवा नेता नै हुनुहुन्छ।
फेसबुकमा जन्मदिनको शुभकामना पोस्ट गरेर मात्र आफ्नो दायित्व पुरा भएजस्तो कहाँ मान्छ र यो मनले। कतै मैले गरेको पोस्टमा गुनगान कम आउने हो कि, धेरैले शेयर नगर्ने पो हुन कि भन्ने चिन्ताले पिरोलिरहन्छ।
त्यसपछि पालो आउँछ फोन कल र म्यासेन्जर कलको। भोलि बिहान चिया, कफि पिउने, दिउँसो मःमः चाउमिन खाने, साँझ यसो दारूपानी र शनिबारको दिन पिकनिक। फरक फरक साथीहरूलाई फरक आश्वासनका साथ म प्रस्ट्याउँछु ‐ ‘आज हाम्रा नेताजीको जन्मदिन, मैले फेसबुकमा शुभकामना पोस्ट गरेको छु। त्यसमा राम्रो भन्दा राम्रो गुणगानका साथ कमेन्ट गर्नू र आफ्नो चिनेजानेको साथीभाइलाई सोही अनुसार कमेन्ट लेखी बढीभन्दा बढी शेयर गर्न लगाउन नबिर्सनू।’
यत्तिकैमा ढोका ढकढकाएको आवाज आउँछ। मोवाइलमै समय हेर्छु बिहानको ५ बजेको रहेछ। ढोकाबाहिरबाट बुवाले भन्दै हुनुहुन्थ्यो ‐ ‘आज अस्पतालमा कोरोनाको खोप लगाउँदै छ रे, हामी बुढाबुढी एक्लै जान सक्दैनौं। खोप लगाउन लगिदिनु पर्यो!
म झर्किदै भन्छु– ‘वुबा हजुरलाई थाहा छैन्, मैले हिजै फेसबुकमा पोस्ट गरेको? हाम्रा नेता आज एयरपोर्टमा आउँदैछन्। उहाँको स्वागतका लागि बाजागाजा र फूलमालाको व्यवस्था गरेर एयरपोर्ट पुग्नुछ। म अस्पताल जान सक्दिनँ। सबैले कोरोनाको खोप लगाएकै छैनन् पछि पनि आउला खोप त, तर नेता आउने बेला विमानस्थलमा स्वागत गर्न जान पाइएन भने बेइज्जत नै हुन्छ।’
८० वर्ष नाघिसकेका मेरा बुवालाई के थाहा, फेसबुक के हो ? पोस्ट गर्नु भनेको के हो? बुवा केही नभनी सुइय्यँ सुस्केरा हालेर आफ्नो कोठातिर लाग्नुहुन्छ। म मेरै संसारमा मस्त।
हुन त विमानस्थलमा नेताजीको स्वागतका लागि आउन फेसबुकमार्फत सबैलाई उर्दी जारिगरेको थिएँ। फेरि अर्को मनले भन्यो ‐ ‘फेसबुक पोस्टको मात्रै के भर, स्वागतमा थोरै मान्छे मात्र आइदिए भने?’ हतारहतार तयार भएँ।
स्वागतको तयारीबारे बुझ्न लागेँ। साथीभाइहरू सबैलाई भेटेँ। नभन्दै राम्रै उपस्थिति गराइयो। तामधामका साथ विमानस्थलमा नेताजीको भव्य स्वागत गरियो। कतिपयका छोराछोरीले स्कूल जान पाएनन्। कतिपय बाआमाले अस्पताल जान पाएनन्। कतिले दैनिक रोजिरोटी गुमाए। त्यो हाम्रो चासोको विषय भएन। वस् नेताजीसँग फोटो खिचियो, फेसबुक लाइभ गरियो। दुनियाँलाई देखाइयो। शानका साथ हिँडियो। आफूलाई धन्य सम्झियो।
‘हाम्रो नेताको विशेष पहलमा हाम्रो ठाउँमा अरबको योजना आउने भयो नि’ ‐ नजिकैको चियापसलमा बसेर चियाको चुस्की लिँदै भन्न के भ्याएको थिएँ अर्कोले प्वाक्क टोकी हाल्यो ‐ ‘३०/४० वर्ष अघिका योजना त कहिले बन्ने ठेगान छैन्। तिम्रो नेताले दिएको योजना बन्छन् भन्ने के ग्यारेन्टी? के त्यो योजनाको बजेटको जोहो तिम्रो नेताले आफ्नो पैतृक सम्पति, व्यापार व्यवसायबाट गरेको हो? घरघरानाबाट ल्याएका हुन्? त्यो त हाम्रो करबाट उठेको बजेट पो हो।’
कन्सरी तातेपछि उही त हो, कठालो समातेर भन्न थालिहालेँ ‐ ‘आफूलाई बढी जान्ने भनिठान्छस्? हाम्रो नेताले गरेको राम्रो कामको पनि बिरोध गर्ने? देखिनसहने।’
त्यसपछि अरू मान्छे आएर थामथुम पारे। सम्झाइबुझाई गरे। उसलाई गल्ती भयो भनी माफी माग्न लगाए। म के कम मनमनै नेताजीको जयजयकार गर्दै हिडेंँ।
दुई चार पाइला मात्रै के हिँडेको थिएँ, हस्याङ‐फस्याङ गर्दै हतारिएर एक जना ‘दाइदाइ’ भन्दै आइपुगे। के भयो भनी बुझ्दा उसले भन्न थाल्यो ‐ ‘अबको चुनावको टिकट त फलानोलाई दिने भनेर सल्लाह भएको छ रे बरबाद हुने भयो। हाम्रा नेताले भनेको मान्छे त कुनै हालतमा हुँदैन पो भन्छन्।’
फेरि पारो तात्यो। त्यो भाइलाई लिएर उनीहरू भएको ठाउँमा पुगेँ। त्यहाँ विशेष छलफल नै भइरहेको रहेछ। रिस त उठिरहेको थियो तै पनि आफूलाई कन्ट्रोल गरेँ।
के कुरा भैरहेको छ सुनौं भन्ने लाग्यो। एउटाले भन्दै थिए ‐ ‘गाउँमा बस्नुभन्दा कहिले तराईको आफ्नो घर त कहिले काठमाडौंमा बढी बसे।’ कोही भन्दै थिए ‐ ‘यसपालीको टिकट कसलाई दिने भनेर नेताले हैन हामी आफैंले सल्लाह गर्नुपर्छ। जो हामीले भनेको मान्दछ, जसले हाम्रा लागि केही गर्छ, जो हाम्रो सुख दुःखमा साथ दिन्छ, जसको घरपरिवार र जग्गाजमिन यतै छ टिकटको हकदार उही हुनु पर्छ। र, त्यस्ता मान्छेले टिकट पाउनु पर्छ।’ शारासंमा उनीहरूको तर्क थियो –पहिले जितेको मान्छेले हाम्रा लागि केही गर्नुभन्दा माम बढी खायो।
उनीहरूको कुरा सुन्दा खलखली पसिना आउन थाल्यो। अनि भन्न थालेँ ‐ ‘गाउँमा घर भएको २०/३० जनालाई मासुभात पनि खुवाउन नसक्नेलाई जिताएर के गर्नु? नेताजी बाहेकको मान्छेले योजना पनि त ल्याउन सक्नुपर्यो? सहरमा बसोबास भएकोले जित्यो भने, तपाईँहरूको पनि सान हुन्छ। हामीले जिताएको मान्छे त काठमाडौंमा बस्छ तराईमा अथाह जग्गाजमिन र सम्पति छ भनेर गर्व गर्ने ठाउँ रहन्छ। ऋणै निकालेर भए पनि सहर गएको बेला घुम्न सजिलो हुन्छ। तिमीहरूले टिकट कसलाई दिने, कसले पाउने भन्ने कुराले केही हुनेवाला छैन्।
हाम्रो नेताले कसलाई टिकट दिन्छन् भन्ने कुरा महत्वपूर्ण हो। नेताजी हुँदाहुदै फलानोलाई टिकट दिनुपर्छ भन्ने? टिकट हाम्रो नेताले रोजेको मान्छेले पाउँछ र जिताउन पनि उसैलाई पर्छ।’
मेरो कुरा सुनेर एकजना फेरि प्वाक्क बोले ‐ ‘नेताजीले भनेको मान्छे जिताएर के गर्नु, यता बस्ने हैन, हामीलाई सानोतिनो काममा सिफारिस गर्न र योजना ल्याउन पनि असजिलो हुन्छ।’
‘तपाईँहरू यस्तै हो कुरै नबुझ्ने बिभिन्न सेमिनार र योजना सम्बन्धी गोष्ठी उतै हुन्छन्। उहाँको बसोबास तराई र काठमाडौंमा छ झनै राम्रो। हामीसँग यतै बस्नुहोस् भनेर कसरी भन्ने? अलिकति भए पनि मानवीय मूल्यमान्यता र संवेदनाको पनि ख्याल राख्नुपर्छ। नेताजीलाई गाह्रो साह्रो पर्दा तपाई हाम्रो योजना र विकास बजेटबाटै किन नहोस् विचौलियासँग कमिसनको जोरजाम गरेरै भए पनि खर्चपानीको जोहोगर्न सक्ने हैसियतको पनि त हुनु पर्यो।
यसरी आफ्नो मनपरेको मान्छे भन्दै हिँड्यो भने नेताजी रिसाउनु हुन्छ। तपाईँ हामीलाई दुःख भए पनि चोटपरे पनि नेताजीलाई दुःखी पार्ने काम र उहाँको इच्छा बिपरित कार्य गर्नु हुँदैन्। उहाँको खुसी नै हाम्रो खुसी हो’–यसरी सम्झाइबुझाई उनीहरूलाई थामथुम पारेँ।
क्षणभरमै मोवाइलको टिरिङ् आवाजसँगै अर्लट आयो मेसेन्जरमा। नेताजीले म्यासेन्जरमा भ्वाइसम्यासेज पठाउनु भएको रहेछ।
सुन्न थालेँ ‐ ‘मैले तिम्रो लागि अनि तिम्रो ठाउँको लागि (म नेता र तिमी कार्यकर्ता भएको नाता सम्बन्धमा पनि) खासै केही गर्न सकिनँ। यहाँ नयाँ अनुहारको कुरा चल्न थालेपछि आज मेरो छोरो राजनीतिमा प्रवेश गरेको छ। तिम्रो छोरोलाई अरू कार्यकर्तासहित स्वागतको लागि विमानस्थल पठाइदिनू। अरू कुरा भेटमा गरौंला।’
भ्वाइस म्यासेज सुन्दा खुसी लाग्यो। म नेताजीको कार्यकर्ता। मेरो छोरो नेताजीको छोराको कार्यकर्ता। यही त हो गजबको पुस्तान्तरण। नेताको पुस्तान्तरण। कार्यकर्ताको पुस्तान्तरण। आउने दिनमा यसै‐यसै भैरहने छ। पुरा हुन नसकेका योजनाको पुस्तान्तरण, अनि आश्वासन र भरोशाको पुस्तान्तरण।
मैले पनि तुरुन्त नेताजीको म्यासेजको रिप्लाइ दिन आफ्नो आवाज रेकर्ड गर्न थालें ‐ ‘ढुक्क हुनुहोस् नेताजी, म र म जस्तै कार्यकर्ता रहुन्जेल यो देश अरू कसैको हुने छैन्।’
मेबाइलमा रिप्लाइ दिएर घाटी ठाडो पार्न खोज्दा सामुन्नेमा उभिरहनुभएका बालाई देखेँ। निकै उत्सुक भएर मेरो मोबाइल हेरिरहनु भएका बाले सोधेझैं लाग्यो – ‘बाबु यो देशमा के केको पुस्तान्तरण हुन्छ? यहाँ संवेदना, स्वाभिमान र नैतिकताको पुस्तान्तरण हुन्छ कि हुँदैन?’
त्यो सपना थियो कि विपना ब्युझिएर कौसीमा गई एकतमासले लामो समयसम्म सोचिरहेँ – त्यही पुस्तान्तरण अनि बाले गरेको प्रश्न।