संसारभर एकाएक फैलिएको कोरोना महामारी संक्रमणका कारण सबभन्दा बढी थला परेको क्षेत्रमध्ये फिल्म क्षेत्र पनि एक हो।
चाहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र (कलिउड)कोरोना भाइरस संक्रमणका कारण चलचित्र क्षेत्र निकै प्रभावित हुन पुग्यो।
संसारभरका लाखौंले आफ्नो रोजगारी गुमाउन पुगे (बेरोजगार बने)। नेपाली चलचित्र क्षेत्र पनि योबाट अछुतो रहन सकेन।
नेपालमा एक वर्षमा करिब एक सयको हाराहारी बन्ने नेपाली चलचित्र प्राय: यी वर्षमा ठप्प नै रहे।
प्रदर्शनको लागि तयार भएका दर्जन बढी चलचित्र पनि प्रदर्शन हुन सकेनन्। चलचित्र नचलेपछि यही बीचमा चल्तीका केही सिनेमा घर समेत सधैंका लागि बन्द भए भने केही पार्टी प्यालेस वा अन्य प्रयोजनका लागि स्वरूप परिवर्तन गरिए।
कलाकार प्राविधिक तथा यससँग सम्बन्धित धेरै व्यक्तिहरू पलायनको शिकार भए भने कतिले आफ्नो पेशालाई परिवर्तन समेत गरे।
यही बीचमा केही चल्तीका कलाकारहरू भने म्युजिक भिडिओतिर समेत लागे भने कति त युटुबरसम्म बनेर आफ्नो समयलाई ब्यतित गरे। काम नभएर खाली भएको समयलाई सदुपयोग गर्दै प्राय: कलाकार पछिल्लो समय सर्वाधिक चलेको सामाजिक संजाल टिकटकमा समेत ब्यस्त हुन पुगे।
अझ भन्नुपर्दा कति चल्तीका कलाकार त टिकटकमा लाइभ बसेर गिफ्ट माग्दै डलर झार्नेसम्मको काममा व्यस्त रहे। यस किसिमका गतिविधिलाई लिएर कलाकारहरूले टिकटकमा भिख मागेकोसम्म भनेर आलोचित मात्र भएनन्, विवादितसम्म भए यो विषयलाई लिएर केही पत्रकार र कलाकारबीच ‘युद्ध’ नै चलिरहेको अवस्था छ।
यो भने समग्र चलचित्र क्षेत्रको लागि र कलाकारिता क्षेत्रको लागि राम्रो समाचार हैन।
नेपाली चलचित्र निर्माणको हिसाबले कोरोनाकालभन्दा अघि निर्माताहरूले वार्षिक करिब एक सय करोड हाराहारीको लगानी चलचित्र निर्माण हुने गरेको थियो। सानो ठूलो गरी एक सय करोडको लगानी हुने नेपाली चलचित्र क्षेत्र बलिउडको एक चलेको चलचित्रको आम्दानी बराबरको रहेको अनुमान लगाउन सकिन्छ। तर नेपाली चलचित्र क्षेत्र भने हल्लाको हिसाबले बलिउडभन्दा कम छैन।
यहाँ अनेक किसिमका हल्ला चर्चा परिचर्चा भैरहने गर्छन्। हरेक दिन केही न केही हल्लाले बजार तातेकै हुन्छ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बलिउडसँग जोडेर हल्ला र सनसनीपूर्ण समाचार प्रकाशन गर्ने एउटा नयाँ प्रचलन बस्न थालेको छ।
चलचित्र निर्माणको टुंगो नै नलागी बलिउडका कलाकारसँग सम्झौता भएको निर्देशकसँग सम्झौता हुन लागेको बलिउडका प्राविधिकहरू लिएर चलचित्र बन्दैछ भन्ने हल्लाका समाचार आमदर्शकमाझ यसरी सनसनी फैलाइन्छ कि लाग्छ अब नेपाली चलचित्रले निकै ठूलो फड्को मार्दैछ।
लाग्छ नेपाली चलचित्रमा अब बलिउडका कलाकारको ताँती नै लाग्दैछ। तर यी समाचार प्रकाशन गर्नुको पछाडि भने केही स्वार्थ र रहस्य लुकेको भने पक्कै हुन्छ।
चलचित्र बजारका भुक्तभोगीहरूका अनुसार यी गतिविधी अपनाएर ‘मुर्गा’ बनाउनका लागि यस्ता हर्कत गर्ने गरेको बताउँछन्।
नयाँ लगानीकर्तालाई आकर्षण गर्नु अझ फिल्मी भाषामा भन्नुपर्दा ‘मुर्गा’ बनाउनुबाहेक केही हैन भन्ने कुरा चलचित्र बजारमा निकै चर्चा चल्ने गरेको छ। विशेष गरी नेपाली चलचित्रका निर्माता/निर्देशकहरूले आफ्नो सामाजिक संजालमा लेख्ने गरेका अपरिपक्व स्टाटसलाई नै आधिकारिक परिपक्व मानेर समाचार नै बनाउने मिडिया हाउसका कारण आमदर्शक माझ भ्रामक सन्देश फैलने गरेको सजिलै बुझ्न सकिन्छ।
यस किमिसका गतिविधिका कारण यही क्षेत्रलाई केही गरौं भनी संघर्ष गरिरहेका निर्माता/निर्देशकलाई भने निरूत्साहित गर्ने काम गरेको छ। पछिल्लो समय कुनै नेपाली चलचित्र निर्माण हुने समाचार प्रकाशन भएसँगै बलिउडका कलाकारको नाम वा हिन्दी भाषामा समेत निर्माण हुने समाचार आएन भने नुनबिनाको तरकारीझैं लाग्ने गरेको पाइन्छ। यस किसिमका समाचार प्रकाशन हुनुमा कहीँ न कहीँ मिडिया हाउसको समेत गल्ती हुने गर्दछ।
बिनाप्रमाण चल्तीका मिडियाले समाचार समेत छाप्ने गरेको पाइन्छ। जुन समाचारले आमदर्शकलाई भ्रममा पार्ने र समाचार अनुसार आमदर्शकले अपेक्षा राख्ने गरेको पाइन्छ।
यस्ता हल्लाले अपेक्षा मुताविक चलचित्र नबन्दा यो क्षेत्रप्रति आमदर्शकको बुझाइ र नेपाली चलचित्र बजारप्रति हेर्ने दृष्टिकोणमा केही नकारात्मक सन्देश फैलिएको देखिन्छ।
यस किसिमका गतिविधिले नेपाली चलचित्र बजारमा दुरगामी असर पार्ने निश्चित छ।
पछिल्लो समय बलिउडका कलाकारसँग सम्झौता भएको भन्दै समाचार प्रकाशन हुने क्रम पनि बढ्दो छ।
नेपाली चलचित्र क्षेत्रको इतिहास हेर्दा करिब ६० वर्ष लाग्दै गर्दा अहिले पनि परिपक्व हिसाबले यो क्षेत्र अगाडि बढ्न सकेको छैन।
कहिले महानायक विवाद त कहिले महानायिका विवादकै पेरिफेरिमा अल्झेको नेपाली चलचित्र क्षेत्र कहिले पनि स्तरोन्नतिकाबारे न त छलफल अगाडि बढेको पाइन्छ। न त चलचित्र त्यो स्तरमा बन्ने होडबाजी नै चल्छ।
अब पनि नेपाली चलचित्र क्षेत्रलाई हल्लै-हल्लाको बजार बनाउने वा नेपाली चलचित्र निर्माणलाई समय सापेक्ष विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने खालका कन्टेन्टमा विचार गरिएन भने नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच पुर्याउन सक्दैन।
यस विषयमा गम्भीर भएर लाग्न नेपाली चलचित्रका मेकरमाझ प्रश्न तेर्सिएको छ।
लामो इतिहास बोकेको नेपाली चलचित्र क्षेत्रले चलचित्रको माध्यमबाट देशको भाषा, रीतिरिवाज, संस्कृति, पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिँदै आएको छ। तर पनि सरकारी योजनामा नेपाली चलचित्र क्षेत्र जहिले पनि ओझेलमा पर्ने गरेको छ।
सरकारी तबरबाट नेपाली चलचित्र क्षेत्रलाई खासै सहयोग गर्न सकेको छैन।
चलचित्रका निर्माताले करोडौं लगानी गरेर नेपालका धेरै ठाउँलाई चलचित्रको ठूलो पर्दामार्फत् भरपुर प्रचारप्रसार गर्ने गर्दछन्।
जसका कारण ती ठाउँ पर्यटन प्रवर्द्धनका हिसाबले ठूलो टेवा पुग्दै आएको छ। तर पनि यसबारे सरकार जहिले पनि मौन बस्ने गरेको छ।
सरकारी तवरबाट कुनै किसिमको सहयोग गरेको पाइँदैन। न त सरकारले यसबारे नियमन गर्ने गरेको छ। चलचित्रको पर्दाबाट नेपाललाई संसारभर चिनाउन योगदान दिएको नेपाली चलचित्र क्षेत्रलाई राज्यले चिन्ता र चासो नदिनु सरकारी निकायको कमजोरी नै हो। यसबारे सरकार गम्भीर भएर लाग्न जरूरी देखिन्छ।
अन्त्यमा राज्यले अधिकार बिनाको योजना, योजना बिनाको चलचित्र विकास बोर्ड गठन गरिदिएर मात्रै पन्छिन मिल्दैन नेपाली चलचित्र क्षेत्रको बृहत्तर विकासका लागि राज्य लागि पर्न जरूरी छ।
राज्यका निकायबाट यस क्षेत्रमा हुने गरेका विकृति विसंगति र हल्लैहल्लाको बजार बनाउनबाट रोक्न पनि आवश्यक छ।
चलचित्र क्षेत्रका जिम्मेवार निकाय, यस क्षेत्रसँग सम्बन्धित व्यक्ति विशेष र आम नागरिक पनि नेपाली चलचित्र क्षेत्रको विकासमा लागि पर्न आवश्यक छ।