उमेर पुगेकी छोरी घरमा भएपछि बिहेका कुराहरू आउनु स्वाभाविक नै हो।
घरमा तारान्तार बिहेका प्रस्ताव आइरहेका थिए। ब्याचलर नसकी बिहे गर्ने पक्षमा म थिइनँ।
यसै बीचमा फेरि अर्को केटाको कुरा निस्कियो। सबै पक्षबाट कुरा राम्रो लागेपछि घरमा कुरा अघि बढ्यो।
केटाकेटीको परिवार सबै कुरा भएपछि माघमा बिहे हुने भन्ने पक्का पक्की भयो।
यो सबको बीच मैले भाइसँग त केही कुरा गरेकै थिइनँ। घरको सबैभन्दा सानो भएकाले उसलाई यसबारे विस्तृत भनिरहन कसैले सायद आवश्यक पनि सोचेन!
बिहेका कुरा चलेदेखि के लगाउने, कहाँ गर्ने, कसरी गर्ने इत्यादि कुराहरू सोचिरहँदा भाइलाई पनि त भन्न पर्यो भन्ने कसैले सोच्न भ्याएन!
हुन त घरमा मानिसहरूको आवतजावत यताउति कुराले उसले पनि अलिअलि हेक्का त पाएको हुनपर्छ तर बाल मस्तिष्कले त्यति धेरै बुझ्न पनि नसकेको हुनुपर्छ!
भाइ मभन्दा १२ वर्ष कान्छो। मेरो सबभन्दा प्रिय व्यक्ति। उमेरमा धेरै अन्तर भए पनि उसको र मेरो धेरै कुरा मिल्ने गर्छन्।
अनुहारको बनोटदेखि बानीव्यवहार। उसलाई लिएर हिँड्न मलाई खुसी लाग्छ। कतिपय अपरिचित व्यक्तिहरूले हजुरको छोरा हो भन्दा रिसाएको घटना नि छन्। उसलाई मसँगै सुत्न मनपर्छ। प्रायजसो राति अबेरसम्म दिनभरि स्कुलमा के-के भयो, कसले के भन्यो, उसले आज के देख्यो, उसको मनपर्ने युट्युबर अनि यस्तै कुराहरू गर्दै मसँग सुत्ने गर्छ।
मसँग नजिक हुने मानिसहरूलाई थाहा छ कि म आफ्नो भाइसँग कति नजिक छु भनेर। कहीँ जाँदा होस् या घरमा ऊ सधैं मेरै वरपर मात्र झुम्मिरहन्छ र एक्कासि यसरी दिदीको बिहेको कुरा घरमा आइरहँदा भाइलाई खासै चित्त बुझेजस्तो लागेन।
घरमा सबैलाई मन परेको हुनेवाला भिनाजु उसलाई मन परेन। आफ्नो दैनिकी सुनाउने राति सँगै सुत्ने, आफूलाई घरमा अरूले गाली गर्दा बचाउने र औधि माया गर्ने आफ्नो दिदीलाई अरूले बिहे गरेर लैजाँदा उसको चित्त दुख्नु स्वाभाविक नै थियो।
एक रात सुत्नुअघि मैले अस्ति आएको मान्छे नै तिम्रो हुनेवाला भिनाजु हो भनें।
यो कुरा सुनेर एकछिन ऊ चुप बस्यो।
मैले 'तिमीलाई मन पर्यो कि परेन' भनेर सोधें।
उसले 'अहँ परेन' भन्यो। म छक्क परें।
आखिर उसलाई किन भिनाजु मन परेन? मैले 'किन नि?' भनेर सोध्दा 'खै मन परेन' भन्यो।
'त्यसो भए म बिहे नगरूँ त' भनेर सोधें। ऊ मख्ख पर्दै 'हुन्छ' भन्यो।
सबै जना बिहेका लागि उत्साहित हुँदा ऊ मात्र नहोस् भन्ने पक्षमा रह्यो।
सायद उसलाई आफ्नो दिदी कसैले लाँदैछ भन्ने आसय नै मन परेन। त्यसैले त सयाद उसलाई भिनाजु मन परेन।
ऊ आफूलाई अन्तर्मुखी भन्न रुचाउँछ। त्यसैले उसका भावना बुझ्न शाब्दिक अर्थभन्दा भावना बुझ्नुपर्ने हुन्छ।
उसमा म आफ्नो बाल्यकाल पनि देख्ने गर्छु। जन्मेदेखि आजसम्म उसमा आएका परिवर्तन र परिपक्वता हेरेर म यसैगरी हुर्किएको हुँ र ऊ मेरो भाइमात्र हैन बरू ऊ आफैंमा एक मानिस हो जो हरेक दिन जीवन बाँचिरहेछ भन्ने म मान्छु।
समाजमा केटा मान्छे रूँनु हुन्न, भावुक हुनु हुन्न भन्ने सोचलाई म मान्दिनँ र उसलाई आफ्ना भावना पूर्ण रूपमा प्रस्तुत गर्न प्रेरणा दिन्छु।
त्यस्तैमा एकदिन बिहेका कुरा चलिरहँदा मेरो नजिक आएर अंकमाल गरिरह्यो।
ऊ केही बोलेन तर मैले बुझें। उसले भन्न नजाने पनि मनमा उसलाई पनि नरमाइलो लागिरहेको थियो। अनि उसको मनमा बलेको आगोलाई घिउ थपिदिन भनूँ या आफ्नै मनमा आएका आँधीलाई साम्य पार्न मैले उसलाई सोधें, 'अब त तिम्लाई क्या मज्जा है, यत्रो खाटमा एक्लै सुत्न पाउछौ!'
उसले एकछिन सोचेर 'अँ आहा क्या रमाइलो ' भन्यो र त्यो दिन किन हो मलाई भाइ हाँसेको मन परेन!