यादहरू साह्रै जिद्दी हुँदो रैछन्। सेता कपडामा लागेका धमिला धब्बाजस्तै जिद्दी। जति रगडे पनि नजाने। कति यादहरू चाहेर पनि भुल्न नसकिने।
अनि कति यादहरू कहिल्यै भुल्न नचाहने हुने रैछ। त्यस्तै कहिल्यै भुल्न नसकिने र भुल्न नचाहिने याद बनेर गड्नुभयो मेरो हजुरबा।
जन्मेर बुझ्न थालेदेखि नै परिचित नाता हजुर बाको र मेरो।
बुवाहरूले ‘बा’ भनेको सुनेर होला हामी पनि ‘बा’ नै भन्थ्यौं।
बा गाउँकै सरकारी स्कुलमा शिक्षक हुनुहुन्थ्यो। बा गाउँभरिकै पुराना शिक्षकमध्येमा गनिनुहुन्थ्यो। त्यसैले त बाको नाम नै ‘मास्टर बा’ भएको। अनि हामी चैं मास्टर बाका सन्तान।
बा अलि होचो कदको हुनुहुन्थ्यो तर असाध्यै फूर्तिलो। काम नगरी पटक्कै बस्न नसक्ने। केही काम छैन भने पढेर बस्नुहुन्थ्यो। लाग्थ्यो बाको र अक्षरको असाध्यै गहिरो नाता थियो। बाले पढाउँदा म स्कुलमा भर्ना भैसकेको थिइनँ। त्यसैले बाको कक्षा कस्तो हुन्थ्यो त्यो त अनुभव गर्न पाइनँ। तर घरमा बाले नै हो कपुरी क सिकाउनुभएको।
गाउँमा मोटरबाटो खन्न थालिएको थियो। सबै केटाकेटीलाई अगाडि लगाएर बाले तल डोजरले बाटो खनेको हेर्न लानुभयो। जब मोटर चल्न थाल्यो हामी ८/१० जना नातिनातिनालाई घरदेखि १५/२० मिनेट तलसम्म हिँडाएर लानुभो अनि मोटर आएपछि चढाएर घर ल्याउनुभो। हामीमध्ये कतिले मोटर चढेकै थिएनौं त्यो बेलासम्म। भुइँमा खुट्टा थिएन हाम्रो। बालाई कति रहर थियो नयाँ नयाँ काम गर्न।
सानोमा म स्कुल जान पटक्कै मन नगर्ने। बाले सधैं स्कुल जा नत्र सिस्नु पानी लाउँछु भन्नुहुन्थ्यो। त्यो बेला त्यति नगर्नु भएको भए खै पढ्न सक्थें कि सक्थिनँ। सुरूमा बाको डर मै पनि स्कुल गएँ।
पछि स्कुल र पढाइप्रति मोह जाग्यो। राम्रो नतिजा ल्याउन थालें। बा असाध्यै खुसी हुनुहुन्थ्यो रिजल्ट आएको दिन। बाका धेरै छोराछोरी अनि झन् धेरै नातिनातिना। ती सबैको प्रगतिमा सबभन्दा खुसी बा नै हुनुहुन्थ्यो। कक्षामा अग्रता लिएको खुसीमा मलाई घडी किनिदिनुभएको थियो। कति महत्त्वपूर्ण थियो त्यो घडी मेरो लागि।
एक त बाबाट पुरस्कार स्वरूप पाएको। अर्को कुरा त्यो बेला अहिले जस्तो मोबाइल फोन थिएन। समय हेर्न हाते घडीको धेरै महत्व थियो।
बाले दिने त्यस्तै हौसलाले मलाई पढाइमा अघि बढायो। त्यसैले होला एक कक्षादेखि १२ कक्षासम्म नै सधैं अग्रस्थानमा आउन सकें। त्यो बेला एसएलसी परीक्षा विशेष मानिन्थ्यो। एसएलसीमा मेरो जिल्लामै राम्रो स्थान आएको थियो। बा असाध्यै खुसी हुनुहुन्थ्यो।
बालाई मलाई काठमाडौं लगेर साइन्स पढाउन मन थियो। भेटेका हरेक जसो मान्छेसँग बाले मेरो बारेमा भन्नुहुन्थ्यो। मेरो एसएलसीको नतिजाको बारेमा गर्वले भन्नुहुन्थ्यो अनि म गमक्क पर्थें खुसीले। ठूलै काम गरेजस्तो मन नै धपक्क हुन्थ्यो बाको कुरा सुन्दा।
बुवा गा.वि.स. सचिव हुनुहुन्थ्यो मेरो एसएलसी चल्दाचल्दै माओवादीले अपहरण गर्यो। त्यसपछि हाम्रो घरको माहौल नै शोकमय बन्यो। विविध कारणले बाको मलाई काठमाडौं लगेर विज्ञान पढाउने सपना पूरा भएन। बुवालाई माओवादीले छोड्दा मेरो विज्ञान पढ्ने सपना तुहिसकेको थियो अनि म गाउँमै कमर्स पढ्न थालें।
स्कुलमै सबभन्दा राम्रो नतिजा साथ उत्तीर्ण गरें अनि बल्ल बा र मसँगै भयौं काठमाडौंको डेरामा।
गाउँमा रोगले बढी दु:ख दियो भनेर बा काठमाडौंमै बस्न मन गर्नुहुन्थ्यो। एउटा सानो कोठा थियो। बाको र मेरो दुइटा खाट अनि अति जरूरी अरू सामान, गुजारा हुने खालको। बालाई खसीको मासु खुब मनपर्थ्यो। पेन्सन आएपछि बा मासु लेर आउनुहुन्थ्यो अनि हामी मासुभात खान्थ्यौं।
कति सन्तुष्ट देख्थें बाको अनुहार म। हुँदा मीठो खान खोज्ने नहुँदा दु:खमा बाँच्न सक्ने मेरा बा। म क्याम्पस जान्थें बिहान। म आउँदा बा मेरा किताब पढेर बस्नुहुन्थ्यो। नेपाली अक्षर भए बा जुन विषयको किताब पनि पढ्नुहुन्थ्यो। बालाई अक्षरसँग गहिरो मोह थियो।
हामीजस्तो अक्षर मात्रै पढ्नुहुन्नथ्यो बा। बा त्यसको गहिराइमा डुब्नुहुन्थ्यो। कहिलेकाहीँ म आएपछि ब्याख्यासम्म गर्नुहुन्थ्यो मेरो क्याम्पसका किताबको गुदी। बाले क्याम्पस पढ्न पाउनुभएको भए कस्तो राम्रो गर्नुहुन्थ्यो होला। गोल्ड मेडल ल्याउनुहुन्थ्यो होला। हामीजस्तो परीक्षा पास गर्न मात्रै बाले पढ्नु भएन। बाले जीवन पढ्नुभो। बा आफैंमा जिउँदो इतिहास हुनुहुन्थ्यो। बासँग पुराना पुराना अनेकौं कहानी सुनिन्थ्यो। हाम्रो लागि कहानी अनि बाको लागि जीवनी।
नब्बे सालको भुइँचालोमा बा के गर्दै हुनुहुन्थ्यो सुन्दा हामी छ्क्क पर्थ्यौं। ७२ को भुइँचालोपछि त बालाई कतिले अन्तर्वार्ता नै लिएथे नब्बे सालको भुइँचालोको अनुभव सुन्नको लागि। बाको दिदी हुनुहुन्छ। सबैको प्यारी हजुरआमा।
हजुरआमा र बाको तिहार कति रमाइलो लाग्थ्यो हामीलाई। अब हजुरआमाको तिहार खल्लो हुने भो भन्ने सम्झिँदा मेरो मन पनि खल्लो हुन्छ। बा हुनुहुन्थ्यो र पो देवाली रमाइलो लाग्थ्यो। कूलकै जेठो मेरा बा। बा हुनुहुन्थ्यो र पो दसैं रमाइलो लाग्थ्यो। अरू बेला भेट्न नमिले पनि दसैंमा सबै जम्मा हुन्थे बाको आशीर्वाद लिन। बा हाम्रो मियो हुनुहुन्थ्यो।
जस्ले सबैलाई एउटै लयमा लिएर हिँड्नुभो। बाले एउटै माला बनाउन खोज्नुभयो। अब त्यस्तो दसैं कहिल्यै नआउला। न त त्यस्तो तिहार नै कहिल्यै आउला। किनकि बा अब कहिल्यै आउनुहुन्न।
अब घर जाँदा बाको खाट खाली हुन्छ भन्ने सम्झिँदा मन भक्कानिन्छ। मेरो मन पनि खाली हुन्छ। अब बाले ‘के छ काली जागिर कता’ भनेर सोध्नुहुन्न। बा दुइटा डुङ्गामा खुट्टा हाल्यो भने पारि पुगिँदैन। कि पढ कि जागिर गर भन्नुहुन्थ्यो। मैले हल्का फुल्का पार्ट टाइम काम गरेर मास्टर्स सकाएँ। अनि एउटा आइएनजीओमा काम गर्न थालें।
बाले बुझ्नुहुन्न्थ्यो मेरो अफिस कस्तो हो। तर जागिरे भै भनेर खुसी हुनुहुन्थ्यो। जब मैल रेड्क्रसको अन्तर्राष्ट्रिय महासंघमा काम गर्न थालें बा झन् खुसी हुनुभयो किनकि बालाई रेडक्रस थाहा थियो।
हजुराआमाको धमिलो मात्रै सम्झना छ मलाई। जति याद जोडिएका छ्न्\ सबै बासँगै जोडिएका छन्।
बाका चार भाइ छोरा। बालाई जसकोमा मन लाग्यो उस्कैमा बस्नुहुन्थ्यो। कहिलेकाहीँ हाम्रोमा कहिलेकाहीँ काकाहरूकोमा। बा पुरानो जमानाको भए पनि आधुनिक विचारको हुनुहुन्थ्यो। बाले म ६/७ वर्ष हुँदा टिभी ल्याउनुभयो गाउँमा। त्यो बेला टिभी १/२ घरमा मात्रै थियो। टाढा टाढादेखि घरभरि जम्मा हुन्थे मान्छे टिभी हेर्न। बाको मन गमक्क हुन्थ्यो अरूलाई टिभी देखाउन पाएर।
बाले टिभी नल्याउनुभएको भए हामीले कहिले देख्थ्यौं होला टिभी। बा हामीलाई आँखा बिग्रिन्छ भनेर दूरी मिलाई मिलाई टिभी हेराउनु हुन्थ्यो। बालाई मोबाइलको रहर थियो। कम्प्युटरको रहर थियो। तर उमेरले साथ दिएन। चलाउन सक्नुभएन। बा अगाडि जन्मिनुभो। आज जन्मिनु भएको भए बा कस्तो हुनुहुन्थ्यो होला। बा फेरि कहिले जन्मिनुहुन्छ होला। बा कस्तो हुनुहुन्छ होला।
बाले सुत्नको लागि सानो घर पनि बनाउनु भएको थियो। त्यही थियो टिभी। सबै जना झुरूप्प भएर टिभी हेर्थ्यौं बाको कोठामा बसेर। बाको खाटमा झुल थियो। हामीहरूको लागि झुल नौलो कुरा थियो। रमाइलो कुरा थियो।
दिउँसो पोको पारेको झुलमा अल्झिएका लामखुट्टे हेर्न झ्याम्मिन्थ्यौं हामी। सुन्दा हाँसो लाग्ला तर हाम्रो लागि त्यो नै रमाइलो कुरा थियो। बालाई च्यवन्प्राश मन पर्थ्यो। बाको खाट छेउ तखतामा च्यवनप्रास, बिस्कुट अनि मिठाई हुन्थ्यो। आफूले खानभन्दा बढी हामीलाई बाँड्नु हुन्थ्यो। बाको मुहारमा खुसी देख्थ्यौ हामी। लिनभन्दा दिन जान्ने बा। बाले धेरै दिनुभयो। परिवारलाई मात्रै हैन समाजलाई पनि। कसरी गाउँमा स्कुल खोलेको। कसरी गाउँमा वृक्षरोपण गरेको।
कसरी गाग्रीमा पानी ओसारेर ती बिरूवा हुर्काको भन्ने सुनाउनुहुन्थ्यो। बाको मन कमलो थियो। पेन्सन गोजीमा भएको बेला अप्ठ्यारो पर्यो भनेर जस्ले मागे पनि दिनुहुन्थ्यो। तिनीहरूले फिर्ता देलान्\ नदेलान्\ सोच्नुहुन्नथ्यो। खै कतिले दिए कतिले दिएनन्। बाले धेरैचोटि सम्मान पाउनुभयो। सम्मानपत्र र दोसल्ला पाउँदा बाभन्दा खुसी त हामी हुन्थ्यौं। बाको सम्मान पत्र जस्तै सधैं जीवित रहनेछ बाको सम्मान हाम्रो मनमा।
त्यो बाको अन्तिम दिन रैछ। सुन्ने बित्तिकै म बालाई भेट्न त गएँ तर बा त्यस्तो हुनुहुन्नथ्यो जस्तो मैले देखेथें. बा बेजान देखिनुहुन्थ्यो। बाका रित्ता आँखा चल्मलाएका थिएनन्। एकोहोरो हेरिरनुहुन्थ्यो। बेला बेला शरीर चल्मलाउथ्यो त्यति हो। एउटा युग जिएका मेरा बा आज कसरी चल्नै छोड्नुभयो।
मै भेटेको १२ घण्टा नबित्दै बा बित्नुभयो। बासँगै हाम्रो जिउँदो इतिहास ढल्यो। गाउँकै मास्टर बाको अन्त्य भयो। तर गाउँमा धेरैलाई ज्ञानको ज्योति दिने मास्टर बाको कहिल्यै अन्त्य हुने छैन हाम्रो मनबाट।
हाम्रो आस्थाको धरोहर ढल्यो। हाम्रो मियो भाँचियो। अनि बयानब्बे वर्षपछि मेरो बाको सूर्य अस्तायो फेरि कहिल्यै नउदाउने गरी।