आधुनिक समय छ। सामाजिक सञ्जाल विस्तार हुँदैछ। मान्छेको आजभोलि मनभन्दा पहिले फेसबुक आइडी, इन्स्टा, भाइबर, आदि इत्यादिमा नाम जोडिन्छन् र सुरू हुन्छ इन्टरनेट लभ।
गजबको आकर्षित प्रोफाइल पिक्चर। एक दुई दिनको मिठो बोली र व्यवहारमा लागू नहुने देखावटी शब्दले कतिको जिन्दगीलाई असर पुर्याएको छ भन्नै सकिँदैन।
सामाजिक सञ्जालको एउटा रूप। दुनियाँ थरीका कुरा। दुनियाँ थरीका मान्छे। कतै विवेक र बुद्धिको भण्डार, कतै भने विवेकहीन होडबाजीमा चलेका युवा। कतै रोमाञ्चक पोस्ट ; सेलिब्रेटिङ भ्यालेनटाइन डे विथ माई गर्ल .... कतै कुना र कन्दरा। आफ्नै कोठामा बसेर 'गोइङ टु घले गाउँ विथ टू अदर', भनेका पोस्ट हेर्दै आफू कहिले जाऊँ जाऊँ त सबैलाई लाग्छ होला।
घरमै बसेर वाटर फल्स, लण्डन ब्रिज, आइफल टावर साँच्चै दुनियाँकै अर्को रूप।
प्रेमका कविता, बिछोडका कथा, नासाका आविष्कार, भूगोलको विनाश, सबै निलो रङ भित्रको फेसबुकभित्रै छ झैं लाग्छ।
संसार अटाउने ठाउँमा प्रेम नअटाउने कुरै हुँदैन। फेसबुकबाट मन परेको। उसलाई सामाजिक सञ्जालमा भेटेर मन पराएको।साथीको फोटोमा कमेन्ट देखेर मन परेको।
यस्तो किसिमको कुराहरू धेरै सुनिन्छ आजभोलि।
हामी लङ डिस्टेन्समा छौं। हामी सर्ट डिष्टेन्समा छौं। हामी लिभिङ टुगेदरमा छौं। ७ वर्षको रिलेसन फाइनलमा आएर विवाह भयो। पढ्दै जाँदा कति जमात यस्तो पनि हुनुहुन्छ होला जसलाई गाउँमा कुलो लगाउँदा, मेलापात जाँदा, पधेरो जाँदा, लगाएका माया पिरती याद आए होलान्। मैले चाहिँ अहिलेको जमातको प्रेम सन्दर्भमा यो लेख लेख्न थालेकी हुँ।
'एकै जनामा अल्झेर बस्नुभन्दा माया मोहबाट टाढा हुने निष्कर्ष निकालेर फागुन १ गते अथार्त् आफ्नो जन्मदिनबाट मैले प्रण गरें।'
यो मेरो साथीको प्रेम कहानी थियो सरल र पारदर्शी।
उसको प्रेम एकतर्फी थियो त्यसैले चाँडै टुंगियो। दुखाइ, पीडा र भावनाका ढिक्काहरू उसले आफैं सिर्जना गर्यौ र आफैं फोड्यो। उसलाई सान्त्वना दिन मसँग शब्द त थिएँ तर ऊ बुझ्ने अवस्थामा थिएन तर पनि मैले कोसिस गरें। उसले एकटकले आफूभन्दा ५०० मिटर टाढाबाट आउँदै गरेको नाउलाई हेर्दै थियो।
माझीले नाउ चलाउँछ यात्रु चढ्छन् सबै यात्रु उस्तै हुँदैनन्। एक यात्रु फेदीमा बस्छ अर्को माझमा अर्को यात्रु आफ्नै सहयात्रीको साथमा। कुन सही? एक्लै बस्ने कि साथमा? एक्लै बस्ने यात्रु प्रेमदेखि टाढा भएको होला कि उसलाई भाग्यले ठगेको होला? सबै
सबैलाई चन्द्रमा नसिव हुँदैन तर उज्यालो सूर्यको किरण सबैलाई हुन्छ।
जीवन साथी र प्रेम ढिला चाँडो सबैको जीवनमा फरक फरक रूप लिएर आउँछन्।
आफूले चिन्न र बुझ्न सक्नुपर्यो। मैले उसलाई यति भनिसकेपछि उसले कसैको सफल प्रेम कहानीको बिम्ब पकडी प्रश्नका भवन ठडायो।
प्रश्नहरू:
१. माया गरिएको मान्छे नजिक हुँदा कस्तो हुन्छ? सधैं नजिक हुँदा माया धेरै हुन्छ कि हुँदैन? एउटै अनुहारमा दिनको सुरूआत र रातको अन्त्य के दिक्दार हो? या सकिन्छ यो सबै आफूमा आइपरेपछि?
२. सम्बन्ध ३-४ महिनाको सुरूआती दिन जस्तो हुन्छ कि हुँदैन?
त्यसपछि सुस्केरा तान्दै उसले मलाई भन्यो।
'म एक्लो छु। मलाई साथी चाहिएको छ।'
अनि मैले महसुस गरें ऊ एक्लो थियो उसलाई साथ चाहिएको थियो। साथ माया होइन र? यो प्रश्न पनि आउन सक्छ। तर सधैं साथमा हुने वर पिपल नितान्त एक्लो छन्। माया साथ मात्रै पनि होइन। र जीवन साथी साथी मात्रै पनि होइन। यो शब्द त आफैंमा छहारी हो। माया साँच्चै ' घर' हो।
जीवनका ठूलो ठूलो हुरीदेखि बचाउने। लड्न सिकाउने। झरीमा पानीको ओत दिए जसरी विपत्तिमा उसको ठीक दायाँतर्फ उभिन सक्नु हो माया।
म अनुभवी भनेर पूरै पोख्त होइन। खासै बलियो आधार पनि मसँग छैनन् दीर्घायू सम्बन्धका तर मैले बटुलेको केही तस्बिरहरू छन् जसमा माया कैद आजभन्दा ३४ वर्ष अघिबाट छन्। जुन माया आज पनि खुला छ। बसन्तमा हुने घाँसे मैदानजस्तै नवीन छ।
'महिनावारी नहुँदै व्या दान गर्यो भने स्वर्ग जान्छन् रे कन्यादान गर्ने पितृ'' हजुरआमाले आफ्ना समयका निकै रोचक र कुनै पीडादायी कथालाई बेला मौकामा सुनाउनुहुन्थ्यो। हामी चाहिँ कान ठाडो पार्दै सुन्थ्यौं।
'बिहे भएर जाँदा १२ वर्षकी म २२ वर्षमै विधुवा भए तर पनि ३ सन्तान कसरी हुर्काएँ नि बाबै' भन्दै हजुरआमाले हामीलाई बेलाबेलामा आफ्ना किस्साहरू सुनाउने गर्नुहुन्थ्यो।
म पनि जिज्ञासु सानैदेखि ; आमा बाले हजुरलाई कति माया गर्नुहुन्थ्यो सोध्थें। अब त्यो बेलामा के माया के हेला। बुढोको सेवा नै धर्म। बुढाले कोइलाबासबाट फर्कंदा नुनसँगै चुरा र कपाल बान्ने डोरी ल्याइदिएको कुरा सुन्दै अचम्म तरिकाले म बुढीआमाको अहिले रित्तो हातलाई हेर्थें। तिमीहरूको मुख हेर्दै बाँच्ने त हो भनेर हजुरआमाले भनिराख्नु हुन्थ्यो। यो मेरो लागि एक किसिमको प्रेमको परिभाषा नै हो। उहाँहरूको प्रेम मेरो लागि कुनै ठूलो शिक्षा नै थियो।
अहिले पनि आमा आकाशतर्फ हेर्दै सुस्केरा लिँदै आकाशसँग टाढिएको ध्रुव कति छट्पटिन्छ होला है मञ्जु ? आफ्नासँग कहिल्यै कसैलाई टाढिन नपरोस् भन्नुहुन्छ।
मलाई आमालाई धेरै पटक आमा बुवाले अरू कसैलाई पनि मन पराउनु भएको भए हजुर के गर्नु हुन्थ्यो सोधिरहन्थें। उहाँले निकै मिजासिलो पारामा भन्नु हुन्थ्यो मञ्जु ; बगिरहने नदीलाई उसको गन्तव्य थाहा हुन्छ। हजारौं नाउ उसमा प्रेम खोज्छन्। करोडौं यात्रु उसको मोहमा पर्छन् तर नदीलाई थाहा छ उसको सीमान्त खुसी सागर नै हो। उसलाई मिसिए पनि पोखिए पनि रित्तिए पनि सधैं उसैको नै हुनुछ। कसैको भइसकेको मन कहिल्यै पनि बाँडिदैन।
यो शब्दले मलाई निकै दिनसम्म असर गरिरह्यो।
माया भनिसक्दा युवा उमेरका विकृति र झूटलाई म भन्दिनँ। माया स्थिरता हो र जिम्मेवारी।
माध्यम जुन सुकै होस् प्रेम साँचो छ भने त्यो जीवन्त रहन्छ तर साँचो होइन भने त्यो सम्बन्ध ओइलाएर झर्छ।
प्रेम काँडाझैं बिझ्ने रोज्ने कि फूलझैं कोमल? सम्बन्धमा भएर प्रत्येक पल शंका गर्ने रोज्ने कि तिमी जति नै टाढा भए पनि तिमीप्रति निर्धक्कसँग विश्वास गर्नेलाई रोज्ने मञ्जु ? आफैं सोच्नु है भन्नुहुन्थ्यो।
आमाका कुरा सकिएपछि म एकछिन ओझेलमा परें।
अनि सोचिरहें।
आजभोलिको दुई दिने सम्बन्धलाई हेर्दा या भनौं सम्बन्धको गहिराइ नबुझ्नेकोहरूको जमात हेर्दा चाहिँ धेरै प्रश्न उत्पन्न भयो मेरो मनमा।
माया अनुहारमा हुन्छ कि स्वभावमा मैले फेरि आमालाई सोधें?
आमाले निकै मीठो उत्तर दिनुभयो- तिमी जन्मँदा म आमा बनेकी थिएँ। तिमी हुर्कंदै गर्दा म बालक पनि भएँ, एक शिक्षिका, अनि मुख्य म तिम्रो साथी पनि भएँ।
अनुहारले एउटा सम्बन्धको सिर्जना गर्छ भने स्वभावले त्यही सम्बन्धमा हजारौं चिज भेट्छ। झ्वाट्ट हेर्दा मनपरेका कुरा दीर्घकालीन रूपमा हामीलाई मन नपर्न सक्छ। तर कसैको स्वभावको बानी पर्यो या भनौं कसैको आचारण मन पर्यो भने त्यो जीवन्तसम्म उसको मस्तिष्कमा बस्छ र प्रेम दीगो हुन्छ। रूप त फगत भ्रम हो।
पहिला पहिला छोडपत्र कम सुनिन्थ्यो। चिठीमा प्रेम हुन्थ्यो। एउटै चिठीमा वर्षौं कुरेर बस्थे विदेश गएका प्रेमीलाई। अहिले पैसा भने जति आएन; आए पनि समयको अभाव भयो, मलाई दुःख भयो, भनेर छोडपत्र हुन्छ।
दुःख वर्षौं आफ्नो प्रेमीलाई नदेख्नुमा थियो कि दिनदिनै सामाजिक सञ्जालमा देखिनुमा छ ??
प्रेम गर्नलाई योग्य छु भनेर केटा/केटीले पहिले बुझ्दै जाँदा उसको बानीको पनि बानी परेर थाहा पाउथे? अनि आजभोलि एकअर्कालाई छोएरै? के सबै शरीर छुनेहरू मनको गहिराइ भित्र जान सक्छन्? समर्पण हुनको लागि प्रेम गरिन्छ कि प्रेममा समर्पण हुन्छ?
धेरै प्रश्न छ जवाफ हजुरहरूसँग होला है? नभए भोगाइमा त पक्कै होला।
प्रेम शब्दमा भोगाइ हुन्छ। सबैको भोगाइ फरक हुन्छ। कसैको भोगाइ दुईतर्फी हुन्छ भने कसैको एकतर्फी। आफूजस्तै सोच्ने मान्छे भेट हुँदा प्रेम हुन्छ ? कि आफूभन्दा विपरीत? आफूलाई कसैको कमी हुन नदिनेसँग प्रेम हुन्छ कि सधैं सँगै भएर पनि एक्लै बनाउने सँग? प्रेम स्वतन्त्र रूपमा बाँच्न दिनु हो कि मायामै स्वतन्त्रता खोज्नु हो? अनि स्वतन्त्रता भन्नुको अर्थ मायाबाट जिम्मेवारी, केयर, समय, इमोसनल सपोर्ट हटाउनु हो? यो सबै हटेपछि माया माया नै त रहन्छ होला है? कि रहँदैन? सायद रहँदैन....!
आमा र बाको प्रेम महसुस गरिसक्दा मेरो मनमा पनि साथीको आकृति बन्न थाल्थ्यो। म अलि गम्भीर स्वभावको मान्छे मलाई बादल एकटकले नियाल्न मन पर्छ। मलाई आकाश औधी मन पर्छ। मलाई सँगै आकाश हेर्ने साथी चाहिएको हो। मलाई तिमी अघि बढ म छु बोल्ने मात्र होइन गरेर देखाउने साथी चाहिएको हो।
सायद प्रेममा सबैको अनेकौं किसिमका रोजाइ हुन्छ्न् होला। मान्छेले धेरै थोरै आफ्नै स्वभावको जीवन साथी बनाउन खोज्छ। कसैको स्वभाव गम्भीर र शालीन मन पराउने हुन्छ भने कसैको रोजाइ चनचल हुन्छ।
कसलाई सही कसलाई गलत भन्नु?? सबै आफ्नो ठाउँमा सही नै हो। आहा !! ढुकुरको जस्तै जोडी रहेछ। दुवै मेहनती थिए। प्रगति गरे है??
उसको त स्वभाव नै गतिलो थिएन कस्तो केटा रोजिछ !! दुःख पाई ठिक्क भयो। यस्तो किसिमको कुराहरू समाजमा यथावत छन्।
समाजको आलोचना र प्रशंसा धेरै महत्व राख्दैन यदि हजुर आफूमा अडिग हुनुहुन्छ भने।
आफ्नो प्रेममा विश्वास छ भने हजुर सामान्य नै भए पनि एकअर्काको लागि चहकिलो लोचन हो। तर दुनियाँको लागि उदाहरणीय हुँदा हुँदै पनि भित्री सम्बन्धमा बिझाउने सिसाका टुक्राहरू छ भने हजुरहरूको देखावटी साथ मिथ्या हो।
खोलाका दुई किनारमा जति नै पानी कम होस् उनीहरू उति टाढा देखिन्छन्। पानी धेरै हुँदा चाहिँ आशा हुन्छ सायद पानी नभएको भए यिनीहरूको मिलन हुन्थ्यो कि भनेर।
तर जुन कुरालाई मिल्नु हुँदैन उनीहरू कहिल्यै मिल्दैनन्। अनि अर्को कुरा पानी पोखिएर सुक्दा उसको पहिचान शून्य छ तर त्यही पोखिएको पानी सागरमा मिसियो भने ऊ अमर छ। हो माया पनि त्यसरी नै सार्थकता दिने हुनुपर्छ।
कसैको मन मस्तिष्कमा तिमी छौ भने जति नै बाधा, अवरोध आयो भने पनि उसको लागि तिम्रो प्रेम कम हुँदैन। प्रेम एक हिसाबले घर हो।
घरमा आमा हुन्छिन् है? हो आफूले रोजेको केटीले आमाझै ख्याल गर्ने हुनुपर्छ। आमा जसरी प्रेम गर्न सकिन्छ? सायद हरेक नारी आमा नै हो। त्यसैले सकिन्छ। अनि हरेक केटाले आफ्नो जिम्मेवारी सोचेर उसको ख्याल गर्नुपर्छ। सम्बन्धमा साँच्चै विश्वास छ भने त्यो सम्बन्धले अदालतका धारा, उपधारा कहिल्यै सुन्नु पर्दैन।
प्रेमको कुनै ठाउँमा पुगेकाहरूले सम्बन्धलाई समयसँग जोख्छन्। सायद प्रेम मापन गर्ने यो उनीहरूको यन्त्र हो। समय नै नदिएर बाहिर बरालिन्छ भने यो सोच्नु सही पनि हो तर तिमीलाई सुख दिनको लागि, तिमीसँगको जिन्दगी सजिलो होस् भनेर काममै समय सुम्पिनेलाई पनि समय दिनुस् भन्ने कि नभन्ने? यहाँ पनि मेरो एउटा सुझाव छ।
चिया रङ बिना चिया चिया हुँदैन। चिया रङ किनेर ल्याउँदैमा पनि चिया बन्ने होइन। चिया बनाउनको लागि आगो बाल्नु पर्छ, दूध,चिनी,रङ्ग, मसला सबै हाल्नु पर्छ।
हो सम्बन्धलाई पनि सबैकुरा दिएर फेरि पूर्ण महसुस गर्नुपर्छ या भनौं सधैं नयाँ बनाइराख्नु पर्छ। किनकि जीवनभरको भागदौड सबै एकदिनको अन्त्यको लागि हो।
मर्नको लागि किन बाँच्नु। बाँच्दै मृत्यु कुरौं न। उसलाई दिन केही बाँकी नरहोस् र उसलाई भन्न केही बाँकी नरहोस्। भोलि भनेर माया साँच्न नपरोस् किनकि साँचेका धेरै कुरा इतिहासमै भेटिन्छन्।
भोलि जसको लागि भविष्य साँचेको हो उसले नै पाना पल्टाउँछ त ??
बुझ्न त हामीले एकदिन सबै बुझ्छौं। हामी आफ्नो सपना बुझ्छौं। सपना पूर्ण गर्नमा गरिएका दुःख बुझ्छौं र सुखको सीमा कोर्छौं। जीवनमा आरोहण सबैलाई मनपर्छ र अवरोह कमलाई।
आरोहण अवरोह दुवै गर्न जीवनमा मानिसलाई साथी चाहिन्छ। साथी भन्नुको अर्थ प्रेम।
केही समूह एक्लो यात्री हुन्छ्न् त्यो अलग पाटो भयो त्यहाँ पनि उनीहरूको भोगाइ नै हुन्छ होला।
प्रेम महसुस गर्न पाउनु र असल प्रेमी पाउनु सबैको भाग्यमा हुँदैन।
आफूले रोजेको मान्छेलाई आफ्नै जीवन साथी बनाउन पनि सबैको निधारमा कोरिएको हुँदैन तर जे कुरा हजुरको लागि बनेको छ त्यो ढिला चाँडो आउँछ अवश्य। आएपछि चिन्न सिक्नु र आइसकेको छ भने त्यसलाई सधैं प्रेमको धागोले बुन्न सिक्नु यो नै सफल सम्बन्धको कारक हो। मलाई रङ औधी मनपर्छ आज मनपर्छ, भोलि मनपर्छ ,पर्सी .. सधैंभरि।
कुनै कुरा, भावना कहिल्यै परिवर्तन हुँदैनन्। हो प्रेममा समान्तर हुन जरूरी छ। प्रेममा सबैभन्दा बढी के हुनुपर्छ? यसको उत्तर सायद विश्वास आउँछ होला। तर प्रेममा ' म' शब्दको प्रयोग जति कम हुन्छ र ' ऊ' शब्दको प्रयोग जति धेरै उतिनै सम्बन्ध गहिरो हुन्छ।
मेरो इच्छा, मेरो चाहना, मलाई त्यो, मलाई यो एस्तो सोच्नुको सट्टामा उसको इच्छा, उसको खुसी यस्तो सोच्न लाग्यो भने चाहिँ प्रेम दीगो हुन्छ। भनिन्छ नि दिन सिक्नु भनेको नै सम्बन्ध कायम राख्न सिक्नु हो।
आज भोलिका युवा चञ्चल छन्। क्षणिक आकर्षणलाई प्रेम सम्झिन्छन् तर उनीहरू यो बुझ्दैनन् कि कसैलाई माया गर्नु भनेको आफूलाई रित्तो बनाउँदै कसैको जीवन रंगले भर्न सक्नु हो। प्रेम स्वतन्त्रता हो। बुझ्न जरूरी छ।
विशेषगरी आजभोलिको युवाहरूले यो बुझ्न जरूरी छ। जिन्दगीमा धेरै सम्बन्ध जोडिन्छन् र धेरै जोडिने क्रममा हुन्छन्। त्यही सम्बन्ध मात्र दीगो हुन्छन् जसले एकअर्काको संघर्ष बुझ्न र बुझाउन खोज्छन्।
कहिलेकाहीँ भ्रमले पनि मायाका रूप,आवरण पहिरेर आउँछन् तर भ्रम कालो छ भने प्रेम उज्यालो छ। चिन्न सिक्नुपर्छ।