सानोतिनो भए पनि जागिर वा रोजगारीको अवसर हुनु। सानो भए पनि बस्ने कोठा हुनु। घर नजिकै किनमेल गर्न पसल हुनु, बिरामी पर्दा जाने अस्पताल नजिकै हुनु, छोराछोरी टाई र ड्रेस लगाएर जाने स्कुल वा कलेज नजिकै हुनु। आउजाउ गर्न सजिलै पाइने बस, टेम्पो वा ट्याक्सी हुनु।
कोठामा बत्ती हुनु, हेर्न केवल टिभी हुनु, लाइन लागेर भए पनि एक/दुई बाल्टी भर्ने पानी आफू बसेको घरमा नै हुनु। कोठामा इन्टरनेट वा डाटा चल्ने हुनु। देश विदेशका खबर र अवसर बारे जानकारी पाउनु। यी यस्तै होलान् सहरमा आम मानिसलाई लोभ्याउने आकर्षण। तर आज यी सबै सुविधाहरू प्रायः गाउँघरहरूमा पुगिसकेको अवस्था छ।
कोठा भाडा तिरेर आरामले बस्न सकने हैसियत बनाएका वा ऋणधन गरेर पनि सानो घर बनाएका धेरैजसो हामीलाई गाउँमा बसेका बा-आमा वा हजुरबा-हजुरआमा आफैसँग सहरमा आई बसिदिए हुन्थ्यो वा गाउँमा त्यो दुःख किन गरेका होलान्? हाम्रो सल्लाह किन नमानेका होलान्? भन्ने लागिरहन्छ।
हाम्रा श्रीसम्पत्तिको रेखदेख गरेर, खेतीबारी जेनतेन चलाइदिएर गाउँमा बसेका बा-आमाले हामी धेरैलाई जिद्दी गरेजस्तै लाग्ने गर्छ। खुरुक्क ती खेतबारी बेचेर सहरमा सानो जमिन किनेर घर बनाउँदा सुखको जीवन चल्ने थियो भन्ने कल्पना आइरहन्छ।
साँच्चै, किन बस्ने होलान् ती गाउँहरूमा बा-आमाहरू जहाँ हामीलाई बस्न मञ्जुरी छैन? यी विषयहरूमा समयको गतिसँगै बढ्दै जाने आफ्नो उमेर र भोगाइले फरक अर्थ दिँदै जाँदो रहेछ। जीवनको उत्तरार्धमा पुग्दैको बेला यी विषयहरूका अर्थ, महत्व र बुझाइले बेग्लै प्रभाव पार्दै जाँदो रहेछ।
मलाई लाग्थ्यो, नेपालै छोडेर विदेशमा बसोबास गरेकाहरू धेरैले आफ्ना बा-आमा वा हजुरबा-आमाको अन्त्यष्टी गर्न पार्थविक शरीरलाई धेरै धनराशी खर्च गरेर नेपाल किन ल्याउने गरेका होलान्? मलाई अनौठो लाग्ने गर्थ्यो, सन् १९७० मा अमेरिका बसाइ सरेका नेपाली दम्पतीहरू करिव ५० वर्षको विदेशको बसाइपछि जीवनका अन्तिम क्षण नेपालमा बस्न कसरी सम्भव छ भन्ने विषयमा किन चिन्तित भएका होलान्?
आज आफ्नै परिवेशले यी सबै विषयको, प्रश्नहरूको अर्थ बुझाइरहेको जस्तै लाग्छ। विसं २०६२ सालको कुरा हो, हाम्रो परिवारले त्यो वर्षको दसैँ काठमाडौँको घरमा मनाउने निधो गर्यौं। बा-आमा र ९० वर्षकी हजुरआमा काठमाडौँ आउनु भो। वर्षले ९० पुगे पनि हजुरआमा बिना सहारा सजिलै हिँडडुल गर्ने, चस्माको प्रयोग गर्नु नपर्ने, पूर्ण स्मृति भएकी तन्दुरुस्त हुनुहुन्थ्यो।
करिब एक महिना जति एकसाथ बस्ने सौभाग्य जुर्यो त्यो वर्ष। दसैँ बडो रमाइलो भयो, हजुरआमा समेत आएपछि हामी सबै दिदीबहिनी, दाजुभाइ, फुपूका छोराछोरी समेत सबैलाई अविस्मरणीय दसैँ भयो काठमाडौँमा। तर हजुरआमाले प्रायः कसैलाई केही नभने पनि आफ्नै पाराले नियालेका हाम्रा दिनचर्याहरू र विरलै गरेका केही टिप्पणी आजसम्म बिर्सन सकिएको छैन र तिनै विषयहरू आज जीवनमा अहम बन्दै गएका छन्।
हामीले बजारबाट किनेर ल्याउने स-साना सागका मुठा हेर्दै भन्नुहुन्थ्यो, 'किन यति साना सागका मुठा ल्याएको? हेर सागभन्दा धेरै त बाँधेको पराल रहेछ!' हामीले पोकामा ल्याएको दूध-दही, घिउ हेरेर भन्नुहुन्थ्यो 'दूध-दही, घिउ किन पोकामा राखेको होला? प्लास्टिकमा राखेको दूध-दही कति पोषिलो होला?'
त्यो वर्षको दसैँपछि चन्द्र ग्रहण लागेको थियो। हजुरआमाले हामी सबैलाई ग्रहणको अवधिभर पानी पनि नपिई बस्न र ग्रहणपछि ननुहाई खानपान नगर्न उर्दी नै लाउनु भयो। सबैभन्दा समस्या त त्यो बेला पर्यो जब हजुरआमाले ग्रहण लाग्नु पहिले गहुँत र गोबरको व्यवस्था गर्न भन्नुभयो।
जब हामी बाहिरबाट घरमा आएपछि कपडा नफेरि भान्सा पस्थ्यौं, हजुरआमा भन्नुहुन्थ्यो हेर सबै बिर्सेछन् यिनीहरूले। जब हामी कुनै खानेकुरा चम्चा र काँटा प्रयोग गरेर खान्थ्यौँ हजुरआमा भन्नुहुन्थ्यो, 'के गरुन बरा किनेर ल्याएको यति थोरै खानेकुरा, हातले खाँदा दुई गाँसमा सकिन्छ, चम्चाले अलिअलि गरेर खान्छन्।'
हजुरआमा एक महिना बस्नुभयो। पशुपतिनाथ र केही मन्दिरबाहेक अरु कतै जानु भएन, जाने ठाँउ पनि थिएन। दिनभर घर वरिपरि घुम्ने, स-साना बोट-विरुवा हेर्ने, छतमा जाने घाम ताप्ने, वरपरका घरैघरका दृष्यहरू हेर्ने, साँझमा हरेक दिन हामी सबैसँग आफ्ना अनुभव सुनाउने गर्नुभयो।
दिनभरिको दिनचर्याको वर्णन सकेपछि फेरि आफ्नै संसारमा फर्कनु हुन्थ्यो र भन्नु हुन्थ्यो, 'फलानाको बच्चा जन्मने थियो, विचरालाई अलि दुःख छ केही दिनुपर्ने थियो, फलानो बिरामी थियो, चाँडै आउनुहोला बोई भन्थ्यो, अँ फलानाको छोरी भित्र्याउने थिए, बोई त्यो बेला यहीं भैदिए हुन्थ्यो भन्थे...' यस्तै-यस्तै धेरै हिसाब किताब थिए हजुरआमासँग।
पटक-पटक भन्नुहुन्थ्यो, 'बाबु किन यस्तो साँघुरो ठाँउमा घर बनाएको? यहाँ त कतै रुखबिरुवा पनि छैनन्, फूलबारी बनाउने जमिन पनि छैन, चाँडै जागिर सकेर घर फर्कनू आफ्नै ठाँउमा, यहाँ बसिरहे त भएको आयु पनि छोटो हुन्छ।'
करिब एक महिना बसेर हजुरआमा घर फर्कनु भयो। जाने बेलामा घरबाट निस्केर पर्खालको गेटमा टाउको राखेर घपक्क ढोग्नुभयो र भन्नु भो, 'मेरा सन्तानको धरणी, सबैको कल्याण गर्नु।'
हजुरआमा घर फर्केपछि घरबाट नियमित रुपमा आउने सामानहरू दाल, चामल, तेल, घिउमा केही थप भए, हरियो साग, दही, हरिया तरकारीहरू, सिजनका फलफूल घरबाट नभए किनेर भए पनि निरन्तर पठाइरहनु भयो। गाउँबाट आउने गाडीमा हप्ता वा महिनामा निरन्तर आइरहे।
हजुरआमा भन्नुहुन्थ्यो, 'यो विष हालेको केरा धेरै नखानू, म घरमा धुलसेरीले बेरेर पाकेका केरा घरबाट पठाइदिउँला।'
हामी बिदामा घर जाँदा सधैँ सिजनअनुसार आँप, कटहर, केरा, बेलौती, मेवाका केही बुटा फल केटाकेटीका लागि भनेर बचाउनु भएको हुन्थ्यो।
हजुरआमा आफ्नो १०० वर्षको उमेर बाँचेर विसं २०७२ सालमा हामीलाई छोडेर जानुभयो। हजुरआमा परलोक भएपछि उहाँकै इच्छाअनुसार हजुरबाको अन्त्यष्टी गरेको दाङको सक्रामखोलाको बेलको रुखनेरीको घाटमा पञ्च तत्वको शरीरलाई हजुरआमाकै फूलबारीका श्रीखण्ड समेतले अग्नीदाह गरी बिसर्जन गरियो।
हजुरआमा आफ्नो जीवनमा हामी आउनुभन्दा दशकौं पहिलेदेखि काठमाडौँ आउन थाल्नु भएको हो। पिताजीको जन्म हुनु केही महिना पहिलेदेखि नै हजुरबा परलोक भएपछि हाम्रो जीवन यहाँसम्म ल्याउने आधारशीला हजुरआमाले नै सिर्जना गर्नुभयो।
तर आफ्ना सन्ततीले जोडेको धरणीलाई आफैले मनभरि भोगेर, हाम्रा सहरी जीवनलाई नजिकबाट नियालेर मनमा केही सन्तुष्टि, धेरै चिन्ता बोकेर फर्कनु भएको त्यो नै अन्तिम पटक थियो। आज १५ वर्ष बितिसक्दा पनि किन हो हामी सन्ततीहरू अझै यही खाल्डोमा नै रुमलिरहेका छौं!