म सानैदेखि हजुरबाबाकी प्यारी नातिनी। जेठी नातिनी भएकाले पनि नातिनातिनाले पाउने माया, मेरो भागमा एक चोइटो बढी नै परेको छजस्तो लाग्छ। म हजुरबाकी नातिनी, हजुरबाबाकी प्यारी, हजुरबाबाको आँखाको नानी, हजुरबाबाको मायाको खानी। मेरा लागि हजुरबाबा, मेरो इच्छापूर्तिकर्ता। हजुरबुवाले मलाई सानैदेखि 'नानी, के चाहिन्छ तँलाई?' भनेर सोध्दै नचाहिँएका कुरासमेत पुर्याइदिनु हुन्थ्यो। उहाँ मेरा लागि अनेकथोक जुटाइदिने, सबथोक।
सानोछँदा हजुरबाबाको पछि लागेर खुब हिँड्थेँ। हजुरबाबा साइकल लिएर खुब डुल्नुहुन्थ्यो। म हजुरबाबासँगै साइकलको टोकरीमा बसेर डुल्थेँ। अलि ठूलो भएपछि मेरो ठाउँ साटियो अनि म साइकल पछाडि बस्न थालेँ। हजुरबाबाले मलाई जहाँ-जहाँ लैजानुहुन्थ्यो, म त्यहीँ त्यहीँ जान्थेँ। मलाई लैजान भुलेका दिन हजुरबाबा जहाँ जानुहुन्थ्यो, बीच बाटोबाटै फर्केर आउनुहुन्थ्यो। हजुरबाबासँग घुम्न नगई मलाई चित्त बुझ्थेन, हजुरबाबालाई पनि मलाई घुमाउन नलग्दा चित्त बुझ्थेन।
सानैदेखि म मामु-ड्याडीसँगभन्दा बढी हजुरबा हजुरआमासँग सुत्न मन पराउँथेँ। हजुरबाबाले मलाई सुत्ने बेला अनेक कथाहरू सुनाउनुहुन्थ्यो। उहाँका कथाहरू मेरा लागि स्लिपिङ ट्याबलेट थिए। हजुरबाबा मलाई आफ्ना सङ्घर्षका कथा सुनाउनुहुन्थ्यो। समाजले जिल खाइरहेको कथा सुनाउनुहुन्थ्यो। हात्ती, बाघदेखि लिएर स-साना किरा फट्याङ्ग्रा समेतका कथा सुनाउनुहुन्थ्यो।
उहाँले सानैदेखि मलाई कथाको मार्फत समाज पढाउनुहुन्थ्यो। सानोमा हजुरबाबाको कथा नसुनी निदाएका दिनहरू मलाई बिल्कुलै याद छैन। बरू म कथा सुन्दासुन्दै निदाउँथेँ। हजुरबाबा बेगसँगै कथा भनिरहनुहुँदो रहेछ। बिहान उठेपछि, 'म कस्तो राम्रो कथा भन्दै थिएँ, यो त निदाइसकेकी रैछ' भन्नुहुन्थ्यो। यो सुन्दा मलाई दिनको एउटा महत्वपूर्ण हिस्सा छुटेको जस्तो लाग्थ्यो अनि, हजुरबाबा आज फेरि त्यही कथा सुनाउनु है, आज पक्का छिटो निदाउदिनँ भन्दै वाचा गर्थेँ।
मलाई सानो छँदा बेलुनको खुब सोख थियो। हुन त अहिले पनि कतै बेलुन देखिहालेँ भने मामु साथमा हुँदा, किन्दिनु न भन्दै जिस्किन्छु, कर चाहिँ गर्दिनँ। तर सानो छँदा म बेलुनकै लागि आँसु खर्चिन्थेँ। बाटोमा बेच्न ल्याएको बेलुनको आवाज सुन्नासाथ म बेलुन चाहियो भनेर हजुरबाबालाई पिरोल्थेँ।
हजुरबाबाले मलाई थरीथरीका बेलुनहरू किन्दिनुहुन्थ्यो। बेलुन पाउनासाथ बेलुनमा भरिएको हावासरि प्रफुल्ल भएर आउथ्यो मेरो मन पनि। ती दिनहरूलाई फर्केर हेर्दा, आज पनि ती दिनहरूसँग मित्रता गाँस्न मन लाग्छ।
अहिले म ठूली हुँदै आएकी छु। म ठूली भएसँगै हजुरबाबा बुढो हुँदै जानुभएको छ। उहाँका हात, गालाहरूमा मैले सानो छँदा लाउने जामाको जस्तै मुजाहरू थपिँदै गएका छन्। जवानीमा सङ्घर्षले दु:खलाई चपाएरै खुलुत्त निलेका मेरा हजुरबाबाका दाँतहरू आज बेढङ्गले टुक्रिरहेका छन्। पहिले हिँडेरै कयौँ यात्रा तय गर्नुभएको मेरो बाबाका गोडाहरू पनि अचेल हिँड्नै नपाई गल्न थालेका छन् तर बाबाको इच्छाशक्ति, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोणमा अह! अलिकति पनि हलचल आएको महसुस मैले गरेकी छैन।
तर पनि जब-जब म हजुरबाबा बुढो हुँदै जानुभएको छ भन्ने अनुभूति गर्छु, मनमा कताकता च्वाँस्स बिझ्छ। यस्तो बिझाइ म बिरलै महसुस गर्छु। फेरि, म सधैँ सानै भइरहन नमिलेजस्तै त होनि सोच्छु, जसोतसो चित्त बुझाउँछु।
हुन त सबै कुराहरू पहिलेजस्तै छैनन्। परिवर्तन त समयको माग नै हो। कुराहरू सधैँ एउटै भइरहने हो भने पनि ती कुराको त्यति धेरै महत्व नहुने रहेछ। अहिले हजुरबाबा चितवन म हेटौँडा। म हजुरबाबालाई धेरै सम्झन्छु। दिनदिनै भने अन्याय हुन्छ, म उहाँलाई एकैदिनमा पटक-पटक सम्झन्छु।
जति नै सम्झे पनि फोन गरेर सम्झेको छु भन्न सक्दिनँ। बरू हजुरबाबा आफैँ मलाई बेलाबखत फोन गरेर 'के छ, कस्तो छ?' सोध्नुहुन्छ। म 'ठिक छ बाबा, हजुरलाई कस्तो छ?' भनेर सोध्छु।
फोनमा म धेरै बोल्दिनँ। बोल्दिनँ भन्दा पनि म बोल्न सक्दिनँ। हुन पनि म उहाँलाई कसरी भनूँ, मलाई फेरि त्यहीँ साइकलको टोकरीमा बसेर उही ठाउँहरू पुन: परिक्रमा गर्ने धोको छ।