मिति: विसं २०५५ साल
पुस महिनाको कुनै एक दिन
समय: बिहान करिब ८ बजे।
बालकुमारी कलेज नारायणगढको प्रथम तलामा बिबिएस दोश्रो वर्षको अकाउन्ट विषय (लेखा शास्त्र)को कक्षा सकिने अवस्था। क्लासमा कलेजको ग्यालरीमा विद्यार्थीहरू ओहोरदोहोर गरिरहेको प्रस्ट आवाज आइरहेको थियो।
ट्यांङ ट्यांङ... घन्टी बज्यो।
क्लास सकियो। सर क्लासबाट बाहिरिनु भो। क्लास शम्भु क्षेत्री सरको थियो।
एक हुल साथीहरू भित्र छिरे। सबैको हातमा प्ले कार्ड थियो। सबैले त्यस बेलाका उम्दा भारतीय सिने नायक ऋतिक रोशनको फोटो उल्टो बोकेका थिए। अनि नारा लगाए- ऋतिक रोशन मुर्दावाद! मुर्दावाद!
हामी छक्क पर्यौं। के हुन् आँट्या हो?
त्यस मध्यका एकजनाले पोडियम अघिल्तिर उभिएर उतेजक भाषण ठोके-
मित्रहरू!
उसले नेपाल र नेपालीको अपमान गर्यो।
त्यसले नेपाल र नेपाली मन पर्दैन भन्यो- उनले थपे।
अनि चर्को स्वरमा चिच्याए- ऋतिक रोशन मुर्दावाद!
हामीले पनि एक स्वरमा भन्यौँ- ऋतिक रोशन मुर्दावाद! मुर्दावाद!
हामी एक-एक गरी बाहिर निस्कियौँ। पूरै क्लास खाली भो। एकैछिनमा कलेजका सबै क्लासहरू खाली भए। यस्तो दृश्य बालकुमारी कलेजको इतिहासमा सायदै होला।
कलेजमा ऋतिक रोशनको विरुद्धमा अप्रेशन चले झैँ थियो। सबैजना क्रुद्ध। जताजतै नायक ऋतिकको उल्टो तस्बिर अंकित प्ले-कार्ड मात्रै देख्न पाइन्थ्यो।
कतैबाट फेरि गुन्जियो- ऋतिक रोशन मुर्दावाद!
एक स्वरमा सबैले चिच्याए- ऋतिक रोशन मुर्दावाद!
बडो अनौठो अनि उत्तेजक दृश्य थियो त्यो।
कुमार (कुमार श्रेष्ठ), सुसन (स्व. शरदराज बगाले) र मलगयत अन्य साथीहरू अग्र स्थानमा थियौँ। आक्रोशित विद्यार्थी साथीहरूसँगै नारायणगढ बजारको सहिद चोक तिर अगाडि बढियो। बाटाभरि ऋतिकका विरुद्ध उत्तेजक नारा लाग्यो। बाटाका छेउ छाउमा ऋतिक रोशन अभिनित सिनेमाका आकर्षक तस्बिरहरू टाँसिएका थिए। कुनै बाँकी रहेनन्। सहरमा चितवन महोत्सवको भव्य तयारी हुँदै थियो। सडकको दायाँबायाँ राष्ट्रिय झन्डाहरू गाडिएका थिए। साथीहरूले झिके अनि बोके।
गणेश चलचित्र मन्दिरको बाटो हुँदै सहिद चोक पुगियो।
सहिद चोक पुरै गुन्जायमान भो।
ऋतिक रोशन मुर्दावाद!
ऋतिक रोशन मुर्दावाद!
ऋतिक रोशनलाई
फाँसी दे! फाँसी दे!
सहिद चोक भारतीय सिनेमाका पोस्टरहरूले झकिझकाउ थियो। सबै सडक र रछ्यानमा मिल्क्याइयो। सडक र बजारमा हिँडेका रिक्सा, टेम्पो, बस र ट्रक सबै केरकारमा परे। स्थिति यस्तो थियो कि अटेर गर्ने साहस कसैले गरेन।
ऋतिक रोशनको विरुद्धमा उर्लेको यो जुलुस पुल्चोकतर्फ अगाडि बढ्यो। कोण सभा भयो। पुत्ला दोहन भयो। एकोहोरो शंख फुकियो। क्षणिक चक्काजाम भयो। स्कुले बसहरू समेत रोकिन बाध्य भए। ठिक दश बजे कार्यक्रम समापन गरेर हिँडियो, घरतिर।
त्यस दिन यता नारायणघाटमा हिन्दी सिनेमाहरू चलेनन्। हिन्दी सिनेमाका अडिओ भिडिओ चक्का समेत हाकाहाकी बेच्न बन्द भए। सहर बजार जनमानस सबैतिर ऋतिक रोशनको चर्चा चुलिएको थियो।
दिउँसोको एक बज्दै थियो, सायद। फोनको घन्टी बज्यो। मोबाइल फोनको जन्म भएको थिएन। एक स्थानीय पत्रिकाको कार्यालयबाट आएको रहेछ, फोन। तुरुन्त आउन भनियो। म गएँ, पिया मार्केट स्थित पत्रिकाको कार्यालयमा। साथी कुमार पनि त्यही रहेछन्।
हामीलाई ऋतिक रोशनको भनाइको श्रोतको बारेमा पटक-पटक सोधियो। हामीले खुलाउन सकेनौँ। उनको ( ऋतिक रोशन) कथित भनाइ र बिहानको जुलुश प्रदर्शनको बारेमा गम्भीर कुराकानी भयो। निकै बेरको बसाइपछि पत्रिकाको कार्यालयबाट निस्कँदा मलाई अप्ठ्यारो महसुस भयो। लाग्यो, कतै यो सिर्फ अफवाह त होइन?
हाम्रो कार्यक्रमको चर्चा राम्रै भएछ। भोलिपल्ट प्रकाशित सबै स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकाहरूले राम्रै स्पेस दिए। प्रभाव काठमाडौँ खाल्डोमा पनि पर्यो। काठमाडौँमा पनि विद्यार्थीहरूको व्यापक प्रदर्शन भयो। ऋतिक रोशनको विरुद्धमा अन्य प्रमुख सहरहरूमा पनि विरोधका कर्यक्रमहरू गरिए।
चितवन र काठमाडौँको प्रदर्शनपछि देशमा अनिश्चत कालका लागि हिन्दी सिनेमाहरू बन्द भए। रेडियोमा हिन्दी गीतहरू बजेनन्। नेपाली टेलिभिजन च्यानलहरूले पनि हिन्दी सिनेमा देखाएनन्। केवल टिभी संचालकहरूले हिन्दी च्यानलहरू अनिश्चितकालका लागि बन्द गरे। सरकारी संचार माध्यमहरू रेडियो नेपाल र नेपाल टेलिभिजनले पनि त्यही गरे।
यसैबीच काठमाडौंको चाबहिल स्थित गोपीकृष्ण हलमा चलेको हिन्दी फिल्म रोक्न जाने आक्रोशित विद्यार्थीहरू र प्रहरीबीच झडप भयो। झडपमा एकजना स्कुले विद्यार्थीको गोली लागेर मृत्य भयो। गोली लागेर अरु पनि घाइते भए। यो घटनापछि काठमाडौँ तनावग्रस्त बन्यो। राजनैतिक दल सम्बद्ध विद्यार्थी संगठनहरूले वक्तव्य बाजी गरे। भोलिपल्ट चितवनमा थप कार्यक्रमहरू त भएनन्। तर हामीमाथि प्रहरी निगरानी बढ्यो।
भोलिपल्ट दिउँसोको एक बजे तिर क्याम्पस चोक तिर आएँ। खासमा साथी शरदलाई भेट्नु थियो। गोठालो चिया पसल (हाल बन्द), त्यो बेलाको नामुद चिया पसल हो भरतपुरको। चिया पसल भए नि त्यो भेटघाट हुने एउटा असली जन्क्सन थियो।
त्यही गएर सोधेँ 'दाइ बगाले खोइ?'
'चिया खाएर निस्क्यो त' गोठालोको साहुले जवाफ दिए।
त्यहाँबाट निस्केको साथी सुरेन्द्र पौडेलको गेट आगाडि बेलचोक घर भएकी अन्जना थापा र साथीहरू ट्युसन पढेर फर्कँदै थिए, भेट भो।
'शरदलाई देख्यौ अन्जना?' सोध्नेबित्तिकै फ्याट्ट जवाफ दिइन् 'उनीहरू त ट्युसन पढिरहेका छन्।'
ट्युसन सेन्टर उर्फ स्प्रिङ ल्याङग्वेज इन्स्टिच्युट एण्ड कोचिङ सेन्टर हानिएँ। त्यो बेला भरतपुरमा दुइटा ल्याङग्वेज सेन्टरको मार्केट थियो। एउटा भरतपुर १० को ओमशान्ति चोक स्थित स्प्रिङ ल्याङग्वेज एण्ड कोचिङ सेन्टर अर्को भरतपुर ओरालोको कज्मोपोलिटान ल्याङग्वेज इन्स्टिच्युट एण्ड कोचिङ सेन्टर।
पढ्दै गरेका शरदलाई भेटेर भनेँ, 'कुमार खोइ?'
उसले प्रतिप्रश्न गरे 'किन?'
प्रहरीले खोज्न थालेको भन्ने कुरा गरेपछि म छुट्टिएँ। हिँड्ने बेला शरदले 'अलर्टमा बस है' भनेको अझै गुन्झन्छ, इन्द्रियहरूमा।
हामी सतर्क भएर नै बस्यौँ। साँझमा बिबिसी नेपाली सेवामा पत्रकार रवीन्द्र मिश्रले सिंगापुरमा रहेका नायक ऋतिक रोशनको अन्तर्वार्ता प्रशारण गरे। अन्तर्वार्ताको क्रममा उनले प्रष्टिकरण दिए। नेपाल र नेपालीको बारेमा कहीँ कतै नबोलेको भने। अन्तर्वार्ताले मलाई निकै गम्भीर बनायो।
भावनामा बग्दा र एउटा तथ्यहीन समाचारप्रति सचेत नहुँदाको परिणाम निकै भयावह हुँदो रहेछ। तथ्यहीन र कपोकल्पित एवं भ्रामक समाचारले सर्वसाधारणलाई दु:ख दियो। एउटा आन्दोलन वा भड्काउ मृत्युको कारण बन्यो। समाजमा अराजकता सृजना हुन गयो। कवि भूपी शेरचनको प्रसिद्ध कविताजस्तै हल्लैहल्लाको देश (कविता संग्रह: घुम्ने मेचमाथि अन्धो मान्छे) चाहिँ पक्कै भएको हो।
सम्झेर आउँदा, अझैँ पनि त्यो भ्रम र भड्काउको जरो अज्ञात लाग्छ। इतिहासमा ऋतिक रोशन काण्डले चर्चित यो घटना सम्झिँदा ग्लानी हुन्छ। मन गह्रुंगो भएर आउँछ। तर एउटा सत्य के हो भने नेपाली समाज र जनमानसमा सिंगो भारत र भारतीय शासक अनि तिनका हेपाहा व्यवहारप्रति ठूलो आक्रोश र बदलाको भाव छ। त्यो भाव वेलाबखत कुनै न कुनै रुपमा प्रकट वा बिस्फोट हुन्छ।