गाउँ छोडेर शहर जादै गरेको युवा होस् या परदेसिएका लाहुरेदेखि जागिरे र व्यापारीसम्म सबैको एउटै चासो र खोज हो-पैसा।
परिवारको पालनपोषणदेखि बालबच्चाको भविष्य र शहरमा घर सम्मका लागि पैसा नभइ हुन्न।
दुई दशक अघिसम्म हाम्रो गाउँतिर पैसाको त्यति चल्ति थिएन। खाने कुरा जति पनि खेतवारीमा फल्थे। लगाउने लुगा भेडाबाख्राको उन इत्यादिबाट घरमै बुनिन्थ्यो। पैसा तिरेर खासै किन्नु पर्दैनथ्यो। आफूसँग नभएका बस्तु तथा सेवाहरू साटफेरबाट प्राप्त हुन्थ्यो।
कृषिमा आधारित जीवन भएकोले केही महिना खटेपछि वाली भित्र्याएर ढुक्क हुन्थ्यो। रमाइलो र चाडावाड भव्य हुन्थ्यो। पुर्ख्यौली रोगडा पैसा कसैसँग छ भन्ने सुनिन्थ्यो। तर ती पुराना चाँदीका पैसा घाँटीमा गहनाबाहेक अरू जरूरीको विषय थिएन।
धेरै समयपछि हवाइजहाज आउने एयरपोर्ट बन्यो, सुकिला मुकिला कर्मचारी देखिन थाले त्यसपछि गाउँलेहरू शहरी जीवनको संसर्गमा आए। धुलो, मैलो र भारी छुनै नपर्ने, मिठो खाने, राम्रो लाउने आरामको शहरी जिन्दगी जस्तो भान भयो उनीहरूलाई।
आफ्नो छोराछोरीलाई पनि त्यस्तै जीवन दिने रहरले होला हाम्रा वावुआमाले पनि स्कुल पठाइछाडे हामी एक पुस्तालाई। अनि खेतबारी, वस्तुभाउमा काम गर्ने मान्छे भएनन्। स्थानीय उत्पादन घटे। हुँदाहुँदा सामान्य कुराका निम्ति पनि बजार ताक्नुपर्ने भयो। अनि चल्तिमा आयो - पैसा।
पढाइ गर, कमाइ गर, सुख हुन्छ भन्ने सिकाइ भयो सबैलाई। त्यसको सिलसिलामा को कता पुगे खोजी साध्य छैन। अनि तिनका कथाहरू सुनि साध्य छैन। यही सिलसिलामा म पनि निकै टाढा पुगेँ। तर आज एक चिजको याद र चर्चा गर्ने मन भयो।
संसारकै विकसित र पैसावाला बस्ने क्यालिफोर्निया, अमेरिका। विश्वकै सबैभन्दा बढी अरबपति भएको ठाउँ। तिनिहरूकै एक बस्ती हेरेर आइयो आज।
सहरको हल्लाबाट टाढा एकान्त ठाउँ। सल्ला, धुपी, रेडवुडको जंगलल नजिक। हरियो डाँडा छेउ, वरपर कैयौं थरी फूलको बगैंचा। सफलभन्दा सफल, धनीभन्दा धनीको बस्ती!
तर सोच विचार गर्दा झसंग भएँ। पैसा र सुखी जीवनको खोजीमा धाउँदा धाउँदा हामी नेपालीले त्यस्ता घर त गाउँमै छोडेर आएका रहेछौं।
शहरको धुलो मैलो भीडबाट टाढा, प्राकृतिक वातावरण, स्वच्छ पानी, हावा। अनि झ्यालबाटै हिमाल देख्ने, अनेक जडीबुटी छेवैमा फल्नेको त के कुरा।
बाँच्न केही शारीरिक कठिनाइ मात्र हो।
फलामको भारहरू उचाल्दै, दगुर्दै, पसिना चुहाउँदै जिमखानामा आफूलाई तन्दुरूस्त राख्न घन्टौं अभ्यास गर्दा रहेछन् उनीहरू।
सोचेँ, हाम्रो शरीरको संरचना नै यस्तो रै’छ। यसले स्वस्थ रहन केही भारी त वोक्नै पर्ने रहेछ। केही पसिना बगाउनुनै पर्ने रहेछ।
अनि सयसमय प्राकृतिक वातावरणमा ट्रेकिङ, हाइकिङ निस्कनु उनीहरू विशेष मान्दा रहेछन्। अनि फेरि मन दुरूस्त राख्न पनि आफ्नै अभ्यास चाहिने रैछ। त्यसका लागि त्यहीँ मुन्तिर टोलमा योग, ध्यान केन्द्ररु ठाउँठाउँमा थिए।
हत्तेरिका!
त्यो त महाधनाढ्यको जीवन पो रै’छ! त्यो जीवन त गाउँमै मिल्काएर पो आइएछ!
तर भयो कसरी, यो हुन्छ कसरी? यसको खोजी गर्न मन लाग्यो।
एक छिन पारी आकाशतिर हेर्दा आँखा तिरमिराए। अनि त्यही अनेक छायाँ छवि देखिन थाले। त्यससँगै मनमा अनेक कल्पना। अनि याद आयो-हामी भित्र लुकेको गलत बुझाइ, भ्रमको नालीबेली।
उदाहरणको लागि यदि कसैले आगोको एक अगुल्टोलाई गोलाकारमा हाम्रो अगाडि हल्लाइरह्यो भने त्यसमा हामीले आगोको अगुल्टो होइन एक चक्र देख्न थाल्छौं। किनकि, त्यो गतिको वस्तुलाई हाम्रो दृष्टिले सही रूपमा देख्न सक्दैन। त्यस्तै मरूभूमीमा तातो जमीन, घामको किरण र हावाको परावर्तनमा हामीलाई पानीको कुवा जस्तो भान हुन्छ।
अनि त्यस्तै मानव सम्वन्धमा कैयौ चीज देख्छौ, सुन्छौ जुन पछि बुझ्दा सहीँ हुँदैन। हामीले नराम्रो सोचेको मान्छे पछि बुझ्दै जाँदा राम्रो हुन्छ र औधि राम्रो मान्छे फटाहा हुनसक्छ। यस्तै अनेक गलत, अपूर्ण दृश्यमा हामी अक्सर भुल्न, झुक्किन्छौं।
हाम्रा दुर्गम गाउँ वस्ती जब आधुनिक, सहरिया जीवनको संसर्गमा आए सायद यस्तै भ्रमले काम गर्यो। नयाँ चीज, कुराप्रति आकर्षण र दृष्टिभ्रममा आफ्नो ठाउँको महत्व नै विर्सियौं। आफ्नो थातथलो, स्वतन्त्रता, सुखका साधन गुमाउँदै लहलहैको शिक्षा, पेशा, जीवनशैलीमा आँखा चिम्लेर लाग्यौ।
एक शिकारले शिकारीको आहारमा भुल्दै गए झै भोगवादी जीवनशैलीका विभिन्न स्वाद, रूप, रङ, स्पर्शका वस्तु र सोचमा फस्दै गयौं।
तर परदेसिँदा अक्सर मान्यजनको अर्ति पनि हुन्ने गर्थ्यो, वावु होस पुर्याउनू, ध्यान दिनू बाटोमा। र हो पनि रैछ। होस पुर्याएर, ध्यान दिएर, वस्तु, घटना, मानव सम्वन्धको सम्पूर्णतामा हेर्यौं भने आखिर ती जालहरू देखिने पनि रैछन्, भ्रमहरू टुट्ने रैछन्।
आखिर सुख सन्तुष्टि मान्छेले के बाट कसरी पाउँछ भन्ने विषयमा यहाँकै एउटा विश्वविधालयमा एक व्यापक अध्ययन गरिएको रहेछ । निचोड के निकालिएको रहेछ भने मान्छेले आफ्नो सफलता र सुखका लागि खोज्ने विषय, पढाइ, जागिर, पैसा, घर, फेसन, संगी संगिनी इत्यादिको जति कडा आकंक्षा राखे पनि त्यसको मजा त केही दिन, महिनामा आफैं ह्रास हुँने रहेछ।
एक अवस्थामा जीवनमा त्यसबाट विशेष थप सन्तुष्टि मिल्न छाड्दोरहेछ। अन्त्यमा केही नभएको अवस्था वा मान्छे भन्दा उसको हालत फरक नहुने रहेछ। त्यसपछि सन्तुष्टिका लागि अरू बढी चीज खोज्न थाल्दोरहेछ अनन्त सम्म। जस्तो विश्वकै घनाढ्यको अन्नत भोक र भोगलाई हेरौं।
सन्तुष्टिको मात्रा त तब बढ्दो र दिगो हुँदोरहेछ जब तिनले साथीभाइ, छिमेकमा सौहार्द्रता सा्टन शुरू गर्छन्। परोपकार, करूणा जगाउँन थाल्दोरहेछ। वस्तु भोग नभएर जीवनको अनुभव लिँदै गहिरिएर, तिनको सम्पूर्णता र सामाजिक हितका काममा जुट्न थाल्दो रहेछ।
उनीहरुको प्रस्तुति सुन्दै सोचेँ हामीले यस्तो जीवन त गाउँमै छोडेर आएछौं। सोच्दै, हेर्दै जाँदा मेरो पनि केही भ्रम टुट्दै गए।
त्यो बस्तीबाट फर्केर घुम्दै आउँदा डाँडा फेद बजारमा एक खाजा घर आइपुगियो। एक नेपाली खाजा घर। एक पछि अर्को गर्दै नेपालीको लर्को लाग्यो केही बेरमा। कपाकप खाजा खाएँ, कसैले प्याक गरे। कुरा गर्ने फुर्सद थिएन। विदेशी काम, कम्पनीमा व्यस्त। पैसाको पछि मस्त।
तर मैले सुनेको पूँजीको साधारण नियम के हो भने एक श्रमिक आफूले पाउने ज्यालाभन्दा कैयौं बढी उद्पादन गरेको हुन्छ। तर त्यसको भागीदार ऊ हुँदैन। उ त केही क्षणिक सिमित ज्याला पैसामै ढुक्क हुन्छ। ठूलो सम्पति निर्माण त अर्कैको भइरहेको हुन्छ।
यही रडाको नै थियो जसबाट मार्क्सवाद जस्ता विचार जन्मिए पश्चिममा जो कालान्तरमा नेपालमा पनि अन्मिए। यहीँ पूँजी निर्माणमा हुने अदृश्य हातलाई आफ्नो नियन्त्रणमा कसरी ल्याउने भन्ने सिकाइले फेरि आधुनिक पूँजीवाद जन्मायो।
सोचेँ-विश्वभर छरिएका जवान यसरी केही भुस जस्तो ज्याला पैसामा अरू देशको पुर्वाधार, पूँजी निर्माणमा आफ्नो अमूल्य समय फाले पछि आफ्नो ठाउँको पूँजी र्निर्माण हुने, उभो लाग्ने कसरी होला?
कमसेकम कृषिकै पनि सामान्य यथार्थ के हो भने हामीले जे रोप्यौ बारीमा फल्ने त्यही हो। तर हामी एकातिर देशको उन्नतिको आशा पनि गर्न छाड्दैनौ अनि काम चाहि अर्काको गर्न पनि छाड्दैनौं। देशमै बस्ने नेतृत्व गर्नेको पनि त्यही छ।
जुनसुकै व्यवस्था होस उन्नतिको लागि विउ छरेझै उत्पादनका क्षत्रमा लगानी गर्नुपर्ने हुन्छ। तर कल्पना र भाषण चाहीँ गर्ने तर लगानी सही ठाउँमा, सही समयमा नगर्ने मात्र होइन भ्रष्टाचार गरी लगानीको वीउ नै आफैंले खाइरहेको अवस्था छ। भविष्यको मुरी फल्ने सम्भावनालाई दुई गासमै सिद्धाइरहेको छ।
दिगो सुख र चैनभन्दा क्षणिक भोगमा र पैसाको अतृप्य भोकमा लिप्त रहेको अवस्था छ। सही र खुला दृष्टि लिन नसकेको अवस्था छ।
हाम्रो दृष्टिभ्रम र कमजोरीको फाइदा उठाउँदै अनेक मायावी जालहरू आज कम हैन बढ्दो छ। भोगवादी दुनियाँका साधन, टिभी, इन्टरनेट, पैसा, सत्ता, शक्तिले एकातिर मोज देखाउँदै, आकर्षित गर्दैछ भने अर्कोतिर रोग, लडाइ, जीविकोपार्जन इत्यादिको डर देखाइ तर्साउदै पनि छ। एक अवोध सिकारलाई सिकारीले पछाडिवाट तर्साउदै लगेर अगाडि पासोमा आकर्षित गरेझै गोलचक्करमा हामी आफ्नो स्वतन्त्रता, अमन चैन, सामाजिक सदभाववाट टाढिदैछौ।
यही गलत डर र आशको चक्र तोडेर सम्यक दृष्टि उजागर गर्न सके सायद स्वावलम्वी, शान्त, सुखि, विशुद्ध नेपाली मौलिक जीवनको पुनर्उत्थान, पुनर्निर्माण सम्भव छ। साँचो अर्थमा देवभूमी, पवित्र भूमिको सम्भावना छ।
मेरो अन्तर्मनको गन्थन अनि घुमघामपछि गणेश हिमाल देखिने काठमाडौंको एक ठूलो फोटो मुन्तिरको टेवलमा थकाइ मारेँ। अनि मीठो दालभातको स्वादसँगै स्वदेशको एक सर्को धित मारेपछि फेरि हिँड्ने बेला भयो।
लेखक लामा ग्रामीण विकासविद, पर्यटनकर्मी, हिमाली ध्यानपरम्पराका अध्यता हुन्। हुम्ला स्थायी घर भएका उनी हाल क्यालिफोर्निया, अमेरिकामा बस्दै आएका छन्।