भारतीय मूलका क्यानडेली लेखक रविन शर्माको एउटा पुस्तक मेरा दाजुले मुम्बईमा दिनुभएको थियो।
मोटिवेसनल किताब पढ्ने या कुरा सुन्ने मेरो बानी छैन। म धेरै पटक यस्ता मोटिवेसनले डिमोटिभेट भइसकेको छु।
मलाई मानिसको कुराभन्दा उसले कसरी जीवन बाँच्यो र समाजलाई के दियो भन्ने कुराले ऊर्जा दिन्छ, प्रेरणा दिन्छ।
रविन शर्माको ‘अ मङ्क हु सोल्ड हिज फरारी’ को बारेमा पहिले पनि सुनेको थिएँ। तर अंग्रेजी किताब पढ्न मलाई दसौं पटक शब्दकोश पल्टाउनुपर्ने भएकाले पढ्न सकेको थिइनँ।
केही दिनको मुम्बई बसाइमा मैले त्यो किताब पढिनँ। तर त्यहाँबाट न्युयोर्कसम्मको यात्रामा उक्त किताब ‘हु विल क्राइ आफ्टर यु डाइ’ पढ्ने इच्छा जाग्यो, किन हो मलाई पनि थाहा छैन।
किताबमा जीवन जिउने केही सूत्र थिए। जीवनमा हिँड्न सिक्नुपर्छ। केही नभए पनि एउटा रूख रोप्नुपर्छ अनि जीवनको लक्ष्य तय गर्नुपर्ने भन्ने लेखकको भनाइले मन छोयो।
यी साधारण कुरा भए पनि यहाँ ठूलो दर्शन लुकेको थियो। मान्छेको त्याग र सेवा भावको मापन गर्न रूख एक प्रतिक हो। आफूले रोपेको रूखले आफूभन्दा अरूलाई छहारी दिन्छ। रूख रोप्नुपर्छ भन्ने लेखकको भनाइले संसार छोडेर जाँदा संसारलाई विरूप होईन, सुन्दर बनाएर जानुपर्छ भन्ने आशय बोकेको थियो।
पढ्दै जाँदा एउटा च्याप्टरमा पुगेर रोकिएँ। कथा थियो- दुई वृद्ध नागरिकको।
उनीहरू अस्पतालमा उपचारका लागि भर्ना भएका हुन्छन्। एक जनाको बेड झ्याल नजिक हुन्छ, अर्काको झ्याल नभएको कुनामा।
उनीहरूबीच कुराकानी सुरू हुन्छ। झ्यालतिर भएका बुढालाई अर्काले सोध्छन्, ‘तिमीतिर त झ्याल छ। बाहिरको दृश्य कस्तो छ?’
झ्याल बाहिरको हरियाली, चराचुरूङ्गीको कृडा, मानिसको चहलपहल र आवतजावतबारे जीवन्त बयान उनले गरिदिन्छन्। उनको स-विस्तार बयान सुनेपछि कुनामा भएका बुढाको मुहारमा एकाएक कान्ती छाउँछ। उनी रोगको पीडा बिर्सेर त्यसैमा हराउन खोज्छन्।
यसरी अस्पताल बसुन्जेल हरेक दिन उनले झ्यालका बुढालाई झ्याल बाहिरको दृश्यबारे सोध्छन्। उनले पनि स-विस्तार बयान गर्दै जान्छन्।
सोध्नेवाला बुढाको स्वास्थ्यमा एकाएक चमत्कारिक सुधार हुँदै जान्छ। यो क्रम केही दिनसम्म चल्छ। केही दिनपछि झ्यालतिरको बुढासँग बोल्न छोड्छन्। झ्यालतिर यसले मात्र किन सुत्ने। यो मरे म झ्यालतिर सुत्न पाउँछु भनेर इनलाई इर्श्या हुन्छ।
यसैबीच झ्यालतिरका वृद्धको मृत्यु हुन्छ। उनको मृत्युबाट दुःखी हुनुभन्दा बेड पाइने आशाले उनी खुशी देखिन्थे।
झ्यालतिरका बुढाको शव आफन्तले लगेपछि उनी झ्यालतिर सर्छन्।
आतुरताका साथ उनी झ्यालबाहिर दृश्यावलोकन गर्छन्। झ्याल बाहिर न कुनै बगैचा हुन्छ, न कुनै हरियाली। नत चराचुरङ्गीको आवाज न मानवीय गतिविधि। त्यहाँ त केवल साघुँरो र पट्यारलाग्दो गल्ली हुन्छ।
यो देख्नासाथ ती बुढा डाको छोडेर रून थाल्छन्।
आफूलाई खुसी दिने मित्रलाई अन्तिम समयमा आफूले गरेको ब्यवहारले उनलाई जलाउन थाल्छ। उनी रोइ मात्र रहन्छन्।
कथाको अन्त्य भइसकेको थियो। मेरो आँखाबाट आँशु बगिरहेका थिए। मेरो छेउमा बसेका एक वृद्धले ‘टेक दिस’ भन्दै टिस्यू पेपर दिए।
मेरो पिठ्यूँमा हात राखे। मैले केही नभएझैं आफूलाई सम्हाल्दै मुस्कुराउने प्रयास गरेँ। यो पुस्तकले मलाई मृत्यु र पढ्नुको अर्थ बुझाइदियो।
मृत्यु कस्तो हुनुपर्छ भनेर आज पुन: म सोच्न बाध्य भएको छु।
आज सरस्वती पूजाको दिन विश्वले एउटा यस्तो आवाज गुमाएको छ, जसलाई सुन्दै म मात्र होइन, थुप्रै पिँढी हुर्किएको छ।
बलिउडमा सात दशकदेखि फरक-फरक पुस्ताका अभिनेत्रीहरूका लागि स्वर दिएकी लताले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन्। तीमध्ये एउटा भाषा नेपाली पनि हो।
उनले गाएका नेपाली गीतमा 'जुन माटोमा मेरो', 'आकाशको मिर्मिरे तारा म गन्न सक्दिनँ', 'बाँचुन्जेलीलाई' लगायत चर्चित छन्।
उनको उपस्थिति हाम्रो दैनिकीमा थियो।
कसैको कर्म यति महान हुँदोरहेछ कि, उसको मृत्युमा जस्तै कठोर मन पनि रूँदोरहेछ।
लता मंगेशकरको गायन र जादुमयी स्वरको बारेमा चर्चा गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन। लताले नछोएको कुनै विधा र कुनै भाषा थिएनन्।
आजन्म अविवाहित लताले गाएका प्रेम र विरहका गीत यस्तो लाग्छ- मानौं आफ्नै आत्माबाट निस्किएका हुन्।
संसारमा नभए पनि उनको आवाज धेरै शताब्दीसम्म गुन्जिरहनेमा शंका छैन।
लताको व्यक्तिगत ब्यवहारलगायतका कुरा अव गौण हुन्छन्। उनको कर्म अर्थात, संगीत साधानाले संसारका हरेक तह र तप्का, वर्ग, उमेर, लिङ्गलाई दिएको शान्ति र तृप्तीले मानवीय जीवनलाई समृद्ध बनाएको छ।
उनले जस्ता गीत गाइन्, सायदै बलिउड इतिहासमा यति हिट भएका थिए। उनी फिल्मका हिरो-हिरोइन भन्दा बढी चर्चित थिइन् र छन् पनि। साच्चै भन्ने हो भने उनको गीतले नै फिल्म चल्थ्यो। फिल्म नचले उनको गीत चल्थ्यो। जीवन्त हुन्थ्यो।
जीवन यस्तो हुनपर्छ, जसले मानव सभ्यताको स्तरलाई उठाओस्।
जसको मृत्युमा संसार रून्छ, त्यो ब्यक्तिको जीवन उत्सव हो। मृत्यु एक शानदार बिदाइ हो। नेपालका राष्ट्रपतिदेखि सर्वसाधारणले लताप्रति दर्शाएका भावले संगीतको भाषा विश्वव्यापी र सर्वव्यापी हुन्छ जसले केवल मनहरू जोड्छ भन्ने साबित गरेको छ।
लताका लागि मसँग कुनै शब्द छैन। केवल यति भन्छु-यो जीवनमा एक दुई जनाको खुसीको कारण मात्र बन्न सकेँ भने तपाईँको गीत, तपाईँको स्वर र तपाईँको साधना र तपाईँको जीवनलाई आफूले सम्मान गर्न सकेको ठान्नेछु।
मान्छे मरेपछि बाँचेकाको रूवाइले खासै अर्थ लाग्दैन। मानिस जिउँदो छँदा उसका जीवन यात्रालाई सहज बनाउन तिमीले के गर्यौं, त्यो ठूलो कुरा हो।
लताको गीत, संगीतले मानव जातिको जीवन यात्रालाई सहज बनाएको छ। मैले यहाँ पत्रकार कनकमणि दिक्षितको एउटा भनाई सापटी लिएँ, ‘लताको मृत्युमा दक्षिण एसिया र पुरै विश्व एउटा आवाजको बिदाइले दुःखी छ, मानव सभ्यता गरिब भएको छ।’
हो, जसको जीवन साधना हुन्छ। उसलाई मृत्युले कुनै फरक पार्दैन। लतालाई पनि फरक पार्दैन। लता दिदी, तपाईँको वियोगमा संसार आज रोइरहेछ। यो भन्दा शानदार मृत्यु के हुन सक्छ र ? यो भन्दा शानदार जीवन के हुनसक्छ र? लता दिदी, तपाईँ त विश्वरत्न हुनुहुँदो रहेछ। सदा अमर रहनुहुनेछ।