निःशब्द कोठा, घोरिएर भुइँतिर हेरिरहेका निभेको बत्ती। आफ्नो अस्तित्वमा आइसकेको सूर्यले झ्यालको झ्यालबाट बाटो बनाउँदै ओछ्यानमा गुटुमुटु परेर सुतेको ममाथि आफ्नो रौद्र देखाउँदै थियो।
बाहिर कल्याङ कुलुङ मानिसको आवाजले बिहानीको आभास पनि गराउँदै थियो। मोबाइलमा अलार्म बज्यो। सिरकबाट मुन्टो निकालेर मोबाइल हेरेँ, ड्युटी समय भइसकेको रहेछ। हत्तपत्त उठेँ, नित्य कर्म सकेँ र लागेँ कार्यस्थल तर्फ।
थोरै पर साथीको कोठा थियो। म साथीलाई उठाउन उसको कोठा तर्फ मोडिएँ। प्रसव पीडाले छटपटिएकी महिला झैं छटपट गर्दै साथी ढोकैको छेउमा बसेको रहेछ। कानमा मोबाइल राखेर कतै कुरा गर्दै गरेजस्तो। उसका रक्तिम आँखा देखेर मैले अनुमान लगाएँ घरायसी समस्या।
म ड्युटी समय भएको संकेत गरेर लागे कार्यस्थल। साथी त्यो दिन अनुपस्थित भयो। म काम सकेर सोझै साथीको रुम पुगेँ। उसको छटपटाहट सकिएकै थिएन। सोधेँ, 'के भयो तिमीलाई? ड्युटी किन नआएको? सन्चो भएन हो?'
निधार छामेँ। उसले मेरो हात आफ्नो निधारबाट विस्तारो हटाउँदै भन्यो, 'म बर्बाद भएँ।'
मिन्टो सेकेन्डमै मेरो दिमाग कतै नेटवर्किङ व्यापारमा डुबेछ कि भन्ने तिर सोझियो, 'खुलस्त भनन के भयो?'
कुममा हात राख्दै मनमा बाँधेको पीडाको गाँठो खोल्न उत्प्रेरित गरेँ। उसले मोबाइल झिकेर एउटा भिडिओ चलाएर मेरो हातामा मोबाइल थमाइदियो। भिडिओ सरसर्ती हेरेँ, कुनै युट्युबरले नजिकको नाता पर्नेसँग उसको श्रीमतीको अनैतिक सम्बन्धको बारे पर्दाफास गरेको भिडिओ रहेछ।
मलिन अनुहार, पश्चातापमा चुर्लुम्म डुबेकी, भुइँतिर टाउको झुकाएर उभिएकी उसको श्रीमती ठम्याउन गाह्रो भएन मलाई। स्तब्ध भएँ, अब उसलाई म सहानुभूतिको ढाडस दिउँ वा समानुभूतिको समानार्थी शब्द, म आफै बिलखबन्दमा परेँ।
'हेर, कहिलेकाहीँ आफ्नै आँखाले देखेको कुरा पनि दिमागले सोचेभन्दा फरक हुनसक्छ। एक पटक घर जाऊ, गाउँघर सबैतिर बुझ। यदि यही यथार्थ रहेछ भने पनि सक्छौ सन्तानका लागि भए नि हिम्मत जुटाऊ, सक्दैनौ भने काली गए गोरी आउँछ, के झोक्राएर बस्छौ?'
उदप्त निर्जल मरुभूमिजस्तो साथीको मुस्कान रहित मुहार। केही दिन त्यसरी नै बित्यो। साप्ताहिक जमघट हुँदा मदिराको सुरमा भन्थ्यो 'अब कसका लागि बाच्नु? जसको लागि यो परदेशमा यति दुःख गर्दैछु...।' वाक्य पूरा नहुँदै भक्कानिन्थ्यो। आँखाबाट तृष्णाका बाछिटा छल्किरहन्थ्यो।
साथी घर त गएन तर कम्पनी भने छोड्यो। केही महिना कहाँ गयो, के गर्दैछ पत्तो भएन। एकदिन उसले संसार छोडेको खबर पाएँ। साथीले देह त्याग गरेछ, नयाँ कम्पनीमा।
वैदेशिक रोजगारीले रेमिटेन्सबाट देशको अर्थतन्त्रमा निकै टेवा पुर्याएको होला, यसमा अकाट्य तथ्य छन्। तर हरेक दिन सामाजिक संजाल तताउने यस्ता पोस्टले परदेशीको मन सताउँछ। परदेशीको यो अत्याहट पीडा समाज र राज्यबाट अदृश्य छ। हुन त हरेक सम्बन्ध जोगाउने एउटा मजबुद कडी हो विश्वास।
थोरै सम्झौता र धेरै समर्पण अनि अगणित विश्वास गरेर नै परदेशिएका हुन्छन् परदेशी। सिउँदोमा सामाजिक मान्यता र संस्कारको सीमारेखा कोरेर अनि गलामा सभ्यताको धाकोले बान्दै घर व्यवहार मात्र नभएर खान्दानको इज्जत समेत नौलिको जिम्मा लगाएर परदेशिएको हुन्छ श्रीमान्। तर श्रीमानले गरेको निगारानीलाई नियन्त्रण ठान्नु यहीँबाट असमझदारी बिज पैदा हुन्छ।
असमझदारीले कोलाहल अनि कोलाहलले एक्लोपन। यही एक्लोपन शिकार बन्छन् परदेशीको प्यारीहरू। सबै ठाउँमा दोषी प्यारीहरू नै हुन् भन्न खोजेको हुँदै होइन, प्रसंगले गलत अर्थ नलागोस् तर एउटा पुरुषको जीवन जाँदै गर्दा त्यही सेरोफेरोमा रहेर लेख्नु यो लेखलाई न्याय हुन्छ भन्ने मात्र हो। परदेशिएका पुरुष सबै हिरा हुन् भनेर वर्षौंदेखि घर सम्म्हालेर बसेका नारीहरूको अपमान गर्न खोजेको भने होइन।
थोर बहुत यी युट्युबर दोषी छन्, अरुको जीवनमा जबरजस्ती चासो राख्न खोज्ने यिनको स्वभाव पनि अजाति नै छ। काम, घर व्यवहार, साहुको ऋण अनि रोजगार दाताको अनावश्यक किचकिचले खाएको परदेशीको जोबन हरेक दिन आउने सामाजिक संजालका नयाँ-नयाँ पर्दाफासहरूका समाचारले जीवन समेत खाइदिन्छ।