एसइई उत्तीर्ण गरेकाहरूलाई प्सल टु मा र प्लस टु मा उत्तीर्ण गर्नेहरूलाई स्नातकमा कुन विषय लिएर पढ्ने भन्ने विषयले औधि पिरोल्छ।
यो कुराको निचोड निकाल्न विद्यार्थीलाई सहज भने छँदै छैन। परिवार, समाज र आफन्तबाट थरीथरीका सल्लाह मिल्छन् तर कसैले विद्यार्थीको रुचि केमा छ भनि सोध्ने झिनो चासो देखाउँदैनन्।
समाजमा नजिर यस्तो स्थापित छ: ‘जेहेनदारले प्राविधिक विषय पढ्नै पर्छ भने कम प्रतिशत ल्याउनेहरूमा बढी लगानी गर्नु बालुवामा पानी खन्याउनु सरह हुन्छ।’
नतिजा केन्द्रित शैक्षिक प्रणालीले आज समाज र देशलाई यसरी सताएको छ कि उनीहरू आफ्ना सन्ततिबाट ९० प्रतिशत नतिजाको असान्दर्भिक अपेक्षा राख्छन्। अभिभावकहरूबीच नै आफ्ना छोराछोरीलाई डाक्टर र इन्जिनियर नै बनाउने होडबाजी चलेको छ। चेपुवामा परेका छन् त केबल विद्यार्थी र तिनीहरूको रुचि र चाहना।
साँच्चै तपाईं अभिभावकहरू आफ्ना नानीबाबुहरूसँग कतिको नजिक हुनुहुन्छ? हजुरहरूलाई आफ्ना छोराछोरीको ‘स्ट्रङ पोइन्ट’ थाहा छ? ठूलो भएर के बन्छस् बाबु? भनेर सोध्ने आउने उत्तरहरूलाई कतिको महत्व दिनुहुन्छ? करियर छनोटको सन्दर्भमा तपाईं आफ्ना अधुरा सपना जबर्जस्ती उसमा लाद्नु हुन्छ कि उसको छनोटको सम्मान गर्नुहुन्छ? यी प्रश्न समस्त अभिभावकमा छोड्दै छु।
ए प्लस र ९० प्रतिशत नतिजाले सफल अभिभावकत्व दर्शाउँछ भन्ने कुरामा म विश्वास गर्दिनँ।
अझ हाम्रो जस्तो देश जहाँ घोकेर र घोकाएरमात्र शैक्षिक गतिविधी चलाएमान बनाइन्छन्। जहाँ केबल सैद्धान्तिक ज्ञानले मात्र स्थान पाउँछ र विद्यार्थीमा व्यवहारिक ज्ञानको कमी रहेको छ, त्यस ठाउँबाट उत्पादन हुने भनेको केबल निरस फल मात्र हो।
परीक्षालाई 'आइरन गेट'को उपमा दिएपछि विद्यार्थीमा भय सिर्जना हुनु स्वाभाविक हो। पढाएको कुरालाई व्यवहारिकता प्रदान गर्न कुनै मापदण्ड बनाइएको हुँदैन भने घोकेर पानी बनाउनु शिवाय कुनै विकल्प बाँकी हुँदैन उनीहरूमा।
प्रश्न फेरि अभिभावकतर्फ तेर्साउन मनलाग्यो। पढेको कुरालाई जीवनमा उतार्न आफ्नो बच्चालाई कतिको हौसला प्रदान गर्नुहुन्छ?
‘दाइजो प्रथा गलत हो। यो एउटा सामाजिक समस्या हो।’ भनेर पढेको छोरोले ‘बाबा, म पछि दाइजो लिदिनँ।’ भन्दा तपाईंको प्रतिक्रियाको आशय कस्तो हुन्छ ; ‘तैंले दिनु/नदिनु भनिरहनु पर्छ ? उनीहरूले आफैं दिइहाल्छन् नि।’ कि ‘स्याबास्! मैले चाहेको पनि त्यही हो।’ भन्नुहुन्छ।
हरेक विधा आफैंमा कमजोर हुँदैन। समाज, परिवार र वरपरकाको कमजोर मानसिकताले नै कुनै विधालाई महत्वपूर्ण र कुनैलाई कमजोर तुल्याइदिएको छ।
लिखित परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गर्नेहरू डाक्टर, इन्जिनियर, नर्स जस्ता प्रयोगात्मक र प्राविधिक विषयहरू नै लिनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना पनि यही समाजले गरेको छ जसले गर्दा आज विद्यार्थीमा मानसिक तनाव उत्पन्न हुने गरेको छ।
मानसिक चापलाई रोगको दृष्टिकोणबाट नहेरिदिँदा करियर छनोटमा अभिभावकबाटै असहयोगका कारण किशोरकिशोरीमा मानसिक रोग चुलिँदो छ।
एक अध्ययनका अनुसार, आफ्ना अभिभावकबाट सहयोग र माया मिल्ने विद्यार्थीमा करियर खोज गर्ने र क्षमता अनुकूल करियर चयनको निर्णय लिन उनीहरूमा थप आत्मबल जोडिने देखाएको छ।
करियर छनोटकै सन्दर्भमा आफ्ना अभिभावकबाट विद्यार्थीमा कतिसम्म हस्तक्षेप हुन्छ भन्ने कुरा बेलायतमा गरिएको एक सर्वेक्षणबाट पनि जान्न सकिन्छ जहाँ तीन हजारमध्ये पचास प्रतिशतभन्दा बढीले आफ्नो इच्छाविपरीत अभिभावकले करियर छनोट गरिदिएको बताएका थिए भने ६९ प्रतिशतले विश्वविद्यालय छनोट गर्न समेत अभिभावक बाधक बनिदिएको बताएका थिए।
यसो भनिरहँदा अभिभावकले आफ्ना छोराछोरीको कुभलो चाहन्छन् भन्न खोजिएको होइन तर उनीहरूको बलियो पक्ष नबुझी अत्यधिक अभिभावकीय नियन्त्रण कायम गरेर आफ्ना उद्देश्य उनीहरूमार्फत् पूर्ति गराउन खोज्नु चाहिँ आफैंले आफ्नो खुट्टामा बन्चरो बर्साउनु सरह हो। यसले केवल अध्येताको निर्णय लिन सक्ने क्षमतामा आँच मात्र पुर्याउँदैन मानसिक रूपमा पनि कमजोर बनाउँछ।
कला, खेलकुद, साहित्य, नाटक आदिका क्षेत्रलाई कार्यक्षेत्र बनाउन चाहने किशोरकिशोरीहरूलाई अभिभावकबाट अस्वीकृति मिल्ने डर रहँदै आएको छ।
यदि आमा-बाबुले बच्चाको करियरका लागि आफ्नो निश्चित अपेक्षा नरहेको कुरा प्रस्ट्याउन सके, उसमा आफ्नो पेशा छनोट गर्न विविध विषयमा खोज गरी निर्णय लिनसक्ने क्षमताको पनि अभिवृद्धि हुन्छ।
गलत करियर छनोटका परिणाम
आफ्नो इच्छाविपरीत कसैको दबाब र डरले निर्क्यौल गरिएको विषय पढ्नाले विद्यार्थीको पढ्ने ऊर्जा स्वत: कमजोर हुँदै जान्छ। अल्छीपना, आलस्यता, मनोरोग र आत्महत्या पनि गलत करियर छनोटबाट आइपर्ने समस्या हुन्।
प्लस टु र स्नातक अध्ययनरत विद्यार्थीमा अराजकता हाबी हुनु र उनीहरू अभिभावक र शिक्षकको नियन्त्रणभन्दा बाहिर उम्किन बल गर्नु पनि यसैको कारण मान्न सकिन्छ।
नियन्त्रण कायम गर्न आफन्त र छरछिमेकको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीको स्वतन्त्रतामा हस्तक्षेप गर्नाले बीचमै पढाइ छोड्ने किशोर-किशोरीको जमात पनि राम्रै भेटिन्छ हामीकहाँ।
सिर्जनशीलतामा ह्रास आउने मात्र नभई पारिवारिक बोझको रूपमा समेत विकास हुने सम्भावना रहेकोले विद्यार्थीको रुचिको क्षेत्रमै उसलाई फुल्न र फक्रिन सहयोग गर्नु अति उत्तम हुन्छ।
अभिभावकको भूमिका
कुनै निश्चित विषय अध्ययन गर्न अनावश्यक दबाब दिनुभन्दा आफ्ना सन्तानलाई करियर छनोट गर्न धेरैभन्दा धेरै विकल्प ऊ समक्ष प्रस्तुत गर्नु उचित हुन्छ। उसको रुचिका विषयसँग सम्बन्धित कुराहरूको जानकारी लिन र त्यस क्षेत्रमा अपरिहार्य मानिने सीप आर्जन गर्न प्रेरित गर्नु पनि अभिभावकीय दायित्व रहन्छ।
आफ्नो भूमिका पहिल्याएर करियर छनोटका क्रममा सहजकर्ताको रूपमा प्रस्तुत भइदिने हो भने हरेक बालबालिकाले स्वाधिनताका साथ विषय चयन गरी युवास्थामा पाइला अघि बढाउन ऊर्जा मिल्छ।
आफ्नो बच्चासँग दैनिक संवाद गर्ने र उनीहरूको कुरालाई सुनेर मनन गर्न सक्ने असल स्रोता भइदिनाले उनीहरू भयरहित वातावरणमा आफ्ना कुरा स्पष्ट राख्न सक्छन्।
यस्तो बानीको विकास बच्चाको बाल्यावस्थादेखि नै सुरू गर्नु पर्दछ। स-साना कुराहरू जस्तै: ऊ के कुरामा बढी उत्सुक छ, उसले सोधिरहने प्रश्नहरू कस्तो प्रकृतिका छन्, उसलाई सहज लाग्ने विषय कुन हो, आदिबारे जान्न सकिए उसको स्ट्रङ र विक पोइन्ट पहिल्याउन कठिनाइ हुँदैन।
तसर्थ, आफ्ना सन्तानको करियर छनोटको काम बाल्यावस्थादेखि नै सुरू गर्नुपर्छ। अध्ययनशीलता र सिर्जनशीलता पहिचान गरी विद्यार्थीको भावना अनुरूपको क्षेत्रमा बेलैमा निपुण बनाउन लागिपरे एकातिर अध्येतामा अनावश्यक भय र चिन्ताले स्थान पाउँदैन भने अर्कातर्फ अभिभावकमा पनि यो विषय टाउको दुखाइको कारक बन्न पाउँदैन।
बाल्यावस्थादेखि नै यसतर्फ ध्यान दिए कम समयमा लिइने हतारको निर्णयको भागेदार बन्नु पर्दैन।
कुनै विधा आफैंमा सही वा गलत हुन्छ भन्ने मनस्थितिबाट बाहिर निस्कनु जरूरी छ। छोराछोरीको करियर छनोटका दौरान सरिक मात्र हुने तर नियन्त्रण नगर्ने, सल्लाह दिने तर निर्णय गर्ने स्वतन्त्रता उनीहरूमै छोडिदिने र अन्त्यमा समर्थन गर्ने तर हाबी नहुने प्रवृत्तिको विकास गर्न आवश्यक छ।
बस् समस्त आमा-बुवाहरूले विद्यार्थीको छनोटको सम्मान गरी सहजकर्ताको भूमिका निर्वाह गरिदिऊन्, बाँकी काम त उनीहरू आफैं गर्नेछन्।