केही दिनअघि अमेरिकी सहायता परियोजना एमसिसीको विषयलाई लिएर पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका एमाले नेता डाक्टर भीम रावलबीच सामाजिक सञ्जाल ट्वीटरमा दोहोरी चल्यो।
यतिसम्म कि उहाँहरूले एक-अर्कालाई नक्कली डाक्टरको उपाधि समेत हस्तान्तरण गर्न भ्याउनुभयो। विद्यावारिधी उपाधि प्राप्त गरिसकेका दुई विद्वान नेताबीच चलेको टिप्पणीको दोहोरीबारे सामाजिक सञ्जालमा धेरै व्यङ्ग्यहरू सार्वजनिक भए।
यो त एउटा प्रतिनिधि घटना मात्र हो।
आजकल पात्रका हिसाबले डाक्टरदेखि एक्टरसम्म अनि विषयका हिसाबले सिसीदेखि एमसिसीसम्म हरेक विषयमा सामाजिक सञ्जालमै खरो उत्रिएर टीकाटिप्पणी गर्ने गरेको देखिन्छ। ती टिप्पणी देख्दा लाग्छ, फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल नै हरेक विषयवस्तुको सर्वोच्च निकाय हुन्।
अनि हरेक मानिसले उठाएका सवालको अन्तिम निष्कर्ष वा समाधान सामाजिक सञ्जालले नै दिन्छ।
डाक्टर भट्टराई र डाक्टर रावलबीचको एक-अर्काप्रतिको टिप्पणीसम्बन्धी प्रतिनिधि चरित्रबाट नै प्रष्ट हुन्छ कि त्यो स्तरका विद्वानहरू त त्यति तल झरेर टिप्पणी गर्छन् भने सर्वसाधारण मान्छेको त के कुरा!
यो प्रतिनिधि घटनाको विश्लेषण गर्दा न त हाम्रो समाजले बनाएका नेता भन्नु न त नेताले बनाएको हाम्रो समाज भन्नु!
निष्कर्षमा पुग्न त्यति सजिलो चाहिँ छैन। त्यसैको प्रतिबिम्ब होला कतिपय व्यक्तिहरू त सामाजिक सञ्जालमै ताण्डव नृत्य शैलीको प्रस्तुति दिइरहेका हुन्छन्। मानौं कि त्यो विषयमा उसलाई ठेक्का परेको छ, अनि ठेक्का तोडियो भने उसको घरबास नै उठ्छ। यतिसम्म तर्क-वितर्क गरिरहेका हुन्छन् कि उनीहरू बाउ बाजेको पैतृिक सम्पत्ति भागबण्डा गरिरहेका अंशियारहरू हुन्।
सामाजिक सञ्जालका विषयवस्तु
व्यक्तिगत होस् कि सार्वजनिक, सामाजिक होस् कि राजनीतिक अनि आर्थिक होस् कि शैक्षिक जुनसुकै विषयमा आफूलाई लागेका विचार फ्याट्ट सामाजिक सञ्जालमा पोष्ट गरी हाल्ने धेरैको बानी छ।
सामाजिक सञ्जालमा सार्वजनिक चासोको विषयमा आफ्नो विचार र तर्क राख्नुलाई त अन्यथा भन्न मिल्दैन। अनि सकारात्मक सन्देश प्रवाह गर्ने माया, प्रेम, सद्भाव, सफलता, सहयोग आदि जस्ता विषयमा व्यक्तिगत कुरा पनि राख्न सकिन्छ। तर पार्टीगत, जातिगत, व्यक्तिगत विषयका मनमुटाव, झै-झगडा आदिबाट प्रभावित भएर गरिने गालीगलौज र हल्का टिप्पणीले सामाजिक सञ्जालमा जोडिएका सबै व्यक्तिहरूलाई कतै न कतै मनोवैज्ञानिक रूपमा लात हानिरहेको हुन्छ।
विश्वमा सामाजिक सञ्जालका प्रयोगकर्ता अर्बौंको संख्या रहेका छन्। एउटै मानिसको मनमा त एकै पटक फरक–फरक विचारहरू आइरहेका हुन्छन् भने अर्बौंको संख्यामा रहेका मानिसहरूका फरक–फरक विचार सामाजिक सञ्जालमा आउनुलाई अनौठो मान्न सकिँदैन।
कुनै पनि कुरा देखेपछि, सुनेपछि वा पढेपछि सबैको मन मस्तिष्कमा त्यसको प्रतिक्रिया विचार, भावना, आवेग, उत्तेजनाजस्ता विभिन्न रूपमा आउने गर्दछ। त्यसरी मनमा लागेका सबै कुराको अभिव्यक्ति सामाजिक सञ्जालमा दिऊँजस्तो कसलाई लाग्दैन र! तथापि हामीले हाम्रो नैतिकताका आधारमा व्यक्त गर्न नपर्ने कुराहरूलाई मनभित्रै दबाएर राख्न सक्यौं भने त्यसले हाम्रो व्यक्तित्वलाई जोगाएर राख्न सहयोग पुर्याउँछ।
सामाजिक सञ्जालमा देखिने सवालहरूमध्ये राजनीतिक विषयले नै सामाजिक सञ्जालमा राज गरिरहेको पाइन्छ। राजनीतिक विषयमा राजनीतिक दलका नेताभन्दा कार्यकर्ता धेरै गुणा जानकार छन् जसरी सामाजिक सञ्जालमा उपस्थिति जनाउँछन्।
उनीहरूको प्रस्तुति देख्दा लाग्छ, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा अनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालभन्दा उनीहरूका शुभचिन्तक सामान्य कार्यकर्ता राजनीतिक विषयमा धेरै विज्ञ छन्। अनि ती र त्यस्तै राजनीतिक दलले गरेका हरेक गतिविधिको जिम्मेवारी नेतृत्वले भन्दा पहिले कार्यकर्ताले लिन खोजेको देखिन्छ।
सामाजिक सञ्जालको मर्म र अभ्यास
विज्ञहरूको भनाइमा पनि सामाजिक सञ्जाल विचारहरूको हाट बजार हो। त्यसो त त्यहाँ विचारको धारा होस्। विचारको कुवा होस्। विचारको पोखरी होस्। विचारको इनार होस्। विडम्बना त्यहाँ त विचारको धमिलो बाढी पसेर धारा, कुवा, पोखरी र इनार धमिल्याएको देख्न सकिन्छ। किनभने हामी अध्ययनभन्दा अनुमान अनि तर्कभन्दा कुतर्क गरेर आफूलाई विज्ञ प्रमाणित गर्ने होडबाजीमा लागेका छौं।
यसले गर्दा विचार निर्माणमा सहयोग गर्नुपर्ने सामाजिक सञ्जालले मान्छेमा वैचारिक अन्यौलता सिर्जना गर्न मलजल गरिरहेको छ।
हामीले गर्ने धेरैजसो गतिविधि कुनै न कुनै सार्वजनिक निकायसँग जोडिएका हुन्छन्। ती निकायको आफ्नै विधि पद्धति हुन्छ।
हाम्रो अभ्यास देख्दा लाग्छ, हाम्रो सबैभन्दा नजिकको साथी सामाजिक सञ्जाल हो। अनि हरेक विषयको आधिकारिता दिने निकाय पनि। किनभने हामीले कसैलाई कुनै कुराको स्पष्टीकरण लिनुपर्यो भने सामाजिक सञ्जालमा प्रश्न गर्छौं। अनि सार्वजनिक निकायको जिम्मेवार मान्छे पनि यतिसम्म भइसके कि फेसबुक वा ट्वीटरमा स्टाटस लेखेर सवाल जवाफ दिइरहेका हुन्छन्।
के कुनै दिन कुनै नागरिकले जिल्ला प्रशासन कार्यालय वा प्रमुख जिल्ला अधिकारीलाई मेन्सन गरेर सामाजिक सञ्जालमा नागरिकता माग्यो भने सामाजिक सञ्जालमै नागरिकता पाइएला त! तसर्थ सामाजिक सञ्जालमा आउने विषयवस्तुमा गम्भीर भएर सोच्नुपर्ने देखिन्छ।
यस्ता घटनाले के देखाउँछ भने हामी सार्वजनिक निकायमा छौं, यसको विधि पद्धति छ। अनि त्यही अनुसार आउने मान्छेलाई हामीले सोही बमोजिम व्यवहार गर्नुपर्छ भन्ने कुरा बिर्सन्छौं। यस्ता कुरामा हामी आफैं अदालत बन्छौं। हामी आफैं अख्तियार बन्छौं। मिलेसम्म व्यवस्थापिकादेखि न्यायपालिका समेत हामी आफैं हौं भन्ने आभास दिलाइरहेका हुन्छौं।
कुनै निकायले कुनै व्यक्तिलाई जिम्मेवारी दिने भयो भने सामाजिक सञ्जालमा सार्वजनिक गरिन्छ। बधाई दिइन्छ। त्यति बेलासम्म जिम्मेवारी पाउने व्यक्तिलाई पनि आधिकारिक जानकारी हुँदैन। उसलाई सोध्यो भने मैले नि मिडियामा पढेको, सामाजिक सञ्जालमा देखेको भन्ने उत्तर दिइरहेको हुन्छ। सायद यस्तै प्रक्रियाबाट जिम्मेवारी पाएर हो कि आजकल कुनै जिम्मेवारीबाट राजीनामा दिँदा पनि सामाजिक सञ्जालमै दिने गरेका धेरै उदहारण छन्।
आफूलाई लागेको विचार सँगै बसेको साथी वा पारिवारिक सदस्यलाई भन्नुभन्दा पहिले नै हामी सामाजिक सञ्जालमा ब्रेकिङ गर्न चाहन्छौं। जसले गर्दा नजिकको मान्छेसँग आत्मीयता समेत हुँदैन। अझ यति मात्र कहाँ हो र! कसैलाई कुनै चासो नै नभएको खाना खाएको, खाजा खाएको जस्ता स–साना अर्थहीन कुराहरू समेत सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याइरहेका हुन्छौं।
सामाजिक सञ्जालबाट परेको असर
प्रविधिको पहुँच बढेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको संख्या दिनदिनै बढिरहेको छ। ती नयाँ प्रयोगकर्ताले पनि पुराना प्रयोगकर्ताहरूको नक्कल गरिरहेका छन्। मनमा आएको कुरा विचारै नगरी लेख्दा धेरै जिम्मेवार मान्छेको प्रतिष्ठामा क्षति पुगिरहेको छ।
एकातिर भावनात्मक लय समातेर सामाजिक सञ्जालमा प्रस्तुत हुँदा प्रतिष्ठित व्यक्तिको प्रतिष्ठा समेत स्खलित हुँदै गएको छ। इन्टरनेटको माध्यमबाट हल्का तरिकाबाट जति धेरै टाढासम्म सूचना पुग्छ हल्का टिप्पणीकै कारण सूचनाभन्दा व्यक्ति हल्का हुँदै गएका छन्।
अर्कोतिर सामाजिक सञ्जालमा आउने विषयवस्तुले मानिसहरूलाई मानसिक रूपमा अशान्त बनाउन थालेपछि मानसिक स्वास्थ्यविद्हरूले सामाजिक सञ्जालमा धेरै समय नखर्चिन समेत सुझाव दिने गरेका छन्।
तसर्थ, कतिपय मानिसहरू सामाजिक सञ्जालबाट टाढा बस्ने वा सूचनाका लागि थोरै समयमात्र सामाजिक सञ्जाललाई दिने गरेका छन्।
अमूल्य भनिएको हाम्रो समयको धेरै हिस्सा सामाजिक सञ्जालले खपत गरिदिँदा हाम्रो सिर्जनशीलता पलायन हुने मात्र होइन हाम्रो दैनिक जीवनका नियमित काममा समेत असर पर्न थालेको छ।
समयमै खाना खाने, समयमै आफ्नो काम गर्ने, समयमै सुत्ने जस्ता आनीबानीमा असर गर्दा सामाजिक सञ्जालले हाम्रो स्वास्थ्य र जीवनशैलीमा समेत नराम्रो असर परेको छ।
(लेखक महत गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका आमसञ्चार विषयमा सहायक प्राध्यापक हुन्।)