बाल्यकालमा भएको प्रतिकूल असरले मानसिक स्वास्थमा बढी असर गर्छ भन्ने अधिकांशको सोचाई छ।
एकै खालको रहनसहन, खानपान हुँदा पनि केहीमा स्वासप्रस्वास, कलेजो, मुटु, मृगौला र मानसिक रोग देखिने भएको छ।
बाल्यकालका प्रतिकूल परिस्थितिले निम्तिएका यस्ता प्रकारका रोगका विषयमा सन् १९९० ताका ‘फेलित र आन्दा’ मिलेर १७ हजार मानिसमाझ अनुसन्धान गरेका थिए।
जन्मिएदेखि १७ वर्ष उमेरका व्यक्तिमा गरिएको अनुसन्धानमन प्रतिकूल वातावरणले पछि गएर वयश्क वा उमेर ढल्किसके पछि कस्ता किसिमका रोगसँग सम्बन्ध हुँदोरहेछ भनि जान्न प्रयत्न गरेका थिए।
यसमा घर परिवारमा हुने दश किसिमका समस्यालाई औल्याइएको छ।
१) मौखिक दुर्व्यवहार
२) शारीरिक दुर्व्यवहार
३) यौन दुर्व्यवहार
४) भावनात्मक उपेक्षा
५) शारीरिक उपेक्षा
६) मानसिक रोगले पिडित परिवारका वयश्क सदस्य
७) घरेलु हिंशा
८ ) परिवारका बयश्क सदस्यमा लागू पदार्थ तथा मदिराको दुर्व्यसन
९) जेलमा समय बिताई सकेका आमा बुवा वा परिवारका वयश्क सदस्य
१०) आमा बुवा छुटेर बसेका
परिवारमा माथिका समस्या हामीले सोचेको वा थाहा पाएको भन्दा निकै धेरैनै ब्याप्त छ। यस्ता अवस्थाका बारेमा खुलेर पनि कोही बोल्न चाहदैनन्। कतिपय अवस्थामा यीनीहरूको नकारात्मक असर वा यस्ता कुरा नराम्रो हो भन्ने सामान्य ज्ञान अभाव देखिएको छ।
जस्तो, अधिकांशलाई शारीरिक दुर्व्यवहार जस्तै कुट्ने, सिस्नो लाउने इत्यादि बढी जस्तो लाग्छ तर गालीगलौच गर्ने, ठूलो स्वरमा हकार्ने, चिच्याउने जस्ता क्रियाकलाप कुनै मुक्काभन्दा कम हुँदैन। यसको असर अझ बढीसम्म रहन्छ।
घरपरिवारमा देखिने अर्को किसिमको वातावरण भनेको आफ्नो बच्चालाई उसको साथी वा दिदीभाइ इत्यादिसँग तुलना गरि क्यार क्यार पारिरहने। झट्ट सुन्दा यसले पनि के असर गर्ला भन्ने हुन्छ तर थिओदोर रूजवेल्टले भनेजस्तै यस्ता किसिमका तुलनाले सबै किसिमका आनन्दलाई छिन्छ।
बच्चाको अगाडि झगडा गर्ने वा बच्चाकै अगाडि ठूलो ठूलो स्वरमा झगडा नगरे पनि बन्द कोठा भित्रबाट आएको आवाजले उनीहरूको हुर्किरहेको दिमागमा नराम्रो असर पुग्नसक्छ।
त्यस्तैगरि भावनात्मक उपेक्षाको कुरा गर्दा कुनै किसिमको मतलब नै नहुने, वास्तानै नभएको जस्तै, जे भए पनि मायानै नदेखाउने किसिमको वातावरण हुनु अनि बच्चालाई आवश्यक परेको बेला जस्तै लड्दा वा बिरामी हुँदा बोक्ने, सुम्सुयाउने, धपधापाउने नगर्दा पनि पछि गएर यसको असर विभिन्न रूपमा देखिन सक्छ।
माथि दिइएका समस्या तपाईँहरू आफू सानो छँदा कतिको ब्यहोर्नुपरेको थियो? सी.डी.सी अनुसार प्रत्येक ६ जनामध्ये एकजना माथिका १० मध्ये ४ वा सोभन्दा बढी प्रतिकूल समस्याबाट गुज्रिएको पाइएको छ।
कोरोनाको अवस्थामा अझ यी समस्याहरू बढेको छ। जब यी प्रतिकूल अवस्था लामो समयसम्म रहन्छ, त्यसले विभिन्न रोग निम्त्याउँछ। ४ वा सो भन्दा बढी समस्याबाट गुज्रिएको व्यक्तिमा स्वासप्रश्वास सम्बन्धि समस्या ३ गुणा, कलेजोको समस्या २ गुणा, लागू पदार्थ दुर्व्यसनी (खास गरि सुई) ११ गुणा र आत्माहत्याको प्रयास १४ गुणा सम्म बढेको पाइएको छ।
त्यस्तै ६ वा सोभन्दा बढी प्रतिकुल अवस्थाबाट गुज्रिएका व्यक्तिको आयु सो किसिमको कुनै पनि अवस्थाबाट नगुज्रीएको व्यक्तिभन्दा २० वर्ष छोटो हुन्छ।
यस्ता किसिमका बाल्यकालका प्रतिकूल अवस्थाहरू पुस्तौपुस्तासम्म रहनसक्छ। अर्को भाषामा भन्ने हो भने यदि आमाबुवा सो अवस्थाबाट गुज्रिएका छन् भने त्यस्ता आमाबुवाले पनि सोही किसिमका बानी-ब्यबहार आफ्ना सन्तानमा लादेका हुन्छन्।
मदिरा दुर्व्यसनी, बढी आक्रामक ब्यवहार सबै बाल्यकालका प्रतिकूल असरका उपज हुनसक्छ।
माथिका नकारात्मक वातावरणले कलिलो उमेरमा जुन किसिमले दिमागको विकास हुनुपर्ने हो, त्यो हुन पाइउँदैन। अझ कोखमा रहेका बच्चाको दिमागसमेत राम्ररी हुर्कन समस्या हुन्छ। विभिन्न तनावको समयमा हाम्रो शरीरमा पैदा हुने हर्मोनले (स्ट्रेस हर्मोन) दिमागको वनावटका साथै दिमागमा भएका सुक्ष्म नशाको जडानलाईसमेत असर पुर्याउँछ।
माथि दिइएका दैनिक प्रतिकूल क्रियाकलाप एक किसिमले दुष्टचक्रमा घुमिरहन्छ। तर यस्ता चक्रलाई तोड्नै नसकिने भने होइन। परिवार, साथीभाइ अनि समाजको सहयोगबाट यसलाई पुरै हटाउन नसकिए पनि कम भने पक्कै गर्न सकिन्छ।
यसबाट गुज्रिसक्नुभएका अभिभावकले पनि यसको असर बालबच्चामा पर्नबाट बचाउन वा कम गर्न अभिभावकत्वको ज्ञान र कौशल्य बढाई बच्चाको सामाजिक अनि भावनात्मक स्वाथ्यमा ध्यान दिँदै अघि बढ्न सक्नुपर्छ।
यदि कोही व्यक्ति यस्ता प्रतिकूल अवस्थाबाट पीडित भएर यसका असरसँग जुझिरहनुभएको छ भने पनि केही हदसम्म यसलाई न्यूनिकरण भने गर्न सकिन्छ।
गाह्रो छ, तर असम्भव छैन।
ध्यान, योगा, कसरत, जीवनको उद्धेश्य, व्यक्तिगत समस्या समाधानका कौशल्यता, आत्म-नियमनका नीतिहरु अंगाल्दै साथीभाइ, आफन्तका सहयोगबाट यी समस्याको बन्धनबाट आफूलाई फुकाउन सकिन्छ।
आवश्यक परेमा स्वस्थ्यकर्मी, मनोचिकित्सकबाट सहयोग लिन नहिच्किचाउनु होला।
अन्त्यमा, माथिका प्रतिकूल अवस्था समाजमा सोचेभन्दा बढीनै ब्याप्त छ। यसबारे आफूलाई जानकार गर्नुहोला। अझ बढी बुझ्न अनि बुझाउन कोसिश गर्नुहोला र केही हदसम्म यसलाई घटाउन हात जुटाउनु होला।
तपाईँ हाम्रो सानो प्रयासले हाम्रा स-साना भाइ बहिनीका भविष्यलाई अझ बढी सहज अनि सुरिलो बनाउन हातेमालो गरौं।