दिनको २४ घन्टा समयमा कति समय सुतिन्छ: धेरैमा ८ घन्टा, बाँकीको समय कसरी बित्छ भनेर मलाई कसैले प्रश्न गर्यो भने मेरो मुखबाट एउटै उत्तर आउँछ 'सामाजिक सञ्जाल'।
बिहान घामको किरणसँगै सुरू हुन्छ परीक्षण। फेसबुक, मेसेन्जर, टिकटक, इन्स्टाग्राम, युट्युब, भाइबर आदिको।
मुख सफा गर्नु अगाडिको नित्य कर्म मोबाइल खोल्ने अनि सरर सबै सामाजिक सञ्जालका रूप परीक्षण गर्ने।
किन भन्ने शब्दको उत्तर मसँग कहिल्यै हुँदैन।
खाना खाएपछि, खाजापछि अनि साँझको खानापछि पुन: सबै रूपको परीक्षण त गर्नै पर्यो सामाजिक सञ्जालका।
यी कुरामा मोटामोटी बिहान, दिउँसो अनि साँझ गरेर करिब ५ घन्टा जति त बित्यो सामाजिक सञ्जालमै।
साथीले भनिदिन्छ यो फिल्म राम्रो छ, हेर्नै पर्यो। टिकटकमा यो भाइरल भाछ, जान्नै पर्यो। यो भिडिओमा बढी भ्यूज आका छन् - कस्तो रैछ त हेर्नै पर्यो। यी कुरा अतिरिक्त समय ( दैनिकी ५ घण्टाबाहेक) मा जोड्नुपर्यो।
यसरी हिसाब गर्दा महिनाको ७२० घन्टामा करिब २०० देखि २५० घन्टा जति सामाजिक सञ्जालमै जान्छ। अर्थात्, महिनाको एक तिहाइ समय सामाजिक सञ्जालको लागि।
मलाई भगवानले नै उमेरको एक तिहाइ उमेर सामाजिक सञ्जालमै भनेर छुट्टाएरै पठाएको जस्तो। यो मेरो दैनिकीको एउटा उदाहरण हो र अहिलेको समयमा यस्ता उदाहरण धेरै युवाका दैनिकी बनेका छन्।
सामाजिक सञ्जालको जालहरूको स्थापना भएको खासै धेरै समय भएको त छैन तर उपभोग चाहिँ चरममा पुगिसकेको छ।
सन् २००४ सालमा स्थापना भएको फेसबुकले ४ वर्षको बच्चालाई समेत आफ्नो बनायो। टिकटक त भर्खर २०१६ मा आएको थियो तर २०१६ भन्दा पछि जन्मेका बच्चा समेत भाइरल र लाइक शब्दले आफ्नो जिब्रोको शब्दभण्डार भर्न सफल भएका छन्।
हाम्रो मानसिकतामा ठूलो छाप नै बनाउन सफल भएका छन् सामाजिक सञ्जालका रूपहरू।
सामाजिक सञ्जालको बढ्दो प्रयोग अन्जानमा लतको रूपमा विकास भएको छ। राम्रा र नराम्रा दुबै कुराले भरिपूर्ण भएका यी रूपबिना अहिलेको समयमा आफू विकास हुन पनि गाह्रो नै पर्छ। यही कारणले नै यी सञ्जालको प्रयोगलाई नकार्न सजिलै सकिँदैन।
प्रयोग आवश्यकभन्दा पनि धेरै बढी भएकोले नै समस्या सिर्जना हुन पुगेको हो। उपयोगिताभन्दा खाली समयको सदुपयोगको रूपमा यी सञ्जालहरूको प्रयोग गर्ने बानी विकास भएकोले हाम्रो मानसिकता कब्जामा सामाजिक सञ्जालका माध्यम सफल भएका हुन्।
सामाजिक सञ्जालको प्रभाव यस्तो बनेको छ कि व्यक्तिले म सामाजिक सञ्जालको लतमा छु भनेर पत्तो नै पाउँदैन।
व्यक्तिको आफ्नोपन नै बिर्साउन सफल हुन्छन् यी।
यसको लतमा फसेपछि एउटा बालकले खेल्न बिर्सिन्छ, खान बिर्सिन्छ, विद्यार्थीले अध्ययन बिर्सिन्छ, काम गर्न हिँडेका कामदारले उत्कृष्ट कार्य सम्पन्न गर्न सक्दैनन्। व्यक्तिको सामाजिक विकासमा त यी माध्यमले ठूलो असर पारेका छन्।
सामाजिक कुरामा व्यक्तिको भौतिक उपस्थिति, घुलनशीलता जस्ता कुरामा व्यापक ह्रास ल्याउने प्रमुख कारण बनेको छ सामाजिक सञ्जाल। यसको चरम प्रयोगले व्यक्तिलाई भित्रभित्रै नजानिँदो डिप्रेसनको सिकार बनाएको छ।
यसरी बढ्दो अनावश्यक सामाजिक सञ्जालको प्रयोग घातक हुन पुगेको छ।
आधुनिक युगमा यी सञ्जालको महत्त्व पनि धेरै छ। विश्व घटनाहरूको जानकारी क्षणभरमै दिने यी माध्यम मानव-मानवबीच सम्पर्क बढाउने साधन, चेतना फैलाउने तथा विरोध व्यक्त गर्ने बाटो बनेका छन्।
बालबालिकादेखि वृद्धवृद्धा सबैको प्यारो बनेका सामाजिक सञ्जालका रूपहरू आर्थिक आयआर्जन गर्ने साधनदेखि लिएर कसैको पीडा भुलाउने किताब पनि बनेका छन्।
यी अनेकौं सकारात्मक पक्ष सामाजिक सञ्जालका हुँदाहुँदै पनि उचित प्रयोग हुन नसक्दा ठूलो समस्या सिर्जना हुन पुगेको हो।
सामाजिक सञ्जाललाई समुचित प्रयोग गर्न नसके निकट भविष्यमा यसका रूपहरू ठूलो समस्याका जड भएर देखा पर्न सक्छन्। समय कटाउने नभएर सामाजिक सञ्जाललाई ज्ञान आर्जन तथा अन्य सकारात्मक कुराहरूको साधन बनाउन सके यसको सदुपयोग पनि हुन्छ र सामाजिक सञ्जाल एक घातक लतको बढ्दो समस्या पनि न्यूनीकरण हुन्छ।