ड्युटी जाने तयारीमा जुत्ता लगाउँदै थिएँ, पछाडि टेबलमा बसेका रनेदाइले पिठ्युँमा कोट्याउँदै भने, ‘भोलि छुट्टी लिनु है दिपक, सपिङ जानु छ।’
उनले आग्रह गरेनन्, सिधै आदेश दिए।
मैले ‘नाइँ’ भन्न सकिनँ।
सपिङ भनेपछि बाँकी किन र केका लागि नसोधी ‘हस’ भन्ने उत्तर फर्काएर म काममा गएँ।
साहुसँग भोलि म काममा नआउने कुरा बताइदिएँ। उसले पनि ‘नाइँ’ भन्न सकेन।
सजिलै ‘हस’ भन्दियो।
उमेरले नेटो काटे पनि बिहे नगरेका रनेदाइ हाम्रो गाउँभन्दा अलि पर गाउँका एउटा सामान्य मान्छे हुन्।
भाग्य चम्काउन विद्यार्थी भिसामा अमेरिका आएका उनी अहिलेसम्म आफू चाहिँ राम्रैसँग चम्केका छन् तर बा-आमाको भाग्य त्यति चम्काउन सकेका छैनन्।
विद्यार्थी भिसा सकिएपछि बाध्य भएर ग्रीनकार्डको निम्ति असाइलम आवेदन दिएका रनेदाइ बिन्दास मान्छे हुन्। तर सात वर्षको अमेरिका बसाइँमा न ग्रीनकार्ड हात पारेका छन्, न त गाउँघरमा बा-आमालाई चम्काउन सकेका छन्।
बस! कमाऊँ अनि रमाऊँ कै रनभुल्लमा रनेदाइ परेपछि यता उनी बुढो हुँदैछन्, उता बा-आमा काल पर्खंदै छोरो फर्कने बाटो हेर्दैछन्।
रनेदाइको परिचय अहिलेलाई यति नै, बाँकी पढ्दै गर्दा आफैं चिन्नुहोला।
छुट्टीको दिन बिहानै रनेदाइले मलाई बिस्तरामै उठाउन आइपुगे। उनले मेरो ब्ल्यांकेट पन्छाउँदै भने,‘छिटो उठ न बे, एप्पल स्टोर जाने हो। दिउँसो भिड हुन्छ, छिटो गर।’
आफ्ना लागि अस्ति भर्खर आइफोनको पछिल्लो मोडेल किनिसकेका रनेदाइले एप्पल स्टोरमा गएर फेरि के किन्ने हुन्?
म एकछिन सोच्न बाध्य भएँ, त्यतिन्जेलसम्म रनेदाइ आफ्नो कोठामा गैसकेका थिए, म उठेर बाथरूम छिरेँ ।
रनेदाइलाई सपिङ गर्न तलब बुझ्नुपर्दैन, या भनौं गोजीमा दाम भएपछि मात्र उनी सपिङबारे सोच्दैनन्। दुइटा बैंकका क्रेडिट कार्ड बोक्ने रनेदाइ आफूलाई मन परेको वस्तु तुरून्तै किन्छन् अनि कमाउँदै तिर्छन्।
रनेदाइको जस्तै बानी अमेरिकामा बस्ने धेरैजसो व्यक्तिहरूमा हुन्छ किनकि यहाँ ‘पहिला खर्च गर अनि कमाउँदै तिर’ भन्ने नियम बैंकहरूले सजिलै दिन्छन्।
तर घर व्यवहार सोच्ने अनि ठूला सपना बुनेर अमेरिका आउनेहरू हैसियतभन्दा माथि उठेर कहिल्यै खर्च गर्दैनन्।
रनेदाइ जस्तो खर्चालु अलि कमै हुन्छन्।
हामी तयार भएर एप्पल स्टोर गयौं।
रनेदाइले आफ्नो जस्तै एउटा आइफोन किने, त्यसमा लाग्ने एयरबड किने अनि एउटा एप्पलकै स्मार्ट वाच पनि किने।
क्रेडिट कार्डबाट पैसा तिर्दै उनले भने, ‘पर्सि नेपाल पठाउने हो, कसैलाई नभनेस्।’
‘कसैलाई मतलब ?’ मैले प्रतिप्रश्न गरेँ ।
‘रूमका अरू केटाहरूलाई बे, तैंले कसैलाई भन्दैनस् भनेर विश्वास गरेको छु’ उनले अलि डराएको पारामा भने।
मैले बुझेको पारामा टाउको हल्लाउँदै भनें, ‘हस!’
‘पर्सि को जाँदैछ नेपाल? अनि कस्लाई हो दाइ यो मोबाइल?’ मैले रनेदाइलाई प्रश्न गरें।
उनले खिस्स हाँस्दै भने, ‘तेरो हुनेवाला भाउजूलाई हो, कसैलाई नभनेस्! बुझिस्।’
मैले कुन भाउजू भन्ने बुझिनँ। उनी जतिसँग कुरा गर्छन्, सबैलाई मेरो भाउजू भन्दै चिनाउँछन्।
‘कुन ? विराटनगर वाला भाउजू?’ मैले प्रश्न गरें।
रनेदाइले नाक खुम्च्याउँदै भने, ‘छ्या! त्यो त टाइमपास हो बे, बुटोल कि भाउजूलाई हो। बिर्सिस?’
रनेदाइको सम्पर्कमा आएका जम्मैसँग मेरो भाउजू नाता लगाइदिन्छन्, अझ भनौं रनेदाइ आफैं भाउजू भन्दै चिनाउँछन्। विराटनगरवाली पनि त्यस्तै भाउजू थिइन्।
तीन दिनअघि बियरको चुस्की लगाउँदै गफमा मस्त भएका रनेदाइले मोबाइलको क्यामेरा मतर्फ फर्काउँदै भनेका थिए, ‘ल तिम्रो हुनेवाला देवरसँग गफ गर।’
मैले भाउजू नमस्कार भन्दै गफिएकी ती अपरिचित भाउजू को थिइन् थाहा छैन तर तिन्लाई म विराटनगरकी भाउजू भनेर चिन्छु।
जो एक महिना अघिदेखि रनेदाइसँग फेसबुकमार्फत सम्पर्कमा थिइन्।
रनेदाइको ‘छ्या’ भन्ने शब्दले थाहा भयो, विराटनगरवाली भाउजू भुपू भाउजू भैसकिछन्। यस्ता भाउजू त रनेदाइको जीवनमा कति आए कति गए, कस्ले हिसाब राखोस्।
बुटवल वाली भाउजू भनेपछि मलाई नाम सम्झनै पाँच मिनेट लाग्यो। झ्याप्प दिमागमा नाम आएपछि सोधें ‘नन्दिता?’
‘चुप लाग साले, त्योसँग ब्रेकअप भाको वर्ष दिन भैसको। रियालाई बिर्सिस?’ रनेदाइले पार्किङमा भएको गाडीको ढोका खोल्दै मलाई झपारे।
‘एउटी भए पो सम्झनु दाजी, हजुरका प्रत्येक महिना फेरिन्छन्। कतिलाई याद गर्नु।’ मैले रनेदाइको हौसला बुलन्द गर्दिएँ।
दाइ मख्ख परे।
भनेपछि आजको सपिङ रियाको निम्ति रहेछ, ऊ पनि कति दिनकी भाउजू हो मेरी? सायद यही गिफ्ट हात नपर्दासम्मकी होली, हात परेको भोलिपल्टै ऊ पनि भूपू भैसक्छे होला।
गुल्मीतिरकी रिया बुटवल बसेर स्टाफ नर्स पढदैछे सायद।
रनेदाइले टिकटकमा भेटेर मन पराएका, आजभोलि मज्जाको लभ चलेको रैछ। नत्र लाखौंको सपिङ किन हुन्थ्यो?
हामी घरतर्फ सोझियौं। दिउँसोको १२ बज्दै थियो। रनेदाइको मोबाइलमा फोन आयो।
‘साहुको होला, काटिदे।’ रनेदाइले गाडी चलाउँदै गर्दा मलाई भने।
गियरनिर चार्जमा घुसाइएको मोबाइलको स्क्रिनमा हेरें, आमा कलिङ लेखेको थियो।
मैले फोन उचालेर रनेदाइलाई दिँदै भने, ‘घरबाट आमा!’
उनी रिसाउँदै भने, ‘सुड्डीले राति किन फोन गर्चिन् यार, उता राख। नउठा।’
पूरै घण्टी सकियो, फेरि उस्तै गरेर लगातार घण्टी बज्न थालेपछि मलाई चुप लाग्ने इसारा गर्दै रनेदाइले फोन उठाए।
फोन गाडीको ब्लुटुथ कनेक्टिङमा रहेछ।
‘बाबु!’ आमाले बिरामी स्वरमा मायालु पाराले सम्बोधन गर्नुभयो।
‘अँ भन्नुस् आमा, किन हो नसुत्या यतिन्जेलसम्म?’ रनेदाइ हल्का झर्किएको स्वरमा बोले।
‘मलाई अलि सञ्चो छैन। तेरा बा पनि खास्सै ठिक छैनन्, खोकी लागिरहन्छ। आउने आइतबार अस्पताल जाने कि भन्ने सोच्दैछौं, अलिकति खर्च हाल्दिन्छस् कि भनेर हो।’आमाले आर्थिक अभावको समस्या देखाउनुभयो।
रनेदाइले मतिर हेर्दै अनुहार बिगारे, अनि आमालाई भने ‘काम नगरेको दुई महिना भयो, म आफैं कसरी बाँच्या छु भन्ने चिन्ता छैन नि? बाको पेन्सनको पैसा होला त ? त्यसैले गर्नुस्। काममा लागेपछि हाल्दिम्ला।’
भर्खर सपिङ गरेको सामान नेपाली रुपैयाँमा तुलना गर्दा लगभग ढाई लाखको थियो। आमासँग चाहिँ दुई महिनादेखि काम छैन, पैसा छैन भनेको सुन्दा छक्क परें।
आमाले लामो सुस्केरा हाल्दै भन्नुभो, ‘ठिकै छ बाबु, भएपछि हाल्देस्। कोरोना जातिबिती बढ्या छ रे, आफ्नो स्वास्थ्यको ख्याल गरेस्।’
रनेदाइले ‘हस’ पनि नभनी फोन काटे।
म ट्वाँ पर्दै रनेदाइलाई हेरिरहें, उनले आफैं मुख खोले, ‘एउटा छोरो हुनु पनि बहुत तनाव हो यार। अलिकति रूघाखोकी लाग्नु हुँदैन, पैसा चाइयो भनिहाल्छन्। दुई तीन भाइ भए म एक्लैलाई सुन्नु त पर्दैनथ्यो।’
रनेदाइले केटीका लागि किनेको सामान मेरो हातमा थियो। पछाडिको सिटमा मिल्काउँदै सोधें, ‘बा-आमाले औषधि गर्ने पैसा माग्दा छैन भन्नुन्च, तरुनिलाई चैं यत्रो सामान! तैट , दाइ पनि।’
रनेदाइले रिसाउँदै भने, ‘चुप लाग मूला, पर्सि के हो थाहा छ तलाई?’
‘एक जना दाइ नेपाल जाने दिन!’ मैले सोझो उत्तर दिएँ।
‘त्यो त भैगो नि, अरू कुनै विशेष दिन होला। मोबाइलको हाम्रो पात्रोमा हेर, फेब्रुअरी चौधमा कुन दिन पर्छ।’ रनेदाइले मलाई सिकाउँदै भने।
मैले मोबाइलको स्क्रिन अन गरें, हाम्रो पात्रो एपमा टच गरेर फेब्रुअरी चौध हेरें । भ्यालेन्टाइन डे रहेछ।
‘अनि के भो त ? जाबो भ्यालेन्टाइन डे भन्दैमा नदेखेको, नभेटेको केटीको निम्ति यत्रो खर्च?’ म पनि रिसाएँ यो पालि।
‘प्रेम गर्नेहरूलाई थाहा छ बाबु, भ्यालेन्टाइन डेको अर्थ। त मूला जोइटिङ्ग्रेलाई के थाहा!’ रनेदाइले प्रेमको परिभाषा दिन थाले।
बा-आमा बिरामी भएर बिस्तराबाटै फोन गर्दा समेत नगल्ने रनेदाइले कुन खालको प्रेम बुझेका रैछन् भनेर एकछिन अचम्म परें।
आमाले गरेको प्रेम रनेदाइले देखेनन्, बाको अवस्थामाथि रनेदाइलाई प्रेम भएन। तर भ्यालेन्टाइन डे चाहिँ प्रेम गर्नेहरूको दिन हो अथवा प्रेम दिवस हो भन्दै भट्याइरहे, मैले सुनिरहें।
अचम्मको छ दुनियाँ! आमालाई औषधि किन्ने पैसा छैन, प्रेमिकालाई भ्यालेन्टाइन गिफ्ट! थुक्क आधुनिक जमाना!
रनेदाइसँगको मित्रता र सामिप्यता त्यति ठिक लागेन मलाई, उनी मेरो नजरबाट गिर्दै गए।