प्रेमको कुनै भूगोल हुँदैन। प्रेमको कुनै सीमा हुँदैन। प्रेमको कुनै जात र सीमा हुँदैन। प्रेम सर्वव्यापी हुन्छ। प्रेम शान्त हुन्छ, नि:स्वार्थ हुन्छ, त्याग, बलिदान र समर्पणले भरिएको हुन्छ।
अंग्रेजी वर्षको फेब्रुअरी महिनालाई धेरैले प्रेम महिनाका रूपमा मनाउने गर्छन्। अझ विशेषगरी अविवाहित केटाकेटीहरूले आफूलाई मनपर्ने व्यक्तिलाई फूल, चकलेट, खेलौना लगायतका सामग्री दिएर मन पराएको जानकारी गराउने पनि गर्छन्। जसबाट एक आपसी माया थप प्रगाढ हुने र कोही व्यक्तिले आफूलाई मन पराइरहेको जानकारी पनि हुनेगर्छ। नेपालमा पनि पछिल्लो समय प्रेम दिवसलाई मनाउने प्रचलन बढेको छ।
पहिलाको समयमा लुकलुकी माया पिरतीका कुरा गर्ने, भेट्ने गरे पनि पछिल्लो पुस्ता भने आफूलाई मन परेको साथीसँग खुलेरै भेटघाट गर्ने र कुराकानी गर्ने गर्छन्। जसले पछिल्लो पुस्ताको सोचाइमा धेरै रूपान्तरण भएको बुझ्न सकिन्छ।
कुनै समय केटाकेटीसँगै हिँड्न, बस्न, खान र बोल्न नहुने भन्ने संकीर्ण सोचाइबाट गुज्रिँदै आएको नेपाली समाजमा यो खालको परिवर्तन देखिनु पनि ठूलै उपलब्धि हो। विज्ञान र प्रविधिको क्षेत्रलाई पछ्याउने मात्रै होइन, पश्चिमा संस्कार संस्कृतिको अनुशरण गर्ने विषयमा पनि नेपाल निकै अघि बढिसकेको छ। जसले गर्दा अचेलका युवायुवतीहरू खुलेर प्रेमका विषयमा कुरा गर्न सक्ने भएका छन्। आफूलाई मन परेका मान्छेसँग खुलेरै प्रेम प्रस्ताव राख्न सक्छन्।
प्रेम के हो?
प्रेमलाई धेरै आफ्नै किसिमले व्याख्या गरेको पाइन्छ। पूर्वीय दर्शनका वेद, गीतादेखि पश्चिमा दर्शनका बाइबल, बुद्धको दर्शन लगायतले आफ्नै किसिमले व्याख्या गरेका छन्। त्यसैगरी साहित्य अनुरागी, चिन्तक, विश्लेषक समालोचक लगायतले प्रेमलाई आफ्नै किसिमले परिभाषित गर्दै आएको पाइन्छ।
चर्चित अहिंसावादी नेता महात्मा गान्धी भन्छन्, प्रेमले बलिदान सिकाउँछ हिसाब सिकाउँदैन, प्रेमले मस्तिष्कलाई होइन, हृदयलाई छुन्छ। उनले भनेजस्तै मानिस जब मस्तिष्कबाट नभई हृदयबाट सञ्चालित हुन्छ, त्यसपछि उसको पाषण हृदय पनि पग्लिन्छ, उसको प्रेमिल मनले त्याग, समर्पण र मायाबाहेक देख्नै सक्दैन।
ब्राजिलका चर्चित लेखक पाउलो कोहेल्लो भन्छन्, प्रेम भनेको एक शब्द हो जसलाई बुझ्नु आवश्यक छैन। उनको यो भनाइबाट प्रष्ट बुझिन्छ, प्रेमलाई परिभाषित गर्ने कुनै शब्द नै छैन, यो आफैंमा महान छ। मानिस जति नै क्रान्तिकारी, परिवर्तनशील र आतंककारी भए पनि अन्तिम सत्य भनेको प्रेम नै हो, शान्ति र सद्भाव नै हो।
किन मनाइन्छ प्रेम दिवस ?
अंग्रेजी क्यालेन्डर अनुसार १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई सम्झेर प्रेम दिवस मनाउने गरिन्छ। चर्चित भ्यालेन्टाइनको प्रेमकथा यस्तो छ:
तेस्रो शताब्दीतिर रोममा एक शासक थिए, जसलाई क्लोडियस भनेर चिनिन्थ्यो। ती शासकको मान्यता थियो, जब बिहे गरिन्छ पुरूषको शक्ति र बुद्धि नष्ट हुन्छ। त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन।’
तर, सन्त भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन। उनले यसबारे खुलेरै विरोध गरे र सबैलाई बिहे गर्नका लागि उक्साए। उनको उक्साहटमा लागेर केही अधिकारी र सैनिकले विवाह पनि गरे।
जब क्लोडियसलाई सन्त भ्यालेन्टाइनले आफ्नो मान्यताविपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरे भन्ने जानकारी भयो, त्यसपछि उनले भ्यालेन्टाइनलाई बन्दी बनाउने आदेश जारी गरे। उनलाई कालकोठरीमा बन्दी बनाइयो। उनलाई यही गल्ती स्वरूप फाँसी दिने निर्णय भयो। फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे। र त्यसको मुनि लेखे, ‘फ्रम योर भ्यालेन्टाइन।’
यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईंकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनु।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिए। सोही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरूले प्रणय दिवस मनाउन सुरू गरेका हुन्। प्रेमका लागि फाँसीको रस्सीमा झुण्डिएका भ्यालेन्टाइनप्रति धेरैले सद्भाव समेत प्रकट गरेको पाइन्छ।
उनको समर्पणपछि विभिन्न तरिकाले प्रेम दिवस मनाउँदै आएको पाइन्छ।
कतिपयले प्रेमी–प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदानप्रदान गर्ने गर्थे भने कतिपयले रेडिमेट कार्डमा सिम्बोल बनाएर एकअर्कालाई प्रदान गर्दै आएको पाइन्छ।
कतिपयले रगतले नाम लेखाउने, प्रेमीप्रेमिकाको नाममा ट्याटु खोप्ने गरेको पाइन्छ। अझ पछिल्लो समय त प्रेम दिवसलाई सप्ताहब्यापी मनाउने गरिन्छ। प्रणय दिवसको सुरूआत रोज डेबाट सुरू हुन्छ। गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा प्रणय दिवस मनाउन चलन बढेको छ। यो फेब्रुअरी ७ बाट सुरू हुन्छ।
अहिले साताव्यापी रूपमा यो पर्व मनाइन्छ। यसको सुरूआत रोज डेबाट सुरू हुन्छ। हुनत, कसैप्रति माया दर्शाउन कुनै दिवसको आवश्यकता नै पर्दैन। माया गर्ने मान्छेको याद हरपल, हरक्षण र हरसमय आइरहेकै हुन्छ। तर पनि यस्ता दिनहरूले भने प्रेमिल जोडीहरूबीचको माया थप प्रगाढ हुने विश्वास गरेको पाइन्छ।
एक-अर्कालाई पाउनु नै प्रेम हो त?
प्रेम भनेको एकले अर्कालाई पाउनु हो भनेर धेरै भन्ने गरेका छन्। तर, कतिपयले कुनै वस्तु, व्यक्ति वा सजीव प्राणी वा निर्जीव साधनप्रतिको स्नेह, सम्मान र मायालाई प्रेम हो भनेर भनिरहेका हुन्छन्। अझ पछिल्लो समय त धेरै व्यक्तिहरू आफूले भनेको केटा वा केटी नपाएको भन्दै आत्महत्या गरेका घटना पनि धेरै बाहिर आउने गरेका छन्।
यसै विषयमा फ्रेन्चका लेखक जूलियो कर्त्ताजार भन्छन्, ‘र मैले भन्नुपर्दछ कि म तिमीलाई पूर्ण रूपमा विश्वास गर्छु। कि म तिमीलाई कहिल्यै भुल्ने छैन, र यदि मैले प्रेम गरेँ भने म सफल हुने छैन। कि म तिमीलाई हेर्न मन पराउँछु र टाढाबाट तिमीलाई हेरेर म तिमीलाई आफैं बनाउँछु। जुन म तिम्रो मोललाई माया गर्छु र तिम्रो छाती मेरो लागि स्वर्ग जस्तो देखिन्छ। कि तिमी मेरो जीवन, न मेरो दिनहरू, न मेरो क्षणको प्रेम थियो। तर मैले तिमीलाई माया गरें, यद्यपि हामी नहुने लक्ष्यमा छौं।’
उनले विशेषगरी मायालाई केही पाउने गुमाउनेसँग भन्दा पनि आफूले केही नपाउने सर्तमा माया गरेका छन्। उनी कल्पनाको संसारमा आफूले माया गरेको मान्छेसँग डुबिरहेका छन्। यसले के बुझाउँछ भने माया गर्नुको अन्तिम उद्देश्य भनेको प्राप्ति अर्थात् विवाह मात्रै होइन, कोही व्यक्तिप्रतिको प्रेम त त्यत्तिन्जेलसम्म हुन्छ जतिबेलासम्म मानिस जीवित हुन्छ।
अझ अध्यात्म विज्ञानले त आत्मिक प्रेमबारे पनि चर्चा गरेको पाइन्छ, मानिसले देह त्याग गरे पनि दुईआत्माबीचको प्रेमिल हुनसक्छ भनिएको पाइन्छ । त्यही विश्वासका साथ कतिपयले अर्को जन्ममा भेट्ने, सयौँ जुनसम्मसँगै बाँच्ने कसम पनि खाइरहेका हुन्छन्।
खैर, अर्को जन्मसम्म प्रेम गर्ने कुरा सत्य वा झूटो जे भए पनि प्राप्तिकै लागि प्रेम गर्नु भनेको गलत हो।
कतिपयले भने अर्को व्यक्ति आफूप्रति आकर्षित छ वा छैन उसले आफूलाई प्रेम गर्छ वा गर्दैन नसोची प्रेम प्रस्ताव राख्ने गर्छन्। अनि सकारात्मक प्रतिक्रिया नआउँदा निराश भएर डिप्रेसनको सिकार बनेको उदाहरण पनि थुप्रै छन्।
तसर्थ, कसैलाई प्रस्ताव राख्नुपूर्व उसको मनस्थिती बुझेर अघि बढ्ने हो भने यस्ता खालका समस्या नआउने प्रष्ट देखिन्छ। कसैको शारीरिक सुन्दरता, पद, प्रतिष्ठा, पैसा वा मर्यादा देखेर गरिएको प्रेमले जीवनमा थुप्रै संकट ल्याउने गरेको पाइन्छ।
तसर्थ, कसैलाई स्वीकार गर्दा गुणमात्रै नभई अवगुण पक्षलाई पनि स्वीकार गर्ने हो भने प्रेम जीवनमा आउने समस्याबाट छुटकारा मिल्न सक्छ।
प्रेममा जब अपेक्षा, आशा र प्राप्तिका कुरा आउन थाल्छन् तब मानिसको सम्बन्ध विस्तारै युद्धमा परिणत हुन्छ र अन्तत त्यो प्रेम टुट्छ। तसर्थ पनि के बुझिन्छ भने प्रेमलाई प्राप्तिसँग होइन, त्याग, समर्पण र बलिदानसँग जोड्नुपर्छ।
स्वार्थरहित प्रेम दीगो हुन्छ भने स्वार्थसहित गरिएको प्रेम अस्थायी हुन्छ, ढिला चाँडो टुट्छ। तसर्थ, पनि भ्यालेन्टाइनको प्रेम विश्वभरि चर्चित बनेको हो।