मेरो एउटा नराम्रो बानी के छ भने समोसा खाँदा त्यसको बाहिरको आवरण मात्र खाने।
यसो गर्दा भित्रको आलु, केराउ, बदाम, प्याजमात्र होइन समोसा बनाउने मान्छेको मेहनत पनि खेर गएन त?
अनि समोसाको लागि मैले तिरेको मूल्य पनि त खेर गयो।
यसो सोचेर हेर्दा समोसा खाने मेरो तरिका र शीर्षकमात्र पढेर पूरै लेखको अनुमान गर्ने पाठकहरूको तरिका उस्तै लाग्यो मलाई।
अस्ति भर्खरै सुन्तला बेच्न एउटा ठेला मेरो घर नजिकै आयो।
म सुन्तला किन्न बाहिर पुगेँ।
दुईथरि सुन्तला थिए ठेलामा। एक थरीको बोक्रा हेर्दा अलि सर्लक्क थिएनन्, सानासाना पनि थिए। अर्कोथरी हेर्दा सर्लक्क सफा ताजाजस्तै। त्यो ताजा चाहिँको मूल्य अर्को भन्दा १० रुपैयाँ महंगो रहेछ।
मैले सोधें- मिठो कुन छ?
व्यापारीले जवाफ दियो- अब नढाँटी भन्ने हो भने त म्याडम, मिठो त यो सानो वाला छ, तर बाहिरबाट हेर्दा जुन राम्रो देख्छ त्यही नै महंगोमा बिक्छ।
मैले अंग्रेजीको एउटा टुक्का सम्झिन पुगें र बिस्तारै बोलें- डन्ट जज अ बुक बाइ इट्स कभर।
‘के भन्नुभएको म्याडम?’ ठेलावालाले सोध्यो।
‘एह्! केही होइन, डन्ट जज अ सुन्तला बाइ इट्स बोक्रा भनेको’। उसले बुझ्यो या बुझेन तर मुसुक्क हाँस्यो।
मैले त्यो सानो, नराम्रो बोक्रा भएको सुन्तला किनें।
सुन्तला साँच्चै नै मिठो थियो। त्यतिबेला पनि मलाई झल्याँस्स ती पाठकहरूको सम्झना आयो जसले भित्रको सन्दर्भ नबुझिकन शीर्षक पढेर अनेकौं टिप्पणी गर्छन्। फलफूलको बोक्रा मात्र हेरेर अनुमान लगाउने हाम्रो तरिका र शीर्षकबाटै पूरै लेखको अनुमान लगाउने उनीहरूको तरिका ठ्याक्कै उस्तै लाग्यो।
भोलिपल्ट पनि त्यो ठेला सुन्तला बेच्दै आयो।
मैले सोचें, ‘हिजोको सुन्तला मिठो थियो धन्यवाद दिनुपर्छ उसलाई। तर फेरि किन भन्नु धन्यवाद? फेरि उसले भाउ बढाउँछ, ब्यर्थै किन मख्ख पार्नु उसलाई?’ भन्ने अहमताले मेरा पाइला त्यही रोकिदिन्छ।
त्यतिबेला मैले त्यस्ता पाठक वा आफन्त अनि चिनेजानेका व्यक्तिलाई सम्झिन्छु, जसले अरूको प्रशंसा गर्न सक्दैनन्।
मन परे पनि ओहो कस्तो राम्रो भनेर भन्नको लागि उनीहरूको अहमताले दिँदैन।
‘किन मख्ख पार्नु?’ भन्ने सोचले जितेरै छोड्छ। तर आलोचना गर्ने ठाउँ पाए भने कति छिटो अगाडि सर्छन्।
अनलाइनमा प्रकाशित लेखहरूकै कुरा गर्नुपर्दा, नकारात्मक टिप्पणी गर्न मान्छेहरू जति चासो र समय खर्चिन्छन् नि त्यति समय खर्चेर त्यो पूरा लेख पढ्न चाहँदैनन्। केही दिन अगाडि प्रकाशित मेरो एउटा आर्टिकलको कमेन्ट सेक्सनमा सयभन्दा बढी नकारात्मक कमेन्ट थिए। करिब ७० हजार जनाले सेयर गरेका त्यो लेखमा बाहिरी कमेन्टहरू एकदमै नकारात्मक थिए।
एक जना मेरो चिनजानका आफन्तले मलाई ती कमेन्टको स्क्रिनसट गरेर पठाए।
‘ओहो! हेर त कमेन्टहरू? के हो यस्तो?’
मैले सोधें- तपाईंले पूरै लेख पढ्नुभयो?’
‘अहँ भ्याएको छैन नि लेख पढ्न त, म त कमेन्ट हेरेरै रनभुल्ल भएछु’ कतिसम्म गाली गरेका हेर त।’
जवाफ सुनेर म हाँसें।
कमेन्ट पढेर, स्क्रिनसट गरेर मलाई पठाउन भ्याउनेले लेख पढ्न नभ्याएको सुनेर झण्डै मुर्छा परिनँ म।
‘म बाहिरी कमेन्ट हेरेर बस्दिनँ महासय! मलाई त्यसले केही फरक पर्दैन’ मैले पनि अलि 'मै हुँ' भन्ने तरिकाले जवाफ दिएँ।
मननयोग्य टिप्पणी र असली कमेन्ट त भित्र हुन्छन्। ब्लग खोलेर पढिसकेपछि ब्लगको तलपट्टि एउटा कमेन्ट सेक्सन हुन्छ। जसले आफ्नो तर्क त्यहाँ उल्लेख गरेका हुन्छन् नि, ती हुन् असली पाठकका कमेन्ट।
म खुसी यो कुरामा थिएँ कि ब्लगभित्र आएका कमेन्टहरू थोरै अवश्य थिए तर सबै सकारात्मक थिए।
हामी मनुष्यहरूमा यतिसम्म नकारात्मकता छ कि एउटाले नराम्रो लेख्छ, अनि त्यसैलाई पछ्याउँदै हो मा हो मिलाउँदै अरूले पनि लेखकलाई गाली गर्छौं।
लेखाइमा गाली गर्ने कुनै ठाउँ भेटिएन भने लेखकको फोटोलाई भए पनि नकारात्मक टिप्पणीमा सामेल गर्न छोड्दैनौं। यसरी नकारात्मक टिप्पणी गर्नेहरूको एउटा जमात नै खडा हुन्छ। अनि अर्को जमात हुन्छ 'म त कमेन्ट हेर्न आएको है' भन्ने।
तपाईंहरूलाई यति पढिरहँदा लाग्न सक्छ 'के आलोचना गर्न पनि नपाउने? तिमीले लेखेको कुरा हामीलाई पनि मनपर्नै पर्छ र? हाम्लाई मन नपरेको कुराको टिप्पणी गर्न किन नपाउने'? भनेर।
आलोचना गर्न अवश्य पाउनुपर्छ। लेखकले पाठकका प्रशंसासँगै आलोचनालाई पनि आत्मसात गर्न सक्नुपर्छ।
आलोचना र सुझावलाई मनन गर्दै सुधार गर्नेतर्फ पनि लाग्नुपर्छ। तर ती आलोचना पूरै लेख पढिसकेपछि गरिएका हुन् या शीर्षकमात्र हेरेर रमाइलोको लागि गरिएका हुन् त्यो बुझ्नु आवश्यक हुन्छ।
रमाइलोको लागि गरिएका आलोचना, गाली गलौजबाट हतोत्साहित भएर लेख्नै छोड्ने त गर्नुभएन नि!
कतिपय अवस्थामा भने पाठकहरूलाई मात्र दोष दिन सक्दिनँ म। छ्यापछ्याप्ती खोलिएका युट्युब च्यानल अनि कतिपय अनलाइन साइटहरूमा प्रकाशित लेखका शीर्षकको कुरा गरी साध्य छैन।
चकलेटको खोलभित्र ढुंगा राखेर साथीलाई झुक्याएको बालापन सम्झना दिलाउँछन् मलाइ तिनले।
शीर्षक र समाचार बीचमा गोरू बेचेको जत्तिको सम्बन्ध पनि हुँदैन। जबरजस्ती नकारात्मक शीर्षक दिइएको हुन्छ। सकारात्मकभन्दा नकारात्मक कुरा छिट्टै मान्छेको नजरमा पर्छ।
नकारात्मक कुरामा मान्छेको चासो पनि बढ्ता हुन्छ अनि त्यसमा नकारात्मक कमेन्टहरूको ओइरो लाग्छ। जति कमेन्ट त्यति पोस्ट हाइलाइट, जति हाइलाइट त्यति भ्यूज। यसरी झुक्याउँदा उसको विश्वसनीयता र स्तरीयता कहिलेसम्म जीवित रहँला।
आज ढुंगा राखेर चकलेट दिनेले भोलि साँच्चिकै चकलेट दिए पनि लिनेले विश्वास गर्ला त?
यसरी नकारात्मकता दिनदिनै फैलिँदै गएको छ। यसलाई फैलाउनमा जिम्मेवार को त? ती नकारात्मक सोच भएका पाठक/भ्यूअर्सहरू? या तिनैको बुइँ चढेर आफ्नो पेजलाई हाइलाइट गर्न चाहनेहरू? यसको उत्तर मान्छे अनुसार फरक-फरक आउला।
तर यहाँनिर मेरो व्यक्तिगत तर्क राख्दा, नकारात्मक तरिकाले हेर्ने बानी परेको मान्छेलाई ज्ञान र ध्यानको आवश्यकता छ। उसको नकारात्मक विचार हटाउन कसैले सक्दैन। यसको जिम्मेवार ऊ आफैं हो। जतिसुकै राम्रो कुरालाई पनि बांगोटिंगो दृष्टिले हेर्नु उसको रोग भइसकेको छ। र, यस्तो रोग भएका हजार जना पाठक कमाउनु भन्दा सकारात्मक सोच भएका चार जना सद्धे पाठक कमाउनुमा लेखकले आफ्नो उपलब्धि मान्नु उचित हुन्छ।