वि.स. २०६० सालI जेठ महिनाको अन्त्यतिरI अछाम साँफेबगरI पहाड भए पनि तराईझैं अचाक्ली गर्मी थियोI त्यसैले स्कुल बिहानै लाग्थ्योI घरबाट स्कुल नजिक थिएनI टाढा पनि थिएनI स्कुलबाट करिब २०-२५ मिनेटको उकालो उक्लेपछि हाम्रो गाउँ आइपुग्छI
कुन गाउँ ?
ठीगांलगाउँ,कालीमाटी I
त्यो दिन म स्कुल (श्री सूर्य चन्द्र मा. वि )बाट घर फर्किदै थिएँI गडी खोलाको उकालो चढ्दा तिर्खाले मेरा ओठमुख सुकिसकेका थिएI अन्य सहपाठीहरू कोही अगाडि गइसकेका थिए भने कोही दहखेत जाने बाटोमा छुट्टिएका थिएI गर्मी अधर्मी भैसकेको थियो I उफ्.. I
पारि बयलपाटाका पिपलका पातहरू नाचिरहेका देखिन्थेI वारि माथिल्लो पिपल उक्त नृत्य चुपचाप हेरिरहेको थियोI वास्तवमा, बुढीगंगा वारि र पारि सूर्यले भेदभाव गर्दै थियोI
मेरो चेहेरा ओखलमा धान कुटेर आएको जस्तो थियोI त्यसैले, पानी पिउन गाउँको पल्लो धारोमा गएँI दुई जना अपरिचित मंगोलियन मुहार धारोमा खासखुस गर्दै थिएI मैले उनीहरूलाई सरसर्ती हेरेंI यसअघि गाउँमा कहिल्यै पनि देखेको थिइनँ I एउटाको चिम्से आँखा, थेप्चे नाक र लामो कपाल अनि अर्काको शिरमा क्याप, गालामा सानो डण्डीफोर र यु.एस आर्मी लेखेको टि-सर्टI झट्ट हेर्दा अनुहार उस्तै-उस्तैI नासपती र मेल जस्तैI
कपालधारी युवासँग आँखा जुध्योI उनी मुसुक्क हाँसेI उसको आँखाले मसँग केही बोल्न खोज्दै थियोI मैले भाषा बुझिनँI बुझ्दै बुझिनँ I उत्निखेरै, मैले आफ्नो आँखा यु.एस. आर्मीतिर चिप्लाइदिएँI ऊ चाहिँ हाँसेनI फगत, आफूले लगाएको टिसर्ट खोलेर धारोमा धुन थाल्योI
मलाई उनीहरूको नजिक जान मन लागेन। पानी प्यास पनि एकाएक हराएर गयो। कताकता डर लागेर आयोI डराउनुको पनि कारण त छ नि!
के ?
द्वन्द्वकालको समय थियोI
कहिलेकाहीँ गल्ती नगर्दा पनि लाग्ने रहेछI
के ?
‘डर ...हाइपोथेटिकल फियर’
त्यसताका माओवादीको बिगबिगी थियोI समय त्रासदीमय थियोI मान्छेहरू त्रसित थिएI वि.स.२०५८ साल फागुन ४ गतेको मंगलसेन र साँफे घटना अझै सेलाइसकेको थिएनI गाउँ सुनसान थियो, माघको बुढीगंगाजस्तोI गाउँ चुपचाप थियो, गौरा सेलाउने सालको रूखजस्तोI
हो, त्यसै समयमा म टीकापुरबाट अछाम पुगेको थिएँI माओवादी खुल्लमखुल्ला गाउँ-गाउँमा निस्किन थालिसकेका थिएI जसरी मौरीहरू आफ्नो घाराबाट निस्किन्छन्I
त्यसपछि, म उनीहरूलाई छल्दै धाराबाट सरासर घर गएँI
तामाको घडा (गाग्री)बाट लोटामा पानी सारेर पिएँI मन शान्त भयोI दिदी (शान्ति जोशी) स्कुलबाट घर फर्किसक्नु भएको रहेछI दिदीलाई दुई जना माओवादी पल्लो धारामा नुहाउँदै गरेको सुनाएँI दिदी फगत हाँसिन् मात्रI मैले दिदीको हाँसो बुझ्न सकिनँI
***
गाउँमा गुलैचीका फूल मुस्कुराउन थालिसकेका थिए। आरू बखडाले आफ्नो आकार लिइसकेका थिएI आँपहरू पाक्ने तरखरमा थिएI गाउँमा सबभन्दा अगाडि पाक्ने आँप (कोला-आम) बाट केही दाना टिपेर घर फर्किंदै थिएँI हिजो धारोमा देखेको दुई जना केटा, साहु बुवाको घरको आँगनमा बसिरहेका थिएI कपालधारी मनुवाको हातमा वाकमेन थियोI वाकमेनमा राजु लामाको गीत बजिरहेको थियोI
‘तिमीलाई देखेर हिमाल हाँसेको’
मलाई देखेर ऊ स्वत: हिजोजस्तै हाँसिरहेको थियोI
मलाई देखेर हाँस्नुपर्ने के छ र?
म अप्ठ्यारो मान्दै उनीहरूको नजिक गएँI वाकमेन समातेको युवाले ‘तेरे नाम’ फिल्मको राधे स्टाइलमा कपाल कोरेको थियोI उनले बस्नुस् भनेर इशारा गरेI
मैले असहज तरिकाले बस्दै प्रश्न गरेंI
‘तपाई एम.बि हो?’
‘एम.बि?’ उनले निधार खुम्च्याएI
‘माओवादी’ मैले सुस्त बताएँI
ऊ झन् हाँस्न थाल्योI
‘मलाई देखेर किन हाँस्नु हुन्छ?’
‘तपाईं हेर्दै रमाइलो हुनुहुँदो रैछ’ उनले गीतको आवाज सानो गर्दै बोलेI
म किंकर्तव्यविमूढ भएँI त्यसपछि उनले आफ्नो र साथीको सूक्ष्म परिचय दिएI
‘म विक्रम लामाI घर दोलखा, जनकपुर अन्चलI ऊ चाहिँ मेरो साथी ग्रिष्म’I
विक्रमले बढी जसो त मेरै बारेमा सोधेI मैले गाउँको र आफ्नो बारेमा बेलीविस्तार लगाएँI घर फर्किने बेलामा अघि बजाएको गीत खुबै मनपर्यो भनेर प्रशंसा गरेंI उनले सौहार्दपूर्ण तरिकाले मलाई उक्त क्यासेट सुन्नको लागि दिएI
मैले पनि हार्दिकताका साथ आँपका चार वटा दाना उनीहरूलाई दिएँI आँप र क्यासेट साटेर हामीले प्रकारान्तर तवरले मित्रताको पहिलो खुट्किलो पार गर्यौंI
क्यासेट बोकेर घर गएँ I बुवाको पुरानो टेपले आर्मी कलरको लुगा लगाएको थियोI मैले क्यासेट छिराएर ठूलो आवाजमा गीत बजाएँI
‘सानोमा सानो कमलको हाँगा....रेसम’
गीत सुनेर दिदी पल्लो कोठाबाट आउनुभयो I शायद दिदीलाई डिस्टर्ब भयो होलाI दिदीले बोल्नु अघि मैले टेपलाई चुप लगाउँदै भनेंI
‘दिदी, तिनी माओवादी होइन रैछन्I’
‘अनि को हुन् त?’ दिदीको प्रश्न यही थियोI
‘खै सोध्नै बिर्सिगयाँ तर माओवादी चै होइनन्I’
‘ल ल... आवाज सानो बनाएर सुन्I’
एस.एल.सी दिने भएकोले दिदी पढ्न जानु भयोI
अँध्यारोले गाउँलाई छोप्दै थियोI म पनि कस्तो मूर्ख रहेछुI आफ्नो कुरा सबै भनें तर उनको बारे केही सोधिनँ I त्यही भएर कम बोल्नु, बढी सुन्नु भनेको रहेछI मलाई कतिखेर बिहान गएर सोधौंजस्तो लाग्योI
जति गहिरो रात भए पनि बिहानीले आँखा खोलिहाल्छ निI आँखा खोल्योI म स्कुल गएँI स्कुलबाट फर्केपश्चात सिधै ‘विक्रम जी’को ठाउँमा गएँI
उनीहरू गाउँमा पोखरी बनाउनको लागि आएका रहेछन्I दिदीलाई यो कुरा पहिल्यै थाहा रहेछI हामीबीच त्यो दिन लामै भलाकुसारी भयोI
हरेक दिन स्कुलबाट घर फर्केपछि म पोखरी बनाइरहेको हेर्न जान्थेंI पोखरी जति गहिरो खनिँदै थियो, हाम्रो सम्बन्ध पनि पोखरीझैं गहिरो हुँदै जान थाल्योI
***
एकदिन दिदीले भन्नुभयो, ‘तिमीहरू मीत लगाओI’
म अवाक भएँI दिदीले भनेका प्राय: कुरा म मान्दिनँ थिएँI उदिबिदी स्वभावको थिएँI मभन्दा करिब ५-६ वर्ष जेठोसँग कसरी मीत लगाउनु!
के मीत लाउन उमेरले रोक्छ र?
रोक्दैन ...
म सानैदेखि स्वस्थानीको कथा सुनेर हुर्केको थिएँI स्वस्थानीको प्रसाद ‘सकेसम्म पतिलाई, पति नभए छोरालाई, छोरो नभए मीत छोरालाई दिनु’ भनेर उल्लेखित कुरा मेरो बाल मस्तिष्कमा अमीट छाप बनेर बसेकै थियोI
महाभारतमा दुर्योधन र कर्णको मितेरी सम्बन्ध, नारायण गोपाल र गोपाल योन्जनको सांगीतिक मितेरीको बारेमा अलिअलि थाहा थियोI मीत बुवाको पसल त साँफेबजार मै थियोI जहाँ म धेरै पटक गएको थिएँI यसैले पनि मीत साइनोप्रति गहिरो प्रभाव हुनु स्वाभाविक थियोI दिदीको आत्मीय आग्रह र प्रस्तावलाई मैले काट्नै सकिनँ I मैले हुन्छ भन्दिएँI
दिदीले विक्रम जीसँग सोही प्रस्ताव राख्नुभयोI उनले पनि सहर्ष स्वीकार गरेI हामी पल्ला घरका ज्योतिष बाज्या कहाँ हेराउन गयौँI अन्ततः साइत निस्क्यो I वि.स.२०६० साल साउन २७ गते मंगलबारI
ऊ दोलखाको लामा र म अछामको ब्राह्मणI दुई फरक भूगोलमा जन्मिएका र हुर्किएका हामी फरक परिवेश, समाज,संस्कृति र परिवारलाई जोड्दै थियौंI यसरी जोडिन लागेको सम्बन्धले पक्कै पनि धार्मिक, सांस्कृतिक,सामाजिक र भौगोलिक निकटता र विकटतालाई बलियो बनाउँथ्योI
हाम्रो लागि दिदीले दुई वटा गुलैची फूलका माला उन्नुभयो I हामीले टीकाटालो गर्यौंI मीत लाउँदा गक्षअनुसार उपहार साटासाट गर्नुपर्छ भन्छन्I मीतज्यूले रातो हाफ टिसर्ट र नोकियाको क्यामेरा दिनुभयोI मैले पनि बुवाको बाकसबाट झिकेर नयाँ हाफ सर्ट र ढाका टोपी उपहार दिएँI
यसरी, दिदीको अनुग्रहमा विधिपूर्वक रूपमा मितेरी लगायौंI
***
गाउँमा पोखरी पूर्णरूपमा निर्माण भैसकेको थियोI भदौको अन्तिम शनिबारI दिनभर घाम लागेन I छकालैदेखि बादलले जिस्काइरहेको थियोI आकाशको पिन्चे अनुहारI घरअगाडि परालको टौवाI त्यसमा बसेर कौवा कराउँदै थियोI
त्यही समय मीतज्यू र उहाँको साथी आउनुभयोI मम्मीले विशेष अछामी खाना (फाँडो-भात , डुप्का, हरियो साग र आँपको थेप्ल्या)बनाउनु भयोI उनीहरूको लागि बिल्कुलै नौलो परिकार थियोI हामीले एकसाथ खाना खायौंI
मीतज्यू कामको सिलसिलामा अन्तारी जानुपर्ने भयोI हलुङ्गो झोला र गरुङ्गो मन बोकेर उहाँले बिदा माग्नुभयोI हामीले बिदाइका हात हल्लायौंI उनीहरू गएI म अछाममै बसेर पढ्न थालेँ।
भान्सामा मीतज्यूको ‘टाइटेनिक’ वाला रूमाल खसेको रहेछI मैले रूमाल खल्तीमा राखेंI स्वत: खसेको थियो अथवा ज्ञानत: खसाल्नु भएको थियोI मैले बुझ्न सकिनँI
निकै समयसम्म सो रूमालमा मित्रताको अनुरक्ततालाई पट्याएर राखिरहेँ। कालान्तरमा, म काठमाडौं आएँ। रूमाल उतै छुटी गयो। जसरी मीतज्यू जाँदा म छुटेको थिएँ।
***
जिन्दगी आखिर के रहेछ?
खोज्नु ..
वास्तवमा, खोज्नु नै रहेछI हामी जिन्दगीभरि केही नै केही खोजिरहेका हुन्छौं I पैसा, पद, सुख, शान्ति, स्वतन्त्रता,सम्बन्ध,प्रेम इत्यादिI
डियर,मीतज्यू...
हामीले मितेरी लगाएको १८ वर्ष बितिगएछI हेर्दाहेर्दै आँखै अगाडि समय फुत्केको पत्तै भएनI मैले तपाईंलाई कैयौंपल्ट खोजेंI कहीँकतै भेटाउन सकिनँI तपाईंको नाम विक्रम लामा र गृह जिल्ला दोलखाबाहेक मलाई केही थाहा छैनI तर, मेरो बारेमा त तपाईंलाई सबै थाहा छ नि हैन र? आखिर, तपाईं यसरी हराउनु भयो कि जसरी असिना पर्दा-पर्दै बिलाइदिन्छI
धेरैपछि म गाउँ फर्किएको छुI गाउँमा मान्छे कमै छन्I एक घर,एक कुरुवाI ठीगांलगाउँ ठिङग् उभिन सकिरहेको छैनI पिपलको रूख ज्यादै बुढो भैसकेछI साहु जेठा बुवाको घर कुप्री सकेछI गुलैचीको रूख ढलिसकेछ! हैन, ढलाइसकेछन्I धौली गाईले दूध दिन छोडेझैँ पल्लो धारोले पनि पानी दिनै छोडेछI
स्मृतिको छायामा रहेको पोखरी, रित्तो टोकरीजस्तै भएको छI मितेरी साइत जुराइदिने बाजे परलोक भइसके छन्I कौवा बस्ने, परालको टौवा धिउराले खाइसकेछI घरको पुरानो भित्तामा, बुवाको पुरानो टेप, पुरानै घुम्टो ओढेर बसिरहेको छI
साँच्चै मीतज्यू, तपाईंले त बिर्सिसक्नु भयो होला! तपाईंको पनि मीत थियो भनेर? कसम.....बारम्बार तपाईंका याद स्मृतिलोकमा लुकामारी खेल्न आइपुग्छन्I तर, तपाईं चाहिँ कहिले आइपुग्नु हुन्छ कुन्नि ? र... बेलाबखत मुकेशले गाउनुभएको गीत मेरो कोठाभरि गुन्जिरहन्छI
‘आ लौट के आजा मेरे मीत, तुझे मेरे गीत बुलाते हैं
मेरा सूना पड़ा रे संगीत, तुझे मेरे गीत बुलाते हैं’
***