फेसबुकका भित्तामा बिहे गर्नेहरूको फोटो कमिलाको ताँतीभन्दा लामो छ। तर मलाई वास्ता छैन।
माघ जति घामले पारिलो भए पनि मेरो जीवन कठ्यांग्रिएको धेरै भयो। प्लुटो जसरी ग्रहहरूको दुनियाँबाट हरायो त्यसरी नै यो प्रेम र बिहेको दुनियाँबाट हराउन मन लाग्छ आजकाल। देशमा गणतन्त्र आए पनि मनको राजा भनेर पुज्ने गर्थिन् उनले। सायद एकचोटि पूजनीय हुनु भनेको त कालान्तरमा हराउनलाई पो रैछ।
उनी अर्थात् रुमिका, मेरी पूर्वप्रेमिका। उनको यही माघमा बिहे भएछ। फेसबुकमा हालिएको फोटोबाट थाहा पाएँ। मार्मिक सत्य यो हो कि मलाई निम्तो पनि आएन! हुन त मजस्तो घाइते प्रेमीलाई निम्तो गरेर उसले बिहेको रौनक किन बिगार्नु? उनको सोचाइबाट यो सही निर्णय थियो। मैले नि बिहे भएपछि थाहा पाएँ। बिहेअघि नै थाहा पाएको भए पनि भाँड्न जाने थिइनँ, किनकि ऊ भूपू थिइन्।
एउटा चुरोट खल्तीबाट निकालेर सल्काएँ अनि फेसबुक स्क्रोल गर्न खोजेँ। तर अहँ औंलाले मरे मानेन। एकोहोरो हेरिरहे मेरा आँखाले उनलाई फोटोमा नै भए पनि। ऊ मात्र नभएर अब ऊसँग अर्को मान्छे पनि बाँधिएर बसेको थियो। सिंगल फोटो मनले हेर्न चाह्यो तर अहँ! सिंगल बिहेको फोटो भेटिएन। सायद बिहेपछि सिंगल भन्ने शब्दले अस्तित्व पाउँदो रहनेछ कि किन हो? म अकमक्क परेँ।
हाम्रो पहिलो भेट रत्नपार्कमा करिब तीन वर्ष अघि भएको थियो।
कलेजबाट घर जाने बस कुर्दा कुर्दा अनि रात पर्दा लामो लाइनमा ऊ अघि अनि म पछि आफ्नै सपनाहरूको संसारमा मस्त हुन्थ्यौं सायद। पछि संयोगले एउटै सिटको आमने सामने पर्दा चिनजानी भयो। अनि सधैं बस कुर्दा हामीबीचको बोलचाल बाक्लिँदै गयो। आउने जाने सँगै गर्न थाल्यौं। पूरा हुने नहुने सपना साट्यौं। आ-आफ्नै रफ्तार भए पनि एक अर्कासँग गासियौं तर पत्तै पाएनौं।
एकदिन नभेट्दा वर्षौं बितेझैं लाग्थ्यो। अनि एकदिन नबोल्दा शब्दहरू हराएझैं भान हुन्थ्यो। गार्डेन अफ ड्रिम्सको परछायामा बस्दै मैले उनलाई सोधेको थिएँ, 'प्रेममा अन्तिम सत्य के हुन्छ रुमिका?'
उनले बिना हिच्किचाहट भनेकी थिइन्, 'प्रेमको अन्तिम सत्य त यौन हो, जहाँ डुबेपछि कालान्तरसम्म हामी इम्प्रेसन जमाएर बस्न सक्छौं'।
म झसंग भएको थिएँ। किनकि समभाव हुनुलाई प्रेमको अन्तिम रूप मान्ने म यौनलाई त मात्र प्रेमको एक इकाइ मान्थें।
एक वर्ष अनि दुई वर्ष यसरी नै बित्यो। हिउँदमा टाँसिएर अनि बर्खामा सिंगल पिरतीको छाता ओढेर मायाका गफगाफ साट्यौं।
दुवैको स्नातक सिद्दिन आँटेको थियो।अक्सर धेरै गाह्रो गरेर आउने शनिबारमा पनि हामी प्राय: घुम्न जान्थ्यौं। तर यौन त परको कुरा चुम्बनसम्म लिने दिने आँट मबाट भएको थिएन।
सायद म प्रेममा अपरिपक्व भएर होला वा कुनै हतार नभएर पनि र यी कुराहरूमा म आफू अग्रसर भएर अगाडि बढ्ने पनि गर्थिनँ।
एकदिन उही रत्नपार्कको कुरा। निकै नै साँझ परिसकेको थियो। हामी बसको पर्खाइमा थियौं। रानीपोखरीमा बत्तीका प्रकाशहरू पौडी खेलिरहेका थिए। मानिसहरू हतारहतार घरतर्फ दौडिरहेका थिए। कसैलाई कसैको परवाह थिएन।
यत्तिकैमा नजिक आएर उनले पूर्ण स्पर्शसहित मेरो फुस्रो ओठमा आएर चुम्बन गरिदिइन् र गहिरो अंगालो मारिन्। अचानक आएको त्यो उत्कर्षबाट म अचम्मित भएँ। ऊ आफ्नो नियन्त्रणमा थिइनन् तर म आज्ञाकारी थिएँ। साथीभाइ यताउता धेरैबाट सुनें पनि, गफ धेरै गरे पनि भोगाइ पहिलोचोटि थियो त्यो चुम्बनको। त्यसैले केही चक्कर लागेजस्तो भयो मलाई। डरलाग्दो सपनाबाट ब्युँझिएँजस्तो भएको थियो। सायद प्रेममा यी सब कुरा जायज हुन् भन्ने यथार्थलाई मध्यनजर गर्दै मैले विरोध गर्न सकिनँ।
म उपायविहीन थिएँ त्यसबखत र चुम्बनयुक्त नयाँ कौतुहलता बोकेर घर फर्किएँ।
त्यो दिन त्यसै बित्यो। नयाँ कल्पनाको सिरकले न्यानो हुँदै सुतेँ। तर भोलिपल्ट ऊसँग भेट भएन। पर्सिपल्ट पनि भएन। केही काम होला, कतै गएकी होला सोचेँ तर अहँ! आउँदा-जाँदा हाम्रो बाटो नै अलग्गिएजस्तो भयो। फोन रिसिभ भएन अनि म्यासेजको रिप्लाई आएन।
एकदिन उतैबाट म्यासेज आयो 'हाम्रो त केमेस्ट्री मिल्ला भनेर सोचेको थिएँ तर तिमी त कस्तो इन्ट्रोभर्ट र’छौ, लज्जालु स्वभावको रै’छौ। मलाई तिमीसँग कस्तो अनकमफर्टेबल महसुस भयो। यो सम्बन्ध बोकेर हिँड्नै सक्दिनँजस्तो लाग्यो मलाई। अब हामी छुटिम् ल!'
यी म्यासेजका शब्दले आकाशबाट ओइरिएका ठूल्ठूला असिनाले जसरी दिमागमा हिर्काए। उनले छाड्नुको कारण मेरो 'सिरियसनेस' थियो कि अरू कुनै, अझै अनुत्तरित छु।
हो! म सानै देखि एकोहोरो थिएँ र इन्ट्रोभर्ट पनि। एक्लै बस्न मन पराउने अनि साथीसंगीको कम्पनीलाई खासै महत्व नदिने। तर कति चाँडै यी वर्षहरू बितेछन् र म ठूलो भएछु।
अझ कसैलाई त मुटुभरीको माया पनि गर्ने भएछु। सुखी खुसी रहने अनेकौं उपाय हुँदाहुँदै पनि मैले प्रेम रोजेँ। त्यही प्रेमको भ्रममा परेर कसैलाई जीवन नै दिन सक्ने साहस पनि बटुलेँ तर कहिल्यै नगरेको त्यो चुम्बनमा सहज हुन सकिनँ।
तर पनि कसैको भावनामा ठेस नपुगोस् भन्दै र त्यो चाहना अपुरो नहोस् भन्दै जसोतसो प्रयास त गरेँ तर अहँ! त्यो वास्तविकता भन्दा धेरै पर पो भएछ। कहाँ वास्तविकतालाई सजिलै ठग्न पाइन्छ र प्रेममा? बरू ठगिन पो पाइन्छ। हो म ठगिएँ आफ्नै कारणले। सायद त्यो साँझ म उत्तेजनाबाट भागेँ। अनि मृगतृष्णाबाट परै रहेँ।
उनको शब्दमा म त तस्बिरमात्र रहेछु, भावनाविहीन। तर आज हामी छुट्टिएको एक वर्षमा नै उनको बिहे भएको फोटो हेर्दै आँसु चुहाउने 'म' पनि वास्तविक रूपमा भावनाविहीन नै छु त? के मैले त्यो साँझ आफूभित्रको भावनालाई आफूभित्र नै दबाएर अपराध गरेँ त? आफ्नो आत्मसम्मानलाई स्पेस दिँदा म कतै नाजुक भएँ त? भएछु भने ठिकै छ तर त्यसदिनपश्चात उनीप्रतिका मेरा एकतर्फी प्रेमका कम्पनहरूलाई कति रेक्टरस्केलमा नापिन्छ त?
मान्छेहरू जीवन परीक्षा हो भन्छन् तर जीवनको मूलभूत परीक्षा भनेको प्रेम हो जस्तो लाग्छ मलाई। किनकि अरूको देखासिकी गरेर प्रेेममा बाँच्न खोज्नेहरू नराम्ररी फस्दा रहेछन्। प्रेमका नाममा अरूका निम्ति बाँच्छु भनेर कसम खानु त नक्कल गर्नुरहेछ। अनि त्यही नक्कल जब आदत बन्छ, मजस्तै छटपटाउँदा रहेछन् लामो समयसम्म। कठै! 'म' अनि मजस्तै अरू विचराहरू।
आजसम्म पनि पिल्सिएको छु। आश्रयविहीन अवस्थामा कहिल्यै नटुंगिने सडकमा खाली खुट्टा हिँडिरहेछु। पूर्वप्रेमिकासँगका अनुभूतिहरूलाई संगाल्दै लैजान म कति तयार छैन भनेर कसरी भनूँ?। भागेर पो कहाँ जाऊँ? तर निरर्थक भाग्ने प्रयास गर्नुमात्र पनि त जीवन जिउनु रहेनछ। छुटकारा कसरी पाउन सक्छु र म त्यो दिनको प्राणघातक चुम्बनबाट। जसले अत्यासलाग्दो वास्तविकता जबर्जस्ती भिराइदियो। आफूलाई अर्थहीन सोच्न बाध्य पारिदियो। म त उनीबाट व्यक्त हुन चाहन्थें। तर इन्ट्रोभर्टको शब्दावली थुपारेर अर्कैसँग जमघटमा मस्त भइन् उनी। सायद त्यो प्राणघातक चुम्बन उसको मात्र एकतर्फी थियो र प्रतिक्रियाविहीन थियो।
आज उसका लागि मेरो प्रेम एकतर्फी छ र यो पनि प्रतिक्रियाविहीन छ। यसको अस्तित्व खोजौं कहाँ? अब यिनै उनका बिहेका तस्वीरसँगै सदा-सदाका लागि मिटाइदिऊँजस्तो लाग्छ उनको याद। तर किन-किन सक्दिनँ।
धेरै वर्षपछि फेरि बाल्यकालमा जस्तै एक्लो भएँ म। सायद अब मलाई दोषारोपण गर्दै छाडेर जानेहरूको नाममा ह्विस्की पिउँछु अनि मस्त निदाउँछु।