प्रिय!
असिम मायाका अनुपम उपहारहरूसँगै ती समुन्द्रमा छचल्किने हरेक छालहरूमा मिसिएका अमिट मायाका लप्काहरूमा छचल्किरहेको यो मनका भावहरूलाई आज कुनै एक प्रसिद्ध कुचिकारको थन्किएको एक सामान्य कुचीबाट यी रंगीन सपनाका रहरहरूलाई आज विपनामा व्यक्त गर्न यी खाली कागजहरूमा बग्दै बग्दै तिम्रा सामु आइपुगेको छु।
ताकि ती छचल्किएका छालका नुनिला पानीहरू हिमालयका ती चिसा सिरेठोमा घुमिल भई तिम्रा बदनमा माथिबाट सललल बग्दा एक स्वच्छ प्रिय अनि आत्मीय मायाको भावले तिम्रो मनलाई तृप्त बनाओस्!
हेर न हिजो मात्र रोपेको त्यो बगैंचाको डेलिया चमेली अनि मखमलीहरू आज मेरा सामु मुस्कुराइ रहेछन्। अनि कोसौं माइल दूर दूरबाट आएका ती भमरा र माहुरीहरू लहठिँदै ती स्वप्न बगैंचामा कति रमिरहेका छन्।
म कल्पनामा बग्दै बग्दै कहिलेकाहीँ तिम्रो सामु आई ती भमराहरू झैं लहठिँदै ती फूलहरूमा विलिन हुन पुग्छु अनि ती वासनाहरूलाई आत्मीय बनाउन लाग्छु। कहिलेकाहीँ ती गुलाबका काँडाहरूले मेरो पाखुरीमा कोतर्छन् त कहिले ती लज्जेका काँडाहरूले खुट्टामा चसक्क घोच्छन्।
तब तब म मेरा मनका ढुकढुकीहरूलाई ती चसच्क चस्केका चस्काहटमा नजिकै रहेको सुनार दाइको पल्लामा आना अनि सुकीमा तौलन थाल्दछु परिणाम उही निकल्छन् सुनार दाइले, कि तिमी नै सबै कसीमा हावी भई सुका आना हैन अब त ग्राम तोला हुँदै केजीको छनकमा बसिसकी छौ। अनि गह्रौ मन लिई प्रफूल्लित भई म घर फर्कन्छु, आखिरकार मेरो मायाको वजन आज कतै तिम्रा लागि सुनार दाइको तराजुमा नअट्ने त भएछ!
प्रिय, आज ती शिशिर अनि बसन्त गरी घुमेका हरेक चक्रको प्रत्यक्ष साक्षी हामी लड्दै पढ्दै उफ्रेका ती पलहरू एक पल त सही सम्झी पछाडि फर्कन। जसले आजको हाम्रो भविष्य देखाएको थियो।
त्यस दिन ती तिम्रा नजरहरूमा मेरा नजरहरू न जुधेका भए तिमीले कर्के नजर लिई मुसुक्क न मुस्कुराएको भए आखिर हामी कुन संसारमा दौडिरहेका हुन्थ्यौं होला! एक फेर कल्पना गरन!
आज ती पलहरू सम्झी कहिलेकाहीँ मलाई ती अग्ला हिमालका टाकुरामा गई कराउन मन लाग्छ अनि संसारलाई भन्न मन लाग्छ आई लभ माई फ्युचर!
डियर एक फेर आकाशमा चम्किरहेका ती जुन र ताराहरूमा हेरन। जब जब म तिमीलाई मिस गर्छु नि तब तब म बाले बनाएका ती बाँसका कुनिउॅ माथि चढी ती जुन र ताराहरूमा एकटकले टहलाउँछु।
त्यहाँ मुस्कुराइरहेको त्यो जुनमा तिम्रो प्रतिबिम्ब पाउँछु त ती छेउका ताराहरूमा म विलिन भई तिम्रो छाँयामा रमिरहेको हुन्छु प्रिय!
हिजो आज हेरन बजारमा चलिरहेका ती बतासे प्रेमका टुसाहरू कसरी मौलाएर गएका जसै कुनै वर्षातमा कच्ची सडकका वरपर झरी च्याउ उम्रिएका हुन्। अनि केही क्षणपश्चात आफैं विलिन भई हराउन, जो क्षणिक महत्वका हुन्।
प्रिय कहिलेकाहीँ ती च्याउहरू अनि सम्बन्ध केलाउन पुग्छु, जहाँ हरेक दिन रूप फेरिरहेको नगरमा कहिले रामे त कहिले श्यामेको अंगालोमा रमिरहेकी माथिल्लो घरकी ठेउकेकी श्रीमती देख्छु अनि सम्बन्धको अर्थ र महत्वलाई केलाउन पुग्छु।
आखिर सम्बन्धको अन्तिम बिन्दु र सुरूआतको बिन्दु कसलाई मान्ने त!
म सोच्दछु सम्बन्ध एउटा हिमनदीको स्वच्छ पानी झैं हो। जो धेरै घाम लागे पग्लिई बग्दै बग्दै समुन्द्रमा विलिन हुन्छ त धेरै जाडो भए ढक्क जमेर त्यही घामको पर्खाइमा बस्दछ!
कहिलेकाहीँ त्यो थोत्रो सन्तोष रेडियोमा मिठा मिठा गीतहरू गुञ्जँदै गर्दा लाग्छ यी गायकहरू कति प्रेमी थिए होला!
प्रिय, हो समाजले ती भावनाहरू कहिल्यै बुझ्दैन किनकि ती स्वरहरू गुञ्जिनु अघि एक गीतकार ती स्वरका शब्दहरूमा गति डुबी कति बगी ती विशाल समुन्द्रमा कैयन पटक मायाको डुंगा खियाइसकेको हुन्छ!
हो प्रिय म सम्बन्ध र माया अनि प्रेमको भावना त्यही गीतकारको रचना अनि संगीतकारको गितारका रेटाइहरूमा पाउँदछु। अनि तिमीलाई यी ओठका भावहरूले सधैं सधैं गाउन चाहन्छु।
प्रिय कुनै पल हाम्रा ती अठोटहरू हामीले बिताएका ती पलहरू अनि तिमीले ठुस्कँदै गाली गरेका ती पलहरू सम्झन म ती जुनेली रातमा घरको आँगनीमा निस्कन्छु अनि फिल गर्छु ती हावाहरूलाई अनि ती झ्याउँकीरीहरूलाई।
केही पल नै सही तिमी मेरो हरेक स्पर्शमा हुन्छौ अनि ती अरूण र तमोरझैं बग्न थाल्दछौ जसै नारायण गोपाल चाँदनी शाहका शब्दमा बगे थे •••
एउटा मान्छेको मायाले कति
फरक पर्दछ जिन्दगीमा!!!!!
भनिन्छ नि प्रेम अन्धो हुन्छ अनि प्रेममा मानिस पागल झैं उफ्रन्छन्। प्रेम न त अन्धो नै हुन्छ न त यसमा मानिस पागल नै हुन्छन्। प्रिय, म त भन्छु प्रेमको परिभाषा म लेख्छु बस तिमी यसको भाव बनि अर्थ हुनु तब पो संसारले प्रेमिल ती मौसमहरूमा हाम्रो आकर्षणलाई गिद्दे दृष्टिले हेर्नेछन्।
कहिलेकाहीँ क्षितिजमा लागेका ती इन्द्रेणीहरूमा जब-जब तिमी याद बनि ती रंगीन पुतली बनी रम्दै-रम्दै मलाई बोलाइरहेकी हुन्छौ नि।
तब-तब म आफैंलाई एक निरिह मानिस सम्झी त्यही आँगनीमा रमिरहेको पाउॅँछु किनकि थाहा छ मलाई म तिम्रो नजिक गएँ भने तिमी ती रंगीन सप्तरंगी मेहफिलमा कतै गुम हुनेछ्यौ अनि म मिस गर्ने छु जसै त्यहाँ वर्षात हुनेछन् त ती इन्द्रेणीहरू विलिन हुनेछन्।
ती खुलेका आकाश अनि ती चम्किरहेका ताराबीच जसै एउटा तारा उल्का बनि धर्तीमा झर्दै गर्दा प्रिय मेरा सपनाका रफ्तारहरू ती उल्काका गतिभन्दा तेज दौडी धर्तीमा गुन्द्री ओछ्याइ तिमीलाई मागिरहेका हुनेछन् अनि पुकारिरहेका हुनेछन्।
कहिलेकाहीँ ती लेकबेशीमा बजेका गीतहरू अनि तिनका ती रसहरूमा बग्दै-बग्दै तराईका फाँटहरूमा पुग्दा लाग्छ म तिमीभित्र एक छिद्र बनि छिर्दै-छिर्दै तिम्रा ती विशाल हृदयका पटाँङ्गीनीमा एक लावारिस प्रेमी बनि गल्ली-गल्लीमा भौंतारिँदै कहिले तिम्रा ती खुसीका आँसुमा त कहिले ती तिम्रा दु:खका आँसुमा साथ दिन रूमल्लिरहेको हुनेछु।
प्रिय हेर कहिले शिशिर त कहिले बसन्त अनि कहिले हेमन्त हुँदै यो समयले चक्र फेरिरहेछ जसै ती रूखका स-साना मुनाहरू आज फक्रँदै भोलि वयस्क पातहरू हुँदै फेरि त्यही चक्रमा होमिँदै एक दिन नांगो हुनेछ।
समय परिवर्तन भइरहेछ जसै हाम्रो जीवन पनि एक लगामविनाको घोडामा सवार छ। आज ती तिम्रा यौवनहरू धपक्क फुलेका छन् त भोलि ती पनि यही समय चक्रमा गल्नेछन्।
मलाई लाग्छ हामी जीवनका ती मोडहरूमा उभिएका छौं जहाँ हाम्रा सपनाका स-साना बुँदहरू तप्प-तप्प बलेसीमा पुसको ठिहीझैं झरिरहेछन्। मलाई ती पानीका थोपाहरू बटुली एउटा विशाल सागर बनाउन मन छ। अनि त्यो सागरमा तिमीसँगै अनन्तकालसम्म पौडन मन छ।
कहिलेकाहीँ तिम्रो घाँटी खस-खस गर्दा तातो पानी उमाली तिमीलाई मेरा बुढेसकालका हातहरूले कमाउँदै कमाउँदै मेरा लाटिएका ओठबाट आवाज निकाली तिम्रा बदनमा उही चौबीस वर्षे जवान ठिटो बनी चुम्दै खुवाउन मन छ।
प्रिय,
समयका यी वेगहरूसँग म नजिकबाट परिचित छु। कुनै पल ती खहरेहरूमा भेल आउँछन् अनि बेसी खेतमा रोपेका बालीहरू फसल भित्र्याउने बेला कता हो कता विलिन बनिदिन्छन्।
म भन्छु। प्रेम-खहरेमा उर्लने भेल हैन, यो त एक विशाल नदी हो जहाँ हजारौं करोडौं माछाहरू अनन्तकालसम्म पौडिरहन्छन्, रमिरहन्छन्। प्रेम बगैंचामा रोपेको एक सुन्दर फूल हो जसलाई फुलाइरहन गोडमेल रेखदेख त नजिकबाट उसको हेरचाह आवश्यक छ।
प्रेम ती क्षितिजमा देखिएका विशाल खुला ती निला गगनझैं उदार हुन्छ जो हृदयमा बस्छ त संसारका कुनै कुनामा पनि आफ्नो बनि हृदयमा बगिरहन्छ, बगिरहन्छ!
प्रेम एउटा अमिट छाप हो जो दुई मुटु एक बनि जीवन जिउन तत्पर हुन्छन् त पण्डित बाजेका ती सात फन्कासँगै भविष्यका निम्ति छाप लागी समाजमा उदाहरण बनी दौडिरहन्छन्, चलिरहन्छन्।
प्रेम ती कोरा कागजमा लेखिएका तीन अक्षरभन्दा भिन्न हो, जो पहिले आकर्षण, अपनत्व त्याग हुँदै जीवन बन्छ।
हो प्रेम त्यही हो जसलाई मैले हृदयबाट बुझेको छु अनि जीवन्त बुझिरहनेछु, अपनाइरहनेछु। म ती विशाल सागरमा पौडिन सपना देखिरहनेछु-देखिरहनेछु।
डियर भ्यालेन्टाइन