प्रियतम साँच्चै आज प्रेमदिवस पो त! प्रेमी-प्रेमिकाको दिवस प्रणय दिवस अनि तिमी मेरो प्रेमि प्यारो मान्छे।
हेल्मेटभित्र लुकेका ती आँखा, खित्त हाँस्दा देखिने मिलेका ती सेता दाँत, चुच्चो देखिने नाक, सासको बेहोसीसँगैको तिम्रो प्रेमको मधुसीको मिठास बोकेको बतास हो तिमीसँगको त्यो पहिलो दिन।
टाढैबाट नजिकिएको आभास भयो, शब्द ननिस्कने मुखबाट माया प्रितिका कुराहरू गुन्गुनाउन थालें। साँच्चै तिमीलाई भेट्दा घरपरिवार मित्रता प्रेम सबैथोक नजिकिएको आभास गर्थें।
मेरो प्रेमी तिमी प्यारो मान्छे। एकोहोरो हेरेर पनि धेरै बोल्न नसक्ने मेरो बकबक हेल्मेटभित्रको त्यो मुहार हेल्मेट निकाल्नासाथ साँच्चै शब्दमा वर्णन नै हुँदैन। तिमीमाथि देखिरहेका आभासहरूले साँच्चै डर त थुक निलेजस्तै गरी निलिएको थियो।
अब, देखाउनुथ्यो आफूलाई सध्य सुनसान प्रकृतिसँगैको न्यानोपनभन्दा गहिरो लाग्ने त्यो प्रेम। तिमीले लगाएको त्यो निलो सटको देब्रे गोजी किनारको खाली हृदय मेरै निम्ति छुट्याइएको हो जस्तो लाग्न थाल्यो।
आफूले आफैंलाई भुलेजस्तै लाग्न थाल्यो, तिमीभित्रै आफ्नोपन घुलेजस्तै लाग्न थाल्यो।
आवाजबिनाका ती सांकेतिक वाणी तिम्रा, साँच्चै हार्ट टु हार्ट कनेक्सन भन्ने त्यही नै होला।
तिम्रा ती न्याना हत्केला, हल्का गरी सुमसुमायौं केवल। तिम्रो दाइने गाला जब मेरो देब्रे गालामा ठोक्कियो अनि सल्बलाए तिमीलाई असाध्यै सुहाउने ती मसिना केस्राहरू (दाह्री)।
बिझाएन कति पनि केबल तिम्रो आभासमा हराउँदा लाग्थ्यो संसार जित्ने पहिलो व्यक्तिको अवार्ड मलाई नै मिल्छ जस्तो।
बसन्तसँगै रमाइरहेको खुसीको बहारभन्दा निकै ठूलो छजस्तो लाग्ने त्यो पल तिमीसँगको। साँच्ची त्यो सपना जुन म तिम्रो काखमा बसी देख्न थालें।
साँच्चै त्यो अविस्मरणीय बनिदियो, संसार जित्ने औजार तिमीसँगै भेटिएजस्तो लाग्यो, थाकिसकेका जिन्दगीका सपनाहरू उठिसकेजस्तो लाग्यो, अनगिन्ती त्यो प्रेम साँच्चै बहारजस्तो लाग्यो, अजम्बरी त्यो प्रण उपहारजस्तो लाग्यो।
हो आज प्रेम दिवस, तिमी मेरो प्रेमी प्यारो मान्छे। जोखिम जति पनि मोल्न तयार, हरक्षण प्रेम गर्ने ती तिम्रा वाचा बन्धन साँच्चै आवश्यक नै थिएन, कुनै विशेष दिन आओस्। आखाँमा लगाउने कालो चस्मादेखि तिमीले बाँधेको पहेंलो घडीसम्म नियालेपछि पनि हेर्न मन लाग्ने त्यो आदत नै परिसकेको थियो।
पुराना यादहरू यादगार पो बनिसकेछन अन्तिमपल्ट नियालेर पाखुराहरूबीच कसेर अंगाल्न मन छ त्यो बुढो पिपलको जराहरूले भिर पक्डे जसरी।
सोध्न मन छ, तिमीले बाँधेका वाचाहरू कसरी परिवर्तन भए, खोज्न मन छ कारण । तिम्रा आदर्श र दर्शन कहाँ गए होला ? नौलो उज्यालो भेटेको कल्पना परिवर्तन भयो होला है!
अन्तिम पत्र तिम्रो लागि हिजोका सपना र कथालाई हिजोमै अन्त्येष्टि गर्ने, साँच्ची ती कपोकल्पित कथा जुुन र ताराका, आकाश र बादलको त्यो प्रेम कथा के भयो होला है? हो आज प्रेम दिवस, तिमी मेरो प्रेमी प्यारो मान्छे।
उही तिम्री प्रियसी