आदरणीय प्रचण्डज्यू,
म तपाईँलाई यो पत्र अमेरिकाको न्यूयोर्कबाट लेख्दैछु। प्रेम दिवसको अवसर पारेर मेरा मनका कुरा लेख्ने हिम्मत गरेको छु। विदेशमा बसेर ठूलो कुरा गर्यो नभन्नू होला। यो मेरो प्रेम पत्र हो।
आजको दिन अधिकांशले आफ्ना प्रेमी/प्रेमिकालाई प्रेम प्रस्ताव राख्नेछन्। तर मैले भने तपाईँलाई प्रेमको प्रस्ताव राख्ने कोशिस गरेको छु। यसलाई स्वीकार्नु/नकार्नु तपाईँको कुरा हो।
आखिर मनै त हो, मन कसैको बसमा हुँदैन। मनमा उब्जिएको प्रेमले सिद्धान्त, वाद, धर्म, उमेर, जात, भुगोल केही हेर्दैन। मनले भन्यो मैले लेख्न थालेँ।
धेरैले भन्छन्, मनभन्दा ठूलो दिमाग हो। तर मेरो विचारमा मन र दिमाग दुबैको उत्तिकै महत्व हुन्छ। मन र दिमागको सहकार्य बिना एउटा सन्तुलित जीवनको परिकल्पना गर्न सकिन्न।
मनले मात्र काम लिने हो भने संसार अराजक बन्ने निश्चित छ।
दिमागले मात्र काम लिने हो भने कुटिलता र स्वार्थले समाजलाई निर्देशित गर्छ।
तपाईँसामू राजनीतिका कुरा गर्ने मेरो कुनै हैसियत र औकात छैन। गरिबी र विभेद भोगेको म एक साधारण नेपाली भएकोले तपाईँसामू मनका कुरा राख्ने साहस गर्दैछु। गल्ती भए माफ गर्नुहोला।
मैले प्रेम प्रस्ताव राख्नुको पछाडि तपाईँप्रतिको सम्मान हो। सम्मान बिनाको प्रेम आशक्ति हुन्छ। प्रेम बिनाको सम्मान गुलामी।
तपाईँ पनि म जस्तै साधारण पृष्टभूमीबाट आएको व्यक्ति भएकाले प्रेमभावले हेर्छु। तपाईँ भित्र पनि न्यायको ठूलो भोक थियो र सायद अहिले पनि छ। समाज रूपान्तरणको लागि ज्यानको बाजी लगाउनसक्ने मान्छे चानचुने हुनै सक्दैन।
त्यसैले तपाईँप्रति धेरै पहिले स्नेह जागेको थियो। तपाईँको अदम्य साहसप्रति सम्मान भने जागेन। किनकि, तपाईँले चुनेको बाटो मलाई सही लागेन।
बन्दुकद्वारा समाज परिवर्तन भएको इतिहास छैन। बन्दुकले ल्याएको परिवर्तनले संसारलाई कालान्तरमा थप कुरूप बनाएका उदाहरण हामीसामू छ।
यो साँचो हो। तपाईँले लडेको युद्वको परिणामस्वरूप सामाजिक न्याय नेपाली समाजको प्रमुख मुद्दा बन्यो।
सदियौंदेखि थिचोमिचो र शोषणमा पिल्सिएका दलित, जनजाति, महिला, गरिब बाहुन क्षेत्री सबैमा केही हदसम्म पनि आफू मान्छे हुँ भन्ने चेतनाको विकास भयो।
पञ्चायतकालीन सासनबाट दमित, शोषित म र म अघिका पिँढीले मुक्तिको बाटो पहिल्याउन तपाईँलाई साथ दिए।
उनीहरूलाई मुक्ति प्रिय थियो। स्वतन्त्रता र समानताप्रतिको उनीहरूको प्रेमले अभिव्यक्ति खोजिरहेको थियो। उनीहरु भित्रको प्रेमलाई तपाईँले चिन्न सक्नुभएन।
प्रेमको शक्तिलाई हिंसाको शक्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने तपाईँलाई ज्ञात थियो। तपाईँले यसलाई यथार्थ रूप दिनुभयो। यसले आखिर हजारौं युवालाई हतियारप्रेमी बनाएर छोड्यो।
तपाईँले बुझ्नुभएको छ? प्रेमले कहिल्यै हिंसालाई स्वीकार्दैन। प्रेमले जीवनको अन्त्य बारेमा सोच्न सक्दैन। प्रेमले जिउन सिकाउँछ। तपाईँले मृत्यु सिकाउनुभयो र त्यसलाई क्रान्तिकारिताको नाम दिनुभयो।
मैले भनिरहनु पर्दैन। तपाईँले गान्धी, बुद्ध, मार्क्स, लेनिन, माओ सबै पढ्नु भएको छ। तर गान्धी र बुद्धको बाटो हिँड्न प्रेरित गर्नुभएन। कुरो स्पस्ट थियो- गान्धी र बुद्धलाई सत्ता चाहिएको थिएन। तपाईँलाई सत्ता चाहिएको थियो। सत्ताका लागि नेपालमा रगतको खोलो बग्यो।
शान्ति सम्झौतामार्फत तपाईँहरू मुलधारको राजनीतिमा आउनुभयो। युद्वमा आफन्त र सर्वश्व गुमाएकाले पनि आफ्नो पीडा बिर्सिए। तपाईँको पार्टीलाई चुनावमा सबैभन्दा ठूलो दल बनाए। तपाईँ मुलुकको प्रधानमन्त्री बन्नुभयो।
जनताले तपाईँप्रति कुनै घृणाभाव राखेनन्। तपाईँसामू इतिहास लेख्ने सुनौलो अवसर दिए। अफसोस! तपाईँको सत्ताप्रतिको आशक्ति, परिवार मोह र जीवनशैली कुनै राजाको भन्दा कम देखिएन। तपाईँको बोली फेरिरह्यो। तपाईँको जीवन यात्राको गन्तब्य सत्ता र सुख मात्र हो भन्ने बुझ्न सोझा जनतालाई धेरै समय लागेन।
तपाईँ पनि उही जमातको हिस्सा बन्नुभयो। जसले राजनीतिद्वारा नेपालको दोहन मात्र गरिरह्यो।
थप पीडा त तब भयो। जब वर्गविहिन समाजको कल्पना गर्ने तपाईँले नेपाललाई जातमा आधरित जातीयता र जातिवादमाथि मलजल गरिदिनुभयो। तपाईँले चाहेको भए जातिप्रथाको समुल नष्ट गरिएको घोषणा गर्न सक्नुहुन्थ्यो। सायद त्यसमा तपाईँ चुक्नुभयो। सायद त्यतिखेर तपाईँको क्रान्तिकारिताको नशा उत्रिसकेको थियो।
म अब विगतको घाउ धेरै कोट्याउँन चाहन्नँ। हामीले विगतका कुरा गरेर धेरै समय बर्बाद गरिसक्यौं। हामीले तपाईँको ‘नयाँ नेपाल’ भन्ने नारा भित्रको छल र कपट चिन्यौं।
विगत र भविश्यका कुरा गरेर वर्तमानलाई नर्क बनाउनेबाट न कुनै समाज बनेको छ। न कुनै ब्यक्ति नै खुशी भएका छन्। तपाईँलाई मन परेको चलचित्र ‘रङ्ग दे बसन्ती’ मा भनिएझैं तपाईँहरूले एउटा खुट्टा विगतमा र अर्को भविश्यमा राखेर नेपालीको वर्तमानलाई चिस्याउनुभयो।
अब तपाईँसँग अन्तिम मौका फेरि आएको छ। इतिहास लेख्नेकि, इतिहास बन्ने त्यो तपाईकै जिम्मा।
यो प्रेम दिवसमा प्रेमपूर्वक तपाईलाई सोच्न म अनुरोध गर्दछु।
तपाईँले अब वैचारिक क्रान्तिको नेतृत्व गर्नुपर्छ। यस्तो वैचारिक क्रान्ति जसले सबै नेपालीको ब्यवहार बद्लियोस्। छलकपट, लोभलालचरहित नेपाल निर्माणमा आफ्नो जीवन लगाउनुहोस्। परिवारमोह त्याग्नुस्, सबै नेपालीलाई त्याग के हो गरेर देखाउनुहोस्।
तपाईँको त्यागले नेपालको चरित्र निर्माण हुनेछ। यो तपाईँले भन्ने गरेको सांस्कृतिक क्रान्तिभन्दा प्रभावकारी हुनेछ।
सम्राट अशोकले आफ्नो साम्राज्य त्यागेका थिए। तपाईँलाई पनि सायद गाह्रो नहोला। आज यस प्रेमील दिनको अवसरमा तपाईँलाई अनुरोध गर्न चाहन्छु आफूभित्रको प्रेमलाई जगाउनुहोस्।
तपाईँ पुत्र वियोगमा रूनुभएको मैले देखेको छु। तपाईँ भित्र प्रेम छ, जसलाई तपाईँले दबाएर राख्नुभएको छ। प्रेम नभएको कुनै प्राणी हुन सक्दैन। हामी त मानव हौं।
प्रेमलाई अंगाल्नुभयो भने तपाईँको जीवन विश्वलाई एक शक्तिशाली सन्देश हुनेछ- मार्क्स र माओभन्दा तपाईँ सम्मानित बन्नुहुनेछ।
हामी आज यस्तो कालखण्डबाट गुज्रिरहेका छौं, जहाँ प्रेम दुर्लभ छ। तपाईँ क्रान्तिनै गर्न चाहनुहुन्छ भने सबै नेपालीलाई जोड्ने एउटा प्रेमको आन्दोलन बन्नुहोस् किनकि, प्रेम बिनाको क्रान्ति हिंशा हो, युद्व हो।
तपाईँ युद्वको कारकका रूपमा इतिहासमा दर्ज हुन चाहुनुहुन्छ कि, देश जनता र मानव जातिलाई माया गर्ने प्रेमको उपासकका रूपमा इतिहास निर्माण गर्न चाहनुहुन्छ, इच्छा तपाईँको हो।
अन्त्यमा, तपाईँलाई माया र सम्मान गर्न चाहने एक गुमनाम नेपालीको प्रेम प्रस्ताव स्वीकार नगरे पनि यो पत्र पढिदिनुभयो भने आफूलाई धन्य ठान्नेछु।
पुन : भ्यालेन्टाइन डेको शुभकामना।