स्ट्यान्डफोर्डमा वाल्टर मिसल भन्ने वैज्ञानिकले केटाकेटीहरूबीच एउटा प्रयोग गरेका थिए।
सानो उमेरका केटाकेटी जो गुलियो भन्न बित्तिकै हुरूक्क हुन्छन्। उनीहरूका अगाडि थुप्रै मार्शमेलो राखिदिएर भन्छन्– यदि कसैले बीस मिनेटभन्दा अगाडि खान चाहन्छ भने एउटा मात्र मार्शमेलो पाउनेछ, तर बीस मिनेटसम्म यदि कसैले खाएन भने यसको बदलामा उसलाई दुइटा मार्शमेलो दिइनेछ।
यति भनिसकेर मिसल केटाकेटीलाई एउटा कोठाभित्र छोडिदिएर बाहिर निस्कन्छन्। गुलियो खानेकुरा केटाकेटीको अगाडि राख्नु र केटाकेटीले प्रतीक्षा गर्नु लगभग यस्तो हुँदैन। त्यही पनि दुइटा मार्शमेलो पाउने आशाले केहीले दुई मिनेटसम्म प्रतीक्षा गरे, केहीले सात/आठ मिनेटसम्म र केहीले पूरै बीस मिनेटसम्म नै प्रतीक्षा गरे। जसले बीस मिनेटसम्म प्रतीक्षा गर्न सकेनन्, उनीहरूले एउटा र जसले बीस मिनेटसम्म प्रतीक्षा गरे उनीहरूले दुइटा मार्शमेलो पाए।
यहाँसम्म त सरल रूपमा ठिक छ। तर, यो अनुसन्धान यहीँ रोकिएन। उनीहरूले आफ्नो जिन्दगीमा के गरिरहेका छन्, भनेर कयौं वर्षपछि फेरि मिसलले अनुसन्धान गरे। भयानक नतिजा देखापर्याे। जसले बीस मिनेटभन्दा अगाडि मार्शमेलो खाएका थिए। उनीहरूले आफ्नो जिन्दगीमा खासै प्रगति गरेका थिएनन्। कोही मानसिक रोगको सिकार भएका थिए। कसैको डिभोर्स भएको थियो र, आश्चर्यजनक कुरा अधिकांश विभिन्न अपराध गरेको आरोपमा जेलमा भेटिए।
अर्काेतर्फ जसले बीस मिनेटसम्म नखाएर बदलामा दुइटा मार्शमेलो पाएका थिए। उनीहरूले आफ्नो जीवनमा सोचेजस्तो प्रगति गरेका थिए। उनीहरूको मानसिक, सामाजिक र वैवाहिक जीवन सुखमय थियो।
यो अनुसन्धानको उद्देश्य मानिसले आफ्नो इमोसन नियन्त्रण गरेन भने कस्तो नतिजा निस्कन्छ भनेर हेर्नु थियो। अनुसन्धानको नतिजा माथि उल्लेखित आयो।
कसैले हामीलाई कहीँ जानको लागि प्रस्ताव राख्यो भने हामी नसोची ‘एस’ भनिदिन्छौं।
कसैसँग जानु अघि आफ्नो अनुमति लिन जरूरी हुँदैन? आफ्नो अनुमतिबिना कहाँसम्म पुग्न सम्भव छ? हामी हाम्रो अनुमतिबिना
एक पाइला पनि कसरी अगाडि बढाउन सक्छौं? आफू नहुनु केही पनि नहुनु होइन र?
आफूलाई गुमाएर पाएका के/के चिज आफ्नाजस्ता रहन्छन्? आफ्ना लाग्छन्?
‘नो मिन्स नो’ महिलाको बचाउको लागि प्रयोग गरिने शब्द हो। मैले उठान गरेको समस्या महिला र पुरूषको हो। कसैलाई नाइँ भन्न नसक्ने बानी। यसले बृहत् आकार लिइसकेको छ। जसलाई पनि 'हुन्छ' भन्ने अन्त्यमा आफ्नो महत्वपूर्ण काम पनि नगर्ने बानीले आत्मबल कमजोर बनाउँछ। जसले आफ्नै काम राम्ररी गर्दैंन, उसले अरूको काम गर्नु र नगर्नुको तुक हुँदैन।
पहिलो प्राथमिकता जहिल्यैं आफ्नो सत्कर्म हुनुपर्छ, अनि मात्र अरूको विश्वास जित्न सकिन्छ। काम गर्न सकिन्छ। किन गर्ने अरूको काम? किन लिने अरूको जिम्मेवारी?
एउटा भनाइ छ, ‘आफू भलो त जगत भलो।’ सत्कर्म गर्दैं गए, आफ्नो कर्मप्रति जिम्मेवार र इमानदार भए, हरेक मान्छेले आफैं सिक्छन्। कसैलाई भनिरहन पर्दैन। कसैको प्रिय हुने, कसैलाई प्रभाव पार्ने तत्व भनेकै उदाहरणीय बन्नु हो। मान्छे बोलेका शब्दहरू बिर्सन्छन्, भुल्छन्। तर, उदाहरणीय मान्छेको उनीहरूको मनमा आस्था र मस्तिष्कमा तस्बिर हुन्छ। जसकारणले उनीहरू आफ्नो रोल मोडल मान्छन्।
कर्मले रोल मोडल बन्न सकिन्छ। यसको कुनै अर्को विधी, विधान वा नियम छैन। कर्ममात्र एउटा विधी, विधान वा नियम हो। आफ्नो कर्मप्रति जुन व्यक्ति लीन हुनसक्छ। ऊ नै रोलमोडल बन्नसक्छ। हजारौंको मार्गदर्शक बन्नसक्छ। ज्योति बन्नसक्छ।
'नो' भन्नु स्वार्थी बन्नु हो। स्वार्थी अर्थात् स्वंयमको अर्थ बुझेको। स्वार्थी हुनु नराम्रो होइन। यसलाई अपव्याख्या गरिनु चाहिँ नराम्रो हुन जान्छ। तपाईंलाई स्वार्थी हुनबाट कोले रोकेको छ र ? फाइदा आफूले लिन सके हामीलाई राम्रो लाग्छ अरूले लिए नराम्रो कुरा यत्ति हो। स्वार्थी हुनु किनभने स्वार्थी हुनु आफूलाई बुझ्नु, जान्नु, सम्झनु। यदि तपाईं स्वार्थी बन्नु भएन भने मान्छे तपाईंजस्तै निस्वार्थी बनेर आफूलाई बिगार्नेछन्।
अरूले तपाईंबाट आफ्नो कामलाई प्रेम गर्न सिके भनेमात्र पनि उनीहरूको जिन्दगीमा ठूलो परिवर्तन आउँछ। कसैलाई केही सिकाउन मन छ भने उसलाईं कामप्रतिको प्रेम सिकाउनुस्, ऊ जिन्दगीभर खुसी हुनेछ। आफ्नो कारणले एकपलमात्र कसैको चेहरामा खुसी देखियो भने त्यो वर्णनको सीमारेखाभन्दा माथि हुन्छ।
यदि कोही तपाईंको कारणले जिन्दगीभर खुसी भयो भने त्यो खुसी कस्तो होला कल्पना गर्नुस् त।
आफूले सक्ने कामको लागि कसैले नभने पनि अगाडि बढ्नुस्। तपाईंको कसैलाईं सहयोग आवश्यक छ भन्ने लाग्छ भने सके जति सहयोग गर्नुस्। ढोंग नगर्नुस्। जहिल्यै स्वस्थ र सन्तुलित मन र मस्तिष्क बनाएर हिँड्नुस्। यसले कसलाईं के भन्ने र के नभन्ने भन्नेबारे सही निर्णय गर्न सजिलो हुन्छ। रोग लागिसकेपछि त्यसको निराकरण गर्न जो कोही व्यक्ति अगाडि बढ्छन्। एउटा बुद्धि, विवेक र चेतना भएको व्यक्ति त्यो हो। जो हरेक रोग र समस्यासँग लड्नको लागि आफूलाई. तयार बनाउँछ।
बोल्नु अघि केही सेकेण्ड रोकिनुस्। हतारमा, जान्ने बन्ने चक्करमा गल्ती हुने सम्भावना बढ्छ। एकपटक केही बोलिहालियो भने होइन है म अर्कै कुरा भन्दै थिए भन्नु साँच्चिकै लज्जास्पद हुन्छ।
फेरि यसो भनिहालियो भने पनि क्या हो मानसिक रोग छ कि भन्न पनि बेर लगाउँदैनन्। त्यसैले हतार गरेर बोल्दै पछुताउनुभन्दा कसैसँग कुरा गर्नु अघि उसका कुरा सुन्नुस्। एकछिन रोकिनुस्। अनि बोल्नुस्। यसपछि तपाईं के बोल्ने भन्नेबारे स्पष्ट हुनुहुनेछ। बोल्ने समयमा हतार गर्नु, छिटो बोल्न खोज्नु, पज नलिनु स्पिकिङ्गका बाधक हुनसक्छन्।
यदि यही कुरालाईं हाँस्यास्पद तरिकाले याद गरिराख्न चाहने हो भने हतार किन बाबा? भनेर याद गर्दा पनि हुन्छ होला।
फ्रायडको मनोविश्लेषण पुस्तकभित्र गल्तीको मनोविज्ञान भन्ने एउटा शीर्षक छ। जसमा निम्न अवस्थामा मान्छेले गल्ती गर्ने कुरालाई वर्णन गरिएको छ।
१) अस्वस्थ भएको अवस्थामा
२) गर्नुपर्ने कामबाट ध्यान भड्केको अवस्थामा
३) बढी उत्साहित/उत्तेजित भएको अवस्थामा
(लेखक उत्प्रेरक वक्ता हुन् ।)