विगत एक हप्तादेखि घरमा एघार वर्षको बाबुको स्वास्थ्यमा केही समस्या देखिएकोले तनावको अवस्था भयो। नेपालकै डाक्टरहरूको टिमसँग सल्लाह गरेपछि विस्तृत रूपमा थप अनुसन्धान सहितको उपचारका लागि दिल्ली जाने निर्णय गरियो।
सोही अनुसार नेपालका धेरैजसो सरकारी कार्यालयहरूको टिकट व्यवस्थापन गर्ने ट्राभल एजेन्सीलाई टिकटको लागि २ दिन अगावै (२०७८ फागुुन २ गते) अनुरोध गरे।
यसरी २०७८ साल फागुन ४ गते ३:३५ बजे दिउँसोको एयर इन्डियाको उडानबाट ४ (चार) जनाको लागि टिकट व्यवस्थापन भयो।
टिकटको व्यवस्थापन गर्दा नै पिसिआर रिपोर्टको बारेमा ट्राभल एजेन्सीलाई बुझें।
उनीहरूले इन्डियाले पिसिआर रिपोर्ट आवश्यक नहुने भनी मुख्य दैनिक पत्रपत्रिका तथा अनलाइनमा समाचार आइसकेको र ट्राभल गाइडलाइन्सदेखि सबैतिर जानकारी गराइसकेको हुँदा खोप लगाइसकेकाहरूको लागि प्रमाणपत्र मात्र भए पुग्छ तर बाबुको पिसिआर टेस्ट चाहिन्छ भन्ने जानकारी भयो।
त्यो दिनको दैनिक पत्रपत्रिकामा समेत इन्डियामा पिसिआर रिपोर्ट आवश्यक नहुने भनी समाचार आइरहेका थिए। ट्राभलले पनि भनेपछि र आफूले समाचार हेर्दा नचाहिने भएपछि बाबुले खोप नलगाएको हुँदा पिसिआर रिपोर्ट तयार गरियो। बाँकी तीन जनाको भ्याक्सिन सर्टिफिकेट विथ क्युआर कोड बनाइयो।
बाबुको पिसिआर टेस्ट दिनुअघि समेत ट्राभलको स्टाफलाई भ्याक्सिन सर्टिफिकेट भएकोलाई पिसिआर टेस्ट आवश्यक हो कि होइन भनेर पुन: सोधें। जवाफ एउटै थियो।
नेपाल एयरलाइन्समा समेत सोधेको पिसिआर टेस्ट इन्डियाको लागि चाहिँदैन भन्यो सर त्यही भएर बाबुको मात्र गर्नुस् भनेर सल्लाह पाइयो। बाबुको मात्र दिइयो।
यति भएपछि हतास मन, सबै जना चिन्तिन हुँदै बाबुको थप उपचारको लागि बिदा गर्यौं।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय डिपार्चरको गेटमा पुगेपछि प्रहरीले सबै जनाको पिसिआर टेस्टको रिपोर्ट खोज्यो।
किन चाहियो पिसिआर टेस्ट? इन्डियाले ४ दिनअघि नै नेपालबाट जान पिसिआर टेस्ट नचाहिने भनेर ट्राभल गाइडलाइन्सदेखि सबैतिर अपडेट गरिसक्यो। एयर इन्डिया को अनलाइन फर्म एयर सुविधादेखि सबै अनलाइन पोर्टलमा नचाहिने भनेर अपडेट छ भनेर जिज्ञासा राख्दा नेपालको आधिकारिक निकायबाट लिखित जवाफ आएको छैन भन्ने जवाफ पाइयो। हामीजस्तै थुप्रै यात्रुहरू अलमलमा थिए।
कस्तो अचम्म! चार दिन भइसक्यो इन्डियाले पिसिआर टेस्ट चाहिँदैन भनेको। अनि मैले एयर इन्डियामा सम्पर्क गर्दा नेपाल नागरिक उड्डयन प्राधिकरणको चिठी नभएसम्म हामी पिसिआर टेस्टबिनाको यात्रु लिँदैनौं भन्ने जवाफ आयो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त अध्यक्ष प्रदीप अधिकारीलाई बुझ्न लगाउँदा सिसिएमसीले आधिकारिक निर्णय गरेर पत्राचार गरेपछि मात्र नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरूलाई पत्राचार गर्न सक्छ रे!
कस्तो कडा ऐन नियमको पालना! नागरिकले पाउने सहजता र सुविधाका लागि अब सिसिएमसीको बैठक कहिले बस्छ होला? कहिले पत्र लेखिएला र नागरिकले पिसिआर टेस्टको रिपोर्ट नलिई जान पाइने देशमा पिसिआर टेस्ट नगरी भ्याक्सिन सर्टिफिकेटले मात्र जान पाउँछन् होला।
यो देशको कानुन दैवले जानुन् भन्ने उक्ति सम्झना भयो।
कस्तो कडा प्रशासन! नेपाल आउँदा पिसिआर टेस्टको रिपोर्ट खोज्नु त स्वाभाविक नै थियो, हाम्रो सिसिएमसीले निर्णय नगरूञ्जेलसम्म। तर अर्को देशले हटाइसक्दा समेत उक्त देशमा जाँदा पिसिआर टेस्ट रिपोर्ट नखोज्नु भन्नलाई सिसिएमसी कै निर्णय कुर्नु पर्ने कस्तो बिडम्वना!
सबैतिर बुझेपछि कतै केही नलागेपछि भारी मन लिएर भोलिको लागि टिकट सारेर घर फर्कियौं।
हुन त व्यक्तिलाई लहड लाग्यो। एयरपोर्टमा सुरक्षा कडा पार्न प्रिन्टेड टिकट अनिवार्य गरिदिए। गेटमा बस्ने प्रहरीलाई तालिम, परीक्षणका लागि आवश्यक प्रविधियुक्त औजारहरू दिई यात्रु सहजीकरणसहित सुरक्षामा समेत चुस्तता ल्याउनुको सट्टा प्रिन्टेड टिकट नै अनिवार्य गरिए विमानस्थल सुरक्षा प्रमुखले।
अझै बुझ्नुपर्ने- सरकारको, समाचारमा आएका कुराको, अनलाइनमा फर्ममा लेखिएका कुराको भर पर्नु आफ्नै गल्ती भएछ भनेर चित्त बुझायौं। गुनासो गर्ने ठाउँ कहीँकतै छैन।