स्नातक पहिलो वर्षमा पढ्दै थिएँ। मेडिकल शिक्षाअन्तर्गतको पढाइ भएकोले स्कुलको जस्तो ९-४ को कक्षा त्यसमाथि पनि ढिलो कक्षा सुरू गरेकीले पढाइको मेलोमेसो नपाएर दिक्क हुन्थेँ।
हिउँदको एक दिन, अन्य दिनझैं कलेज सकेर फर्किएपछि कपडा पनि नखोली खाटमा लखतरान पलटिरहेकी थिएँ।
मोबाइलको घण्टी बज्यो, बाबाको फोन थियो। घर छोडेको ४-५ वर्षको अन्तरालमा दिनको बिहान र बेलुका घरबाट फोन आउनु नभए आफैंले गर्नु नियमित रूटिनजस्तै भैसकेको थियो।
बाबाको कल रिसिभ गरेँ। सधैंझैं सन्चो-बिसन्चो अनि पढाइको कुराकानीपछि बाबाले मुस्कुराउँदै भन्नुभयो , ‘नानु, घरमा बिहेको कुरा आको छ, केटो सोझो, रक्सीचुरोट नखाने, स्नातक सकेर जागिर गर्दै गरेको, खानदानी घरको छ रे अनि पढाइदिन्छु पनि भनेको छ, आफन्तको आफन्त हो एकपटक सोच्दा हुन्छ नि।’
त्यसो त घरमा बिहेको कुरा चल्नु मेरो लागि नौलो कुरा थिएन।
एसएलसीपछिका हरेक वर्षका हिउँदहरूमा बिहेको कुरा नचलेको मलाई याद नै छैन।
बाबालाई नाइँ भनेर सिधै पन्छिन अप्ठ्यारो लाग्ने भएकोले मैले मुस्कुराउँदै जवाफमा नम्बर पठाइदिनुस्, म कुरा गर्छु भनें।
भोलिपल्ट साँझतिर फेरि मोबाइलको घण्टी बज्यो, नयाँ नम्बर थियो, रिसिभ गरेँ। १५ मिनेट जतिको कुराकानीपछि थाहा भयो, हिजो बाबाले नम्बर दिनुभएको मान्छे हुनुहुँदो रहेछ। शनिबार भेट्ने सर्तमा फोन राखेँ।
पहिलो पटक बिहेको कुराको लागि कसैलाई भेट्दै थिएँ। निकै अप्ठ्यारो महसुस गर्दै उहाँले बोलाउनु भएको ठाउँसम्म पुगेँ।
कोही एक जना आउनु हुन्छ सोचेकी थिएँ तर त्यसको ठिकविपरीत त्यहाँ खानदानी घरको खानदान नै उपस्थित थिए। नर्भस थिएँ, करिब दुई घन्टाको बसाइँमा उहाँहरूको प्रश्नहरूको लगातार जवाफ दिइरहेँ। केही आफ्ना कुराहरू पनि राखेँ अनि सोचेर निर्णय बताउने कुरा गरेर हिँड्नै लाग्दा पछाडिबाट आवाज आयो।
'पढाइ सकेपछि काम गर्ने जिद्दी गर्न चाहिँ पाउँदिनौं है नानु, हाम्रो खानदानमा बुहारीलाई जागिरमा पठाउने संस्कार छैन, उसै पनि कुनै कुराको कमी छैन।' उहाँ पढे लेखेकी बैंकमा जागिरे मेरी हुनेवाला सासूआमा हुनुहुन्थ्यो सायद।
म एकछिन रोकिएँ, काम गर्न नदिने भए यत्रो खर्च गरेर पढाउने कुरामा चाहिँ किन राजी भए?
हजारौं प्रश्नहरू उब्जिए मनमा तर फेरि पनि सोचेर जवाफ दिन्छु भन्ने औपचारिक जवाफ दिएर त्यहाँबाट निस्किएँ।
घर आएर आफन्तलाई फोन गरेँ। बल्ल थाहा भयो उहाँहरू ममा होइन मेरो डिग्रीमा आकर्षित हुनुहुन्थ्यो। पढे लेखेकी बुहारी भित्र्याएर मेरो मार्कसिटलाई सामाजिक प्रतिष्ठाको 'सोकेस' बनाउन चाहनुहुन्थ्यो उहाँहरू।
यो सब सुनिसकेपछि पढे-लेखेका 'हाई-प्रोफाइल' खानदानको सोच देखेर आत्मैदेखि घृणा जागेर आयो।
भोलिपल्ट बिहानै बाबाको फोन आयो, 'के सोच्यौ त नानु?' प्रत्युत्तरमा मैले मलाई खासै चित्त बुझेन भन्दै इन्कार गरिदिएँ जबकी मलाई थाहा थियो परिवार, समाज अनि आफन्तले हजार प्रश्न गर्नेछन्। कसैले चरित्रमाथि पनि औंला उठाउने छन् किनकि उहाँहरूको नजरमा त्यति राम्रो घरपरिवार अनि केटो फेरि पाउने छैन मैले। तर मसँग अर्को विकल्प थिएन।
मलाई मेरो सपना, बाबाआमाको त्याग, परिश्रम र उहाँहरूको मप्रतिको विश्वासले गन्तव्यबाट विमुख हुने छुट थिएन।
बाबा-आमाले जीवनको पछिल्लो पच्चीस वर्ष मेरो सपनाको लागि समाज, आफ्ना अनि आफ्नो अवस्थाहरूसँग सम्झौता गर्दै बाँच्नुभयो। समाजमा सम्मानित पेशामा आफ्नो परिचय बनाएर आत्मसम्मानका साथ स्वतन्त्र भएर बाँच्ने मेरो सपना र बाबाको सपना त्यागेर सम्पन्न परिवारकी बुहारी भएर भित्रिनुलाई सफलता मान्न सक्ने मन मसँग थिएन, छैन र हुने छैन पनि।
प्यारी दिदीबहिनीहरू, बाबाले अथवा आफन्तले खोजिदिनु भएको सम्पन्न अनि खानदानी परिवारकी बुहारी भएर भित्रिनुलाई हामी कहिलेसम्म आफ्नो सफलता मान्ने?
सुखी जिन्दगीको आशामा बाबा-आमाको पच्चीस वर्षको लगानी अनि आफ्नो जीवनभरको मेहनतको योग्यतालाई सिरानीमुनि राखेर कहीँ ‘छोरीलाई पढाउनु बालुवामा पानी हाल्नु सरह हो’ भन्ने कथनलाई सही प्रमाणित त गर्दै छैनौं हामी?
सुख र खुसीमा धेरै फरक छ। फरक छुट्टाउन नभुलौं। पढ्नु भनेको प्लस टु, स्नातक र स्नातकोत्तर तहको प्रमाणपत्र साथमा हुनुमात्र होइन, आत्मनिर्भर भएर बाँच्न सक्नु पनि हो नि, होइन र?
लेखक: निमिका श्रेष्ठ