मामाघरमा बोरामा पात्रो आउँथ्यो, बोरा च्यातिएको प्वालबाट चिहाइरहेको पात्रो खुसुक्क निकालेर कुनामा गएर पढ्थें।
तिथी, मिति, पक्ष, अनि नेवारीमा समेत महिनाहरूका नाम भएको पात्रो फागुन-चैततिर पढेर छुट्टी गन्दा बुद्ध पूर्णिमाबाट सुरू हुन्थ्यो मेरो कौतूहल त्यसपछिको केही समय पात्रोमा सुख्खा लाग्थ्यो अनि आउँथ्यो गथामुगः रंगीचंगी औंठी लाउन पाइने पर्व। त्यसपछि गुँला, गाईजात्रा हुँदै इन्द्रजात्रा पात्रोमा देख्दा पनि दंग पर्थें।
मामाघर भएको तुँछें बहाल बौद्ध बिहार भएकोले चिबहाः, सिंह, गणेश, महाँकाल आदि बाहिर अनि भित्र पालाद्यो भनिने.. का मूर्ति छन्। बर्सेनि बुद्ध पूर्णिमा अघि चिबहाः सफा गर्ने, तेल लगाउने काम हामी केटाकेटीको हुन्थ्यो।
सिगः (श्रीघः) गएर बुद्ध जयन्ती मूल समारोह समितिबाट पञ्चरंगी बौद्ध झण्डाको ध्वजा आदि किनेर ल्याएर सजाउने अनि टोल छिमेकमा उठाएको पैसाले बेलुकाको खाजा खाएपछि हाम्रो लागि बु.पु. सकिन्थ्यो।
बीचमा एक राउन्ड शरणगमन, बुद्धाभिवादन र पञ्चशील पनि हात जोडेर पाठ गरिन्थ्यो। असाध्यै रमाइलो हुन्थ्यो।
पछि-पछि अलि बुझ्ने भएपछि गुँलामा स्वयम्भूमा हुने ज्ञानमाला भजन सुन्दा आनन्द आउने हुनथाल्यो।
'हे प्रभु भगवान दर्शन बिइ वा!' गुन्जिंदा शाक्यमुनि बुद्धलाई प्रेरणा मानेर आफूभित्रको बुद्ध देख्ने आसय हो कि जस्तो लाग्छ। अझ पछि त कहिलेकाहीँ धम्मावती गुरूमाका बौद्ध कथाहरू सुन्दा बौद्ध दर्शनमा झन् आकर्षण बढ्यो।
त्यो ताका नेवार बहुल टोलहरूमा थेरवाद बुद्ध धर्मको प्रभाव बढेको बेला थियो अनि चिवर लाएका भिक्षु देख्दा ‘भन्ते वन्दना’ भन्नुपर्छ र नेवारी भाषाको उच्च आदरार्थी सम्बोधन गर्नुपर्छ भन्ने पनि सिकियो। धर्म के हो भन्ने चाहिँ अत्तोपत्तो थिएन। उसो त सामान्य अभिवादन तारेमाम्! ठूलो स्वरमा प्रशस्त सुनिन्थ्यो।
मावल टोल, मखं त्वाः पनि अचम्मको ठाउँ।
उतिबेला तलेजू मन्दिरको पश्चिमपट्टि लहरै क्युरियो शप भनिने थांका, पौभा, हस्तकला आदिका पसल अगाडि रेडियोमा क्रिकेट कमेन्टरी सुन्ने मान्छे कानैमा रेडियो राखेर घाम तापिरहेका हुन्थे। हामी उनीहरूसँग स्कोर सोध्थ्यौं।
अलि ठूलो भएपछि युनाइटेड स्टेट अफ मखन टोल भनेर आफैं दंग पर्थ्यौं। अब पुलिस, आर्मी, दरबार र विशाल बजारजस्तो देशकै पहिलो सपिङ मल भएको ठाउँ त देशै भएन र जस्तो लागेर हो यो कुरा निस्केको चाहिँ। कति कज्मोपोलिटन भने नेवारको पसलमा दिनभरि किशोर कुमारको दर्द भरे नगमे, रफि, मुकेश, लता घन्किन्थ्यो, मारवाडी, मधेशी, बाहुन सबै नेवारी बोल्थे विदेशी भने सबै प्रकारका देखिन्थे हिप्पी, होटलको नाम लेखेको साबुन-क्यान्डी-टुथब्रस बाँड्दै हिँडनेहरू अनि जेरी-स्वारी मन पराउनेहरू।
हनुमानढोका संग्रहालयमा निःशुल्क छिराइदिने आर्मी दाइहरू अनि साथी पुजारी भएकोले म्युजियममा लुकामारीसम्म खेलियो। के कहाँ छ, कुन कोठामा सिंहासन छ, भिमसेन थापालाई कहाँ थुनेको सबै कण्ठै, नासल चोकदेखि मूल चोकसम्म कहिले के कार्यक्रम हुन्छ भन्ने निकै थाहा थियो।
एक सुका भयो कि छाउनी म्युजियम पुगिन्थ्यो। खुब कौतुहल थियो मनमा शान्त, रौद्र, सबै खालका, अझ निर्वस्त्र, संभोगरत मूर्तिहरू देख्दा डर पनि लाग्थ्यो।
पर्त्या बाहुन परिवारमा जन्मेको केटो कहिले साँस्कृतिक रूपले नेवार बनिसकेछ पत्तै भएन। अहिले पनि मान्छेले सोध्छन् नेवारी कहाँ सिकेको, म भन्छु सिकेकै होइन। कोही बुझ्छन्, कसैले बुझ्दैनन्।
१७ वर्षको हुँदा एक्लै बरालिने बानी भएको म दक्षिणकाली पुगें एक्लै। कीर्तिपुरका एक हुल दाइहरू चिया पसलमा गफिँदै थिए। एक जनाले लाइन व्यवस्थापन राम्रो भएन भन्दै थिए नेवारीमा मलाई नि चित्त नबुझ्या ख नि दाइ! भन्देको के कसो सोध्न थाले। त्यसपछि त फर्पिंङको एउटा घरमा लगेर दुई गाग्री थ्वों, छ्वेला, भुटन, द्याक्वलाः ख्वाए अनि बेलुका उनीहरूकै मोटरमा कालीमाटीसम्म पुर्याइदिए। मातृभाषा नै दुइटा भयो मेरो लागि।
बरालिने क्रम जारी थियो। स्कुल मनपर्थ्यो, पढ्न पटक्कै मन पर्दैनथ्यो। एक दिन बौद्ध पुगेर स्तुपको वरिपरि हिँड्दै थिएँ। छेउको एउटा गुम्बाभित्र छिरें। केहीबेरमा एक जना, शायद तिब्बती भिक्षुले बोलाएरमाथि लिएर जानुभयो निकैबेर कुरा गर्न खोज्नुभयो तर उहाँलाई नेपाली नआउँदो रहेछ म भने उहाँको भाषा नबुझ्ने।
उहाँको सौम्य, शान्त र मन्द मुस्कानले के असर भयो खै कुन्नी त्यसै, त्यसै गुम्बाहरूमा जान थालें। अहिले सम्झिँदा ती भिक्षुले कुरै केही नभनि, केही न केही दिएकै हो जस्तो लाग्छ गुरूले शिष्यलाई केही गुह्य कुरा संकेतबाट बुझाएजस्तो।
मन प्रफुल्ल त भएकै हो त्यतिखेर तर धर्म के हो भन्ने चाहिँ छेउटुप्पै थिएन। ल्होसार ताका हुने छाम नाच, धेरै दिनसम्म चल्ने ढ्रुप्छेन पूजा आदिमा पुग्दो रैछु गज्जब लाग्थ्यो तर बुझेको भने केही हैन।
कालान्तारमा केही थेरवादी त्रिपिटक सूत्रहरू पढेर सुरू गरेको बौद्ध शिक्षाको खोज नालान्दा जस्ता विश्वविद्यालयको विकसित भएका अनि तिब्बती \ हिमाली परम्परामा झन तिखारिएका दर्शनतिर मोडियो। अनुभुती शुन्य, कोरा सतहि अध्ययन भएपनि धार्मिक रुपमा तिब्बती- हिमाली बौद्धदर्शनको जिज्ञासु भएको पनि झण्डै डेढ दशक भएछ।
सोलुतिर सातौं शताब्दीका साँगे निपा अर्थात् हिमालयका द्वितीय बुद्ध गुरू पद्मसम्भवको मन्त्र पाठ गरेर हवाई अनि हिमाल चढ्दा हुने अरू दुर्घटना कम होस् भनेर बज्र गुरू धुंग्युर गर्ने चलन छ। …. जुनबेसीका लामा शेर्पा साथीको संयोजनमा हामी त्यहाँ पनि पुग्यौं।
जुनबेसीको … टाशी…छोलिङ गुम्बाबाट केही परमाथि थुप्तेन छोलिङ आनी अर्थात् भिक्षुणी गुम्बा छ। सामूहिक एकान्तबासमा बरेको आनीलाहरूलाई डिस्टर्व पो गरियो कि जस्तो लाग्ने यो गुम्बाको शान्त वातावरणसँग भित्री चित्त एकाकार भएको बेलाको क्षण भने धर्म के हो भन्ने प्रश्न हरायो अनि सोचें धर्मको। धर्म अभ्यासको कुनै ध्येय छ भने त्यसको सिद्धि यस्तै हुन्छ होला।
दर्शन अनुभूति बन्छ होलाजस्तो लाग्यो त्यतिबेला। मातृभाषा दुइटा भएको म तिब्बती भाषा अर्थात् भोय् के मा गुम्बाहरूतिर सामूहिक पाठ हुने ग्रन्थहरूको आवाज सुन्दा टक्क अडिन्छु, सुन्छु अनि सधैं एक प्रकारको सुखानुभूती हुन्छ। अब त दर्शन खोज्ने क्रममा भोट भाषा र संस्कृतको विद्यार्थी भएको छु।
फर्केर हेर्दा काठमाडौं सहरको हुर्काइले मलाई मेरो जीवनको दिशा निर्दिष्ट गरेजस्तो लाग्छ। मलाई लाग्छ यो कज्मोपोलिटन मेल्टिङ पटले मलाई आकार दिएको छ। अझ लाग्छ म आफूभित्रै त्यो मेल्टिङ पट बोकेर हिँडेको छु।
त्यसैले मेरो आकार बदलिरहन्छ, यो संसारको अथाह, अनन्त अनित्यतामा। म कुनै जातपात, लिङ्ग, नश्लमा अटाउने, सदा एकैनास रहने नित्य वस्तु हैन र यो चित्त कुनै पनि संज्ञाभन्दा बाहिरको हो भन्ने कुरा मलाई म भित्रको त्यही मेल्टिङ पटले सम्झाइरहन्छ। म बदलिइरहन्छु, पग्लिँदै - बग्दै।