सार्वजनिक यातायात सवार गर्ने क्रममा म बुटवलदेखि प्युठान जाँदै गर्दा भालुबाङबाट बाग्दुला जानको लागि बृद्ध बाबुआमाको जोडी बसभित्र प्रवेश गर्नुभयो।
बसमा पनि मानिसको निकै नै चाप थियो। म पनि पछाडि उभिरहेको थिएँ।
ती वृद्ध बुबाआमालाई निहालिरहेको थिएँ। मेरो मन सोचिरहेको थियो दु:ख पाउने भए वृद्धले कसरी जालान्! बस भित्रको चाप उत्ति नै।
यात्रा गर्दै जाँदा एउटा मोडमा जीप आएकोले ड्राइभरले ब्रेक लगाउँदा हामी पछाडि उभिएका लड्यौं तर हामीलाई कुनै चोट लागेन। तर अगाडि उभिनु भएका बुढा बा आमा एक अर्काको हात समात्दै उभिनु भएको थियो।
उहाँहरू क्याबिनको ढोकामा ठोक्किन पुग्नुभयो। उहाँहरूलाई चोट त लागेन तर वृद्ध बा-आमाले दुखाइको महसुस चाहिँ गरिरहनु भएको महसुस भयो मलाई।
पछाडिबाट मैले हेरिरहेको थिएँ। चोटको महसुससँगै एक अर्काको आँखा हेरिरहनु भएको थियो।
उहाँहरूको अनुहार हेर्दा मलिनो देखिएको थियो। युवाहरू सिटमा बसिरहेका थिए तर ती वृद्धको कुनै मतलब थिएन। यदि म सिटमा बसेको हुने थिएँ भने वृद्ध बा आमालाई सिट छोडिसकेको हुने थिएँ किनकि मानवताको विषय थियो।
मेरो मनले मानेन र वृद्ध बा-आमाको नजिक पुग्ने कोसिस गरेर नजिकैको सिटमा एक जना युवा मोबाइल चलाउँदै बस्नुभएको रहेछ। हेर्दा पढेकोजस्तो देखिनु हुन्थ्यो।त्यही सिटको पछाडि दुई जना युवायुवती बस्नु भएको थियो।
मैले मोबाइल चलाइरहेको दाजुलाई नरम शैलीमा 'हेर्नु दाजु वृद्ध बा-आमाले कति दु:ख पाउनुभयो। बरू हजुरको सिटमा मिलाएर राखौं न हुन्न र? हामी त बरू उभिएर भए पनि यात्रा गर्न सक्छौं! युवा हौं समस्या सहन सक्छौं' भन्दै कुरा गरे।
ती युवाले भने- सबै जना उभिएका छन् त भाइ? कसैले केही भनेका छैनन्! अरूले सिट छोडे पनि त हुन्छ हामीले छोड्नुपर्छ भन्ने के छ र?
केही समयपछि उहाँले ठाडो शैलीमा भन्नुभयो- धेरै जान्ने हुने होइन ब्रो! हामी पनि त पैसा तिरेर बस चढेको हो नि त? हामी पनि लामो यात्रा गरिरहेका छौं।
मैले कुराकानी गरिरहेको पछाडिबाट एक जना बुवाले सुन्नुभएछ र बुवाले भन्नुभयो- बाबु मेरो सिटमा राखौं न वृद्ध बाआमालाई सजिलो हुन्छ भन्दै उभिनु भयो र हामीले वृद्ध बाआमालाई सिटमा राख्यौं।
तर हाम्रो समाजको संस्कार कता गहिरहेको छ। म रनभुल्ल छु।
त्यहाँ पैसाको भन्दा पनि मानवता कुरा थियो। बाल्यकालदेखि नै शिक्षाले भन्दै आएको थियो कि ठूलालाई आदर, संस्कार र सानोलाई माया गर्नुपर्छ तर त्यही सामान्य वाक्य युवामा लागु हुन सक्दैन भने नेपालको शिक्षा प्रणालीले युवालाई कुन दिशातिर लगिरहेको छ।
समस्या ती युवकको मात्र होइन हामी सार्वजनिक यातायात सवार गर्ने क्रममा धेरै ठाउँमा देखेका छौं। हामीले पनि वृद्ध वा कुनै पनि अशक्त व्यक्ति यातायात गर्ने क्रममा उभाएर हामी सिटमा बसेका छौं। हामीले आफ्नो बानी सुधार गर्न एकदमै जरूरी देखिन्छ। हामीबाट सिक्ने पछिको पिँढीले कस्तो संस्कार पाउँछ होला तपाईं आफैं भन्नुस्?
हामी मानिस भएपछि मानवता देखाउन जरूरी छ। किनकि हामी मान्छेले मान्छेलाई चिन्न सक्दैनौं भने हामी मानवता हुनुको कुनै औचित्य छैन।