शिवरात्रि अगावै पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवानका वाल पेन्टिङ गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निर्देशन दिएको समाचार आएको छ।
नेपाल सरकारका यी मन्त्रीमा राम्रो काम गर्ने/गराउने हुटहुटी देखिनु निकै सकारात्मक विषय रहेको छ। आफ्नो मन्त्रालयको क्षेत्राधिकारभित्र रहेका विभिन्न विसङ्गतीविरूद्ध एक्सन लिएका कारण यिनीबाट आम जनताले राम्रो आशा पनि गरेका छन्।
पशुपति क्षेत्रका भित्ताहरूमा भगवानका वाल पेन्टिङ गर्ने आइडिया आफैंमा नराम्रो हैन, पक्कै पनि यसले पशुपत क्षेत्रको धार्मिक सौन्दर्यमा अर्को इँट्टा थप्नेछ।
तर सवाल यो हो कि केही दिनभित्रै पर्ने शिवरात्रि पर्व अगावै हतार-हतार बिना कुनै गृहकार्य केबल मन्त्रीको निर्देशनको आधारमा युद्धस्तरमा वालपेन्टिङ गर्दा के त्यसले यो क्षेत्रको विशिष्टता अनुसारको धार्मिकपना, कलात्मकता र गुणस्तर कायम राख्न सम्भव रहला?
हतार-हतार बिना तयारी अगाडि बढ्नुको सट्टा वाल पेन्टिङ गर्ने विषयमा सम्बन्धित विषय विज्ञहरूसँग व्यापक छलफल गरेर पशुपति क्षेत्रका कुन-कुन स्थानमा कुन-कुन भगवानका कस्ता-कस्ता र कत्रा-कत्रा पेन्टिङहरू बनाउने भनेर गृहकार्य गरेरमात्र यो कार्य सम्पन्न गरेमा यसको धार्मिक महत्व, सान्दर्भिकता र दीगोपना पनि कायम गर्न सकिन्थ्यो। साथै यस्ता पेन्टिङ एकपटक बनाएपछि सदियौंको लागि उही अवस्थामा रहन सक्दैनन्, घाम पानीले यिनलाई असर गर्नेछन्।
तसर्थ यिनको संरक्षण कसरी गर्ने भन्ने विषयमा पनि जिम्मेवारी किटानसहितको स्पष्ट कार्ययोजना बनाउन आवश्यक छ जसले गर्दा पेन्टिङ बनिसकेपछि यिनको चुस्त संरक्षण र व्यवस्थापनको सुनिश्चितता हुन सकोस्।
त्यसैगरी यस क्षेत्रको ऐतिहासिकतालाई मध्यनजर गरेर कस्ता प्रकारको रङ प्रयोग गर्ने भन्ने विषय पनि अर्को सरोकारको विषय हो।
तर, मन्त्रीको निर्देशनको कारण अब पशुपति क्षेत्र विकास कोषको सम्पूर्ण संयन्त्र शिवरात्रिको अन्य तयारीभन्दा वालपेन्टिङतर्फ केन्द्रित हुनेछ।
यसै पनि कोषका पदाधिकारी जसरी हुन्छ मन्त्री र उच्च पदस्थहरूलाई रिझाउन पर्छ भन्ने भावनाबाट चल्दै आएका छन्। त्यसैले अब कोषका पदाधिकारी तथा कर्मचारीका लागि शिवरात्रिपूर्व भक्तजनको व्यवस्थापनको लागि गरिनुपर्ने अन्य महत्वपूर्ण कार्यभन्दा वाल पेन्टिङको व्यवस्थापन प्राथमिकतामा पर्ने देखिन्छ।
यस अगाडिका शिवरात्रिमा दस लाखसम्मको संख्यामा भक्तजनहरू पशुपति क्षेत्रमा आएको आकडा पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गर्दै आएको छ।
शिवरात्रि मेलामा व्यवस्थापन गर्नुपर्ने यति ठूलो भिडभाडलाई मध्यनजर गर्दा हाललाई वाल पेन्टिङभन्दा अन्य विभिन्न विषय प्राथमिकतामा पर्नुपर्ने हो। यसै पनि कोभिडको महामारी सम्पूर्ण रूपमा सकिसकेको अवस्था छैन।
हामी ठूला कुराहरूको बारेमा धेरै सोच्छौं तर साना देखिने अनि महत्वपूर्ण विषयमा भने पर्याप्त ध्यान दिँदैनौं।
शिवरात्रिजस्ता मेलामा पशुपति क्षेत्रमा विभिन्न समस्या देखिने गरेका छन्।दर्शनार्थीको लाइनमा घुसपैठ हुने, लाइन व्यवस्थापन कमजोर हुँदा दर्शनार्थीहरू घण्टौंसम्म लाइन बस्नुपर्ने, कुनै ढोकातर्फ पटक्कै लाइन नहुने भने कुनै ढोकातर्फ अत्यधिक भिड हुने, पाकेटमारको बिगबिगी हुने, बाबाजीहरूबाट प्राप्त लागुपदार्थ प्रयोग गरेर युवाहरूले होहल्ला गर्ने लगायतका विभिन्न समस्याहरू देखिने गरेका छन्।
उल्लिखित समस्याको अलावा निरन्तर दोहोरिरहने अनि दर्शनार्थीले निकै कष्ट पाउने तर कोषले कहिल्यै पनि प्राथमिकतामा नराख्ने विषय हो: शौचालयको व्यवस्थापन ।
पशुपति क्षेत्रमा नियमित समयकै लागि पनि पर्याप्त मात्रामा व्यवस्थित शौंचालयको अभाव छ। व्रम्हाण्डकै मालिक भगवान पशुपतिनाथलाई सुनको जलहरी चढाउन सक्ने कोषले भगवानको भक्तजनको लागि पर्याप्त शौचालयको व्यवस्थापन भने गर्न सकेको देखिँदैन। झन् मेलामा लाखौं भक्तजन आउँदा यो समस्या विकराल हुने गर्दछ।
दिशापिसाबले च्यापेर आक्रान्त भए पछि दर्शनार्थीले लाजशरमको तिलाञ्जली दिँदै जताततै शौच गर्न बाध्य हुने गरेका छन्। अझ महिला भक्तजनको हकमा यो समस्या अझ बढी जटिल हुने गरेको छ।
दर्शनार्थीको त कुरा छाडौं, यहाँसम्म कि भक्तजनको सुरक्षामा खटिएका महिला प्रहरीहरू पनि शौचालय नपाएर छटपटाउनुपर्ने अवस्था छ।
मेलामा कोषले केही सङ्ख्यामा अस्थायी शौचालयको व्यवस्था त गर्दछ तर यो भक्तजनको सङ्ख्याको अगाडि हात्तिको मुखमा जिरा साबित हुने गरेका छन्। जस्तैः- भण्डारी गुठी अगाडि रहने नेपाल प्रहरीको अस्थायी कमाण्ड पोस्टको पूर्वतर्फ अस्थायी शौचालययुक्त गाडी राखिने गरिएको छ, तर भक्तजनको ठूलो सङ्ख्याका कारण त्यसको क्यापासिटीले एक घन्टा पनि धान्दैन। अनि दिशा पिसाबले आकुल-ब्याकुल भएका भक्तजन बाध्य भएर त्यसको बाहिरैपट्टी शौच गर्न बाध्य हुने हुँदा दिन भरी त्यो क्षेत्र मानव मलमुत्रको दुर्गन्धले आक्रान्त हुने गरेको छ। लाग्छ शिवरात्रिको पवित्र दिनमा पाशुपत क्षेत्रभित्र मानव निर्मित ठूलो मलमुत्रको कन्टेनर ठड्याइएको छ।
यो समस्या प्रत्येक शिवरात्री र तीज जस्ता मेलामा दोहोरिँदै आएको छ। दर्शनार्थीका अलावा प्रहरी, स्वयम सेवक, स्काउट लगायतका विभिन्न सरोकारवालाले दु:ख पाउँदै आएका छन्।
आफ्ना लागि अट्याच बाथरूमको व्यवस्थापन गरेका कोषका पदाधिकारीको आँखा यस्ता झिनामिना विषयमा पर्दैन।
प्रत्येक पटक शिवरात्रीमा कोषले कयौं लाख भक्तजनले पशुपति क्षेत्रको दर्शन गरे भनेर हल्ला गर्दछ तर त्यो ठूलो सङ्ख्याको अनुपातमा कति शौचालय आवश्यक पर्दछ भन्ने विषय पटक्कै सोच्दैन वा सोच्न चाहँदैन ।
यस पटक मन्त्रीको निर्देशनको कारण पशुपति क्षेत्रका विभिन्न भित्ताहरुमा भगवानका बडेमानका चित्र बन्ने भएका छन् तर सदा झैं पर्याप्त सङ्ख्यामा शौचालयको व्यवस्थापन भने नहुने देखिन्छ।
यस्तोमा धार्मिक पुण्य कमाउन टाढा-टाढाबाट पाशुपत क्षेत्र आएका भक्तजन दिशापिसाबले व्याकुल भएपछि तिनै भगवानको चित्र भएका पर्खालमुनि शौच गर्न बाध्य हुन नपरोस्। पशुपति क्षेत्र विकास कोषले यस विषयमा समयमै ध्यान दिई पूर्वतयारी थालोस्।
भगवान पशुपतिनाथले सबैको कल्याण गरून् ।
(लामो अवधिदेखि पशुपति क्षेत्रमा मेला व्यवस्थापनमा सहभागी भई अनुभव सङ्गालेको आधारमा लिखित)