म एक भग्नावशेष बनेको छु। सबै जना आउँछन् र मेराबारे राम्रा नराम्रा कुराहरू गर्छन्। म सुन्छु र चुपचाप रहन्छु। उनीहरूको अन्तर्मनका कुरा राख्न पाउने अधिकार उनीहरूमै निहित छ।
उनीहरूमा जबसम्म अरूका लागि नराम्रो बन्न हुँदैन, नराम्रो भन्न हुँदैन भन्ने तत्वबोध हुँदैन तबसम्म समाजमा यही प्रक्रिया चल्छ। म सबैका नकारात्मकतालाई आत्मसात गर्दै अगाडि बढ्न चाहन्छु।
कुनै न कुनै रूपमा ती नकारात्मकता पनि मेरा लागि मार्गदर्शक बन्न सक्छन् भन्ने ठानेको छु। परिवार वा समाजको खबरदारी, वातावरणीय प्रभाव म बन्न आवश्यक अवयवहरू हुन्। म कति मजबुत बन्न सक्छु भन्ने कुरा यी नै अवयवहरूको समिश्रणमा निर्भर छ। कतिपय अवयवहरू आवश्यकता र आयतनका हिसाबले टुक्राएर पनि प्रयोगमा ल्याउनुपर्ने हुन्छ। यो अवस्थामा सबभन्दा धेरै आफ्नो मन टुक्राउनु पर्ने रहेछ। कयौं कठिन परिस्थितिहरूमा सम्हालिन, आफ्नै मनलाई प्रश्न गर्ने गर्छु। अत्तालिएर कहाँसम्म पुग्ने? केही क्षण मनले थकान मारिसकेपछि आफ्नै खराबीहरू नियाल्दछु, र निष्कर्षमा पुग्छु 'त्यो काम मेरो थिएन'।
आफूले आफ्नै मूल्यांकन गर्न सकियो, सिकियो भने मात्र बन्न सकिने रहेछ।
सबैका 'के बन्छस्' भन्ने प्रश्नहरू खासै सान्दर्भिक लाग्दैन। कोरा किताबी ज्ञानमा दौडिरहेको समाजलाई पैसा आर्जन, सुख भोगभन्दा केही कमाउनु छैन। प्रोफेसनल रूपमा जे रहे पनि त्योबाहेक उसले आफूलाई कुन क्षेत्रमा अब्बल उभ्याउन सक्छ त्यो नै उसको वास्तविक परिचय हो।
सबै मानिसमा केही न केही निहित तत्व हुन्छ, त्यसको पहिचान र विस्तृतीकरणका लागि मात्र न हो औपचारिक शिक्षाको आवश्यकता, जसले बाटो देखाउँछ, उसैलाई जीवन्त राख्न, उसैका हातहरू समाएर धेरै उकाली-ओराली केही जङ्घारका फड्केहरू तर्न/हिँड्न सकियो भने मात्र बन्न सकिने रहेछ।
जीवन आलस्यताको भकारी पनि हो। यसलाई चिर्न सकियो भने मात्र न बन्न सकिने रहेछ।
यावत दु:ख, कष्ट, पीडामा खुसीको जडान भरी म पुन: एउटा जीवन बन्नुछ। त्यो जीवन जसलाई सुनेर कोही आनन्दोभास गर्न सकोस्। पढेर कोही विद्वत्व ग्रहण गर्न सकोस्, रोएर पनि कोही हाँस्न सकोस्, मरेर कोही बाँच्न सकोस्।
बन्न त कसैलाई जागृत गराउन सक्नुपर्ने रहेछ। म आफूलाई पुनर्निर्माण गरेर तिमीसामु उभ्याउन चाहन्छु। म तिमी (समाज) ले देख्ने, तिमीले सुन्ने, ती औंलाले स्पर्श गर्ने, मनले महसुस गर्ने, ओठले चुम्ने 'म' बन्न चाहन्छु।