सय वर्ष उमेर नाघिसक्दा पनि साहित्यको फूलबारीमा मुस्कुराउने एक जना स्रष्टा। सृजनशीलता, सक्रियता र राष्ट्रप्रेमका त्रिवेणी अर्थात वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशी।
जसले जीवन के हो भनेर बुझ्न सक्यो भने ऊ कहिल्यै दुःखी बन्दैन। जीवनलाई बुझ्ने मध्येका यस्तै सुखी हुन्–सत्यमोहन जोशी। उनी सबैका आँखाको नानी बनेका छन्।
सरल छ उनको जीवन दर्शन्, ‘मानिसले चिन्तन गर्नुपर्छ। चिन्ता गर्नु हुँदैन। बल्ल मान्छे खुसी हुन्छ।’
उनलाई भेट्नुअघि उनको आनीबानीबारे खासै जानकार थिइनँ। म जस्ता भर्खरभर्खर साहित्यमा बामे सर्दै गरेको अनुज पुस्ताप्रति उनको व्यवहार कस्तो होला भन्ने खुल्दुली थियो मनमा।
पाटन दरबार क्षेत्र नजिकैको निवासमा जब भेट्न पुगेँ तब उनको सादगीपन, आत्मीयताले ग्वाम्लाङै अंगालोमा बेरेको अनुभूति भयो। नमन! वाङ्गमय शताब्दी पुरूष सत्यमोहन।
उनको दृढ संकल्पको अध्ययन गर्दा लाग्यो, मीठो फल प्राप्तिका लागि हामी सबैले अथक कर्म गर्नैपर्छ। एउटा सर्जक सिर्जनाको स्पन्दनसँग लगातार भिजिरहनु पर्छ।
जाडो महिना थियो, हामी उनको लोक साहित्य परिषदको आँगनमा राखिएका बेतका सोफामा बस्यौं। उनी पनि जाडोको प्रवाह नगरी त्यहीँ बसे। नजिकै उनकी आमा नुगलदेवी र बुबा शंकरराजको प्रतिमा छ। हरेक साँझ–बिहान उनी आमाबुबाको प्रतिमामा पूजा गर्छन्।
हामीले उनको जीवन र लोकसाहित्यका विषयमा कुराकानी गर्यौं। हाम्रा रचना लोकका लागि गुणकर हुनुपर्ने उनको मान्यता छ। गाँउघरमा आमा दिदीबहिनीहरूको भावना, वेदना मर्मको लहरी बनेर निस्कने स्वरहरूमा लोकसाहित्य र दर्शन भेटिन्छ भन्छन् उनी।
‘नभेटुन्जेल भेटुँझैं हुने भेटेपछि बोलचालै नहुने,’ यसमा पनि जीवनदर्शन देख्छन् उनी।
‘हामीले नभेट्दासम्म पुकारा गरिरहन्छौं तर भेटेपछि भगवान नै किन नहुन् के माग्ने त के भन्ने त? माग्यौं भने लोभ, लालच, रिस, डाह सबै आउँछ। नमागेर खोज्दै गयो भने शिखरमा पुगिन्छ त्यहाँ पुगेपछि अझै कहाँ जाने त? हो त्यस्तै माथिल्लो तहको हो लोक साहित्य पनि’, उनले भने।
‘जस्तोसुकै साहित्य सृजना गर्नुहोस् तर एउटा कुरा नभुल्नुस् तपाईँ के रचना गर्दै हुनुहुन्छ त्यसको शूत्र के हो? त्यसको नियम के हो? छन्द होस् या गद्य नियम भित्र रहेर गर्नुभयो भने तपाईँको रचना रसिलो बन्छ, अन्यथा बेस्वादिलो हुन्छ।’
कसैले तपाईँलाई छन्द के हो र त्यसको शूत्र के हो भनेर सोधेमा तपाईँले उत्तर दिन सक्नुपर्छ भन्छन् सत्यमोहन।
‘कुनै एउटा कार्यक्रममा यस्तो घटना मैले देखेको छु मञ्चमा गद्य कविता सुनाइरहेका बेला दर्शक दीर्घाबाट प्रश्न आयो तर उनले जवाफ दिन सकेनन्’, उनले एउटा सन्दर्भ सुनाए। यसरी हामी जस्तो साहित्य सिक्दै गरेकालाई सम्झाउँछन् उनी।
उनले निजी भवन लोक साहित्य परिषदलाई दान दिइसकेका रहेछन्। भवन बनाउन सांसद कोषबाट पचास लाख रकम प्राप्त भएको र बाँकी अरू शुभेच्छुकले थपेका हुन्।
पुरानो घर भत्काएर अहिले चार तले लोकसाहित्य भवन बनाइएको छ। यो भवन सांस्कृतिक संग्रहालयमा रूपान्तरण हुँदैछ।
यसको भुइँतलामा हल, पहिलो तलामा मुद्रा संग्रहालय, दोस्रो तलामा पौवा संग्रहालय र तेस्रोमा पुस्तकालय बनाइएको छ।
हामी पुग्दा संग्रहालयमा धमाधम पौवा चित्र बनाइँदै थियो। मौलिकता संरक्षण गर्ने अभियान हो यो।
‘अचेल जथाभावी रंग खेलेर चित्र बनाउने चलन चलेको छ’, उनले सुनाए, ‘पौवा चित्रले नेपालको मौलिकता झल्काउने भएकाले यसले आफ्नै शैली, कला, संस्कृति र दर्शन बोकेको हुन्छ।’
सांस्कृतिक संग्रहालय बनेकामा उनी खुसी छन्। ‘चाँदीको सिक्का र हुलाक टिकट मैले आफैं संग्रह गरेको हुँ’, उनले भने।
एउटा सर्जकले कुनै पनि चिजलाई जन्माउनु, हुर्काउनु, स्याहार गर्नु पनि हृदयभित्र जन्मिएको प्रेम हो। प्रेम सजिलो छैन तर त्यो अति गाह्रो पनि त होइन नि। इच्छाशक्तिले नै हरेक कष्टकर समयलाई सहज तुल्याउँछ।
नेपाली समाजमा सय वर्ष नाघेकालाई देवता समान मान्ने चलन छ। उमेरका कुरा बिर्सिदिउँ, उनी कर्मले महान बने। अथक लोकसांस्कृतिक साधक बने। जसलाई सम्झँदा मनमा श्रद्धाभाव जाग्छ।
तपाईँ त १०२ वर्षमा हिँड्दै हुनुहुन्छ। जीवनका केही रहर बाँकी छन् कि? यो जिज्ञासामा उनले भने, ‘छैन–छैन केही छैन अब त स्वाट्टै गयो। मेमोरी पनि गयो। यो चाहिन्छ त्यो चाहिन्छ भन्ने चिन्ताको कुरा पनि गयो।’
यति भनेर उनी हाँसिरहे।
जीवन एउटा रंगमञ्च हो। हामी सबैलाई लाग्छ जीवनमा रश्मीपुञ्ज उदय भैदिए हुन्थ्यो। जीवन ज्योतिमर्य बन्दिए हुन्थ्यो। यही क्रममा फेरि जीवनको रंगीन क्षणबारे सोध्न मन लाग्यो, ‘हजुरलाई सिनेमाहरू त मन पर्छ होला नि?’
उनले पुलुक्क मेरो अनुहारमा हेरे। अनि बोले, ‘पहिलापहिला कसैले लिएर जाँदा हेरियो। अहिलेसम्म आफैं टिकट किनेर हेरेको छैन र मेरी जहानले पनि हेरेकी छैनन्।’
उनलाई सिनेमामा भन्दा नाटकमा रुचि थियो। विगतमा उनले नाटक खेले, निर्देशन गरे र लेखे।
‘सिनेमामा पनि रुचि नभएको होइन तर मलाई मन नपरेको चाहिँ एकदम अस्वाभाविक फाइटिङ हो’, उनले सुनाए, ‘म चाइनामा थिएँ त्यो बेला गेस्टको रुपमा सिनेमा हेर्न लैजान्थे, धेरै हेरियो। चाइनामा सिनेमा हेर्दा भने पारिवारिक, सामाजिक खालको नेचुरल लाग्थ्यो।’
कुराकानीकै क्रममा उनले आफ्नो एउटा नाटक फेरि मञ्चन हुन लागेको जानकारी दिए। विगतमा नाचघरमा नाटकको पहिलो शो मञ्चन हुँदा त्यसका मुख्य पात्र विष्णुभक्त फुयाँलको हृदयघातका कारण मृत्यू भएको रहेछ।
‘महर्षी याज्ञबल्क्य’ नाउँको त्यही नाटक संस्कृत भाषामा मञ्चन हुँदैछ। संस्कृति मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले यो नाटकको पुस्तक छपाएका रहेछन्।
‘संस्कृत भाषा थोरैले मात्र बुझ्छन् तर संस्कृत भाषाको अन्तर्राष्ट्रिय इज्जत भने हुन्छ’, उनले भने।
विगतमा लोकगीत संकलन गर्न पूर्वदेखि पश्चिमसम्म हिँडेका थिए उनी। अचेल कत्तिको संगीत सुन्नु हुन्छ नि?
‘अब कान्छा र कान्छीको गीत मन पर्दैन। अचेल आध्यात्मिक, दार्शनिक खालको मन पर्छ’, उनले हाँस्दै सुनाए।
उनी जुरेली चरालाई आफ्नो गुरू मान्छन्। फिलोसोपी अफ जुरेली। उनी भन्छन् – ढुङ्गे युगमा पनि जुरेली चरिले आफ्नै लयमा गीत गाउँदै हिडेकै हो। जुरेली चरा कति ढुक्कसँग बाँचेको छ। उसलाई भोलिको चिन्ता छैन। हामीले पनि भोलिको चिन्ता किन गर्ने? आज आनन्दले बाँच्नुपर्छ भोलिको तनाव लिनु हुँदैन।’
पत्रकार गिरिश गिरीको लेखन र बुक हिलको प्रकाशनमा उनको जीवनी ‘सत्यमोहन’ बजारमा आउन लागेको छ।
साँच्चै तपाईँले ख्याल गर्नुभएको छ कि छैन, सत्यमोहन सधैं एकैखाले टोपी र पहिरनमा देखिन्छन्। यसको कारण के होला? मेरो जिज्ञासामा उनले भने, ‘आमाको स्वर्गारोहण भएपछि मैले दुई चिज छोडेँ एउटा छालाको जुत्ता र अर्को रंगीन टोपी लगाइनँ।
आमाको सम्झनामा छोडेको हुँ।’
सबैका निम्ति संसारमा सबैभन्दा प्रिय चिज नै आमा हुन्छिन्। जो सुकैलाई पनि आमाको सम्झना सदैव हृदयले गरिरहन्छ।
भलाकुसारी अघि बढिरह्यो। बुढ्यौलीमा घुमफिर सजिलो त हुन्न। तैपनी सोधेँ, ‘कतै जान पाए हुन्थ्यो भन्ने केही छ कि ?’
‘छैनछैन त्यस्तो केही छैन। एउटा छोरा क्यानडामा छ अर्को युकेमा। छोरी लस एन्जलसमा छिन्। उनीहरू बोलाइरहन्छन्।
मलाई कतै जाने इच्छा छैन अब रहर पनि छैन’, सन्तुष्टिको भाकामा बोले उनी।
मैले उनको बिहेको प्रसंग पनि कोट्टयाएँ।
‘मागी विवाह भएको हो। हामी मध्यम वर्गीय परिवारको मान्छे बहिनीको विवाहको कुरा टुङ्गो लागेपछि बुबाले मेरो पनि विवाहको कुरा गर्नुभयो मैले म पढ्दै छु अहिले गर्दिनँ भन्दा तिमीले पनि अहिले विवाह गर्यौ भने एउटै भोजमा छोरा र छोरी दुबैको भोज हुन्छ त्यसैले विवाह गर भन्नू भो। आमाले केटी पाइयो भने पछि बहिनी र मेरो एउटै भोजमा विवाह सम्पन्न भयो।’
उनी लप्पन छप्पन जान्दैनन्। लागेका कुरा भनिहाल्छन्। मनले आँटेको काम गरिहाल्छन्।
एक शताब्दीभन्दा लामो जीवन बाँच्न पाउनेहरू थोरै हुन्छन्। आफूले आफैंलाई फर्केर हेर्दा उनलाई आफ्नो जीवन कस्तो लाग्छ त?
‘पहिले त एउटा तक्मासम्म पाए हुन्थ्यो भनेर गोरखादक्षिणबाहु पाँचौं तहको सबभन्दा तल्लो तहको तक्मा पाउन पनि ठाउँठाउँ धाउँथे। त्यो बेला नबुझेर धाइयो अहिले सम्झिँदा हाँसो लाग्छ’, उनले मनमा कुनै कुरा नलुकाई भने, ‘कामले पो पुरस्कृत हुनुपर्दो रहेछ। अहिले त मलाई घरमै पुरस्कार आइपुग्छ। राष्ट्रदिप तक्मा पाइसकेँ। काठमाडौं युनिभर्सिटीले महाविद्यावारिधि दियो। मैले मागेको होइन।’
कर्म गर्ने तर फलको आशा नगर्ने बानीले सुखी भइने रहेछ।
तीन पटकसम्म मदन पुरस्कार पाउने भाग्यमानी वा भनौं कर्मयोगी हुन् जोशी। उनको ‘हाम्रो लोकसंस्कृति’ कृतिले पहिलोपटक वि.सं. २०१३ सालमा मदन पुरस्कार पाएको थियो। त्यो कृति पश्चिम नेपालमा संकलन गरेका झ्याउरे, दोहोरी र लोकगीत समेटिएको संग्रह हो। दोस्रोपटक वि.सं. २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि मदन पुरस्कार पाए। यसमा नेपालको पाँचौ शताब्दीदेखि बिसौ शताब्दीसम्मका मुद्राको सचित्र वर्णन छ।
तेस्रोपटक वि.सं. २०२८ मा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि उनीसहित पाँच जनाले संयुक्त रुपमा मदन पुरस्कार पाएका हुन्।
सत्यमोहन पटक्कै थाकेका छैनन्। सक्रिय छन् लेखन र अध्ययनमा। घरमा आइपुग्नेहरूलाई र आफूले भेट्नेहरूलाई जीवन दर्शन सुनाउँछन्। उत्साहित बनाउँछन्। हौसला दिन्छन् ।
कुराकानीका अन्त्यअन्त्यमा मैले सोधेँ, ‘भोलि भौतिक रूपमा तपाईँ नरहँदा तपाईँलाई कुन रूपमा सम्झिदिए पुग्छ?’
‘मैले लेखेका कृतिहरू र जे जति लेखेँ, सम्पादन गरेँ त्यो उपयोगी भएर सम्झिदिए त्यही जिवन्त हुन्छ सत्यमोहन जोशी भनेकै त्यही हो,’ उनले भने।
मान्छेले समाजका लागि अर्थपूर्ण जिन्दगी बिताउनु पर्छ भन्ने उनको मान्यता छ। ‘बाँच्न मात्रै त चराचुरुङ्गी र पशुपंक्षी पनि बाँचेकै छन्’, उनले भने, ‘चेतनशील प्राणी मान्छेले त समाज र राष्ट्रहितका काम गर्नुपर्छ।’
सत्यमोहन बुबालाई भेटेर फर्किंदा मनमा धेरै कुरा खेलिरहे। यत्रो संसारले सम्मान गरेको मान्छे कति सरल! कति आत्मीय! कति जोशिला !
उनको कर्म र विचारलाई थोरै मात्र पनि बुझ्न सक्यौं भने हामीमा भएका इन्द्रियहरू पनि सकारात्मक भएर चल्ने छन्। मनका साँघुरा बाटाहरू खुम्चिन छोड्नेछन र चिन्ता रहित आनन्दको जीवनले शितल चन्द्रमालाई प्रतिबिम्बित गर्दै अगाडि बढ्नेछन् ।
शताब्दी पुरूष जसले राष्ट्र भाषा नेपाली, मातृभाषामा खण्डकाव्य, कथा, नाटक, कविता, नियात्रा जस्ता विभिन्न विधामा साहित्य सृजना गरेर योगदान गरेका छन्। विशेष लोक साहित्य र लोकसंस्कृति अध्ययन अनुसन्धान गरेर नेपाली वाङ्गमयलाई संसारसामु चिनाउने प्रयास जसरी गरेका छन् त्यसलाई हामीले पनि जगेर्ना गर्न सक्नुपर्छ।
सत्यमोहनले नेपालका गाउँहरूमा, पहाडहरूमा आमा दिदीबहिनीका स्वरहरूमा, गाउँलेहरूका माझमा, कर्ममा, परिश्रममा लोकलय खोज्दै पुगेकाछन्। सबैलाई उनी सुझाउँछन् लोकलय मनन गर्नुपर्छ त्यहीँ सत्य भेटिन्छ त्यहीँ जीवनदर्शन भेटिन्छ। उनले भनेजस्तै लोकभाका लोकसाहित्य नेपाल र नेपालीको शान हो यसलाई सदैव हामी सबैले जोगाउने प्रयास गरिराख्नु पर्छ।